Friday, November 17, 2017

मार्गदर्शनका बाइबलीय सिद्धान्तहरू




जीवनको यात्रामा, डोर्‍याउनुहोस् मलाई!
परिचय
जीवनको यात्रा अनगिन्ती निर्णयहरूले भरिएको हुन्छ। मैले फलानो काम गर्नु हुन्छ कि हुँदैन? त्यस्तो ठाउँमा म जानु हुन्छ कि हुँदैन? यस्तो क्रियाकलापमा म सहभागी बन्नु हुन्छ कि हुँदैन? आदि, इत्यादि।

हामीले जीवनभरि ठीक-ठीक अगुवाइ पाऔं र हाम्रो दिन-दिनको चालचलन सही प्रकारले नियन्त्रित होस् भन्ने हेतुले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई सत्यताको एउटा सुन्दर वस्तुगत मापदण्ड दिइएको छ जसअनुसारको जीवन र व्यवहारले हाम्रा प्रभुलाई खुशी पार्दछ। भजनसङ्ग्रहका एक रचनाकारको हृदयमा एउटा ठूलो लालसा थियो, "मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस्, र कुनै अधर्म ममाथि राज्य गर्न नदिनुहोस्" (भजनसङ्ग्रह ११९:१३३)। हाम्रो जीवन, हाम्रो व्यवहार, हाम्रा निर्णयहरू सबै नै परमेश्वरको वचनद्वारा निर्धारित र नियन्त्रित हुनु आवश्यक छ।

जीवनमा अनेकौं विषयका कुरा आउँछन् जसको बारेमा परमेश्वरको वचनले किटान गरी बताएको हुँदैन। बरु बाइबलमा हामीलाई स्पष्ट सिद्धान्तहरू र ठोस मार्गदर्शनहरू दिइएका छन् र तिनलाई सही अर्थमा बुझिएमा र लागु गरिएमा उठ्न गएको हरेक प्रश्नको जवाफ मिल्न सक्छ। तर खेदको कुरा, हामी कति पटक प्रभुबाटका ती सिद्धान्तहरूलाई लागु गर्न र मार्गदर्शनहरूलाई पालन गर्न विफल भइरहेका हुन्छौं।

यस अध्ययनमा हामी ६७ ओटा जाँचहरूलाई सूचित गर्नेछौं जसद्वारा हामीले कुनचाहिँ बाटो अपनाउनु पर्ने हो भन्ने कुराको निर्धारण गर्न सक्छौं। यो सूचि पूर्ण छ भन्ने होइन। यसमा अन्य जाँचहरू थप्न सकिन्छ। यी मार्गदर्शनहरू प्रायः नयाँ नियमका पत्रहरूबाट लिइएका छन्। सुसमाचारका पुस्तकहरू, हितोपदेश, र बाइबलका अन्य खण्डहरूबाट अवश्य नै अरू थुप्रै मार्गदर्शनहरू वा "जाँचहरू" लिन सकिन्छ।

तर यदि हामीले यी जाँचहरूलाई साँच्ची नै अपनाएनौं भने हामीसित यो सूचि भएर पनि हामीलाई कुनै फाइदा हुनेछैन। ख्रीष्टका प्रियहरूहो, आउनुहोस्, हाम्रा सबै कामकुरामा प्रभु येशू ख्रीष्टलाई खुशी पार्ने इच्छा राख्दै हामी हाम्रा कामकुराहरूलाई यी नयाँ नियमका मार्गदर्शनहरूद्बारा जाँच गरौं।

(टिप्पणी: बाइबलका पदहरूलाई सजिलैसँग भेट्टाउन सकियोस् भनेर यी "जाँचहरू" लाई नयाँ नियमका पुस्तकहरूको क्रम अनुसार सूचित गरिएका छन्।)

कुनै कदम चाल्नु अघि निर्णय गर्नालाई विश्वासी जनले प्रयोग गर्न सक्नुहुने ६७ जाँचहरू
पवित्रशास्त्रको जाँच (यशैया ८:२०; १ थेस्सलोनिकी ५:२१)
यो काम पवित्रशास्त्रले मनाही गरेको छ कि? यो काम नगर्नालाई मलाई आज्ञा दिइएको छ कि?
भण्डारीपनको जाँच (लूका १६:९-१२)
यो काम गर्दा प्रभुले मलाई जिम्मा दिनुभएको पैसा, जायजात र समय खेर जाने हो कि अथवा तिनको प्रयोग सर्वोत्तम तवरले नहुने हो कि?
अलगपनताको जाँच (रोमी १:१)
के यो कदम वा क्रियाकलाप परमेश्वरको सुसमाचारका निम्ति अलग गरिएको जीवन अनुरूप छ?
"शारीरिक अङ्गहरू" को जाँच (रोमी ६:१३)
यो काम गर्दा मेरा शारीरिक अङ्गहरू परमेश्वरको निम्ति धार्मिकताका औजारको रूपमा प्रयोग गरिनालाई सुम्पिएका हुन्छन्? कि त्यसको विपरितमा मेरा प्रभु र मालिक परमेश्वरलाई आदर नहुने किसिमले प्रयोग हुनालाई सुम्पिइनेछन्?
घृणाको जाँच (रोमी १२:९; दाँज्नुहोस्, यहूदा २३)
म पाप र खराबीलाई घृणा गर्दछु र मैले जस्तोसुकै मूल्य चुकाउनु परे तापनि म तीबाट अलग हुनैपर्छ (१ पत्रुस ३:११) भन्ने कुरालाई यो काम गर्दा कुनै पनि हिसाबले धमिल्याउन पुग्छु कि?
प्रेमको जाँच (रोमी १४:१५)
यो काम गर्दा के म प्रेम अनुसार हिँडिरहेको छु? जो व्यक्तिहरूको सवाल छ के म तिनीहरूका लागि परमेश्वरबाटको सर्वोत्तम र सर्वश्रेष्ठ कुराहरूको खोजी गर्दैछु?
विवेकको जाँच (रोमी १४:२२-२३)
के यो काम म असल र सफा विवेकले गर्न सक्छु? (विश्वासी जनले आफ्नो विवेकले मनाही गरेको कुरा कहिल्यै गर्नु हुँदैन। विश्वासीको विवेक सुधारिनु र परमेश्वरको वचनको सामञ्जस्यतामा झन् झन् ल्याइनु आवश्यक पर्न सक्छ, तर आफ्नो विवेककै विरुद्धमा काम गर्नु र आफ्नै हृदयले दोषी ठहर्याउँदा ठहर्याउँदै विद्रोहमा अघि बढ्नुमा खतरा छ। यो सरल नियम सधैं याद राख्नुहोस्: कुनै कुरामा शङ्का लाग्छ भने, त्यो नगर्नुहोस्!
"कसलाई खुशी पार्दैछु" को जाँच (रोमी १५:१-२)
यो काम म आफूलाई खुशी पार्न गर्दैछु कि अर्कालाई?
आगोको जाँच (१ कोरिन्थी ३:११-१५)
यो काम गर्दा मैले सदा रहने कुरा निर्माण गरिरहेको हुन्छु कि केवल काठ, घाँस र पराल मात्र थपिरहेको हुन्छु जुनचाहिँ ख्रीष्टको न्यायआसनको घडीमा सबै जलेर नष्ट हुनेछ?
फाइदाको जाँच (१ कोरिन्थी ६:१२; १०:२३)
यो काम गर्नु लाभदायक, कल्याणकारी र उपयोगी हुन्छ कि हुँदैन? ("यो गर्न मलाई छुट छ कि छैन?" भनेर सोध्नुभन्दा फाइदाको जाँचअनुसार विचार गर्नु असल)।
दासत्वको जाँच (१ कोरिन्थी ६:१२)
यो काम गर्दा म कुनै कुराको वशमा पर्छु कि? यसले मलाई दास बनाउँछ कि? यसले मलाई बन्धनमा पारेपछि मैले सेवा गर्नुपर्ने मेरा प्रभुको सेवा गर्नालाई म स्वतन्त्र नहुन पुग्छु कि?
"परमेश्वरको मन्दिर" को जाँच (१ कोरिन्थी ६:१९-२०)
यसले मेरो शरीरको हानी गर्छ कि? मैले आफ्नो शरीरको प्रयोग गर्ने तरिकाबाट परमेश्वरको आदर हुन्छ कि हुँदैन? यो कदमले मेरो शरीरलाई ताजा र बलियो बनाउँछ कि यसले मेरो शरीर र मस्तिष्कलाई थकित र कमजोर तुल्याउँछ? यदि मैले आफूलाई शारीरिक रिक्ततासम्मै पुग्ने गरी खर्चन्छु भने के त्यो म बुद्धिपूर्ण र धार्मिकताको कामको खातिर अर्थात् ख्रीष्टकै खातिर खर्चन्छु त (२ कोरिन्थी १२:१५)?
बाधाको जाँच (१ कोरिन्थी ७:३५)
यो कामले गर्दा प्रभुको सेवामा लगाउनुपर्ने मेरो ध्यान अन्यत्र पुग्छ कि? मेरा प्रभुलाई खुशी पार्नदेखि मलाई बाधा दिन्छ कि (१ कोरिन्थी ७:३२)?
ठेस खुवाउने कुराको जाँच (१ कोरिन्थी ८:१३; १०:३२; रोमी १४:२१)
यो काम गर्दा अर्को व्यक्तिलाई ठेस लाग्न पुग्छ कि? यसले कुनै पनि हिसाबमा अर्को विश्वासीको वृद्धिमा बाधा पुर्याउँछ कि? यसले कुने पनि हिसाबमा कुनै अविश्वासीलाई ख्रीष्टमाथि विश्वास गर्नेदेखि बाधा दिन्छ कि?
प्रचारको जाँच (१ कोरिन्थी ९:१९-२२; १०:३३; दाँज्नुहोस्, २ तिमोथी २:१०)
के मेरा क्रियाकलापहरूले गर्दा अरूहरूलाई ख्रीष्ट येशूलाई मुक्तिदाताको रूपमा चिन्नका लागि सहायता र हौसला मिल्नेछ? यसले कुनै पनि हिसाबमा प्रभु येशू र उहाँको सुसमाचारको प्रतिष्ठा घटाउनेछ कि वा बाधा पुर्याउनेछ कि? के यसले अरूहरूलाई प्रभु येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा चिन्नलाई मद्दत गर्नेछ?
मूर्तिपूजाको जाँच (१ कोरिन्थी १०:७,१४; १ यूहन्ना ५:२१)
यो काम गर्दा मैले कुनै व्यक्ति वा चीजलाई परमेश्वरभन्दा ठूलो (मेरो निम्ति बढी महत्त्वको) बनाउँदैछु कि?
उन्नतिको जाँच (१ कोरिन्थी १०:२३; १४:२६)
के यसले मेरो सङ्गी-विश्वासीको उन्नति र वृद्धि गर्छ? के मेरो क्रियाकलापले गर्दा अर्कोलाई प्रभुमा बढ्दै जान उत्साह मिल्नेछ?
स्वार्थको जाँच (१ कोरिन्थी १०:२४; १३:५)
यो काम मैले आफूलाई खुशी पार्न र आफ्नै सेवाको लागि गर्दैछु कि अरूलाई खुशी पार्न र अर्काको सेवाको लागि? म आफ्नै निम्ति जिउँदैछु कि प्रभुको निम्ति (रोमी १४:७; २ कोरिन्थी ५:१५)?
परमेश्वरको महिमाको जाँच (१ कोरिन्थी १०:३१)
के म यो काम परमेश्वरको महिमाको निम्ति गर्न सक्छु? यो काम गर्दा के मैले मेरा परमेश्वरलाई र उहाँ को हुनुहुन्छ भन्ने कुरालाई छर्लङ्ग हुने गरी प्रस्तुत गर्दैछु?
देखासिकीको जाँच (१ कोरिन्थी ११:१; फिलिप्पी ४:९)
के यस कुरामा मलाई अरूहरूले पछ्याएको चाहन्छु त? के यस कुरामा अन्य विश्वासीहरूले मेरो देखासिकी गरेको चाहन्छु? के मैले उनीहरूका सामु यस कदमलाई सिफारिश गर्न सक्छु?
सङ्गतको जाँच (१ कोरिन्थी १५:३३; दाँज्नुहोस् २ कोरिन्थी ६:१४; १ पत्रुस ४:४)
यो काम गर्दा म खराब सङ्गतसित सम्झौतापूर्ण सम्बन्धभित्र हुलिन्छु कि र फलस्वरूप त्यसले मेरो चरित्र र नैतिकतालाई बिगार्ने र भ्रष्ट पार्ने गरी नराम्रो प्रभाव पार्छ कि?
"प्रभुमा परिश्रम" को जाँच (१ कोरिन्थी १५:५८; दाँज्नुहोस्, २ कोरिन्थी ९:८)
यसले कुनै पनि हिसाबमा मलाई प्रभुको काममा प्रशस्त हुँदै जानदेखि रोक्छ कि? यसले मलाई प्रभुको सेवा बल्दो जोश र जाँगरसित गर्नेदेखि रोक्छ कि?
अस्थायी/अनन्तको जाँच (२ कोरिन्थी ४:१८; कलस्सी ३:१-२)
मैले अस्थायी कि अनन्त वास्तविकताहरूको आधारमा निर्णय गर्दैछु? म छोटो दुरी कि लामो दुरीलाई हेर्दैछु? मैले समयलाई हेर्दै यो मूल्याङ्कन गर्दैछु कि अनन्ततालाई हेर्दै? के मैले यसलाई परमेश्वरकै दृष्टिकोणबाट हेर्दैछु?
न्यायआसनको जाँच (२ कोरिन्थी ५:१०; रोमी १४:१०-१२)
के यस कुराले मलाई ख्रीष्टको न्यायआसनको सामु शर्ममा पार्नेछ?
अभिप्रेरणाको जाँच (२ कोरिन्थी ५:१४)
म ख्रीष्टको प्रेमले अभिप्रेरित छु कि शरीरको अभिलाषाले?
नयाँ सृष्टिको जाँच (२ कोरिन्थी ५:१७)
यी कुराहरू मेरो पुरानो जीवनसित सम्बन्धित छन् ("पुराना कुराहरू" जो बितिगएका छन्) कि ख्रीष्टमा भएको मेरो नयाँ जीवनसित सम्बन्धित छन्?
राजदूतको जाँच (२ कोरिन्थी ५:२०)
यो काम गर्दा के म आफ्नो मुक्तिदातालाई छर्लङ्ग र असन्दिग्ध प्रकारले प्रतिनिधित्व गर्दैछु?
पवित्रताको जाँच (२ कोरिन्थी ७:१; २ तिमोथी २:२१)
यो काम गर्दा मैले आफ्नो पवित्रतालाई कुनै पनि हिसाबमा सम्झौता गरिरहेको हुन्छु कि? यसले मलाई प्रभुको प्रयोगयोग्य, शुद्ध र पवित्र भाँडो हुनदेखि कुनै पनि हिसाबमा बाधा पुर्‍याउँछ कि?
मानसिक जाँच (२ कोरिन्थी १०:५; दाँज्नुहोस्, ११:३)
यो कामले मलाई मेरो हरेक विचारलाई ख्रीष्टको आज्ञाकारी बनाउनालाई कैद गर्न सहायता गर्नेछ कि यसले मेरो मनलाई परमेश्वरको ज्ञानको विरोधमा आफूलाई उचाल्ने उच्च कुराहरूको गोलाबारीले ग्रस्त बनाउँछ?
"कसलाई खुशी पार्दैछु" को जाँच (गलाती १:१०)
यो काम गर्दा म परमेश्वरलाई खुशी पार्न खोज्दैछु कि मान्छेलाई?
"जे छरिन्छ त्यसैको कटनी" को जाँच (गलाती ६:७)
के म यस कदमको परिणामहरूको कटनी गर्न तत्पर छु?
पवित्र आत्माकको जाँच (एफेसी ४:३०; दाँज्नुहोस्, १ थेस्सलोनिकी ५:१९)
के यसले परमेश्वरको पवित्र आत्मालाई शोकित (दुःखित, पीडित) पार्छ? यो काम गर्दा पवित्र आत्मालाई मेरो जीवनमा काम गर्नदेखि कुनै पनि हिसाबमा निभाउन वा बाधा दिन पुगिन्छ कि?
पवित्र जनको जाँच (एफेसी ५:३) - परमेश्वरको सन्तानको जाँच (एफसी ५:१), नयाँ सृष्टिको जाँच (२ कोरिन्थी ५:१७), स्वर्गको नागरिकको जाँच (फिलिप्पी ३:२०), परमेश्वरको चुनिएको जनको जाँच (कलस्सी ३:१२), इत्यादि।
ख्रीष्ट येशूमा म जो हुँ, के त्यसको अनुरूप र त्यसलाई सुहाउने किसिमले मैले व्यवहार गर्दैछु? परमेश्वरको सन्तानले गर्ने काम त्यही हो कि होइन? पवित्र जनले गर्ने काम त्यही हो कि होइन? एक नयाँ सृष्टिले गर्ने काम त्यही हो कि होइन? इत्यादि।
परमेश्वरमा ग्रहणयोग्यताको जाँच (एफेसी ५:१०; २ कोरिन्थी ५:९)
के यो काम प्रभुलाई मन पर्छ? मैले यो काम गरें भने के परमेश्वरलाई यो ग्रहणयोग्य लाग्नेछ र के मैले उहाँको मुस्कान र "स्याबास!" पाउनेछु (दाँज्नुहोस्, मत्ती २५:२१,२३)?
समयको जाँच (एफेसी ५:१६)
के यो काम गर्नु समयको उच्चतम सदुपयोग हो? परमेश्वरले मलाई दिनुभएका अवसरहरूको फाइदा उठाउनालाई के यो नै सर्वोत्तम मार्ग हो?
अधीनताको जाँच (एफेसी ५:२१)
यो काम गर्दा के म परमेश्वरले ममाथि राख्नुभएका अधिकारीहरूको अधीनतामा छु?
परमेश्वरको हातहतियारको जाँच (एफेसी ६:१०-१८)
यो काम गर्दा यसले मलाई शत्रुको आक्रमणका सामु झन् कमजोर बनाउने हो कि?
सर्वश्रेष्ठताको जाँच (फिलिप्पी १:१०)
यो काम गर्न मलाई छुट हुन सक्छ, मिल्न सक्छ र यो काम एउटा असल कुरा पनि हुन सक्छ तर के यो नै सर्वोत्तम कुरा हो त?
ख्रीष्टको महिमाको जाँच (फिलिप्पी १:२०)
यो काम गर्नाले के ख्रीष्टको महिमा हुनेछ?
सुसमाचारको जाँच (फिलिप्पी १:२७)
जुन सुसमाचारको सन्देशलाई अरूले जानून् र विश्वास गरून् भनेर मैले चाहेको छु मैले लिएका कदमहरूले कुनै पनि हिसाबमा उक्त सन्देशलाई बाधा दिने वा धमिल्याउने वा अलमल्याउने काम हुन्छ कि?
कसिङ्गरको जाँच (फिलिप्पी ३:७-८)
के म ख्रीष्टको खातिर मैले महत्त्वपूर्ण ठानेका निश्चित कुराहरूलाई बलि चढाउन र गुमाउन तत्पर छु?
आनन्दको जाँच (फिलिप्पी ४:४)
मेरो आनन्द प्रभुमा छ कि कुनै कुरा वा व्यक्तिमा? यो काम मैले नगरेको खण्डमा के मेरो आनन्द हराएर जान्छ? मैले आनन्द, सुख, सन्तुष्टि गलत ठाउँमा खोज्दैछु कि?
सन्तुष्टताको जाँच (फिलिप्पी ४:११; १ तिमोथी ६:६,८)
मैले यो काम नगरेको खण्डमा वा यो कुरा मैले नपाएमा के म अझै पनि सन्तुष्ट र तृप्त रहन सक्नेछु?
चोखो विचारको जाँच (फिलिप्पी ४:८)
यसले शुद्ध, स्वस्थ, चोखो विचारधाराहरूलाई प्रोत्साहन दिन्छ कि यसले मलाई मानसिक फोहरमैलाले ग्रस्त बन्न प्रोत्साहन दिन्छ?
पहिलो स्थानको जाँच (कलस्सी १:१८)
यो काम गर्नाले के मेरो जीवनमा प्रभु येशूलाई पहिलो स्थान मिल्नेछ?
ख्रीष्टको नामको जाँच (कलस्सी ३:१७)
के यो काम मैले प्रभु येशूको नाममा धन्यवादसित गर्न सक्छु? के उहाँले आफ्नो नाम मैले गरिरहेको कामसित जोडियोस् भन्ने चाहनुहुनेछ?
ख्रीष्टको दासको जाँच (कलस्सी ३:२३-२४)
के म यो काम हृदयदेखि (मेरो सम्पूर्ण प्राणले) प्रभुको निम्ति गरेझैं गर्न सक्छु?
असल गवाहीको जाँच (कलस्सी ४:५)
के यो कामले ख्रीष्टबाट बाहिरकाहरूलाई एउटा स्वच्छ गवाही प्रस्तुत गर्नेछ?
प्रार्थनाको जाँच (१ थेस्सलोनिकी ५:१७; लूका १८:१)
यसले कुनै पनि हिसाबमा मेरो प्रार्थनाको जीवनलाई बाधा दिन्छ कि वा प्रार्थना गर्ने कामलाई बोझिलो (गर्न मन नलाग्ने) बनाउँछ कि?
धन्यवादको जाँच (१ थेस्सलोनिकी ५:१८; एफेसी ५:२०)
के म यो काम धन्यवादसाथ गर्न सक्छु? के म परमेश्वरलाई सफा विवेकले धन्यवाद दिन सक्छु?
रूपको जाँच (१ थेस्सलोनिकी ५:२२)
मैले गर्ने काममा खराबीको कुनै पनि रूप देखिन्छ कि? मैले लिएका कदमहरूलाई गलत अर्थ लगाइन वा ती काम नकरात्मक दृष्टिमा देखिने सम्भावना छ कि?
भद्रताको जाँच (१ तिमोथी २:९-१०; १ पत्रुस ३:३-४)
यो काम गर्नाले ध्यान मतिर खिचिन्छ कि मभित्र हुनुभएका ख्रीष्टतिर? मैले आफूलाई देखाइरहेको हुन्छु को मुक्तिदाता प्रभुलाई?
निर्दोषताको जाँच (१ तिमोथी ३:१)
के यो कामले गर्दा मेरो ख्रीष्टियन विश्वासको अङ्गिकारसित नमिल्ने व्यवहारको लागि मलाई दोष लगाउने मौका कसैलाई मिल्छ कि? (दनियलको उत्कृष्ट नमुनालाई दनियल ६:४ मा हेर्नुहोस्)
नमुनाको जाँच (१ तिमोथी ४:१२)
यो काम गर्नाले एउटा विश्वासी कस्तो हुनुपर्छ भन्ने कुराको म एक असल नमुना बन्नेछु त?
उल्झनको जाँच (२ तिमोथी २:४)
यसले मलाई "यस जीवनका धन्दाहरूमा" फसाउँछ र अल्झाउँछ कि र ख्रीष्टलाई खुशी पार्नुपर्ने मेरो प्रथम कर्तव्यलाई बेवास्ता गर्ने बनाउँछ कि?
मोजमज्जाको प्रेमको जाँच (२ तिमोथी ३:४)
यो काम म परमेश्वरलाई भन्दा मोजमज्जालाई प्रेम गर्दै गरिरहेको छु कि? म प्रभुमा भन्दा अन्य कुराहरू वा व्यक्तिहरूमा रमाउँदैछु कि (भजनसङ्ग्रह ३७:४)?
दोस्रो आगमनको जाँच (२ तिमोथी ४:८; १ यूहन्ना २:२८)
के यो काम गरिरहेको बेलामा प्रभु आउनुभएको म चाहन्छु? के उहाँ आउनुहुँदा प्रभुले मलाई यस ठाउँमा यस क्रियाकलापमा लागिरहेको भेट्टाउनुभएको म चाहन्छु?
सिँगारको जाँच (तीतस २:१०)
के यस क्रियाकलापले मेरा मुक्तिदाता परमेश्वरको शिक्षालाई सिँगार्ने काम गर्नेछ? यो गर्नाले परमेश्वरको वचनका सत्यताहरू र सिद्धान्तहरू मेरो जीवनमा सुशोभित भएको देखिनेछ त?
अभक्तिको इन्कारको जाँच (तीतस २:१२; दाँज्नुहोस् १ पत्रुस २:११)
यो निर्णय लिँदा के मैले अभक्ति र सांसारिक अभिलाषाहरूलाई जोडदार, स्पष्ट र असन्दिग्ध रूपमा "हुँदैन" भन्दैछु?
भारको जाँच (हिब्रू १२:१-२)
यो कामले मलाई कुनै पनि हिसाबमा मेरो दौड दौडनदेखि बाधा दिन्छ कि? मैले जसरी दौडनुपर्छ त्यसरी दौडन नसक्ने गरी यसले मलाई भारले झैं थिच्छ कि?
ख्रीष्टको निन्दाको जाँच (हिब्रू १३:१३; दाँज्नुहोस्, ११:२६)
यो निर्णय गर्ने क्रममा मैले कुनचाहिँ कुरालाई ठूलो ठान्छु (म कुन कुरालाई बढी महत्त्व दिन्छु) - मान्छेको स्वीकार कि ख्रीष्टको निन्दा?
परीक्षाको जाँच (याकूब १:१३-१६)
यसले परीक्षाको सामना गर्न झन् सजिलो बनाउँछ कि झन् गाह्रो?
परमेश्वरसितको निकटताको जाँच (याकूब ४:८; दाँज्नुहोस्, हिब्रू १०:३८)
यसले मलाई ख्रीष्टको झन् नजिक पुर्याउँछ कि झन् टाढा लैजान्छ?
वृद्धिको जाँच (१ पत्रुस २:२; २ पत्रुस ३:१८; दाँज्नुहोस्, हिब्रू ६:१-३)
यो काम गर्नाले कुनै पनि हिसाबमा ख्रीष्टमा मेरो बढ्दै जाने क्रमलाई बाधा दिन्छ, निसास्याइदिन्छ कि? के यसले मलाई ख्रीष्टमा बढ्न सहायता गर्छ?
सङ्गतिको जाँच (१ यूहन्ना १:३-४)
यो काम गर्नाले कुनै पनि हिसाबमा मलाई ख्रीष्टसितको सङ्गतिको आनन्ददेखि बञ्चित गर्छ कि?
सांसारिकपनको जाँच (१ यूहन्ना २:१५-१७; याकूब ४:४)
के म यो कुरा परमेश्वरबाट अलग्गै रहेर (उहाँलाई पन्छाएर) गर्न खोज्दैछु?
"पहिलो प्रेम" को जाँच (प्रकाश २:४)
के यो काम गर्नाले येशू ख्रीष्ट मेरो पहिलो प्रेम हुनुहुन्छ भन्ने कुरा प्रशस्त गरी छर्लङ्ग हुनेछ?

No comments:

Post a Comment