Wednesday, November 8, 2017

मुक्ति पाउन मैले के गर्नुपर्छ?





बाइबलले बताएको मुक्ति
प्रिय मित्र, तपाईं र मेरो निम्ति अनन्त मुक्तिको प्रबन्ध गरिएको छ। सृष्टिकर्ता परमेश्वरले, प्रेम र अनुग्रहले अभिप्रेरित हुनुभएर, यो महान् मुक्तिको प्रबन्ध गर्नुभएको कुरा पवित्र शास्त्र बाइबलले बताएको छ। यो नै मुक्तिको एउटै मात्र उपाय भएको हुनाले यसलाई बेवास्ता गर्नु भनेको आफ्नो अनन्त नोक्सानी हुनु हो। मुक्ति पाउन तपाईंले पहिले सत्यको ज्ञानलाई ग्रहण गर्न आवश्यक छ।

पहिलो, हामीलाई यो जान्न खाँचो छ -- परमेश्‍वर को हुनुहुन्छ? परमेश्‍वको वचन बाइबलमा यसरी लेखिएको छ,

सेनाहरूका परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ (यशैया ६:३)।

जिउँदो परमेश्‍वर पवित्र हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुभएको हुनाले सृष्टि गरिएका सबै थोकदेखि उहाँ अलग हुनुहुन्छ। साथै उहाँ सबै पापदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। यसैकारण एकजना प्राचीन अगमवक्ताले यसरी घोषणा गरे,

तर तिमीहरूका अधर्महरुले तिमीहरूलाई तिमीहरुका परमेश्वेरबाट अलग पारेका छन्, अनि तिमीहरूका पापहरुले उहाँको मुख तिमीहरूदेखि लुकाइदिएका छन्, र उहाँले सुन्नुहुन्न। (यशैया ५९:२)।

साथै बाइबलले यो सिकाउँछ, मैले मुक्ति पाउन सकूँ र म सत्यको ज्ञानमा आउन सकूँ भनेर आफ्नो सिद्ध पवित्रतामा र अचूक कृपामा परमेश्‍वरले मेरो निम्ति सारा प्रबन्ध गर्नुभएको छ! परमेश्‍वरको पुत्र येशूले भन्नुभएको छ,

बाटो सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन (यूहन्ना १४:६)।

बाइबलको अर्को ठाउँमा लेखिएको छ,

सबै मानिसहरूले मुक्ति पाऊन्, र सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। किनभने परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्त हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू, ती मानिस – जसले सबैका लागि छुटकाराको दामको रूपमा आफैलाई दिहाल्नुभयो (१ तिमोथी २:४-६)।

दोस्रो, हामीलाई यो जान्न खाँचो छ – म को हुँ? बाइबलमा मानिसको बयान यस्तो पाउँदछौं,

मूर्खले मन-मनमा भनेको छ: "परमेश्वर छैन।" तिनीहरु भ्रष्ट भएका छन्, तिनीहरुले घिनलाग्दा कामहरु गरेका छन्; असल गर्न कोही छैन। बुझ्ने कोही छ कि? परमेश्वरलाई खोज्ने कोही छ कि? सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरुलाई हेर्नुभयो। तिनीहरु सबै एकातिर लागेका छन्; तिनीहरु सबै एकसाथ फोहोरी भएका छन्; असल गर्ने कोही छैन; अहँ, एउटै पनि छैन। (भजनसंग्रग १४:१-३)। सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमारहित हुनगएका छन्। धर्मी कोही छैन, एउटै पनि छैन (रोमी ३:२३,१०)।

तसर्थ म एक बाटो बिराएको, हराएको पापी हुँ। त, म कसरी पापी बनें? बाइबलमा लेखिएको छ,

हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापमा मेरो आमाले मलाई गर्भधारण गरिन् (भजनसंग्रह ५१:५)।

बाइबलले बताउँछ, मेरो हृदय दुष्ट छ...

हृदय ता सबै कुराहरुभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र? हरेक मानिसलाई त्यसका चालअनुसार र त्यसका कामहरुको फलअनुसार प्रतिफल दिनलाई नै म परमप्रभु हृदयको खोजतलास गर्दछु, म अन्तस्करणलाई जाँच्दछु (यर्मिया १७:९-१०)।

प्रभु येशू भन्नुहुन्छ, मेरो हृदय खराब छ...

मानिसबाट जे बाहिर निस्कँदछ, त्यसैले मानिसलाई अशुद्ध पार्दछ। किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कँदछन्; यी सबै खराब कुराहरू भित्रबाट नै निस्कँदछन्, र मानिसलाई अशुद्ध पार्दछन् (मर्कूस ७:२०-२३)।

तसर्थ, म सारा संसारको न्यायकर्ता परमेश्‍वरका सामु दोषी छु र पवित्र परमेश्वरको क्रोध र दण्डको आज्ञामुनि छु...

हरेक मुख चुप रहोस् र सारा संसार परमेश्‍वरको सामु दोषी ठहरियोस् (रोमी ३:१९)। किनकि सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ... किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न धन्यवादी भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान् छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने, र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, जो साँच्चै सदासर्वदा धन्य हुनुहुन्छ, तिनीहरूले सृष्टिको पूजा र सेवा गरे (रोमी १:१८, २१,२२,२३,२५)। यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन; किनभने जुन कुरामा तिमी अरूको न्याय गर्दछौ, त्यही कुरामा तिमीले आफैलाई दोषी ठहराउँदछौ; किनकि तिमी न्याय गर्ने आफैले ती कुराहरू गर्दछौ (रोमी २:१)। जसले उहाँमाथि विश्वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ (यूहन्ना ३:१८,३६)।

तेस्रो, हामीलाई यो जान्न खाँचो छ – मैले पाउनुपर्ने दण्ड के हो?

मेरो पापी र दुष्ट अवस्थाले मैले पाउनुपर्ने दण्ड मृत्यु-दण्ड हो।

जुन मानिसले पाप गर्छ, त्यही मर्नेछ (इजिकिएल १८:४)। यस्ता-यस्ता काम [पाप] गर्नेहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको न्याय जानी-जानीकन पनि तिनीहरू ती काम नै गर्छन्। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी १:३२,६:२३)।

यस मृत्यु-दण्डको तात्पर्य यो हो – परमेश्वरको उपस्थितिदेखि सदाकालका लागि बञ्चित हुनु र शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अग्निकुण्डमा परमेश्वरबाटको अनन्त दण्ड भोग्नु।

परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ; तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन् (१ थेस्सलोनिकी १:८,९)। त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्: ‘हे श्रापिहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ। अनि तिनीहरू अनन्त दण्डमा जानेछन् (मत्ती २५:४१, ४६)। तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो (प्रकाश २१:८)।

चौथो, हामीलाई यो जान्न खाँचो छ – सुसमाचार के हो?

उहाँको अचम्मको प्रेम र कृपाले परमेश्वरले आफ्नो प्रिय पुत्रलाई यस संसारमा पठाउनुभयो:

किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)।

येशू ख्रीष्ट अद्‍भुत रूपमा एक कन्या स्त्रीद्वारा जन्मनुभई यस संसारमा आउनुहुने भविष्यवाणी यसरी दिइएको थियो,

"अनि उनले पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाम 'येशू' राख्‍नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ।" अब भविष्यवक्ताद्वारा प्रभुले भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो: 'हेर, कन्या गर्भवती हुनेछन् र एउटा पुत्र जन्माउनेछन्, अनि तिनीहरूले उहाँको नाम "इम्मानुएल" राख्‍नेछन्' जसको अर्थ हो, 'परमेश्वर हामीसित' (मत्ती १:२१-२३)। किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन् (लूका १९:१०)। यो विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो -- ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिनालाई संसारमा आउनुभयो (१ तिमोथी १:१५)।

प्रभु येशू ख्रीष्ट, जो अनादिदेखिका परमेश्वर र सारा थोकका सृष्टिकर्ता हुनुहुन्छ, मेरो सट्टामा मेरो निम्ति क्रूसमा मर्नुभयो जुन मृत्युद्वारा उहाँले मैले भोग्नुपर्ने मृत्यु-दण्ड पूरै तिरिदिनुभयो।

किनकि हामी कमजोर हुँदाखेरि नै, ठीक समयमा ख्रीष्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो। किनकि धर्मी मानिसका निम्ति मुस्किलले कोही मर्ला; असल मानिसका निम्ति सायद कसैले मर्ने आँट गर्ला कि! तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५:६-८)। पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो (१ कोरिन्थी १५:३)। हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो; उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ (१ पत्रुस २:२४)। किनकि हामीलाई परमेश्वरकहाँ पुर्‍याउनलाई ख्रीष्टले पनि – धर्मीले अधर्मीहरूका निम्ति पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो (१ पत्रुस ३:१८)। अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ; र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापहरूका निम्ति पनि (१ यूहन्ना २:२)। उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्वरको प्रेम थाह पाउँछौं (१ यूहन्ना ३:१६)। प्रेम यसैमा छ – हामीले परमेश्वरलाई प्रेम गर्‍यौं भनेर होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनालाई पठाउनुभयो (१ यूहन्ना ४:१०)।

तर, खुशीको कुरा, येशू मरेको मरै रहनु भएन! उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो। यसबाट यो प्रमाणित हुन्छ, पुत्र-परमेश्वरको क्रूसको बलिदान पापीहरूको पापको मूल्य चुक्ता गर्न पर्‍याप्‍त छ भनी पिता-परमेश्वर सन्तुष्ट हुनुभयो।

ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो अनि उहाँ केफासकहाँ, त्यसपछि बाह्रजनाकहाँ देखा पर्नुभयो; त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो जसमध्ये धेरैजसो अहिलेसम्म छँदै छन्, तर कतिचाहिँ सुतिसके। त्यसपछि उहाँ याकूबकहाँ देखा पर्नुभयो; त्यसपछि सबै प्रेरितहरूकहाँ अनि सबैभन्दा पछि मकहाँ (१ कोरिन्थी १५:३-८)। जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो, र हाम्रा धार्मिकताका निम्ति बौराइनुभयो (रोमी ४:२५)।

साथै उहाँको बौरिउठाइले यो पनि प्रमाणित गर्दछ, उहाँ (येशू ख्रीष्ट) ले आफू जो हुँ भन्नुभएको थियो त्यो सत्य सावित भयो, जसरी लेखिएको छ,

पवित्रताको आत्माअनुसार उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभएको कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनुभयो (रोमी १:४)।

यही नै हो हामी पापीहरूका निम्ति खुशीको खबर, अर्थात् सुसमाचार!

मुक्ति पाउन मैले के गर्नुपर्छ?
माथिका खण्डहरू अध्ययन गर्नुभई, येशू ख्रीष्ट को हुनुहुन्छ र उहाँले तपाईंको लागि क्रूसमा गरिदिनुभयो भनेर तपाईंले जानिसक्नुभयो भने अब तपाईंको जिम्मेवारी यो हो – प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु। निम्न बाइबल पदहरूलाई विचार गर्नुहोस्:

"मुक्ति पाउनालाई मैले के गर्नुपर्छ?" अनि उनीहरूले भने: "प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ" (प्रेरित १६:३०-३१)। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। जसले उहाँमाथि विश्वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन (यूहन्ना ३:१८)। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ (यूहन्ना ३:३६)।

विश्वास गर्नुको मतलब उहाँकहाँ आउनु हो:

अनि येशूले तिनीहरूलाई भन्नुभयो: "जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन; अनि जसले ममाथि विश्वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन...अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैनँ" (यूहन्ना ६:३५,३७)।

विश्वास गर्नुको मतलब उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा लिनु अथवा ग्रहण गर्नु हो:

जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् (यूहन्ना १:१२)। पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी ६:२३)।

साँचो गरी विश्वास गर्नेले निम्न कुराहरू महसुस र विश्वास गरेकै हुन्छ
(१) प्रभु येशू ख्रीष्ट नै एक मात्र मुक्तिदाता हुनुहुन्छ। उहाँबिना अरू कसैमा पनि मुक्ति छैन:
न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ (प्रेरित ४:१२)। ढोका म नै हुँ; कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ (यूहन्ना १०:९)। बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन (यूहन्ना १०:९)।

(२) प्रभु येशू मेरो मुक्तिका निम्ति मर्नुभयो र बौरेर उठ्नुभयो:

यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ (रोमी १०:९)।

(३) प्रभु येशू मलाई बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५; यशैया ५९:१; मत्ती १९:२४-२६)।

(४) प्रभु येशू मलाई बचाउन चाहनुहुन्छ (यूहन्ना ६:३७; १ तिमोथी २:४)

(५) यदि मैले प्रभु येशूलाई, केवल उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा भरोसा गरें भने उहाँले मलाई अहिले नै बचाउनुहुनेछ (यूहन्ना ३:१६)।


साथै मैले यो पनि महसुस गर्नुपर्छ कि मुक्ति निम्न तरिकाले पाइन्न
असल कामले पाइन्न
आज्ञाहरू पालन गर्ने प्रयासले पाइन्न
पानीको बप्‍तिस्माले पाइन्न
किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८-९)।

मुक्ति पूर्ण रूपमा परमेश्वरको अनुग्रह र कृपाले विश्वासद्वारा पाइने कुरा हो। विश्वास गर्नु भनेको आफ्नो पूरै भरोसा येशू ख्रीष्टमा राख्‍नु हो (उहाँ जो हुनुहुन्छ, उहाँले जे गरिदिनुभयो र उहाँले जे भन्नुभएको छ)। यो दिमागले स्वीकार गर्ने कुरा मात्र नभई हृदयदेखि गर्ने कुरा हो।

मैले मुक्ति पाएँ भनेर कसरी जान्ने?
परमेश्वरले झूट बोल्न नसक्ने भएको हुनाले (तीतस १:२) र येशू ख्रीष्ट सदा विश्वासयोग्य हुनुभएको हुनाले (हिब्रू १३:८), मुक्ति सम्बन्धी उहाँ प्रतिज्ञाहरूलाई म पक्कासाथ र खुशीसाथ दाबी गर्दछु र तिनमा भरोसा गर्दछु: मत्ती ११:२८; यूहन्ना १:१२; ३:१६;३:१८; ३:३६; ५:२४; ६:३५; ६:३७; ६:४७; १०:९; ११:२५; प्रेरित १०:४३; १६:३१; रोमी १०:९; १०:१३; १ यूहन्ना ५:११-१२।

मैले मुक्ति पाइसकें! अब मैले के गर्नुपर्छ?
ख्रीष्टमा म विश्वासी भएको हुनाले मेरो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानु मेरो जिम्मेवारी हो (२ पत्रुस ३:१८)। एउटा स्वस्थ र बढ्ने विश्वासी हुनलाई मैले –

पानीको बप्‍तिस्मा लिनुपर्छ किनकि यो ख्रीष्टको आज्ञा हो (मत्ती २८:१९-२०; प्रेरित १०:४८; २:३८)। बप्‍तिस्मा, ख्रीष्टमा मैले पाएको नयाँ जीवनको सार्वजनिक गवाही हो (२ कोरिन्थी ५:१४-१७; रोमी ६:३-११; गलाती २:२०)। (यस बारेमा राम्ररी बुझ्न, पढ्नुहोस्: बप्‍तिस्माको अर्थ)
दिनहुँ मेरो बाइबल पढ्दै परमेश्वरको वचनरूपी आत्मिक भोजन खानुपर्छ (१ पत्रुस २:२; मत्ती ४:४; भजनसंग्रह ११९:९७)।
दिनहुँ परमेश्वरसित प्रार्थनामा समय बिताउनुपर्छ (हिब्रू ४:१६; १ थेस्सलोनिकी ५:१७; लूका १८:१)।
नियमित रूपमा बाइबल विश्वास गर्ने र बाइबल सिकाउने मण्डली (चर्च) सित सहभागी हुनुपर्छ (प्रेरित २:४२; हिब्रू १‍०:२५)।
दिनहुँ परमेश्वरसित आफ्ना पापहरू स्वीकार गर्नुपर्छ। मेरा विचार, काम, जीवनमा जुन कुरा उहाँको पवित्रतासित मेल खाँदैन, ती कुराहरूको बारेमा म परमेश्वरसित सहमत हुनुपर्छ अर्थात् आफूले गरेको उक्त काम उहाँको दृष्टिमा पापपूर्ण छ भनेर स्वीकार गर्नुपर्छ (१ यूहन्ना १:८‍-२:२ विशेष गरी १ यूहन्ना १:९; भजनसंग्रह ५१:३-६; भजनसंग्रह ३२:२-६; हितोपदेश २८:१३)।
अरूहरूका सामु ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (भजनसंग्रह १०७:२; मत्ती १०:३२; रोमी १०:९-१०)। उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्न खुशी हुनुहोस्।
मौखिक रूपमा र व्यावहारिक रूपमा एउटा असल गवाही हुनुपर्छ (प्रेरित १:८; यशैया ४३:१०-१२)। दुवै जीवन शैलीको गवाही र मुखको गवाहीद्वारा मैले अरूहरूलाई ख्रीष्टप्रति आकर्षित गर्नुपर्छ (फिलिप्पी २:१५-१६; कलस्सी ३:१७; १ पत्रुस ३:१५; कलस्सी ४:५-६)।

No comments:

Post a Comment