Monday, November 13, 2017

प्रेमको साँचो उदाहरण




शुरूका मोराभियन मिसनरीहरूद्वारा प्रदर्शित

प्रेमको परिभाषा: मैले प्रेम गरेको व्यक्तिले परमेश्वरको उच्चतम र सर्वोत्तम कुरा प्राप्त गरेको म चाहन्छु जसका लागि म आफू विशेष रूपमा खर्चिन पनि तयार छु।

प्रेमको नमुना: प्रभु येशू ख्रीष्ट स्वयं: “हामी उहाँद्वारा जिउन सकौं भनेर परमेश्वरले आफ्‍ना एक मात्र जन्माइएको पुत्रलाई संसारमा पठाउनुभयो – हामीतर्फ परमेश्वरको प्रेम यसैबाट प्रकट भयो” (१ यूहन्ना ४:९)।

निम्न विवरण रोबर्ट म्याक्शेन (१८१३-१८४३) द्वारा लेखिएको हो [Memoirs of McCheyne by Andrew A. Bonar, Moody Press, 1978 edition, pages 40-41]:

ख्रीष्टको खातिर आफूलाई भक्तिपूर्वक समर्पण गर्ने मैले यी मृतसरह दिनहरूमा यस्तो कहिल्यै नसुनेको एउटा उत्कृष्ट नमुना गत हप्ता एकजना बेलायती सेवकबाट यहाँ बताइएको सुन्न पाएँ। यो कुरा कहिल्यै छापिएको छैन, त्यसैले म यो तपाईंहरूलाई बताउनेछु, ठीक जस्तो मैले सुनेको थिएँ त्यस्तै, ताकि हाम्रा सेलाएका हृदयहरू उत्तेजित होऊन् र हामीले आफैंलाई परमेश्वरको निम्ति सुम्पिन सकौं।

कुष्ठरोगको भयानक रोग आजसम्म पनि अफ्रिकामा विद्यमान छ। यो कुष्ठरोग बाइबलमा लेखिएकै किसिमको रोग हो कि होइन, म जान्दिनँ, तर यो रोग निको नै नहुने, र यति संक्रामक मानिएको छ कि कसैले पनि कुष्ठरोगीको नजिक आउने हिम्मत गर्दैनथे। अफ्रिकाको उत्तरमा कुष्ठरोगीहरूको निम्ति एउटा ठूलो कुष्ठ-घर छ। यो एउटा विशाल ठाउँ हो, धेरै अग्लो पर्खालले घेरिएको, र खेतहरू भएको, जसमा कुष्ठरोगीहरूले खेती गर्दथे। भित्र छिर्ने एउटै मात्र ढोका छ, जसमा कडा पहरा दिइन्छ। जब-जब कुनै व्यक्तिमा कुष्ठरोगको दाग देखिएको भेट्टाइन्थ्यो, उसलाई यो ढोकामा लगिन्थ्यो र भित्र जान बाध्य गराइन्थ्यो, कहिल्यै नफर्किने गरी। त्यस डरलाग्दो ढोकाबाट भित्र प्रवेश गरेको कुनै मानिसलाई फेरि कहिल्यै बाहिर निस्कने अनुमति दिइँदैनथियो।

यस कष्टपूर्ण स्थानमा त्यस रोगको विभिन्न चरणहरूमा पुगेको थुप्रै कुष्ठरोगीहरू थिए। डा. हलबेक (Dr. Halbeck), बेलायतको मण्डलीको मिसनरीले, छेऊको डाँडाको टुप्पोबाट, तिनीहरूले काम गरिरहेको देखे। विशेषगरी उनले दुईजनालाई खेतमा केराउ रोप्दै गरेका देखे। एकजनाको हात थिएन, र अर्कोको खुट्टा थिएन—यी अङ्गहरू रोगले नाश भएका थिए। जसको हातहरू थिएन उसले अर्को खुट्टाहरू नभएकोलाई आफ्‍नो ढाडमा बोकिरहेको थियो, र उसले फेरि आफ्‍नो हातमा बीजको झोला बोकेको थियो, र केराउको बीज खसालिरहेको थियो, जसलाई अर्कोले आफ्‍नो खुट्टाले जमिनभित्र गाड्थ्यो; र यसरी तिनीहरूले एकजना व्यक्तिद्वारा हुने कामलाई दुईजना मिलेर गर्ने व्यवस्था मिलाएका थिए। हाय! संसारमा भएको कष्टको बारेमा हामी कति थोरै मात्र जान्दछौँ। रोगको बन्दनगृह यस्तो किसिमको छ।

तर तपाईंले सोध्नुहोला, त्यस्तो दुर्भागी बासिन्दाहरूको आत्माको चिन्ता कसले गर्ला र? कहिल्यै नफर्किने गरी त्यस भयानक ढोकाभित्र पस्ने साहस कसले गर्ला र? ती बिचरा गरीब कुष्ठरोगीहरूकहाँ मुक्तिदाताको सन्देश लग्न कसले आफ्‍नो बुबा र आमा, घर र जमीन छोड्ला? दुई मोराभियन मिसनरीहरू, ती आत्माहरूको निम्ति ईश्वरीय प्रेमले विवश भएर, त्यस कुष्ठघरलाई उनीहरूको सेवकाइ क्षेत्रको रूपमा चुने। उनीहरू त्यहाँ भित्र प्रवेश गरे, कहिल्यै नफर्किने गरी र मलाई यो बताइएको थियो कि उनीहरूको मृत्यु हुने बित्तिकै, अरू मोराभियनहरू उनीहरूको स्थान लिन एकदम तयार छन्। ओहो! मेरा प्रिय मित्रहरू, के हामी शर्मले नझुकौं र परमेश्वरका सामु लज्जित नहोऔं, कि हामी, उही रगतले छुटाइएका छौं र उही आत्माद्वारा सिकाइएका छौं तरैपनि हामीसित प्रभु येशू र मानिसका आत्माहरूको लागि भने उनीहरूको जस्तो प्रबल र हृदयभरिको प्रेम नहुनु?

The Biblical Evangelist का सम्पादक रोबर्ट सम्नर (Robert Sumner) ले म्याक्शेनको लेख पढेपछि यो विवरण थपेका थिए:

एकपटक म गाडीमा मानोस (Manous) भन्दा बाहिर करिब एक घन्टाको यात्रा गरेर जङ्गलभित्र कुष्ठरोगीहरूको वस्तीमा गएको थिएँ, यो एमेजन (Amazon) भन्दा करिब १००० माइल पर पर्छ। पास्टर निको भइसकेका थिए र निको भएपछि निज त्यहाँबाट निस्केर जान सक्थे। तर उनकी श्रीमति आशारहित अवस्थामा थिइन् र तिनलाई छोड्न नचाहेकाले उनी त्यहाँबाट जान इन्कार गरे।

त्यो पनि प्रेम नै थियो!

No comments:

Post a Comment