Sunday, November 12, 2017

अक्विला र प्रिस्किल्ला





रोमी १६:३-४
१) अक्विला र प्रिस्किल्ला उद्यमी थिए:
उनीहरू मेहनती र सही तरिकामा व्यस्त थिए। उनीहरूको पाल बनाउने पेशा थियो (प्रेरित १८:२-३) र उनीहरू आफ्‍नो व्यवसायमा कडा परिश्रम गर्थे। अक्विला एक यहूदी भएको कुरा हामीले उल्लेख गर्नुपर्छ (प्रेरित १८:२)। पावलले पहिलो पटक यी दुई विश्वासीहरूलाई कोरिन्थमा भेटेका भए तापनि उनीहरू मौलिक रूपमा रोमबाट आएका थिए (प्रेरित १८:२)।

२) उनीहरू आतिथि सत्कार गर्न सरीक थिए:
उनीहरूले आफ्‍नो घर प्रेरित पावलको लागि खुल्ला गरे जो पनि पाल बनाउने नै थिए। उनीहरूले पावललाई आफ्‍नो घर मात्र होइन तर आफ्‍नो हृदय पनि खुल्ला गरे (प्रेरित १८:३)।

३) उनीहरू सिकाउन सकिने स्वभावका थिए:
सम्भवतः अक्विला र प्रिस्किल्ला पावलको सेवकाइबाट प्रभुलाई चिन्ने ज्ञानमा आएका थिए। उनीहरूको प्रेरित १८ मा पावलसँग जम्काभेट हुनुभन्दा अगावै उनीहरूले प्रभुलाई चिनिसकेका थिए भन्ने हामीसँग कुनै अभिलेख छैन। उनीहरूले पावललाई आफ्‍नो घरमा भित्र्याए मात्र होइनन् तर उनीहरूले पावलका ख्रीष्टलाई पनि आफ्‍नो हृदयमा भित्र्याए। सबै व्यग्रता र मनको तयारीका साथ उनीहरूले आनन्दसाथ पावलले प्रचार गरेको सन्देशलाई स्वीकार गरे। उनीहरू पावलका चेला बने। उनीहरूले पावल प्रेरितबाटका शिक्षा र सत्यतालाई आत्मसात गरे।

४) उनीहरू बाइबलमुखी थिए:
उनीहरू सिक्नलाई तत्पर मात्र थिएनन्, उनीहरू अरूहरूलाई सिकाउन योग्य पनि थिए (प्रेरित १८:२४-२६)। अपोल्लस एक निपुण वक्ता थिए जो पुरानो करारमा सामर्थी थिए, तर उनी सुसमाचारका मूलभूत तथ्यहरूमा (र प्रबन्धसम्बन्धी सत्यतामा कमजोर) अनभिज्ञ थिए। यस मानिसका लागि परमेश्वरका कुराहरूको सम्बन्धमा, अक्विला र प्रिस्किल्लाले अपोल्लसलाई आफूकहाँ लगे र परमेश्वरको मार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। सम्भवतः अपोल्लससँगको यस वार्तालापमा प्रिस्किल्लाले अगुवाइ गरे, किनभने केही ग्रीक पाण्डुलिपिहरूमा प्रेरित १८:२६ मा उनको नाम पहिले उल्लेख गरिएको छ। कतिपय श्रीमतीहरू आफ्‍ना श्रीमानहरू भन्दा अझ बाइबलका शिक्षाहरू बढी उत्तम तवरले व्याख्या गर्न कुशल हुन्छन्, र ठीक प्रकारको परिवेशमा स्त्रीहरूले अगुवाइ गर्नु उचित छ (यद्यपि निश्चयनै स्थानीय मण्डलीमा सिकाउने अवस्थामा होइन)। उनी परमेश्वरको वचन राम्ररी जान्दथिन् र उनी यस्ता प्रकारका शिक्षागत कुराहरूमा कसरी व्यवहार गर्ने भन्ने कुरामा दक्ष थिइन्। श्रीमान र श्रीमतीको यो टोली परमेश्वरको सत्यतामा राम्ररी गढिएको र सत्यताद्वारा अरूको सेवा गर्न योग्यका थिए।

५) उनीहरू स्थानीय मण्डलीमुखी थिए:
१ कोरिन्थी १६:१९ र रोमी १६:५ - यी दुवै खण्डहरूले तिनीहरूको घरमा (रोम र एफेसस दुवैमा) भएको मण्डलीको बारेमा बताएको छ। तिनीहरूको घर विश्वासीहरूको लागि भेला हुने ठाउँ थियो - उपासना गर्ने, गाउने, प्रचार गर्ने, सङ्गति गर्ने, प्रार्थना गर्ने, र रोटी भाँच्ने स्थान थियो।

६) उनीहरू पति-पत्नी मिलेर बनेको एक टोली थिए:
प्रिस्किल्लाको नाम नयाँ करारमा छ-छ पटक उल्लेख हुँदा हरेक ठाउँमा उनको श्रीमानको नाम पनि सँगै भेटिन्छ। श्रीमानसँगै उनको नाम सधैं उल्लेख भएको छ। यसले उनीहरूको सम्बन्धमा तालमेल मिलेको र उद्देश्यमा एकता भएको देखाउँदछ। उनी आफ्‍नो श्रीमानसँग काम गर्दथे, उनको विरूद्धमा होइन। उनीहरू राजाको सेवा गर्न एउटै टोलीको रूपमा सक्रिय थिए।

७) परमेश्वरबाट दान पाएको व्यक्तिसित उनीहरूको ठीक सम्बन्ध थियो:
रोमी १६:३ - यस पदमा तिनीहरूलाई पावलका "सहकर्मीहरू" भनी जनाइएको छ। जब अक्विला र प्रिस्किल्ला पावलको विचारमा आउँथ्यो, उसले भन्न सक्थ्यो, "यी प्रिय विश्वासीहरू मेरा सहयोगीहरू हुन्, मेरा सहकर्मीहरू हुन्।" के तपाईंको पाष्टरले तपाईंको बारेमा यस्तै भन्न सक्नुहुन्छ? परमेश्वरबाट दान-प्राप्त व्यक्तिसँग तपाईंको सम्बन्ध कस्तो प्रकारको छ (तुलना गर्नुहोस् एफेसी ४:११)? तपाईं आफ्‍नो पाष्टरको सहयोगी हुनुहुन्छ कि बाधक हुनुहुन्छ? तपाईं उहाँसँगै मिलेर काम गर्दैहुनुहुन्छ कि उहाँको विरूद्धमा? के उहाँले तपाईंलाई फाइदाजनक देख्नुहुन्छ कि हानिकारक? पावलले निश्चय नै यी श्रीमान-श्रीमतीको टोलीलाई उनको सेवकाइ र ख्रीष्टको सेवामा ठूलो फाइदाको रूपमा देख्ने गरेका थिए।

८) उनीहरू साहसी थिए:
रोमी १६:४ - स्पष्ट रूपमा पावलको जीवन यी साहसी श्रीमान-श्रीमतीप्रति ऋणी थियो। हामीलाई विस्तृत रूपमा बताइएको त छैन, तर तिनीहरूले कुनै न कुनै किसिमले आफ्‍नो जीवनलाई पावलको निम्ति जोखिम र सङ्कटमा पारेको हुनुपर्छ। तिनीहरूले पावलको ज्यान जोगाउनको लागि आफ्‍नै गर्दन दिएका थिए, र परिणामस्वरूप पावल र अन्यजातिहरूका सबै मण्डलीहरू तिनीहरूप्रति धन्यवादको ऋणी थिए। पावल परमेश्वरबाट अन्यजातिहरूका लागि एक विशेष प्रेरित थिए, र यदि प्रिस्किल्ला र अक्विला बीचमा नआएका भए, पावलको मृत्यु भइसकेको हुन्थ्यो र अन्यजातिहरूप्रति उनको सेवकाइ अप्रत्याशित रूपमा अन्त हुन जान्थ्यो। प्रिस्किल्ला र अक्विलाले पावललाई आत्मामा १ यूहन्ना ३:१६ अनुसार साँचो प्रेम प्रकट गरे। पावलले जे-जस्तो घटनालाई सङ्केत गरको भए तापनि, यो सम्भव छ कि रोमी १६:३ मा प्रिस्किल्लाको नाम पहिला उल्लेख गरिएको तथ्यलाई प्रकाशमा पार्दा उनकै बढी महत्त्वपूर्ण भूमिका भएको हुनुपर्छ। यसले हामीलाई अर्को बुँदातर्फ लैजान्छ।

९) प्रिस्किल्ला अधीनतामा बस्ने पत्नी थिइन् तर दमन गरिएकी भने थिइनन्:
यी श्रीमान/श्रीमतीको उल्लेख भएको नयाँ नियमका छ ठाउँहरूमध्ये तीन ठाउँहरूमा प्रिस्किल्लाको नाम पहिलो स्थानमा रहेको छ (केही ग्रीक पाण्डुलिपिको प्रेरित १८:२६ मा पहिलो स्थानमा उल्लेख गरिएको कुरा सहित चार ठाउँ)। किन प्रिस्किल्लाको नाम यी खण्डहरूमा पहिलो स्थानमा आयो, जब कि सूचीमा श्रीमानको नाम पहिलो स्थानमा राख्ने चलन थियो? हामीलाई कारण बताइएको छैन तर हामी अनुमान मात्र गर्न सक्छौं। के यसको कारण ती दुईमध्ये उनी बढी फुर्तिलो भएकीले हो कि? के उनको दरिलो खालको चरित्र थियो? के उनमा उत्कृष्ट जोश थियो? के उनमा निश्चित क्षेत्रहरूमा उत्कृष्ट क्षमता थियो? के उनले पावलको लागि आफ्‍नै गर्दन दिने जोखिम उठाउँदा बढी महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्? पवित्र शास्त्र मौन रहेको अवस्थामा बोल्न कोशिश गर्नुभन्दा, निम्न कुराहरू भने भन्न सकिन्छः

उनी दमन गरिएकी स्त्री थिइनन्। उनीसँग विशेष वरदानहरू वा क्षमताहरू भएको देखिन्छ अथवा ख्रीष्टप्रति विशेष खालको भक्ति भएको देखिन्छ जसले गर्दा उनले कतिपय क्षेत्रहरूमा आफ्‍नो श्रीमानलाई यस्तो प्रकारले उछिन्न सकिन् कि उनी पावलबाटको विशेष सम्मान पाउन योग्य ठहरिन्।

उनी अधीनतामा बस्ने पत्नी थिइन्। नयाँ नियममा (लूका र पावलद्वारा) उनलाई उल्लेख गरिएका छओटै खण्डहरूमा उनी कुनै तरिकाले आफ्‍नो स्थानमा नरहीकन कामकुरा गरेको भन्ने कुनै सङ्केत कतै पाइँदैन। उनको कहिल्यै आलोचना गरिएको छैन बरु तारिफ गरिएको छ। उनलाई सधैं उनको श्रीमानसँगको सम्बन्धमा नै उल्लेख गरिएको छ। उनी अधीनतामा बस्ने खालकी श्रीमती थिइन्।

१०) उनीहरू अन्तसम्मै विश्वासयोग्य र स्थिर थिए:
२ तिमोथी ४:१९ - यो पत्र पावलको अक्विला र प्रिस्का (प्रिस्किल्ला) सँग भएको पहिलो भेटको १४ बर्ष पछि लेखिएको अन्तिम पत्र थियो। तिनीहरू विश्वासयोग्य विश्वासीहरू थिए। यी दुई विश्वासीहरूको बारेमा पावल वा लूकाको कुनै पनि पत्रहरूमा नकारात्मक रूपमा भनिएको छैन। अभिलेखहरूले देखाए अनुसार, पावल र अक्विला/प्रिस्किल्लाबीच सधैं एक मन थियो। पावलले कहिले पनि तिनीहरूलाई डेमासलाई भन्नु परे झैं भन्नु परेन (२ तिमोथी ४:१०)। तपाईंको बारेमा नि? आजको १४ बर्ष पछि तपाईंको आत्मिक अवस्था कस्तो होला? हामीले हाम्रो पहिलो प्रेमलाई नत्यागौं र हामीले हाम्रो मुक्तिको आनन्दलाई कहिल्यै नगुमाऊँ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

No comments:

Post a Comment