Wednesday, November 8, 2017

भूकम्पमा पनि आशा



प्रदेश श्रेष्ठ

२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिका हजारौं परकम्पहरूले फैलाएको डर, त्रास, अनिश्चयता र निराशाको घडीमा हामी तपाईंसित यो जिउँदो आशाको सन्देश बाँड्न इच्छुक छौं। अहिले अँध्यारोमा रुमलिएको तपाईंको जीवन तपाईंले सोच्दै नसोचेको अचम्मको उज्यालोमा एक्कासी परिणत हुन सक्दछ। कैयौंको जीवन एक वा अर्को किसिमको कम्पनले यसरी बदलिएको पनि छ।

एउटा कुरा निश्चित छ: गत दिनका भूकम्पहरूमा तपाईंको ज्यान गएको भए, यो पृष्ठ तपाईंले आज पढ्नुहुने थिएन। के तपाईंको मनमा एउटा गम्भीर प्रश्न उठ्दैन र — “भूकम्पमा मर्ने ती ८,६०० का साथसाथै म पनि मरेको भए म आज कहाँ हुन्थे होला?” यो एकदम जायज प्रश्न हो। माटोको शरीर माटैमा मिल्छ तर एउटा मान्छेको अनमोल, अमर आत्मा एक न एक ठाउँमा जान्छ — कि स्वर्गमा कि नरकमा। गु-डु-डु-डु गरी भूकम्प जाँदा आफ्‍नो ज्यान बचाउन तपाईं कुनै सुरक्षित स्थानतिर भाग्नुभयो। गरिब र करोडपति चौरमै बास बसे। सम्पत्तिभन्दा ज्यान ठूलो हो, प्रायः सबैको मुखबाट यही कुरा सुनिन्छ। आज सृष्टिकर्ता परमेश्वरको सन्देश सुनी आफ्‍नो ज्यानभन्दा पनि अनमोल आत्माको अनन्त सुरक्षाको लागि मुक्तिदाता येशू ख्रीष्टकहाँ भागी आउनुस्! किनभने येशूले भन्नुभयो, “मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्‍नो आत्माचाहिँ गुमायो भने त्यसलाई के फाइदा हुनेछ र?”१



पश्चात्ताप गर्नेलाई आशा!
काठमाडौंको धरहरा घर्ल्याम घुर्लुम्म ढलेर सयौंलाई पुर्‍यो। यस्तै घटनाको बारेमा येशूले भन्नुभयो, “ती अठारजना, जसमाथि सिलोआमको धरहरा खस्यो, र तिनीहरूलाई मार्‍यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ? म तिमीहरूलाई भन्दछु, होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ”।२ येशूको यस भनाइबाट हामी निम्न कुराहरू सिक्छौं —

भूकम्पमा मर्नेहरूभन्दा हामी धर्मी छैनौं। “धर्मी कोही छैन, एउटै पनि छैन…किनकि सबैले पाप गरेका छन्”।३
यसकारण हामी पनि नाश हुन योग्य छौं, शरीरमा मात्र नभई तर नरकमा समेत “किनकि पापको ज्याला मृत्यु हो”।४
तर, खुशीको कुरा, पापबाट पश्चात्ताप गर्नेहरूलाई आशा छ। पश्चात्ताप गर्नेहरू नरकमा जानेछैनन् तर स्वर्गमा जानेछन्। पश्चात्ताप नगरी मर्नेहरू दण्डमा पर्नेछन् किनकि “मानिसको निम्ति एक पटक मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।”५
“पश्चात्ताप कसरी गर्ने?”
विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरू वा सृष्टिका अन्य कुनै थोक लगायत तिनका मूर्तिहरूलाई पूज्न छोड्नुहोस्। आफ्‍ना पापहरूको क्षमा पाउन मुक्तिदाता येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। पाप भनेका यिनै हुन् — परस्त्रीगमन, व्यभिचार, विरोध, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, क्रोध, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोजमज्जा र यही प्रकारका कुराहरू जसले गर्दा तपाईं र हामी सबै दोषी छौं।६ यी सबै घिनलाग्दा र झूटा मार्गदेखि अविनाशी परमेश्वरतर्फ आफ्‍नो मन फनक्क फर्काउनुहोस्। येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई पापको क्षमा र अनन्त जीवन छ।

“तर ख्रीष्टमा विश्वास गर्नेहरू पनि मरे नि!”
हो, आखिरमा शरीर त सबैको मर्छ, चाहे भूकम्पले होस् वा अन्य कारणले। तर ख्रीष्टमा विश्वास गर्नेको आत्मा स्वर्गमा जान्छ। शास्त्रले भन्दछ, “जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ”।७



“तर कतिले यसलाई विदेशी धर्म भन्छन् नि?”
प्रिय मित्र, एकछिन गम्भीर भएर सोच्नुहोस् त। सारा सृष्टिका मालिक एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँलाई स्वदेशी वा विदेशी कसरी भन्ने? के सत्य पनि स्वदेशी-विदेशी हुन्छ र? भूकम्पले स्वदेशी-विदेशी छुट्ट्याएन। अनि विदेशबाट डाक्टरहरू समेत आए, उपचार शिविर खडा गरे, धेरैको ज्यान बचाए। उक्त सहयोगलाई विदेशी भनेर अस्वीकार गरिएन। तर हामीलाई पापबाट बचाउन स्वर्गदेखि अलौकिक देहधारण भई संसारकै मध्य भाग इस्राएल देशमा एउटी कन्याको कोखबाट जन्मी आउनुभएका स्वर्गकै प्रभु येशूलाई किन हामी विदेशी भनेर अस्वीकार गर्छौं? यस्तो विचार कहाँबाट आउँछ? यो कुनै अहमबाट त होइन? पापबाट पश्चात्ताप नगर्नलाई यो बाहना त होइन? यथार्थ के हो आफ्‍नै विवेकले केलाउनुहोस् र यो कुरा कसैले आफ्‍नै स्वार्थपूर्तिका निम्ति फैलाएको भ्रम हुनुपर्छ भनेर बुझ्नुहोस्।



आखिरमा स्वदेशी-विदेशी सबै पापी छन्। सबै मर्छन्। सबैलाई पापको क्षमा चाहिएको छ। सबैलाई शान्ति र मुक्ति चाहिएको छ। येशूले भन्नुभएको छ, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्याउँछ ऊ अन्धकारमा हिँड्नेछैन तर उसले जीवनको ज्योति पाउनेछ”।८ घाम एउटै छ; त्यसले सारा विश्वलाई उज्यालो दिन्छ, चाहे नेपाल, चाहे अमेरिका। संसारका सृष्टिकर्ता र मुक्तिदाता पनि एउटै हुनुहुन्छ। उहाँले विश्वास गर्ने हरेकलाई उज्यालो पार्नुहुन्छ, चाहे गोरा, चाहे काला।



“भूकम्प किन जान्छ?”
पृथ्वी नागको टाउकोमाथि अथवा माछा, हात्ती वा कछुवाको ढाडमाथि अडेको हुँदा त्यो चलेर भूकम्प जाने होइन! पृथ्वीलाई सृष्टिकर्ता परमेश्वरले शून्यमा झुन्ड्याउनुभएको छ — यो तथ्य करिब ४००० वर्ष अघिका अय्यूब नाम गरेका एकजना व्यक्तिले उल्लेख गरेको कुरा बाइबलमा यसरी लेखिएको छ — “उहाँले पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ”।९

पृथ्वीको माथिल्लो भूपत्र मुन्तिर रहेका दर्जनौं “टेक्टोनिक प्लेटहरू” माथि अवस्थित छ। यी प्लेटहरू विस्तारै चलिरहेका छन्। भारतको प्लेट उत्तरपट्टि रहेको यूरेसियाली प्लटेसित जुधेर त्यसको मुन्तिर घुस्दै गर्दा उत्पन्न भएको तनावबाट दुईटा परिणाम देख्न सकिन्छ — एकातिर यी प्लेटहरू जुध्ने स्थानमा हिमालय पर्वत श्रृङ्खला निचोरिएर विस्तारै माथि उठ्दै गएको छ भने अर्कोतिर प्लेटहरूको सतहमुनि यस जुधाइले उत्पन्न भएको तनावको सीमा नाघेपछि कालान्तरमा भूकम्प जाने गरेको छ।

अझ, वर्तमान युगलाई चिनाउने विशिष्ट लक्षणहरू के कस्ता हुनेछन् तिनको भविष्यवाणी गर्दै येशूले भन्नुभएको थियो, “हेर, तिमीहरू नआत्तिओ, किनकि यी सबै कुराहरू हुनैपर्छ, तर अन्त अझै हुनेछैन। किनभने जाति, जातिको विरोधमा उठ्नेछ; र राज्य, राज्यको विरोधमा; अनि ठाउँ-ठाउँमा अनिकाल, महामारी र भुइँचालाहरू हुनेछन्” (मत्ती २४:६-७)। बाइबल यति प्राचीन पुस्तक हो र पनि यो कुनै वैज्ञानिक तथ्य वा वास्तविकतासित बाझ्दैन। बाइबल सृष्टिकर्ता परमेश्वरकै प्रेरणाद्वारा दिइएको हो भन्ने यो एउटा अकाट्य प्रमाण हो।



“परमेश्वरले भूकम्प जस्ता विनाशकारी घटनाहरू किन आइपर्न दिनुहुन्छ?”
हाम्रा एक कविका शब्दमा, “ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्?” मानौं सृष्टिकर्ताकै दोष! भूकम्पबाट नेपालमाथि अन्याय भएको छ भन्ने कतिले गुनासो गरेका छन्। के एउटा माटाको भाँडाले त्यसलाई बनाउने कुम्हालेसित झगडा गर्छ र? प्रिय पाठक, सृष्टिकर्ताको कुनै दोष छैन। उहाँले संसारलाई सिद्ध रूपमा सृष्टि गर्नुभएको थियो। तर सृष्टि गरिएका प्रथम जोडी आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरेपछि उहाँले मानिसलाई भन्नुभयो, “भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्टसँग तिमीले आफ्‍नो सारा जीवनभरि यसबाटको फल खानेछौ…तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ”।१० त्यस दिन संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो र त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो। मानिसकै पापको प्रतिफलस्वरूप सारा सृष्टि पीडाग्रस्त छ, आज मात्र होइन तर मानिसद्वारा संसारमा पाप पसेको दिनदेखि — “सृष्टि व्यर्थताको अधीनमा राखिएको छ…अहिलेसम्म पनि सारा सृष्टि [नेपाल मात्र होइन] एकसाथ ऐया-आत्था गरिरहेको छ र प्रसूति-वेदनामा तड्पिरहेको छ”।११ एक दिन यी अन्त हुनेछन् र सृष्टि एउटा नयाँ युगमा प्रवेश गर्नेछ जब परमेश्वरको राज्य आउनेछ जहाँ धार्मिकताले वास गर्नेछ। तर पहिला मानिसले आफ्‍नो सृष्टिकर्तासित मिलाप गर्नुपर्छ। मानिसको होस खोल्नलाई पनि परमेश्वरले उसलाई कुनै न कुनै तवरले हल्लाउनुहुन्छ ताकि उसले पश्चात्ताप गरोस्।

पीडितलाई राहत
तिर्पाल, खाद्यान्न, औषधि आदि लादेर कैयौं गाडीहरू कुदिरहेका छन्। पीडितलाई राहत समयमै पुग्‍नुपर्छ। अर्कोतिर, भूकम्पबाट मानसिकरूपमा पीडितलाई राहत कसरी पुर्‍याउन सकिएला, धेरैलाई प्रश्न छ। प्रश्न उनीहरूलाई गर्नुस् जसका जीवन अरू-अरू भयङ्कर कम्पनहरूले हल्लाइएर एक समय क्षत विक्षत पारिएका थिए तरैपनि अहिले उनीहरूसित महाभूकम्पले पनि हल्लाउन नसक्ने शान्ति र आशा छ।

जस्तै नवलपरासीका राम प्रसाद अर्जेल, हिजोसम्म ड्रग्स र डिप्रेशनका शिकार बनी सबैको दृष्टिमा घृणित युवा बनेका थिए। तर ख्रीष्टलाई आफ्‍नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेपछि यस नवजवान युवाको अन्धकारमय जीवन उज्यालोमा परिणत भएको छ। यसको रहस्य? यसको रहस्य कुनै “धर्म” होइन तर येशू ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो। येशूले भन्नुभयो, “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु”।१२ आत्मिक र अनन्तसम्म दिगो राहत केवल येशूमा छ।

“के हो त आशाको सन्देश?”
निश्चय पनि यी दिनहरूमा तपाईं गम्भीर भएर सोच्न बाध्य बन्नुभएको छ। वाफसरि यो जीवन लिएर घमन्ड गर्नु व्यर्थ रहेछ भन्ने लाग्‍न थालेको छ। क्षणभङ्गुर मानिसले आफ्‍नो पैसा वा प्रतिष्ठा, आफ्‍नो बल वा बुद्धि, आफ्‍नो सुन्दरता वा सीपमा घमन्ड गर्नु मूर्खता रहेछ भनेर अब मान्नुभएको छ सायद। अब हामी यी नाशवान् कुराको पछि दगुर्न छोडेर सत्य र जीवित परमेश्वरको खोजी नगरौं? आशाको सन्देश यहाँ छ:

“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्”।१३

यसको माने —

मेरो पापको कारण म नष्ट हुँदैछु
तर मप्रति परमेश्वरको ठूलो प्रेम छ
मलाई उद्धार गर्न परमेश्वरको पुत्र (येशू) संसारमा आउनुभयो
उहाँ मेरा पापहरूका निम्ति क्रूसमा टाँगिएर मर्नुभयो अनि तेस्रो दिनमा बौरनुभयो
येशूमाथि विश्वास (भरोसा) गर्न म आफैंले रोज्नुपर्छ; विश्वास गरें भने म नष्ट हुनेछैन बरु सित्तैंमा अनन्त जीवन पाउनेछु!
विश्वास गरिनँ भने म पछि नरकमा नष्ट हुनेछु।



“के परमेश्वरले म पापीलाई पनि प्रेम गर्नुहुन्छ र?”
धादिङमा एउटी बज्यैले आफ्‍‍नी दूधे नातीनीलाई जोगाउने उद्देश्यले आफू घोप्टो परी बच्चालाई आफ्‍नो जीउले छेक्दा, आफै सख्त घाइते भइन्। उता नुवाकोटमा एसएलसी भर्खरै दिएकी सजना श्रेष्ठले गुफा राखिएकी आफ्‍‍नी बहिनीलाई निकाल्न आफ्‍नै ज्यानको बाजी राखेर घरभित्र पस्दा घर ढलेर तत्कालै उनको मृत्यु भयो। आफ्‍नो प्रियको उद्धार गर्न आफूलाई बिर्सनेहरूको स्वभाविक मायाको यस्ता थुप्रै घटना हामीले सुन्दैछौं। साथै कर्तव्यनिष्ठ भई आफ्‍नो ज्यानको माया नराखी पुरिएकाहरूको उद्धार गर्न पछि नहट्ने वीरहरूको तारिफ गरिनुपर्छ। उद्धार गर्न खटेका कति सुरक्षाकर्मीहरूले आफ्‍नै ज्यान गुमाए। येशूले भन्नुभयो, आफ्‍नो मित्रको निम्ति आफ्‍नो ज्यान दिनुभन्दा ठूलो प्रेम अर्को छैन।

तर विचार गर्नुपर्ने कुरा अब यहाँ छ। हामी परमेश्वरका मित्र थिएनौं। हाम्रा दुष्ट कामहरूले गर्दा हामी परमेश्वरबाट पराई भएका थियौं र आफ्‍नो मनमा उहाँका शत्रु भएका थियौं! तर परमेश्वरले हामीतर्फ आफ्‍नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ — हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो!१४

अनि मृत्युले ख्रीष्टलाई जितेन। उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो! यो ऐतिहासिक तथ्य हो। उहाँ जीवित हुनुहुन्छ। उहाँले मात्र मृत्युलाई जित्नुभएको छ। उहाँकहाँ आउनेलाई उहाँले अनन्त जीवन दिनुहुन्छ। कति सुन्दर आशा! तपाईं अब के गर्नुहुन्छ? रोजाइ तपाईंको हातमा छ।




अन्धकार, बन्धन, दुःखदेखि
येशू म आऊँ, येशू म आऊँ
पाउन छुटकारा, हर्ष, दृष्टि
येशू म आउँदैछु!
आँधीदेखि तपाईंको आडमा,
जगको शोकदेखि सान्त्वनामा
सङ्कटदेखि प्रशंसामा,
येशू म आउँदैछु!

बाइबल सन्दर्भ:१मर्कूस ८:३६; २लूका १३:४-५; ३रोमी ३:१०,२३;४रोमी ६:२३ ५हिब्रू ९:२७; ६गलाती ५:१९; ७यूहन्ना ३:३६; ८यूहन्ना ८:१२; ९अय्यूब २६:७; १०उत्पत्ति ३:१७,१९; ११रोमी ८:२०,२२; १२मत्ती ११:२८; १३यूहन्ना ३:१६; १४रोमी ५:८

No comments:

Post a Comment