Tuesday, November 7, 2017

आत्मिक वरदानहरू

आत्मिक वरदानहरू




१) एफेसी ४:११ अनुसार ५ ओटा वरदानहरूको कुरा गरिएको छ। के यी सबै ५ ओटा वरदानहरू अहिले मण्डलीमा पाइन्छन्? ५ ओटा वरदानहरूको चिन्ह र लक्षण के हो? यी ५ ओटा वरदानहरूको चरित्र के हो? यी सबैको लामो बयान गरिदिनुहोला।

एफेसी ४:११ मा उल्लेखित प्रचारक, गोठाला र शिक्षकका वरदानहरू त वर्तमानमा पनि दिइन्छन् भन्ने कुरा निर्विवाद छ। तर प्रेरित र भविष्यवक्ताको वरदान वर्तमान समयमा दिइन्छन् कि दिइँदैनन् भन्ने कुरामा मतभिन्नताहरू छन्। प्रेरित र भविष्यवक्ताको वरदान अस्थायी वरदानहरू थिए र वर्तमान समयमा दिइँदैनन् भन्ने कुराको चर्चा गरिएको हाम्रो निम्न पृष्ठमा पढ्नुहोला:
http://www.wordoftruth.com.np/index.php?page=charismatic-error-01-04

प्रेरितका लक्षणहरू २ कोरिन्थी १२:१२ मा उल्लेख गरिएका छन् (साथै १ कोरिन्थी ९:१ पनि पढ्नुहोस्)। भविष्यवक्ताको वरदानको बारेमा माथिको लिङ्कमा लामो चर्चा गरिएको छ। प्रचारक, सुसमाचार प्रचार गर्ने वरदान भएको व्यक्ति हो। जस्तै, फिलिप (प्रेरित २१:८) - यिनीचाहिँ प्रेरित फिलिपभन्दा बेग्लै व्यक्ति हुन्। प्रचारकको जिम्मेवारी हराएकाहरूलाई सुसमाचार (१ कोरिन्थी १५:३-४) को प्रचार गरी उनीहरूलाई ख्रीष्टमा खिँच्नु हो। उनी मछुवाजस्तै हुन्छन्।

गोठाला (पास्टर) हरू, परमेश्वरको बगाललाई वचन खुवाउने र रक्षा गर्ने बगालको नमुना व्यक्तिहरू हुन्। जस्तै, तिमोथी (१ तिमोथी ४:१२-१६)। ऊसित शिक्षकको दान अनिवार्यरूपमा हुन्छ। किनकि एफेसी ४:११ मा "गोठाला र शिक्षक" एकै व्यक्तिलाई जनाउने बयान हो भनेर लिन सकिन्छ।

शिक्षकहरू: गोठाला प्रायः एउटै बगाल (स्थानीय मण्डली) मा बढी समय दिन्छ भने शिक्षकहरूको सिकाउने क्षेत्र अलि फराकिलो पनि हुन सक्छ। जस्तै, अपोल्लोस (प्रेरित १८:२२-२९) शिक्षकको वरदान भएर त्यसलाई आफ्‍नो जीवनमा विकास गरेको व्यक्तिले परमेश्वरको वचनको सत्यताहरू अरूहरूलाई स्पष्ट रूपमा सिकाउन सक्छ।

प्रेरित वरदान भएको व्यक्तिसँग प्रचारक, गोठाला र शिक्षकको पनि वरदानहरू हुन्थे भन्ने बुझ्दछु म (जस्तै, पावललाई विचार गर्नुहोस्)।

प्रेरितहरू पहिलो शताब्दीमा तबसम्म आवश्यक थिए जबसम्म मण्डलीसँग परमेश्वरको वचन पूर्णरूपमा थिएन। याद गर्नुहोस्, शुरुका विश्वासीहरूसित केवल पुरानो नियम मात्र थियो, नयाँ नियम त लेखिएकै थिएन। नयाँ नियम दिइनेवाला छ भन्ने कुराको भविष्यवाणी प्रभु येशूले गर्नुभएको थियो (हेर्नुहोस् यूहन्ना १६:१२-१५)। त्यस भविष्यवाणी अनुसार नयाँ नियमका २७ ओटा पुस्तकहरू क्रमिक रूपमा पवित्र आत्माले प्रेरितहरूद्वारा र नयाँ नियमकालीन भविष्यवक्ताहरूद्वारा दिनुभयो। त्यसैले मण्डलीलाई "प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बसालिएको" आत्मिक भवनको रूपमा चित्रण गरिएको पाइन्छ (एफेसी २:२० मा)। जग भनेको कुरा एक पटक मात्र बसालिन्छ, अर्थात् शुरुमा मात्र। यसैकारण प्रेरित र भविष्यवक्ताहरूको वरदान वर्तमान समयमा छैनन्। ती आवश्यक पनि छैनन्, किनकि हामीसँग "प्रेरितहरूका शिक्षा" (प्रेरित २:४२ सित दाँज्नुहोस्) र परमेश्वरले प्रकट गर्नुभएका सबै भविष्यवाणीहरू नयाँ नियमको २७ ओटा पुस्तकहरूमा छन्।

प्रेरितहरू १२ जना थिए जो प्रभु येशूको बप्‍तिस्मादेखि लिएर उहाँको स्वर्गारोहण भएको दिनसम्मका सबै कुराहरूको गवाही दिन सक्ने गरी उहाँकै साथसाथ हिँडेका व्यक्तिहरू। यहूदा इस्करयोतीको रिक्त स्थानमा अर्कोलाई नियुक्त गरिएको कुरा प्रेरित १:२०-२६ मा पढ्नुहोस्। यिनै बाह्रजनाको नाम नयाँ येरूशलेमको जगमा लेखिएको पाउनेछौं। त्यसबाहेक पावल एक छुट्टै विशेष प्रेरित थिए अर्थात् अन्यजातिहरूको लागि चुनिएका प्रेरित (रोमी ११:१३)।

२) परमेश्वरले मण्डलीलाई कुन कुन आत्मिक वरदानहरू अहिले दिनुहुन्छ?

वरदानका सूचीहरू उल्लेख भएका खण्डहरू रोमी १२, १ कोरिन्थी १२-१४ र एफेसी ४ अध्यायहरू हुन्। तिनमा उल्लेखित प्रेरितीय र चिन्हरूपी वरदानहरू र प्रकाशकीय वरदानहरूलाई छोडेर अन्य वरदानहरू चाहिँ अहिले पनि दिनुहुन्छ।
३) मर्कूस १६:१७-१८ पदलाई स्पष्ट पारिदिनुहोला।

यहाँ उल्लेखित वरदानहरू चिन्हरूपी वा प्रेरितीय छन् र तिनको उद्देश्य पूरा भइसकेका छन् जसरी प्रेरितको पुस्तकमा तिनको ऐतिहासिक अभिलेख गरिएको छ।

४) के परमेश्वरले अहिले पनि चङ्गाइको वरदान दिनुहुन्छ?

परमेश्वरले चङ्गाइ दिन सक्नुहुन्छ तर चङ्गाइको वरदान भने अहिले दिनुहुन्न। चङ्गाइको वरदान शुरुमा १२ जना प्रेरितहरूलाई दिइयो (मत्ती १०:१), पछि ७० जनालाई दिनुभयो (लूका १०:१,९)। पेन्टेकोस्टपछि प्रेरितहरूद्वारा उनीहरूका हातहरू राखेर प्रार्थना (प्रेरित ६:६) गरिएकाहरूलाई पनि दिइयो: १) स्तिफनसलाई (प्रेरित ६:८) र २) फिलिपलाई (प्रेरित ८:५-७)।

आज चङ्गाइ हुन्छ भने त्यो उहाँको इच्छामा, प्रार्थनाको जवाफस्वरूप औषधीको प्रयोगद्वारा वा औषधीबिना पनि हुन सक्छ। जसरी हरेक प्रार्थनाको जवाफमा परमेश्वरले "हुन्छ" नै त भन्नुहुन्न (जस्तै २ कोरिन्थी १२:८-९) तर "हुन्न" अथवा "पर्ख" पनि भन्न सक्नुहुन्छ। त्यसैले आज चङ्गाइ हुन सक्छ तर चङ्गाइ गर्ने वरदानचाहिँ आजको लागि होइन। यस बारेमा विस्तृत अध्ययनको लागि हेर्नुहोस् http://www.wordoftruth.com.np/index.php?page=charismatic-error-01-06

अर्को कुरा, दुष्टात्मा लागेको व्यक्तिको सवालमा भने उसले आफ्‍नो पापबाट मुक्ति पाउनलाई (चङ्गाइको लागि मात्र होइन) ख्रीष्टमाथि साँचो गरी विश्वास गरेको खण्डमा निजले अनिवार्य रूपमा नै र स्थायी रूपमा दुष्टात्माबाट छुटकारा पाउँदछ। किनकि विश्वास गरेको घडीबाट ऊ परमेश्वरको वासस्थान (१ कोरिन्थी ६:१९) बन्दछ र दुष्ट आत्मा परमेश्वरसँगै बास गर्न सक्दैन (लूका १२:२१-२३ लाई १ यूहन्ना ४:४ सित दाँज्नुहोस्)। साँचो गरी विश्वास नगरेको व्यक्तिको सवालमा भने कारणवश एक समय बिदा भएको दुष्टात्मा फेरि फर्केर आउन सक्दछ (लूका १२:२४-२६)।

५) कतिले भन्छन् नि दाई निको पार्ने वरदान पाएकोले प्रार्थना गर्यो भने मात्र होइन। कोही विरामी छ भने चङ्गाइको वरदान भएको व्यक्तिकहाँ जान हामीलाई सल्लाह नयाँ नियममा दिइएको छैन।

प्रेरितहरूको समयमा भने प्रेरितलाई बोलाउन सकिन्थ्यो र त्यसो गर्दा मरेका व्यक्ति पनि बौराइएको कुरा उल्लेख छ (प्रेरित ९:३६-४३)। तर अहिले प्रेरितहरू छैनन्। बरु बिरामी परेको अवस्थामा बिरामी आफैले मण्डलीका एल्डरहरूलाई आफूकहाँ प्रार्थना गर्न बोलाउनलाई अर्ती दिइएको चाहिँ छ (याकूब ५:१४)। अनि प्रार्थनाको सवालमा यसको जवाफ सधैं “हुन्छ” नै भन्ने हुँदैन (जस्तो पावलले तीनपटक प्रार्थना गरे तर उनी निको भएनन्)। प्रार्थनाको जवाफ परमेश्वरको सार्वभौम इच्छामा निर्भर रहन्छ र प्रार्थना गर्नेले आफ्‍नो माग जाहेर गर्दा सधैं “तरैपनि मेरो इच्छा होइन तपाईंकै इच्छा पूरा होस्” भन्नु आफूले परमेश्वरको सामु सही स्थान लिनु हो।

No comments:

Post a Comment