Wednesday, November 8, 2017

बाइबल एक अद्‍भुत पुस्तक



बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण



डेविड डनलाप

"बाइबल अरू पुस्तक जस्तो होइन" -- यो भनाइ खास अपुग छ, तरैपनि सत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो भने सबभन्दा घृणित पनि। छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तक बाइबल नै हो र पनि आजसम्म संसारमा अधिकतम संख्यामा विक्री हुने पुस्तक यही हो, त्यो पनि संसारको झण्डै सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ। यसैकारण परमेश्वरले आफ्नो वचनलाई जिउँदो (हिब्रू ४:१२) को संज्ञा दिनुभएको छ! साथै परमेश्वरले आफ्नो वचनको संरचनामा जीवन-तत्त्व समावेश गर्नुभएको छ। शताब्दियौंदेखि परमेश्वरले यी पवित्र शास्त्रहरूद्वारा हरेक युग र संस्कृतिका मानिसहरूका हृदयहरूलाई खिँच्दै आउनुभएको छ -- गरिब र धनी, घमण्डी र नम्र, शिक्षित र अनपढ। बाइबलले सिकाएका र समर्थन गरेका कुराहरू अद्‍भुतरूपमा अचूक छन्। बाइबलको मूल सन्देश मुक्तिको सन्देश हो। तरैपनि इतिहास, प्रकृति, विज्ञान वा पुरातत्त्वको विषयलाई छुँदा बाइबलको ज्ञान अग्रणी स्थानमा रहेको पाइन्छ जुन ज्ञान साँचो र सत्यापनीय भएको पाइन्छ। जीवनका सबभन्दा गहन प्रश्‍नहरूको जवाफ खोज्नेले बाइबलको बुद्धि, ज्ञान र नैतिक सिद्धान्तहरू देखेर यिनैलाई बाइबलको ईश्वरीय उद्‍भवको प्रमाणस्वरूप पाउँदछ। बाइबल भनिने यस अद्‍भुत वास्तविकताको सन्तोषजनक व्याख्या एउटै मात्र छ -- यो परमेश्वरकै प्रेरणाबाट दिइएको पुस्तक हो।

बाइबल परमेश्वरको प्रेरणाबाट दिइएको
"सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो र शिक्षाका लागि, भूलदोष देखाउनका लागि, सुधारका लागि र धार्मिकताको तालिमका लागि लाभदायक छ" (२ तिमोथी ३:१६)। बाइबल ईश्वरीय प्रेरणाबाट आएको हो भन्नुको तात्पर्य के हो? उक्त प्रेरणाको लम्बाइ र चौडाइ व्यक्त गर्न "पूर्ण" र "शाब्दिक" जस्ता व्याख्यात्मक शब्दहरू प्रयोग गरिन्छन्। "पूर्ण" शब्दले बाइबलको प्रत्येक पुस्तक, अध्याय र पदलाई सङ्केत गर्दछ। "शाब्दिक" ले चाहिँ बाइबलको प्रत्येक शब्द नै ईश्वर-प्रेरित हो भन्ने तथ्यलाई जनाउँछ। तसर्थ, प्रेरणाको माने बाइबलका मानवीय लेखकहरूमाथिको पवित्र आत्माको अलौकिक प्रभाव हो जुन प्रभावले गर्दा उनीहरूका सम्पूर्ण लेखोटहरू सत्य, अचूक र त्रुटिरहित रहन्छन्। तरैपनि, यो उल्लेखनीय छ कि बाइबलले आफ्नो प्रेरणाको तथ्यलाई प्रस्टै उल्लेख गरे तापनि यसले आफ्नो प्रेरणाको पक्षमा कहिल्यै बहस गर्न खोज्दैन। कसै-कसैले यस असङ्गति [paradox] लाई देखेर ताजुब मानेका छन्। एकपटक लोकप्रिय बाइबल शिक्षक सी एच म्याकिन्टोश (१८२०-१८९६) लाई सोधियो, किन बाइबलले आफ्नो प्रेरणाको पक्षमा बहस गर्दैन? उनले जवाफ दिए, "त्यो त सूर्य चम्किरहेको छ कि छैन भनेर प्रमाणित गर्न एउटा टर्च-लाइटलाई आकाशतिर देखाए बराबर हुन्छ!" भनाइको तात्पर्य यो थियो कि बाइबल आफै नै सर्वोत्तम प्रमाण हो। त्यसो भए तापनि बाइबलको शुरूदेखि अन्तसम्म नै अद्वित्तीय र अनन्त परमेश्वरकै लक्ष्यण भेटिन्छ।

अविनाशी पुस्तक बाइबल
कुनै पुस्तक विशेष छ भने त्यो पच्चीस वर्षसम्म पनि छापिन सक्छ। जुनचाहिँ एक शताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नु पर्छ, तर एक हजार वर्षसम्म रहिरहने पुस्तकहरू त एकदम थोरै हुन्छन्। तरैपनि बाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तक बन्न सफल भएको छ यद्यपि पटक-पटक यसलाई आक्रमण गर्न र निमिट्यान्न पार्न भएभरको जमर्को गरिएको कुरा इतिहासले बताउँदछ।

रोमी सम्राट डायोक्लेटियन (ई सं ३०३) को समयदेखि लिएर शताब्दियौंभरि हाम्रै समयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्न प्रयास गरेका छन्। सैनिक शक्ति र दमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायत मुस्लिम सरकारहरूले बाइबललाई आक्रमण गर्न र नष्ट गर्न खोजेका छन्। तर उनीहरूले हासिल गरेको सफलता न्यून छ। अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमस पेन आदि जस्ता "इनलाइटनमेन्ट" स्केप्टिक र नास्तिक दार्शनिकहरूको आक्रमण खप्यो। तर उनीहरूको प्रयास झनै कम प्रभावशाली भेटियो। फ्रान्सेली मानववादी [humanist] भोल्टेयरले एकपटक घोषणा गरे, "अबको पचास वर्षभित्रमा संसारबाट बाइबलको नाम निशाना मेटिनेछ।" तर भोल्टेयरको मृत्यु भएको पचास वर्षपछि, भोल्टेयर बसेकै घरबाट त्यहाँ भएको उनकै छापाखाना प्रयोग गरी जेनेभा बाइबल सोसाइटीले धमाधम बाइबलहरू छाप्न थाले। त्यस्ता आक्रमणले बाइबलमाथिको विश्वासलाई कमजोर तुल्याएन बरु झन् मजबुत तुल्यायो। विश्वासको खातिर कठोर सतावट भोग्ने फ्रान्सेली ह्युगनटहरूले बाइबल र इसाईमतलाई तीन कामदारहरूको घनको प्रहारमुनि रहेको फलामको अचानोसित तुलना गरेर चित्र कोरेका छन् जसमुनि निम्न शब्दहरू कुँदिएका छन्:

"घन जति बजार्छन्
र स्वर जति उचाल्छन्,
त्यति नै तिनीहरूले,
आफ्ना घन खियाउँछन्!"

परमेश्वरको वचन अविनाशी छ भन्ने तथ्य आजको दिनसम्मै पुष्टि भएको छ। बाइबलले हामीलाई याद गराउँदछ, "घास ओइलिहाल्छ, र फूल झरिहाल्छ, तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ" (१ पत्रुस १:२४-२५)।

पुरातात्त्विक प्रमाण
पुरातत्त्व विज्ञानको विस्तृत अन्वेषण र कैयौं आविष्कारहरूले बाइबलीय घटनाहरूको वास्तविकतालाई समर्थन गरेको पाइन्छ। पुस्तौंदेखि आलोचकहरूले बाइबलीय घटनाहरूको ऐतिहासिकता र सत्यताको खिल्ली उडाउँदै आए। तर, गत पच्चीस वर्ष यताका पुरातत्त्वका आविष्कारहरूले बाइबल ठीक तर उदारवादी विद्वानहरू बेठीक प्रमाणित गरेको छ। बीसौं शताब्दीका सर्वोत्कृष्ट यहूदी उत्खनक डा नेल्सन ग्लुएकले यसरी लेखेका छन्:

निर्विवादरूपमा यो भन्न सकिन्छ कि पुरातत्त्वको कुनै पनि आविष्कारले बाइबलको एउटै बुँदालाई समेत खण्डन गरेको छैन। बरु थुप्रै पुरातात्त्विक आविष्कारहरू प्रकाशमा आएका छन् जसले बाइबलका ऐतिहासिक कथनहरूलाई प्रस्ट रूपरेखामा वा पक्का प्रतिरूपमा समर्थन गरेको पाइएको छ।(१)

बाइबलीय अभिलेखको पुरातात्त्विक समर्थनको उत्तम उदाहरणस्वरूप हेरोदको शासनकालीन जनगणनालाई लिन सकिन्छ जुनचाहिँ कुरेनियस सिरियाका राज्यपाल हुँदा सम्पन्न भएको थियो। पुस्तौंसम्म उदारवादी विद्वानहरूले त्यस्ता जनगणनाहरू अवास्तविक हुन् भनी खिल्ली उडाए। उनीहरूको तर्क यो थियो: कुनै पनि सरकारले आफ्ना सम्पूर्ण नागरिकहरूलाई आ-आफ्ना जन्मस्थानमा जबरदस्ती कसरी पठाउन सक्लान् र? उनीहरूले बाइबल विश्वास गर्ने इसाईहरूलाई त्यस्तो जनगणना प्राचीन मध्यपूर्वमा भएको थियो भन्ने प्रमाण निकाल्न चुनौती समेत दिए। तर, गत केही वर्षहरूमा लेखोटहरू भेटिएका छन् जसले त्यस्ता जनगणनाहरूलाई समर्थन गर्दछन्। ख्रीष्टियन विद्वान डा जोन म्याकरेले, आफ्नो पुस्तक आर्किअलजी एण्ड द न्यू टेस्टामेन्ट (पुरातत्त्व र नयाँ नियम) मा पहिलो शताब्दीबाटको एउटा लेखोट प्रस्तुत गर्नुहुन्छ जसमा यसरी लेखिएको छ:

मिश्रका अधिपति गायस भिबियस म्याक्सिमस [बाट]: घर-घरको जनगणना लिने समय अब आइपुगेको हुनाले कारणवश आ-आफ्नो इलाकाबाहिर बसोबास गरिरहेका सबैलाई आ-आफ्नै घरमा फर्कनलाई बाध्य गराउन आवश्यक परेको छ ताकि उनीहरूले गणनाको नियमित काम पूरा गरून् र साथै आ-आफ्नो भूमिको खेतीपातीमा यत्‍नपूर्वक ध्यान दिऊन्।(२)

यो लगायत अन्य थुप्रै आविष्कारहरूले पवित्र शास्त्रको साँचोपनलाई समर्थन गर्दछ। बाइबलको अभिलेखलाई थप समर्थन गर्ने केही पुरातात्त्विक नव-आविष्कारहरू यस प्रकार छन्: एल्बा शीलालेखहरू, हित्ती साम्राज्य, येरीहोका पर्खालहरू, "चौतारा" (येशूलाई न्याय गरिएको स्थान) र बेथसैदाको पोखरीको अस्तित्व।

सप्रमाणताको जाँच
इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको "सप्रमाणताको जाँच" लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन्। सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ। हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन्। अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन्। साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन। यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ। नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ।(३)

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं। उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus's Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन्। त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius's The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन्। तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ।

मृत-सागरका चर्मपत्रहरू
१९४७ मा आफ्नो हराएको बाख्रा खोज्दै गरेको एउटा गोठाला ठिटोले पाण्डुलिपि इतिहासमै एक उच्चतम महत्त्वको आविष्कार गरे। मृत-सागरको उत्तर-पश्चिमी तटतिर फर्केको चुनढुङ्गाको गुफाहरूमा उनले ९०० भन्दा बढी हस्तलेखहरू भेट्टाए जसमा बाइबलीय र गैर-बाइबलीय गरी ३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए। एउटै गुफामा मात्र ५२० ओटा गुरुकापीहरू भेटिए जो ई पू तेस्रो शताब्दीसम्म पुराना थिए। ती चर्मपत्रका मुठाहरूमा पुरानो नियमका पुस्तकहरूमध्ये एस्तरको बाहेक सबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए। १९४७ मा यी चर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्ण पुरानो नियमको सबभन्दा पुरानो पाण्डुलिपि ई सं ९०० वरिपरिको मात्र थियो। कुमरानको गुफा #१ मा भेटिएको ई पू १२५ मितिको भनी ठहरिएको एउटा मृत-सागर चर्मपत्रको मुठामा यशैयाको पूरै अगमवाणी रहेको पाइयो। उक्त मुठा त्यसबेलासम्म उपलब्ध कुनै पनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा १,००० वर्ष अघि लेखिएको थियो। गजबको कुरा के भने, अघिल्लो र पछिल्लो लेखोटहरूलाई परस्पर तुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी ५% अन्तर केवल हिज्जे, व्याकरण र चिन्ह [punctuation] को तलमाथिमा सीमित रहेको पाइयो। मृत-सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्ति पुरानो नियम पवित्र शास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकट गर्दछ। यी प्राचीन लेखोटहरू हाम्रा वर्तमान बाइबलसित यति विधि मिलेको देख्दा आलोचक तथा अविश्वासीहरू स्तब्ध भए। यसरी नयाँ नियम पाण्डुलिपिहरूको नयाँ अनुसन्धान (textual research) लगायत मृत-सागर चर्मपत्रहरूले सबै मुनासीब शंकालाई पन्छाएको छ र बाइबलको अपूर्व शुद्धतालाई प्रमाणित गरेको छ।

भविष्यवाणीको प्रमाण
बाइबलका भविष्यवाणीहरू यस पुस्तकको ईश्वरीय-उद्‍भवको सर्वोत्कृष्ट हृदयग्राही प्रमाणहरूमध्ये एउटा हो। बाइबलका करिब ३,८५६ पदहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भविष्यवाणीसित सम्बन्धित छन् -- प्रत्येक ६ ओटामा एउटा पदले भावी घटनाहरू बताउँदछ। दुवै पुरानो र नयाँ नियमले भावी विश्व घटनाहरूको ईश्वरीय प्रकाश प्रस्तुत गर्दछन्। टायरको विनाश, यरुशलेमको आक्रमण, बेबिलोन र रोमको पतन -- प्रत्येक नै बाइबलमा किटानसाथ भविष्यवाणी गरिएका थिए र तिनमा उल्लेखित सानो भन्दा सानो बुँदा समेत हुबहु पूरा भए। यस तथ्यलाई लिएर तुलनात्मक अध्ययन गर्दा विश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गै स्थान देखिन्छ। बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म र कन्फ्युसियस धर्म प्रत्येकको आफ्नै धर्मग्रन्थ छ, तर उल्लेखनीय कुरा के भने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन। मानौं परमेश्वरले यही सत्यतालाई आधार बनाएर आफूलाई संसारका "ईश्वर" भनाउँदाहरूदेखि पृथक राख्‍नुहुन्छ। संसारलाई परमेश्वरको चुनौती यस प्रकार छ -- "मजस्तै को छ र? त्यसले घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्... जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्... तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढीलो नभई पूरा हुनेछ। मैले भनेको कुरा म पूरा गर्नेछु" (यशैया ४४:७, इजकिएल १२:२५, २४:१४; यर्मिया २८:९)। तुलनामा जुनसुकै भाषाको एउटै पनि मानवीय कृति बाइबलको बनोट र संरचनाको अलिकति पनि नजिक आउन सक्दैन। यथार्थ यही हो -- केवल एक सर्वज्ञानी विचारकर्ताले मात्र यस पुस्तकहरूको पनि पुस्तकको रचना गर्न सम्भव थियो।

निष्कर्ष
बाइबल परमेश्वरबाटै दिइएको हो भन्ने कुराको समर्थन गर्ने प्रमाणहरूको सँगालो वृहत् र विश्वसनीय छ। पवित्र शास्त्रको ऐतिहासिक, वैज्ञानिक र नैतिक प्रमाण एक अल्गो र अटल गढी जस्तै खडा छ। तथापि उदारवादी आलोचक र अविश्वासीहरूले यसमाथि हमला नगरेका होइनन्, यसलाई चुनौतीहरू नदिएका होइनन् तरैपनि पवित्र शास्त्रको सत्यतालाई कमजोर तुल्याउन तीमध्ये एउटै प्रयास पनि सफल भएको छैन। बाइबल एक विश्वव्यापी सन्देश बोकेको पुस्तक हो जुन सन्देश सबै मानिसका लागि हो। यो एउटै मात्र पुस्तक हो जसमा दुवै बालक र विद्वानले उत्तिकै आनन्द लिन सक्दछ। यसको सरल, जीवन परिवर्तन गर्ने शक्तिले राष्ट्रिय सीमानाहरू, सांस्कृतिक पर्खालहरू र भाषीय भिन्नताहरूलाई पार गरेर करोडौंलाई शान्ति, आनन्द र क्षमा ल्याउँदछ। बाइबलले मात्र खराब मान्छेलाई सज्जन बनाउँदछ र विद्रोहीलाई पवित्र जन बनाउँदछ। बाइबलको सबभन्दा ठूलो प्रमाणचाहिँ यसले तपाईंमा ल्याउन सक्ने जीवनको परिवर्तन हो।

उद्धृत रचनाहरू
(१) डा नेल्सलन ग्लुएक, रिभर्स इन द डेजर्ट, (न्यू योर्क, न्यू योर्क: ग्रोभ, १९६०), पृष्ठ ३१

(२) डा जन म्याकरे, आर्किअलजि एण्ड द न्यू टेस्टामेन्ट, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: बेकर, १९९१), पृष्ठ १५५

(३) फ्रेडरिक जे केन्यन, द स्टोरि अफ द बाइबल, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: अर्डम्यान्स्, १९६७), पृष्ठ १३३

डेविड डनलापद्वारा लिखित Phenomenon of Holy Scripture [external site] बाट उहाँको अनुमतिले अनुदित।)

No comments:

Post a Comment