Wednesday, November 8, 2017

के ख्रीष्टले अधोलोकमा जानुभई सुसमाचार प्रचार गर्नुभयो?

के ख्रीष्टले अधोलोकमा जानुभई सुसमाचार प्रचार गर्नुभयो?

नीक मिकालिनोस्



"किनकि हामीलाई परमेश्वरकहाँ पुर्याउनालाई ख्रीष्टले पनि — धर्मी जनले अधर्मीहरूका निम्ति — पापहरूका लागि एकपल्ट दु:ख भोग्नुभयो र शरीरमा मारिनुभयो, तर आत्माद्वारा जीवित पारिनुभयो। उही आत्माद्वारा उहाँ जानुभयो र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो, जसले बितेको समयमा आज्ञापालन गरेनन्, जब एकपल्ट परमेश्वरको सहनशीलताले पर्खिरहेको थियो — नूहका दिनहरूमा जब जहाज बनिरहेको थियो, जसमा थोरै अर्थात् आठ प्राणीहरू पानीद्वारा बचाइए।” (१ पत्रुस ३:१८-२०)

कतिको विचारमा क्रूसमा उहाँको मृत्यु भएको घडीदेखि तीन दिन पछाडि उहाँको बौरिउठाइ नभएसम्मको अवधिभित्र, ख्रीष्टले अधोलोकमा जानुभई त्यहाँ कैदमा रहेका हराएका आत्माहरूलाई प्रचार गर्नुभयो। तर यी पदहरूले त्यो सिकाउँदैन। ‘कैद’ भन्ने शब्द आत्मिक क्षेत्रको सम्बन्धमा प्रयोग भएको छ (हेर्नुहोस् प्रकाश २०:३,७, शैतानको ‘कैद’), अदृश्य आत्माहरूको संसारको सम्बन्धमा प्रयोग भएको छ र अधोलोकलाई जनाउन प्रयोग भएको छ (लूका १६:२३-३१) जहाँ हराएका आत्माहरू बास गर्दछन् जोहरू दण्डका निम्ति न्यायको दिनसम्म साँचिराखिएका छन् (२ पत्रुस २:९, प्रकाश २०:१३-१४)।

यो प्रचार गर्ने काम कहिले भएको थियो? हाम्रो खण्डले बताउँछ, ‘नूहका दिनहरूमा…’ यो त ठीक जलप्रलय अगाडिको कुरा हो। ख्रीष्ट अधोलोकमा जानुभई ‘कैदमा भएका आत्माहरूलाई’ सुसमाचार प्रचार गर्नुभएन। यहाँ उल्लेखित प्रचार कार्य ‘नूहका दिनहरूमा’ भएको कुरा हो।

उक्त समयमा प्रचार गर्ने को थिए? १ पत्रुस ३:१८ देखि १९ पदसम्मको विचार-प्रवाहलाई हेर्दा हामी देख्छौं कि ‘ख्रीष्ट…आत्माद्वारा…जानुभयो…र प्रचार गर्नुभयो’। उत्पत्ति ६:३ मा हामीलाई बताइएको छ, ‘मेरो आत्माले मानिससित सधैंभरि विवाद गर्नेछैन’। यसबाट हामी देख्न सक्छौं कि जलयप्रलयको ठीक अगाडिको समयमा ख्रीष्ट आफ्‍नो आत्माद्वारा मानिसहरूसित विवाद गर्दै हुनुहुन्थ्यो। उहाँले नूहको प्रचारलाई प्रयोग गर्नुभयो जो नूह ‘धार्मिकताका प्रचारक’ थिए (२ पत्रुस २:५)। यसरी यहाँ देख्छौं ख्रीष्टले आत्मालाई पठाउनुभयो, अनि आत्माले एकजना मानिसको माध्यमद्वारा बोल्नुभयो अर्थात् नूहद्वारा जो नूहले मानिसहरूलाई प्रचार गरे।

नूहको प्रचारको माध्यमद्वारा आत्माले विवाद गरिरहनुहुँदा मानिसहरूको प्रतिक्रिया कस्तो थियो त? यहाँ भनिएको छ उनीहरूले ‘आज्ञापालन गरेनन्’ (१ पत्रुस ३:२०)। उनीहरूले आत्माको विरोध गरे (प्रेरित ७:५१)।”

[स्रोत: David Cloud. Things Hard to be Understood, p. 324.]

No comments:

Post a Comment