Wednesday, November 8, 2017

अनन्त विनाशबाट बाँच्ने उपाय




प्रदेश श्रेष्ठ

जु वा खेलेर पैसा, घरबार, जग्गा-जमिन गुमाउने मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्नै आत्माको खेलबाड गरी तपाईं किन नरक जानुहुन्छ? बाइबलले भन्दछ,

"डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।" (प्रकाश २१:८)

कतिले भन्छन्, "येशूमा विश्वास नगर्नेहरू नरक जान्छन् भन्‍ने बाइबलको कुरा म मान्दिनँ"।

तर यसबारे भूलमा पर्नु भनेको त अनन्त नरक जानु हो। त्यतिबेला पछुताएर हुँदैन, समय ढिलो भइसकेको हुन्छ। नरक एउटा वास्तविक ठाउँ हो, काल्पनिक होइन, जसरी तपाईंको मृत्यु पनि काल्पनिक कुरो होइन। बाइबलका प्रमाणहरूको अलिकति पनि जाँचबुझै नगरी त्यसलाई इन्कार गर्नु र?

बरु प्रभु येशू ख्रीष्टको प्रतिज्ञालाई आज राम्ररी विचार गर्नुहोस्, र मुक्तिको उपाय जान्‍ने निर्णय गर्नुहोस्, किन उहाँ तपाईंलाई भन्‍दै हुनुहुन्छ, "बाटो, सत्य, र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन"।(यूहन्ना १४:६) येशू ख्रीष्टले उहाँमाथि विश्वास नगर्नेहरूको बारेमा भन्‍नुभयो, "तिनीहरू अनन्त दण्डमा जानेछन्"।(मत्ती २५:४६)

परमेश्वरको प्रेमिलो निमन्त्रणा स्वीकार गरी विश्वास गर्नेहरूले पाप क्षमा पाउनेछन् तर विश्वास नगर्नेहरू उहाँको क्रोधमा पर्नेछ। भूलमा नपर्नुहोस्! के तपाईं अनन्तकालसम्म पछुताउन तयार हुनुहुन्छ? यस्तो जोखिम नउठाउनुहोस्!

धेरैजना भन्छन्, "मरेपछि चौरासी लाख जुनी घुम्‍नुपर्छ।"

तर सत्य परमेश्वर भन्नुहुन्छ,

"मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ"। (हिब्रू ९:२७)

तसर्थ, मुक्तिको दिन अहिले हो। मरेपछि तपाईंले फेरि अर्को मौका पाउनुहुनेछैन। मृत्यु, न्याय र नरक -- यी तीनैओटा कुरा वास्तविक हुन्! प्रिय मित्र, बिउँझनुहोस्! कहिलेसम्म तपाईं नाकमा सास भएको मान्छेको "अरे, अरे" को भरमा जीवनलाई खेर फाल्‍नुहुन्छ? संसारका सबै गुरू, दार्शनिक, पैगम्बर, भगावन्, योगी, बाबा, माता, पोप आदि आखिरमा मरे, आफैलाई बौराउन सकेनन् किनकि उनीहरू केवल मानिस मात्र थिए। तर येशू ख्रीष्ट, उहाँ मारिनुभएको तीन दिनपछि फेरि बौरेर उठ्नुभयो! यही ऐतिहासिक घटनाद्वारा उहाँ नै एक दिन संसारको न्याय गर्ने परमेश्वरको अद्वित्तीय पुत्र हुनुहुन्छ भन्‍ने कुराको प्रमाण परमेश्वरले सारा संसारलाई दिनुभएको छ। (रोमी १:४, प्रेरित १७:३१)

तपाईंलाई यस्तो लाग्छ कि? "परमेश्वर यदि हामीलाई प्रेम गर्नुहुन्छ भने किन नरक बनाउनुपर्‍यो"?

नरक, एउटा उच्च स्वर्गदूतको दण्डस्थान हो किनकि उसले "म परमप्रधानजस्तै हुन्छु" भन्‍यो (यशैया १४:१४) र आफ्नो सृष्टिकर्ताको विरोध गर्न थाल्यो। स्वर्गबाटै तल फालिएको त्यो आत्मा शैतान हो।

नरकमा अर्को प्राणी पनि जानेवाला छ किनकि ऊ पनि आफ्नो सृष्टिकर्तालाई पूज्‍न छोडेर शैतानजस्तै स्वेच्छाचारी विद्रोही बनेको छ। पृथ्वीबाटै श्रापित भएको त्यो प्राणी मानिस हो।

"हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ"। (मत्ती २५:४१)

शैतानले आफ्नो विद्रोह कहिल्यै त्याग्‍नेछैन भनी सर्वज्ञानी परमेश्वर जान्‍नुहुन्छ। त्यसैले अनन्त नरकको आवश्यकता पर्‍यो। तर तपाईंलाई भने आज अति सुन्दर मौका छ। के तपाईं परमेश्वरको भययोग्य न्यायबाट उम्कन आफ्नो पापदेखि पश्चात्ताप गरी परमेश्वरसित मिलाप गर्न उहाँकहाँ फर्केर आउनुहुन्‍न? येशूले भन्‍नुहुन्छ,

"साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ।" (यूहन्ना ५:२४)

धेरैजना भन्छन्, "मरेपछि जे होला, होला।"

के तपाईं आफ्नै आत्माको जुवा खेल्नुहुन्छ? बाइबलले भन्दछ, नरककुण्ड अथाह गहिरो छ, त्यसबाट उम्कने उपाय छैन। त्यो रुवाबासी र दाह्राकिटाइको पीडाघर हो, प्रेम वा दया नपाइने कारागार हो, सुख र सान्त्वनारहित तहखाना हो, मनोरञ्जनबिहीन अन्धकारपूर्ण दण्डस्थान हो, रोजाइ र स्वतन्त्रतारहित निर्वासनस्थान हो, परमेश्वरको अनुग्रह वा कृपारहित अनन्त पछुतोस्थान हो। नरकमा आगो कहिल्यै निभ्दैन, पीडा कहिल्यै टुङ्गिदैन।(लूका १६:२३-२८) आफ्नो अनमोल आत्मा नै गुमाउने यस्तो जुवा नखेल्नुहोस्।

धेरैजना सोच्छन् - "म एक सज्जन हुँ। म स्वर्ग जान्छु।"

तर कृपया आफूसित एकपटक इमानदार बनिदिनुस्। के तपाईंले झूट बोल्नुभएको छैन? वा रिसमा हत्या सोच्नुभएको छैन? वा हृदयमा व्यभिचार गर्नुभएको छैन? वा चोर्नुभएको छैन? वा अर्काको धनमाल, पति-पत्‍नीको लालच गर्नुभएको छैन? ढँटुवा, हत्यारा, व्यभिचारी, चोर, लोभीहरू स्वर्ग होइन नरक जान योग्य हुन्छन्। नरक पुर्‍याउन एउटै पाप पर्याप्‍त छ। मानिसको हृदय जान्‍नुहुने परमेश्वरको फैसला यो छ:

"धर्मी कोही छैन, एउटै पनि छैन। असल गर्ने कोही छैन। सबैले पाप गरेका छन्।" (रोमी ३:१०)

आफ्नो पाप नलुकाउनुहोस्, तिनका निम्ति बाहाना पनि नबनाउनुहोस्, बरु तीबाट पश्चात्ताप गर्नुहोस्।

कोही भन्छन् - "मैले पाप गरेँ होला। तर मैले धर्म पनि गरेको छु। म नरक जान योग्य छैन।"

तर बाइबलले भन्छ,

"हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्"। (यशैया ६४:६)

शुद्ध र अशुद्ध, कुन ग्रहणयोग्य र कुनचाहिँ अयोग्य निर्धारण गर्ने मान्छेले होइन, परमेश्वरले हो, जसले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभयो, जो सबैका मालिक हुनुहुन्छ। उहाँको धार्मिकतामा कलङ्क छैन, उहाँको पवित्रतामा दाग छैन। उहाँको न्यायलाई सिद्ध धार्मिकता चाहिन्छ। उहाँका पवित्र नजरका सामु सबै मानिस फोहोर छन्। यसर्थ हामीले असल मानेका, धार्मिक ठानिएका हाम्रा सुकर्महरू, ती मानिसका नजरमा राम्रै होलान्, क्षणिक हिसाबले उपयोगी समेत होलान्, तर पापको प्रायश्चितको सवालमा भने ती निरीह छन्, तिनले पापको प्रायश्चित गर्न सक्दैनन्, तपाईंलाई नरकबाट बचाउन सक्दैनन्। यदि सक्‍ने भएका भए-- हामीले "मैले कमाएको मुक्ति" भन्दै घमन्ड गर्न सक्‍नेथियौं (तर शास्त्रले भन्छ, "परमेश्वरको सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्") (१ कोरिन्थी १:२९)।

परमेश्वरका अनन्त पुत्र येशू ख्रीष्ट स्वर्गदेखि यस धरतीमा देह धारण गरेर आउनुपर्नेथिएन, र क्रूसमा हाम्रा पाप पखाल्न उहाँको निर्दोष रगत बहाउनुपर्नेथिएन (तर आफू क्रूसमा मारिनुभन्दा अगाडि नै येशूले आफ्नो बारेमा भविष्यवाणी गर्नुभएको थियो कि "उहाँलाई यरूशलेम जानु, बूढा प्रधानहरू, मुख्‍य पूजाहारीहरू र शास्त्रीहरूबाट अनेकौं दुःख भोग्‍नु, मारिनु र तेस्रो दिनमा बिउँताइनु आवश्यक छ भनी आफ्ना चेलाहरूलाई देखाउन थाल्‍नुभयो") (म‍त्ती १६:२१)।

स्वर्गबाटको अचम्मको शुभ-सन्देश
हामी सबै नरकको योग्‍य छौं तर बाइबलले भन्दछ,

"यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; सबै मानिसहरूले मुक्ति पाऊन् र सत्यको ज्ञानमा आऊन् भन्‍ने इच्छा उहाँ गर्नुहुन्छ" (१ तिमोथी २:३-४)

अनि,

"किनभने परमेश्वर एउटै हुनुहुन्छ; अनि परमेश्वर र मानिसका बीचमा एउटै मध्यस्त हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू, ती मानिस -- जसले सबैका लागि छुटकाराको दामको रूपमा आफैलाई दिहाल्नुभयो"। (१६)

परमेश्वरसित मिलाप गरिहाल्न यो अचम्मको निमन्त्रणा छ -

"परमप्रभु भन्‍नुहुन्छ: अब आऊ, र हामी आपसमा तर्कवितर्क गरौं! तिमीहरूका पापहरू सिन्दुरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता भए तापनि ती ऊनजस्तै सेता हुनेछन्"। (यशैया १:१८)

तर आफ्नो विद्रोह त्यागेर परमेश्वरकहाँ नआउनेहरूलाई के हुन्छ?

"तर जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दैन उसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ"। (यूहन्‍ना ३:३६)

प्रिय मित्र, तपाईं के निर्णय गर्नुहुन्छ?
सम्झिदेऊ आज नै येशूलाई
फर्किदेऊ आज नै उहाँमा।
नजाऊ पापको मार्गमा
गन्धक र आगो जल्दैछ॥

No comments:

Post a Comment