Wednesday, November 8, 2017

अतुलनीय ख्रीष्ट




करिब दुई हजार वर्ष अगाडि एकजना मानिस आउनुभयो जसको जन्म प्रकृतिको नियमभन्दा बेग्लै किसिमले भएको थियो; त्यो जन्म एक कन्याद्वाराको जन्म थियो। उहाँले गरिब भई जीवन बिताउनुभयो, नासरत नाउँको एउटा सामान्य गाउँमा अपरिचित हिसाबले हुर्कनुभयो। उहाँले टाढा-टाढासम्म यात्रा गर्नुभएन। उहाँ एकै पटक मात्र आफ्नो देशको सिमाना काटेर अन्यत्र जानुभयो; त्यो पनि शिशु अवस्थामा उहाँको ज्यान जोगाइन विदेशिनु पर्दा (जब उहाँ मिश्रदेश लगिनुभएको थियो)।

उहाँको न सम्पत्ति थियो न सम्मानजनक पदवी। उहाँका नातेदारहरू चर्चित थिएनन्। उहाँले न ता तालिम लिनुभएको थियो न औपचारिक शिक्षा नै हासिल गर्नुभएको थियो।

शिशु अवस्थामा उहाँको कारण देशका राजा हतोत्साहित भए; वाल्यावस्थामा उहाँले पवित्र शास्त्रका विद्वानहरूलाई चकित पार्नुभयो; वयस्कमा उहाँले प्रकृतिका नियमहरू आफ्नै नियन्त्रणमुनि रहेको देखाउनुभयो, समुद्रका छालमाथि जमीनमा जस्तै गरी हिँड्नुभयो, समुद्रलाई शान्त गराउनुभयो।

उहाँले हजारौंलाई औषधिबिना निको पार्नुभयो अनि आफ्नो सेवाको बापत एक पैसा लिनुभएन।

उहाँले एउटै पुस्तक लेख्‍नुभएन, तर पनि उहाँका विषयमा लेखिएका पुस्तकहरू मुलुकभरिका सम्पूर्ण पुस्तकालयहरूले अटाउन सक्दैनन्।

उहाँले एउटै गीत रच्नुभएन, तरैपनि सबै गीतकारका सङ्ख्याभन्दा धेरै गीतका निम्ति विषयवस्तु उहाँ नै बन्नुभएको छ।

उहाँले एउटै कलेजको स्थापना गर्नुभएन, तर स्कूल र विश्वविद्यालयहरू सबै मिलेर पनि उहाँकै जति चेलाहरू आफ्नो भएको दाबी गर्न सक्दैनन्।

उहाँले कुनै पनि सेनाको नेतृत्व गर्नुभएन, न ता एउटै सिपाहीलाई भर्ती गर्नुभयो, न एउटै गोली चलाउनुभयो। तर इतिहासमै उहाँका भन्दा बढी स्वयंसेवकहरू आफ्नो भएको दाबी गर्न सक्ने कुनै पनि नरेश वा नेता छैनन् जसको आज्ञा सुनेर कैयौं शत्रुहरूले आफ्ना हातहतियारै त्यागेर आफ्ना जीवनहरू समेत समर्पण गरेका छन्।

उहाँले कहिल्यै मानसिक चिकित्साको अभ्यास गर्नुभएन, तर संसारका सम्पूर्ण डाक्टरहरूले भन्दा धेरैका टुटेका हृदयहरूलाई उहाँले नै निको पार्नुभएको छ।

विश्वका कैयौं ठाउँमा हरेक हप्ताको एक दिन व्यापार धन्दा बन्द हुन्छ र मण्डली भवनहरूमा सामूहिक रूपमा जुटेर उहाँलाई आराधना गर्नेहरूको ओइरो लाग्दछ।

विगतमा ग्रीस र रोमका अहङ्कारी शासकहरू आए अनि गए। विगतमा वैज्ञानिकहरू, विद्वानहरू र धर्मगुरुहरूका नामहरू आए अनि गए; तर यस मानिसका नाम भने प्रत्येक दिन फैलिँदैछ। आजको पुस्ता र उहाँको क्रूसको टंगाइको बीच झण्डै २००० वर्षको अन्तर भए तापनि उहाँ जिउँदो हुनुहुन्छ। हेरोदले उहाँलाई नष्ट गर्न सकेन र चिहानले उहाँलाई थुनेर राख्‍न सकेन।

No comments:

Post a Comment