Sunday, November 12, 2017

नाचमा उहाँको स्तुति गर



डेविड क्लाउड

"खैँजडी बजाउँदै र नाचमा उहाँको स्तुति गर; तारवाला बाजाहरू र बाँसुरीहरू बजाउँदै उहाँको स्तुति गर!" (भजनसङ्ग्रह १५०:४)

भजनसङ्ग्रह १५० हरेक ख्रीष्टियनलाई नाच्नू भन्ने आज्ञा होइन, जसरी भजनसङ्ग्रह ६९ पनि ख्रीष्टियनलाई आफ्‍ना शत्रुहरूलाई सराप्नू भन्ने आज्ञा होइन। भजनसङ्ग्रह ६९:२७-२९ लाई विचार गर्नुहोस्:

"तिनीहरूको अधर्ममाथि अधर्म थपिदिनुहोस्; अनि तिनीहरूलाई तपाईंको धार्मिकतामा आउन नदिनुहोस्! जीवितहरूको पुस्तकबाट तिनीहरू मेटिऊन्, र धर्मी जनहरूसँग तिनीहरूको नाम नलेखियोस्!"

ख्रीष्टियनहरूले त्यसरी प्रार्थना गर्नुपर्ने होइन। लूका ९:५४-५६ मा हेर्नुहोस्।

वास्तवमा इस्राएलले गर्ने गरेका धेरैजसो कामकुराहरू आज हामी मण्डली युगमा गर्ने गर्दैनौं। जस्तै शिशु बालकहरूको खतना, बलिदानहरू चढाउने काम, मन्दिरमा गरिने उपासना, खान हुने नहुने सम्बन्धी नियमहरू, विश्रामदिन सम्बन्धी नियमहरू, धार्मिक चाडपर्वहरू, फरक-फरक दशांसहरू, र साथै अरू-अरू कुराहरू।

पुरानो नियमको प्रत्येक भागबाट हामी आत्मिक पाठहरू ग्रहण गर्छौं, तर पुरानो नियमको कुनचाहिँ भाग हामीले पालन गर्नुपर्ने हो भन्ने कुराचाहिँ त्यसलाई नयाँ नियमसित तुलना गरेर निर्धारण गर्दछौं। वर्तमान युगको विश्वासीको जीवन जिउने नियम नयाँ नियम अन्तर्गतका सत्यताहरूको सँगालोमा पाइन्छ।

अनि नयाँ नियम मण्डलीहरूमा नाचेको कुनै उदाहरण छैन। चारओटा सुसमाचारहरूमा प्रभु येशू नाच्नुभएको हामी कतै भेट्दैनौं। प्रेरितहरू नाचेको कुनै उदाहरण छैन। प्रथम मण्डलीहरूमा नाचेको एउटै उदाहरण छैन। नयाँ नियम विश्वासीहरूलाई आत्मिक गीतहरू गाउन आज्ञा गरिएको छ, तर हामीलाई नाच्न आज्ञा दिइएको छैन।

नाच, पुरानो नियममा परमेश्वरको राज्यसित सम्बद्ध थियो (भजनसङ्ग्रह १४९:३-५)। यर्मियाले जब इस्राएलसितको परमेश्वरको नयाँ करार र पृथ्वीमा परमेश्वरको राज्य स्थापना हुने कुराको बयान गरे, उनले दुई-दुई पटक नाचको उल्लेख गरे:

"हे इस्राएलकी कन्या, म तँलाई फेरि निर्माण गर्नेछु, र तँ निर्माण गरिनेछस्; फेरि पनि तैंले आफूलाई तेरा खैँजडीहरूले सिँगार्नेछस्, र खुशी मनाउनेहरूको नाचमा निस्केर जानेछस्... तब कन्या नाची-नाची रमाउनेछ; जवानहरू र वृद्धहरू दुवैले एकसाथ आनन्द मनाउनेछन्; किनकि म तिनीहरूको शोक आनन्दमा परिवर्तन गरिदिनेछु, र तिनीहरूलाई सान्त्वना दिनेछु, अनि शोकको सट्टामा तिनीहरूलाई आनन्द मनाउने तुल्याउनेछु" (यर्मिया ३१:४,१३)।

नयाँ नियम मण्डलीहरूमा नाचको उल्लेख नहुनु सम्भवतः यो कारणले गर्दा हो कि वर्तमान समयचाहिँ ख्रीष्टलाई अस्वीकार गरिएको उहाँको निर्वासनको अवधि हो। अहिले दुलाहा टाढा देशमा जानुभएको छ (मत्ती ९:१४-१५)।

"अन्तिम रातको भोजनको बेला प्रभु येशूले भन्नुभयो, "तर म तिमीहरूलाई भन्दछु, अबदेखि उसो जबसम्म म मेरा पिताको राज्यमा तिमीहरूसित यो नयाँ पिउँदिनँ, त्यस दिनसम्म म यस दाखको फलबाट कहिल्यै पिउनेछैनँ" (मत्ती २६:२९)।

जब थुमाको विवाह आइपुग्छ, तब खुशी हुने र खुबै आनन्द मनाउने (प्रकाश १९:७) समय आउनेछ। अनि मलाई कुनै शङ्का छैन कि त्यतिबेला भजनसङ्ग्रह १४९ र १५० र यर्मिया ३१ मा बताइएको रमाहटपूर्ण नाचको सुरु हुनेछ! ज्यू, आउनुहोस्! हे प्रभु येशू!

ख्रीष्टको पुनरागमनको घडीमा जब यस पृथ्वीमा परमेश्वरको राज्य फेरि आउनेछ, तब हामी नाच्नेछौं, तर त्यो चाहिँ डिस्को वा रक एण्ड रोल खाले नाच हुनेछैन।

यो लेख www.wayoflife.org वेबसाइटको मौलिक रचना Praise God in Dance को नेपाली रुपान्तरण हो। यसलाई लेखकको अनुमतिले यहाँ प्रकाशित गरिएको छ।

No comments:

Post a Comment