Wednesday, November 15, 2017

ख्रीष्टको दोस्रो आगमन सम्बन्धी गलत धारणाहरू




सी.आई. स्कोफिल्ड

 बाइबल अध्ययनको प्राथमिक चरणमा हुनुभएकाहरूलाई केही मदत पुग्ला कि भनेर ख्रीष्टको व्यक्तिगत र स-शरीर पुनरागमनको बाइबलीय शिक्षालाई खण्डन गर्ने विभिन्न उपकल्पनाहरू (theories) लाई यहाँ संक्षेपमा हेरिनेछ।

वर्तमान प्रबन्धको अन्तमा हुने उहाँको स-दृश्य र स-शरीर आगमन सम्बन्धी पवित्र शास्त्रका खण्डहरूलाई उहाँका ईश्वरीय गुणसित सम्बन्धित खण्डहरूसित अल्मल्याइनु हुँदैन भन्ने कुरा त प्रस्टै हुनुपर्छ। ईश्वरीय गुणले उहाँ सर्वज्ञानी र सर्वव्यापी हुनुभएकोले उहाँले सब कुरा जान्नुहुन्छ र उहाँ सधैं सबै ठाउँमा उपस्थित हुनुहुन्छ। मत्ती १८:२० र मत्ती २८:२० जस्ता खण्डहरू यसका नमूना हुन्।

यस अर्थमा उहाँ सधैं हामीसित हुनुहुन्छ, अँ यस युगको अन्तसम्म नै। यो त हृदयलाई हर्षित तुल्याउने सत्यता हो।

तर ख्रीष्ट येशू, जो एक मानव पनि हुनुहुन्छ, यस घडी स-शरीर व्यक्तिगत रूपमा परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ जसरी प्रेरित १:९-११ ले प्रस्टै बताएको छ:

अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा-हेर्दै उहाँ माथि उठाइनुभयो; र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो। अनि उहाँ माथी जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए; अनि उनीहरूले भने: "हे गालीलका मानिसहरूको, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ" (प्रेरित १:१०,११)।

स्तिफनसले उहाँलाई त्यहीँ देखेका हुन्:

तर तिनले पवित्र आत्माले भरपूर भएर स्वर्गतिर डिठ लाएर हेर, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे, र भने: "हेर्नुहोस्, आकाशहरू खोलिएका र मानिसका पुत्रलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको म देख्दछु!" (प्रेरित ७:५५,५६)।

आफैद्वारा हाम्रा पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो (हिब्रू १:३)।

यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहुनुभएको छ (कलस्सी ३:१)।

यसलाई चित्रण गर्ने एउटा उदाहरण: फ्रान्स र प्रस्सियाको यद्ध चलिरहँदा, भोन मोल्टके, आफ्नो बुद्धि र सीपद्वारा साथै टेलिग्राफ तार-प्रणालीमार्फत, हरेक युद्धस्थलमा साँच्ची नै उपस्थित थिए यद्यपि स-दृश्य र व्यक्तिगत रूपमा उनी आफ्नो बर्लिनस्थित अफिसमा उपस्थित थिए। युद्धको पछिल्लो चरणमा उनी पेरिससामुको सेनासँग सम्मिलित भए अनि तब त्यहाँ उनको वास्तविक र स-दृश्य उपस्थिति हुन गयो। त्यसरी नै हाम्रा प्रभु आफ्नो ईश्वरीय गुणहरूको हैसियतले साँच्ची नै आफ्नो मण्डलीसँग अहिले नै उपस्थित हुनुहुन्छ, तर आफ्नो दोस्रो आगमनमा उहाँ स-दृश्य र व्यक्तिगत रूपमा यस पृथ्वीमा उपस्थित हुनुहुनेछ।

१) पेन्टेकोस्टको दिनमा भएको पवित्र आत्माको आगमन प्रभुको आगमन सम्बन्धीका अगमवाणीहरूको पूरा हुवाइ होइन न ता जोशिला जागृतिहरूमा वा आशिषमय प्रार्थना सभाहरूमा उहाँको उपस्थितिको अनुभव गरिनु नै त्यसको पूरा हुवाइ हो, किनकि:

(१) यस्तो व्याख्याले पवित्र आत्मालाई ख्रीष्टको एउटा अभिव्यक्ति (manifestation) मात्र तुल्याएर त्रिएकताको शिक्षालाई व्यावहारिक रूपमा रद्द गर्दछ।

(२) किनकि आत्माको आगमन सम्बन्धी आफ्नो प्रतिज्ञामा ख्रीष्टले उहाँलाई "अर्को शान्तिदाता" (यूहन्ना १४:१६) को संज्ञा दिनुभएको छ; र यूहन्ना १६:७ मा ख्रीष्ट भन्नुहुन्छ: "म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।"

(३) किनकि पेन्टेकोस्टपछि लेखिएका प्ररितको पुस्तक, पत्रहरू र प्रकाशको पुस्तकका लेखकहरूले प्रभुको आगमनलाई सधैं भविष्यमा हुने भनी एक सय पचास भन्दा बढी पटक उल्लेख गरेको पाइन्छ।

(४) किनकि ख्रीष्टको आगमनमा हुने भनी भविष्यवाणी गरिएका कुनै पनि घटनाहरू पेन्टेकोस्टमा पूरा भएनन्। ती हुन्: सुतेका पवित्र जनहरूको बौरिउठाइ (१ कोरिन्थी १५:२२,२३; १ थेस्सलोनिकी ४:१३-१६); जीवित रहेका विश्वासीहरूको "बदली" जसमार्फत उनीहरूले "अविनाशलाई पहिरनैपर्छ" -- तिनीहरूका "दीनहीन शरीर...उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ" र तिनीहरू प्रभुलाई भेट्नका लागि हावामा उठाइनेछन् (१ कोरिन्थी १५:५१-५३; १ थेस्सलोनिकी ४:१७; फिलिप्पी ३:२०,२१); र बडो सामर्थ्य र महिमासहित मानिसका पुत्रको स-दृश्य आगमनको कारणले पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन् (मत्ती २४:२९,३०; प्रकाश १:७)।

हाम्रा प्रभुको आगमनको सेरोफेरोका घटनाहरू यिनै हुन्। जब उहाँ आउनुहुनेछ, यी घटनाहरू प्रत्यक्ष हुनेछन्। पेन्टेकोस्टमा यी मध्ये कुनै पनि पूरा भएनन् न ता पवित्र आत्माको अन्य कुनै अभिव्यक्तिमा नै पूरा भएका छन्।

२) एक पापीको जीवन परिवर्तित हुनु प्रभुको दोस्रो आगमन होइन।

कैयौं संख्यामा रहेका परिस्थितिजन्य भविष्यवाणीहरू सन्तोषजनक रूपमा यसरी नै पुष्टि हुने भन्ने हास्यास्पद उपकल्पनालाई गम्भीर रूपमा त नअपनाइनु पर्ने जस्तो देखिन्छ। यहाँ यति मात्र बताउन आवश्यक छ कि,

(१) पवित्र शास्त्र अनुसार वास्तविकता यसको ठीक विपरित छ। जीवन परिवर्तन एक पापी ख्रीष्टमा आएर हुने हो, ख्रीष्ट पापीकहाँ आउनुभएर हुने होइन (मत्ती ११:२८; यूहन्ना ५:४०; यूहन्ना ७:३७; ६:३७)।

(२) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू पापीको जीवन परिवर्तनको घडीमा पूरा हुँदैनन्।

३) ख्रीष्टियनको मृत्यु ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) प्रभुको एउटा भनाइलाई नबुझेर जब चेलाहरूले उनीहरूमध्येका एकजना उहाँ नआउन्जेलसम्म रहिरनेछन् भन्ने अर्थमा लिए, तब 'यो चेलाचाहिँ मर्दैन' भन्ने कुरा भाइहरूको बीचमा फैलियो (यूहन्ना २१:२२-२४)।

(२) बाइबलका लेखकहरूले विश्वासी जनको मृत्युलाई सधैं उसको प्रास्थानको रूपमा उल्लेख गरेको पाइन्छ। प्रभुको आगमनलाई ख्रीष्टियनको मृत्युसँग गाँसेको एउटै खण्ड पाइँदैन। हेर्नुहोस्, फिलिप्पी १:२३; २ तिमोथी ४:६; २ कोरिन्थी ५:८। मर्नै लागेका स्तिफनसले स्वर्ग खोलिएका देखे र मानिसका पुत्र आइरहनुभएको होइन तर "परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको" देखे (प्रेरित ७:५५,५६)।

(३) प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू ख्रीष्टियनको मृत्युको घडीमा पूरा हुँदैनन्।

४) रोमीहरूद्वारा सम्पन्न गरिएको यरूशलेमको विध्वंश ख्रीष्टको दोस्रो आगमन थिएन; किनकि

(१) मत्ती २४ र लूका २१ मा तीनओटा घटनाहरूको भविष्यवाणी गरिएको छ: मन्दिरको विध्वंश, प्रभुको आगमन र संसार (यस युग) को अन्त। मत्ती २४:३ मा हेर्नुहोस्। यी प्रस्ट रूपमा भिन्न-भिन्न कुराहरूलाई बिना आधार  एउटाको पूरा हुवाइ तीनैओटाको पूरा हुवाइ हो भन्ने धारणा उब्जिन गएको हो।

(२) प्रेरित यूहन्नाले प्रकाशको पुस्तकलाई यरूशलेमको विध्वंशपश्चात् लेखेका हुन् तर उनले प्रभुको आगमन भविष्यमै हुने भनी बताउँछन् (प्रकाश १:४,७; २:२५; ३:११; २२:७,१२,२०)। बाइबलको अन्तिम प्रतिज्ञा यस्तो छ, "साँच्ची नै म चाँडै आउँछु"; र अन्तिम प्रार्थना यस्तो छ, "ज्यु, आउनुहोस्, हे प्रभु येशू।"

(३)  प्रभुको आगमनमा हुने भनी भविष्यवाणी गरिएका माथि उल्लेखित कुनै पनि घटनाहरू यरूशलेमको विध्वंशको घडीमा पूरा भएनन्। हेर्नुहोस्, १ थेस्सलोनिकी ४:१४-१७; मत्ती २४:२९-३१; मत्ती २५:३१,३२ इत्यादि।

५) इसाईमतको विस्तार ख्रीष्टको दोस्रो आगमन होइन; किनकि

(१) इसाईमतको विस्तार बिस्तारै हुने कुरा हो भने पवित्र शास्त्रले प्रभुको पुनरागमनचाहिँ झट्टै र अचानक हुने बताएको छ (मत्ती २४:२७,३६-४२,४४,५०; २ पत्रुस ३:१०; प्रकाश ३:३)।

(२) इसाईमतको विस्तार एक प्रक्रिया हो भने प्रभुको पुनरागमनलाई पवित्र शास्त्रले सधैं घटनाको रूपमा उल्लेख गरेको पाइन्छ।

(३) इसाईमतको विस्तारले दुष्टहरूलाई मुक्ति ल्याउँछ भने ख्रीष्टको आगमनले उनीहरूलाई मुक्ति होइन तर "अचानक विनाश" ल्याउनेछ (१ थेस्सलोनिकी ५:२,३; २ थेस्सलोनिकी १:७-१०; मत्ती २५:३१-४६)।

६) यी कथित व्याख्या र उपकल्पनाहरू व्यापक भए तापनि तिनीहरू कुनै पनि शिक्षण संस्था वा सम्प्रदायका नाम चलेका ईश्वर-शास्त्रीका पुस्तकहरूमा भेटिँदैनन् न ता कुनै पनि सर्वमान्य बाइबल शिक्षकले यी धारणाहरूलाई समर्थन गरेको पाइन्छ। यी सबैले ख्रीष्टको स-शरीर स-दृश्य दोस्रो आगमनकै शिक्षालाई समर्थन गरेको पाइन्छ।

तरैपनि कहिलेकाहीँ यस्तो दाबी गरेको पाइन्छ कि सुसमाचार प्रचारद्वारा संसारै इसाई नबनेसम्म र उक्त संसारले एक हजार वर्षसम्म आफूलाई ख्रीष्टको आत्मिक राज्यको अधीनतामा नसुम्पेसम्म दोस्रो आगमन हुनै सक्दैन। यो धारणा पूरै गलत छ किनकि:

(१) पवित्र शास्त्रले ख्रीष्टको दोस्रो आगमनको घडीमा पृथ्वीको अवस्था सहस्राब्दीको आशिषले होइन बरु भयानक दुष्टताले भरिएको हुनेछ भनी बयान गरेको पाइन्छ (लूका १७:२६-३२ लाई उत्पत्ति ६:५-७ सित तुलना गर्नुहोस्; उत्पत्ति १३:१३; लूका १८:८; लूका २१:२५-२७)।

(२) पवित्र शास्त्रले वर्तमान प्रबन्धको सफरलाई शुरूदेखि अन्तसम्मै यस्तो प्रकारले बयान गरेको पाइन्छ कि उक्त बयानले यस प्रबन्धको कुनै पनि समयमा संसार इसाई बन्न सक्ने सम्भावनालाई कुनै ठाउँ दिँदैन  (मत्ती १३:३६-४३,४७-५०; मत्ती २५:१-१०; १ तिमोथी ४:१; २ तिमोथी ३:१-९; ४:३,४; २ पत्रुस ३:३,४; यहूदा १७-१९)।

(३) वर्तमान प्रबन्ध अन्तर्गत परमेश्वरको उद्देश्य संसारको धर्म-परिवर्तन (conversion) होइन, बरु "अन्यजातिहरूका बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई" हो। यस कुरापछि उहाँ फर्कनुहुनेछ अनि तब मात्र, यसभन्दा अघि होइन, संसार परिवर्तित हुनेछ। हेर्नुहोस्, प्रेरित १५:१४-१७; मत्ती २४:१४ ("साक्षी हुनालाई"); रोमी १:५ (सबै जातिहरू "बाट" होइन सबै जातिहरूका "बीचमा"); रोमी ११:१४ ("सबैलाई" होइन "कतिलाई"); १ कोरिन्थी ९:२२; प्रकाश ५:९ ("हरेक जाति" होइन "हरेक जातिबाट")।

(४) ख्रीष्टको दोस्रो आगमनको दिन आउन अझै हजार वर्षभन्दा बढी समय बाँकी नै छ भने त त्यसको निम्ति "जागो" रहनुपर्छ र उक्त आगमनको "बाटो हेर्दै" जिउनुपर्छ भन्नु अर्थहीन हुन्छ।

No comments:

Post a Comment