Friday, November 17, 2017

मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

 


अनि जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्।"(भजनसंग्रह ९:१०)

जीवनका समस्याहरूको बीचमा परमेश्वरमा भरोसा राख्‍न सक्न परमेश्वरको नाम जान्न आवश्यक छ। परमेश्वरको नाम भन्नाले परमेश्वरका गुणहरू बुझिन्छ। "पवित्र", "सत्य", "सर्वशक्तिमान", "सर्वज्ञानी" जस्ता शब्दहरूले उहाँ को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनेर जनाउँदछन्। त्यसैले परमेश्वर को हुनुहुन्छ भनेर जसले साँच्चै जानेको छ उसैले परमेश्वरको नाम जानेको छ। अनि जसले उहाँको नाम जानेको छ उसले उहाँमाथि भरोसा राख्‍दछ। [प्रिय पाठक, तपाईंले परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु भएको छैन भने हामी तपाईंलाई अर्को लेख पनि पढ्नलाई विनम्र अनुरोध गर्दछौं: मुक्ति पाउन मैले के गर्नुपर्छ?]

के तपाईंको जीवनमा कुनै समस्या छ? आउनुहोस्, एउटा काल्पनिक तराजु लिऔं। एकातिर आफ्नो समस्यालाई राखौं र अर्कोतिर परमेश्वरको नामलाई। अनि सिकौं भरोसा गर्न हाम्रा जीवित र सत्य परमेश्वरलाई!

 परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ -- मेरो समस्यालाई समाधान गर्न सक्ने क्षमता उहाँसित छ; उहाँले त्यसलाई समाधान गर्न सक्नुहुन्छ। उहाँको निम्ति कुनै कुरा पनि औधी कठिन हुँदैन (उत्पत्ति १८:४)। कुनै पनि समस्या उहाँको क्षमताभन्दा बाहिरको हुँदैन। तसर्थ उहाँद्वारा म सबै कुराहरू गर्न सक्नेछु (फिलिप्पी ४:१३)।

[परमेश्वरले] हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ (एफेसी ३:२०)।

 परमेश्वर सर्वज्ञानी हुनुहुन्छ -- मेरो समस्याको बारेमा उहाँलाई सब थाह छ। त्यतिमात्र नभएर मेरो समस्याको समाधान गर्ने उपाय समेत उहाँलाई थाह छ। साथै यस समस्याको बीचमा मैले कतिसम्म सहन सक्छु भनेर पनि उहाँलाई थाह छ।

मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू परीक्षा तिमीहरूमाथि आइपरेको छैन; तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनि बनाउनुहुनेछ (१ कोरिन्थी १०:१३)।

 परमेश्वर बुद्धिमानी हुनुहुन्छ -- मलाई सबभन्दा बढी भलाइ कसरी हुन्छ भनेर उहाँ जान्नुहुन्छ। यसैले त उहाँले यो समस्या मेरो जीवनमा आइपर्न दिनुभयो। मेरो समस्या-समाधानको सर्वोत्तम उपाय उहाँले नै जान्नुहुन्छ।

तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ, र हपार्नुहुन्न; अनि उसलाई यो दिइनेछ (याकूब १:५)।

 परमेश्वर सर्वव्यापी हुनुहुन्छ -- म समस्यामा परेको छु तर म एकलो छैन किनकि परमेश्वर मेरो साथमा हुनुहुन्छ; उहाँ मभित्रै हुनुहुन्छ (गलाती २:२०)। उहाँले मलाई कुनै रीतिले छोड्नुहुनेछैन, न ता मलाई कुनै रीतिले त्याग्नुहुनेछ। समस्या आइपर्दा म एकलैले समाधान गर्नुपर्छ भनेर उहाँले कहिल्यै भन्नुभएन। जिउँदो परमेश्वर नै मेरा सहायक हुनुहुन्छ।

परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस (प्रस्थान १४:१४)।

तिमीहरूको चालचलन पैसाको लोभरहित होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तोष गर; किनकि उहाँ आफैले भन्नुभएको छ: 'म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्नेछु।' यसकारण हामी हिम्मसँग भन्न सक्छौं: 'प्रभु मेरा सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ, मान्छेले मलाई के गर्न सक्छ र?' (हिब्रू १३:५-६)।

यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई समाल्नेछु (यशैया ४१:१०)।

हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु (मत्ती २८:२०)।

 परमेश्वर अपरिवर्तनीय (बदलिन नसकिने) हुनुहुन्छ -- जब परमेश्वरले मलाई बचाउनुभयो तब मेरो जीवनको सबभन्दा ठूलो समस्या हल भयो। अब उही परमेश्वरले त्योभन्दा सानो जुनसुकै समस्यामा पनि मलाई सहायता गर्न सक्नुहुन्छ। जुन परमेश्वरले दाऊदलाई, दनिएललाई, पावललाई र अरू धेरैजनालाई उनीहरूका समस्याहरूमा सहायता गर्नुभयो, उही परमेश्वरले मलाई पनि सहायता गर्न सक्नुहुन्छ। परमेश्वर हरहमेसा परमेश्वर नै हुनुहुन्छ भनी म मानिलिन सक्छु।

येशू ख्रीष्ट हिजो, आज र सधैंभरि एकसमान हुनुहुन्छ (हिब्रू १३:८)।

 परमेश्वर सार्वभौम हुनुहुन्छ -- हरेक परिस्थितिको सम्पूर्ण नियन्त्रण परमेश्वरकै हातमा हुन्छ। उहाँले यो समस्या मेरो जीवनमा आउन दिनुभयो र यो पनि उहाँकै हातमा छ।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् (रोमी ८:२८)।

 परमेश्वर विश्वासयोग्य हुनुहुन्छ -- मेरो समस्याको समाधानको निम्ति मैले परमेश्वरमाथि भरोसा राख्दा उहाँले मलाई धोका दिनुहुनेछैन (व्यवस्था ३१:६)। उहाँका प्रतिज्ञाहरू चुक्नेछैनन्। मेरो यो परिस्थितिमा म परमेश्वरमाथि भर पर्न सक्छु। परमेश्वर पूर्ण रूपमा भरपर्दो, विश्वासीलो, वफादार हुनुहुन्छ।

किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा 'हो' हुन्छन्, र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा 'आमेन' पनि हुन्छन् (२ कोरिन्थी १:२०)।

 परमेश्वर सत्य हुनुहुन्छ -- मेरो समस्याको बीचमा म परमेश्वरको वचनको प्रतिज्ञाहरूलाई दाबी गर्न सक्छु किनभने परमेश्वर झूट बोल्नुहुन्न; उहाँले झूट बोल्नै सक्नुहुन्न (तीतस १:२)। उहाँले जे भन्नुहुन्छ, त्यो उहाँले गर्नुहुन्छ।

उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ सामर्थी पनि हुनुहुन्छ (रोमी ४:२१)।

 ‍परमेश्वर अनन्त हुनुहुन्छ -- अनन्तताको परिप्रेक्ष्यमा वा दाँजोमा हेर्दा मेरो समस्या सानोभन्दा सानो देखिन्छ।

अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन् (व्यवस्था ३३:२७)।

 परमेश्वर प्रेम हुनुहुन्छ -- मेरो यो समस्यामा परमेश्वरले स्वयम् आफैलाई चिनाउन चाहनुहुन्छ। यस्तो कुनै समस्या छैन, त्यो जतिसुकै ठूलो किन नहोस्, जसले मलाई उहाँको प्रेमबाट अलग पार्न सक्दछ।

कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ: 'तपाईंका निम्ति हामी दिनभरि मारिँदछौं; हामी काटिने भेडाहरूझैं गनिँदछौं।' तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ ‍-- न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ (रोमी ८:३५-३९)।

 परमेश्वर भला हुनुहुन्छ -- मेरो समस्या र मेरो अप्ठ्यारो परिस्थितिकै बीचमा पनि परमेश्वरले मलाई उहाँको पुत्रजस्तै बनाउँदै लैजान चाहनुहुन्छ (रोमी ८:२८-२९)। जस्तोसुकै संकष्ट किन नहोस्, उहाँ भला हुनुहुन्छ भनी म उहाँको प्रशंसा गर्न सक्छु (भजनसंग्रह १०७:८,१५)।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् -- उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्। किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, उनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो (रोमी ८:२८-२९)।

 परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ -- मेरो जीवनमा यो समस्या आउन दिनुमा परमेश्वरले ठीक नै गर्नुभएको छ। परमेश्वरले कहिल्यै गलती गर्नुहुन्न।

सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र? (उत्पत्ति १८:२५)।

प्रिय विश्वासी जन, दैनिक जीवनका भार र समस्याहरूका बीच जीवित परमेश्वरलाई कत्तिको सम्झने गर्नुहुन्छ? "जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्" (भजनसंग्रह ९:१०)।

No comments:

Post a Comment