Thursday, November 16, 2017

महिला पास्टरहरू / प्रचारिकाहरू?




महिलाहरू सेवाकार्यमा हुने सम्बन्धमा बाइबलले के भन्दछ?

यो लैङ्गिक भेदभावको विषय होइन
आज मण्डलीमा, सेवाकार्यमा महिलाहरूले पास्टर वा प्रचारिकाको भूमिका निर्वाह गर्न मिल्छ कि मिल्दैन भन्ने विषय भन्दा ठूलो बहसको विषय सायद अर्को छैन होला। यस विषयलाई पुरुष र महिला बीचको मुद्दाको रूपमा हेरिनु हुँदैन। महिलाहरूले पास्टरको रूपमा सेवाकार्य गर्नु हुँदैन र बाइबलले महिलाको सेवाकार्यमा प्रतिबन्धहरू लगाएको छ भनेर विश्वास गर्ने त्यहाँ एकातिर कति महिलाहरू नै छन् अनि महिलाहरूले पास्टर वा प्रचारिकाको रूपमा सेवाकार्य गर्न सक्छन् र सेवाकार्यमा महिलाहरूलाई प्रतिबन्धहरू छैनन् भनेर विश्वास गर्ने त्यहाँ अर्कातिर कति पुरुषहरू छन्। त्यसैले यो विषय लैङ्गिक उत्कृष्टता वा भेदभावको नभएर बाइबलीय व्याख्याको विषय हो।

परमेश्वरको वचनले प्रस्टै बताएको कुरा
परमेश्वरको वचनले घोषणा गर्दछ, "स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकोस्। तर म स्त्रीलाई शिक्षा दिने अनुमति दिन्नँ, न ता पुरुषमाथि अधिकार जमाउने अनुमति नै दिन्छु; तर ऊ चुपचाप रहोस्" (१ तिमोथी २:११-१२)। मण्डलीमा परमेश्वरले स्त्री र पुरुषहरूलाई भिन्न भिन्नै भूमिकाहरू निर्दिष्ट गर्नुहुन्छ जुन कुरा चाहिँ मानव जातिको सृष्टिको ढाँचा र पाप संसारमा पसेको तरिकाको नतीजा हो (१ तिमोथी २:१३-१४)। प्रेरित पावलद्वारा परमेश्वरले स्त्रीहरूलाई, पुरुषहरूलाई सिकाउने वा पुरुषहरूमाथि आत्मिक अधिकार जमाउने भूमिकायुक्त सेवाकार्यदेखि बञ्चित गर्नुभएको छ। यसले स्त्रीहरूलाई पुरुषहरूमाथि प्रास्टरीय सेवाकार्य अभ्यास गर्नदेखि रोक लगाउँछ जसअन्तर्गत पुरुषहरूलाई प्रचार गर्ने, सिकाउने र पुरुषमाथि आत्मिक अधिकार जमाउने कुराहरू निश्चय पनि पर्न आउँछन्।

गलत तर्क र तिनका प्रत्युत्तर
पहिलो
स्त्रीहरूको सेवाकार्य सम्बन्धी रहेको उपर्युक्त दृष्टिकोणलाई काट्ने त्यहाँ धेरै "तर्कहरू" प्रस्तुत गरिएको पाइन्छ। पहिलो शताब्दीमा स्त्रीहरू प्रायः अशिक्षित थिए त्यसैले पावलले स्त्रीहरूलाई मण्डलीमा सिकाउन निषेध गरे भन्ने तर्क प्रायः सुनिन्छ। तरैपनि १ तिमोथी २:११-१४ ले शैक्षिक योग्यतालाई कतै उल्लेख गरेको छैन। यदि सेवाकार्यका लागि शैक्षिक योग्यता आवश्यक हुँदो हो त येशूका बहुसङ्ख्यक चेलाहरू अयोग्य ठहरिन्थे।

दोस्रो
दोस्रो प्रायः सुनिने तर्कचाँहि पावलले केवल एफेसी मण्डलीका स्त्रीहरूलाई मात्र सिकाउन निषेध गरेका हुन् भन्ने छ (पहिलो तिमोथीको पत्र पावलले एफेससका पास्टर तिमोथीलाई लेखेका थिए)। एफेससको शहर आर्तेमिस नाम गरेकी झूटा ग्रीक-रोमी देवीको मन्दिरले चर्चित थियो र आर्तेमिस देवीको पूजाआजामा स्त्रीहरूले नै नेतृत्व गर्थे। तरैपनि १ तिमोथी २:११-१२ मा स्त्रीहरूमाथि लगाइएको प्रतिबन्धको सवालमा १ तिमोथीको पुस्तकभरि कहिँ पनि आर्तेमिस देवी वा त्यसको पूजाआजा उक्त प्रतिबन्धको कारक भएको सङ्केत छैन।

तेस्रो
तेस्रो प्रायः सुनिने तर्क यस प्रकार छ: पावलले यहाँ केवल पति-पत्नीको प्रसङ्गमा मात्र चर्चा गरेका हुन्, साझारूपमा सबै स्त्री र पुरुषका प्रसङ्गमा होइन। यस खण्डमा प्रयोजित ग्रीक शब्दहरूले पति र पत्नीलाई जनाउन नसक्ने त होइनन्; तरैपनि यी शब्दले सामान्य अर्थमा स्त्री र पुरुषलाई नै जनाउँछन्। अझ, यिनै ग्रीक शब्दहरू पद ८-१० मा प्रयोजित छन्। के पतिहरूले मात्र पवित्र हात उठाएर बिनाक्रोध र बिनाशङ्का प्राथना गरून् त (पद ८)? के पत्नीहरूले मात्र सरल पहिरन लगाऊन्, असल-असल काम गरून् र परमेश्वरको भक्ति गरून् त (पदहरू ९-१०)? अवश्य होइन। स्पष्ट गरी नै पद ८-१० ले पति-पत्नीहरूलाई मात्र नभएर साझारूपमा सबै पुरुष र स्त्रीहरूलाई समेट्दछन्। पद ११-१४ को विषयवस्तु स्त्री-पुरुषलाई छोडेर अब पति-पत्नीतिर मोडिएको छ भन्ने कुराको कुनै पनि सङ्केत सन्दर्भमा पाइँदैन।

चौथो
स्त्रीको सेवाकार्यको सम्बन्धमा यहाँ गरिएको व्याख्यालाई काट्न अझ अर्को बारम्बार प्रस्तुत हुने गरेको तर्कचाहिँ बाइबलमा नेतृत्व भूमिका निर्वाह गरेका स्त्रीहरूको सम्बन्धमा रहेको छ, विशेषरूपमा पुरानो करारका मिरियम, दबोरा, हुल्दाको। उक्त तर्कले केही उल्लेखनीय तत्त्वहरूलाई ध्यानमा राख्न चुकेको देखिन्छ। पहिलो, दबोराको सम्बन्धमा, तिनी १३ जना पुरुष न्यायकर्ताहरू मध्येका एक मात्र स्त्री न्यायकर्ता थिइन्। हुल्दाको सम्बन्धमा, तिनी बाइबलमा उल्लेखित दर्जनौ पुरुष अगमवक्ताहरू मध्येका एक मात्र महिला अगमवादिनी थिइन्। मिरियमचाहिँ मोशा र हारुनकी दिदी भएकी हैसियतले मात्र नेतृत्वसँग तिनको सम्बन्ध थियो। राजाहरूको समयमा दुईजना सबभन्दा उल्लेखनीय स्त्रीहरू अतल्याह र ईजेबेल थिए, तर यिनीहरूलाई नमुना स्त्री अगुवाहरूको रूपमा लिन सकिने त कुरै भएन। तर मुख्य कुरा त, पुरानो नियमका स्त्रीहरूको अधिकारसित यस मुद्दाको सरोकारै भएन। पहिलो तिमोथी लगायत अन्य पास्टरीय पत्रहरूले मण्डली अर्थात् ख्रीष्टको शरीरका निमित्त एउटा नयाँ व्यवस्था रहेको तथ्यलाई प्रस्तुत गर्दछन् अनि त्यस व्यवस्थाभित्र मण्डलीको अधिकार-संरचना पनि समेटिएको छ जुनचाहिँ न इस्राएली जातिका लागि हो न ता पुरानो नियमका कुनै अन्य तत्त्वका लागि।

पाँचौं
नयाँ नियमका प्रिस्किल्ला र फिबीलाई लिएर पनि त्यस्तै तर्कहरू अघि सार्ने गरिएको पाइन्छ। प्रेरितको १८ अध्यायमा, प्रिस्किल्ला र अक्विला ख्रीष्टका विश्वासयोग्य सेवकहरूको रूपमा प्रस्तुत गरिएका छन्। प्रिस्किल्लाको नाउँ पहिले उल्लेख गरिएको छ, सायद सेवाकार्यमा आफ्ना पतिको भन्दा तिनको "प्राधान्य" रहेकोले होला। तरैपनि प्रिस्किल्ला, १ तिमोथी २:११-१४ लाई खण्डन गर्ने किसिमको क्रियाकलापको सेवाकार्यमा सहभागी भएको कुरा कतै पाइँदैन। प्रिस्किल्ला र अक्विलाले अपोल्लोसलाई आफ्ना घरमा ल्याए र ती दुवैले उनलाई परमेश्वरको वचन ठीक-ठीकसँग व्याख्या गरिदिए (प्रेरित १८:२६)।

छैठौं
रोमी १६:१ पदमा, फिबीलाई एक "सेविका" को सट्टा एक "स्त्री डिकन" को रूपमा लिइयो भने पनि यसले फिबी मण्डलीमा एक शिक्षिका थिई भनेर दर्शाउन सक्दैन। "सिकाउनमा सिपालु" एल्डरमा हुनु पर्ने एउटा योग्यता हो, तर डिकनको होइन (१ तिमोथी ३:१-१३, तीतस १:६-९)। एल्डरहरू / विशपहरू / डिकनहरू "एउटै मात्र पत्नीको पति" भनी वर्णन गरिएका छन्। यस योग्यताले पुरुषहरूलाई नै जनाउँछ भन्ने कुराको यो स्पष्ट सङ्केत हो। यसको अतिरिक्ति १ तिमोथी ३:१-१३ र तीतस १:६-९ मा एल्डर, विशप, डिकनहरूलाई जनाउन केवल पुलिङ्ग सर्वनामहरू मात्र प्रयोग भएका छन्।

किन यस्तो आज्ञा दिइयो?
१ तिमोथी २:११-१४ को वाक्यरचनाले "कारण" लाई राम्ररी छर्लङ्ग्याउने काम गर्छ। १३ पदको पहिलो शब्द "किनकि" ले अब त्यसअघिको पावलको भनाइ (पद ११-१२) को "कारण" बताउन लागेको सङ्केत दिन्छ। स्त्रीहरूले पुरुषहरूलाई सिकाउनु वा उनीहरूमाथि अधिकार जमाउनु किन हुँदैन? किनकि "आदम पहिला बनाइए, त्यसपछि हव्वा। अनि आदम बहकाउमा परेनन्, स्त्री बहकाउमा परेर अपराधमा फसिन्।" परमेश्वरले पहिला आदमलाई सृष्टि गर्नुभयो र त्यसपछि आदमका लागि "सहयोगी" हुन हव्वालाई सृष्टि गर्नुभयो। प्रारम्भिक सृष्टिको यो क्रमचाहिँ विश्वव्यापीरूपमा परिवार (एफिसी ५:२२-३३) लगायत मण्डलीमा लागु हुन्छ। हव्वा बहकाउमा परेकी तथ्यलाई पनि स्त्रीहरूले पास्टरको रूपमा सेवा गर्न नहुने र पुरुषमाथि अधिकार जमाउन नहुने कारणको रूपमा प्रस्तुत गरिएको छ। स्त्रीहरू सजिलै बहकाउमा पर्न सक्ने भएको हुनाले नै उनीहरूले सिकाउन नहुने हो भनेर कोही-कोही विश्वास गर्न पुगेका छन्। तर त्यो धारणा विवादास्पद छ, किनकि यदि बहकाउमा पर्न स्त्रीहरूलाई बढी सजिलो हुँदो हो त किन तिनीहरूलाई नानीहरूलाई (जोहरू सजिलै बहकाउमा पर्न सक्छन्) र अन्य स्त्रीहरूलाई (जोहरू यदि सजिलै बहकाउमा पर्न सक्ने हो भने) सिकाउन अनुमति दिइएको छ त? वचनले त्यो भन्दैन। स्त्रीहरूले पुरुषहरूलाई सिकाउनु वा पुरुषमाथि आत्मिक अधिकार जमाउनु हुदैन, किनभने हव्वा बहकाउमा परेकी हुन्। परिणामस्वरूप परमेश्वरले मण्डलीमा शिक्षा दिने प्रमुख अधिकार पुरुषलाई दिनुभएको छ।

महिलाहरूलाई दिइएको सेवाकार्य
धेरैजना स्त्रीहरू अतिथि सत्कार गर्ने, कृपा देखाउने, सिकाउने, सुसमाचार सुनाउने, सहायताहरू गर्ने जस्ता वरदानहरूमा उत्कृष्ट हुन्छन्। स्थानीय मण्डलीको सेवाकार्यको ठूलो भाग स्त्रीहरूमा निर्भर हुने गर्छ। पुरुषहरूमाथि आत्मिक अधिकार जमाउने कुरामा बाहेक, मण्डलीमा सार्वजनिक प्रार्थना गर्नलाई र अगमवाणी गर्नलाई स्त्रीहरूलाई प्रतिबन्ध लगाइएको छैन (१ कोरिन्थी ११:५)। पवित्र आत्माका वरदानहरू प्रयोग गर्ने सम्बन्धमा बाइबलले स्त्रीहरूलाई कतै पनि प्रतिबन्ध लगाएको छैन (१ कोरिन्थी १२)। अरुहरूको सेवा गर्न, आत्माका फलहरू देखाउन (गलाती ५:२२-२३) र हराएकाहरूलाई सुसमाचार सुनाउन पुरुषहरूलाई जत्तिकै स्त्रीहरूलाई पनि बोलावट छ (मत्ती २८:१८-२०, प्रेरित १:८, १ पत्रुस ३:१५)।

निष्कर्ष
परमेश्वरले मण्डलीमा आत्मिक शिक्षा दिने अधिकारयुक्त पदमा पुरुषहरूलाई मात्र नियुक्त गर्नुभएको छ, तर पुरुषहरू स्त्रीहरूभन्दा असल शिक्षकहरू हुन्छन् नै भनेर वा स्त्रीहरू तल्लो तहका वा कम बुद्धिका हुन्छन् नै भनेर चाहिँ होइन (त्यसो होइन पनि); परमेश्वरले मण्डली केवल यही तरिकाले चलोस् भन्ने हेतुले योजना यस्तै गर्नुभएकोले हो। पुरुषहरूले आत्मिक नेतृत्वको नमुना देखाउनुपर्छ ‍-- तिनीहरूको जीवनमा र तिनीहरूका बोलचालमा। स्त्रीहरूले कम अधिकारयुक्त भूमिका निर्वाह गर्नुपर्छ। स्त्रीहरूले अन्य स्त्रीहरूलाई सिकाओस् भनेर उनीहरूलाई अर्ती दिइएको छ (तीतस २:३-५)। साथै, बाइबलले स्त्रीहरूलाई नानीहरूलाई सिकाउने सम्बन्धमा पनि प्रतिबन्ध लगाउँदैन। स्त्रीहरू केवल पुरुषहरूलाई सिकाउने र आत्मिक अधिकार गर्नदेखि मात्र प्रतिबन्धित छन्। यसको तात्पर्य महिलाहरू पुरुषहरूमाथि पास्टरको भूमिका निर्वाह गर्नदेखि बञ्चित छन्। यसले स्त्रीहरूलाई कुनै पनि हिसाबमा कम महत्त्वको बनाउने काम गर्दैन, तर बरु उनीहरूलाई परमेश्वरको योजना र उहाँबाटका वरदानसित अझ मिल्दो किसिमको सेवाकार्य प्रदान गर्दछ।

(साभार: www.gotquestions.org को अनुमतिले यहाँ प्रकाशित।

No comments:

Post a Comment