Wednesday, November 8, 2017

रोमन क्याथोलिक चर्चका थुप्रै अबाइबलीय सिद्धान्तहरू

रोमन क्याथोलिक चर्चका थुप्रै अबाइबलीय सिद्धान्तहरू



क्याथोलिक समर्थकलाई जटिल समस्या

डेविड क्लाउड

आफ्नो धर्म बाइबलमै आधारित भएको भनी दाबी गर्ने र यदि त्यसो होइन भने सो पुष्टि गर्नलाई चुनौती दिने कतिपय रोमन क्याथोलिक समर्थकहरूको निर्लज्ज साहसिकता देखेर म छक्क पर्दछु। उनीहरूकै चर्चले समेत आफ्ना शिक्षाहरू केवल बाइबलमै मात्र आधारित छैनन् भनेर स्वीकार गरेकै छ। आधिकारिक दोश्रो भ्याटिकन काउन्सील (Vatican Council II) का अभिव्यक्तिहरूले गर्दा यस बारेमा शङ्का गर्ने कुनै ठाउँ नै छैन:
"यस प्रकारले, चर्चले सबै प्रकटित सत्यताहरू सम्बन्धी आफ्नो निश्चयता केवल पवित्र शास्त्रहरूबाट मात्र ग्रहण गरेको हुँदैन। अतः दुवै पवित्र शास्त्र र परम्परालाई भक्ति र भयको बराबर भावनाले ग्रहण र आदर गरिनु पर्दछ" (Dogmatic Constitution on Divine Revelation, Chap. 2, 9, p. 682)।

भाषा योभन्दा बढी स्पष्ट हुन सक्दैन। आफ्ना शिक्षाहरू केवल बाइबलमा मात्र आधारित छन् भनेर रोम आफैले दाबी गर्दैन। तरैपनि थुप्रै क्याथोलिक समर्थकहरूले त्यस्तो दाबी गर्ने गरेका छन्। उनीहरू विशेष गरी इन्टरनेटमा सक्रिय छन् र मेरो वेबसाइट www.wayoflife.org मा रोमन क्याथोलिक प्रणालीको विरुद्धमा मेरा थुप्रै लेखहरू भएका हुनाले उनीहरूबाट मलाई नियमित रूपमा इ-मेलहरू आउने गर्दछन्।

अझ, यी समर्थकहरू यसरी दाबी गर्छन्: हामीलाई नयाँ नियम दिने र इसाईमतका प्रमुख शिक्षाहरू निर्धारण गरिदिने रोम भएको हुनाले हामीले रोमका खातिर परमेश्वरलाई प्रशंसा चढाउनुपर्छ र आफूलाई रोमको अधीनमा सुम्पनुपर्छ अरे। इतिहासलाई संशोधन गर्न खोज्ने यस्तो चलाकीको विरुद्धमा मेरो प्रत्युत्तर सरल छ। यदि रोमन क्याथोलिक चर्चले हामीलाई नयाँ नियम दिएको हो भने, रोमन क्याथोलिक चर्च नयाँ नियमका पन्नाहरूमा पाइने मण्डलीहरूभन्दा बिलकुलै भिन्न हुनु अचाक्ली अनौठो कुरा भएन र! यो त चीलबाट भ्यागुता जन्म्यो भने बराबर हो। यी क्याथोलिक समर्थकहरूलाई निम्नलिखित प्रश्‍नहरू यहाँ चुनौतीस्वरूप प्रस्तुत गरिएका छन्। मेरो चुनौती यति हो: निम्नलिखित मुख्य-मुख्य क्याथोलिक शिक्षाहरू बाइबलमा कहाँ छन्, मलाई देखाइदिनुहोस्। जवाफमा यो प्रत्यक्ष हुनेछ कि रोमका शिक्षा लगायत अभ्यासहरू नयाँ नियमका मण्डलीहरूका हुँदै होइनन्।

पत्रुसले क्याथोलिक पोपको भूमिका निर्वाह गरेको र अभ्यास गरेको बाइबलमा कहाँ भेटिन्छ र?
पत्रुसलाई शुरुका मण्डलीहरूले पोपको रूपमा व्यवहार गरे भनी बाइबलले कहाँ बताएको छ र?
एउटा मान्छे नै सबै मण्डलीहरूका शिर हुन् भनी बाइबलले कहाँ बताएको छ र?
विश्वासीहरू नै पूजाहारीहरू हुन् भन्ने बाहेक परमेश्वरले मण्डलीहरूमा एउटा छुट्टै विशेष पूजाहारीगिरी स्थापना गर्नुभएको छ भनेर बाइबलले कहाँ बताएको छ र?
शुरूका मण्डलीहरूमा त्यस खाले पूजाहारीहरूको कामको बारेमा बाइबलले कहाँ बयान गरेको छ र?
नयाँ नियमका पूजाहारीहरू मेल्किसेदेकको रीतिबमोजिम नियुक्त गरिन्छन् भनेर बाइबलले कहाँ बताएको छ र?
पास्टरहरू अविवाहित हुनुपर्छ भन्ने शर्त बाइबलमा कहाँ भेटिन्छ र?
प्रेरितहरूले आफ्नो अधिकारलाई एक पछि अर्को गरी हस्तान्तरण गरे भनेर बाइबलले कहाँ बताएको छ र?
प्रेरितहरूको अधिकार हस्तान्तरणका लागि आवश्यक योग्यताहरू बाइबलले कहाँ बताएको छ? एल्डर तथा डिकनहरूका लागि त्यहाँ योग्यताहरू खुलाइएका छन्, तर प्रेरितहरूको निरन्तरताका लागि आवश्यक योग्यताहरू कहाँ छन् र?
शुरुका मण्डलीहरूमा नन्‌ (भिक्षुणी) हरूको बयान कहाँ गरेको छ र?
बाइबलमा मरियमलाई अथवा परमेश्वरबाहेक अन्य कुनै व्यक्तिलाई प्रार्थना गरिरहेको कहाँ पाइन्छ र?
मरियमलाई परमेश्वरकी आमा भनेर बाइबलले कहाँ बताएको छ र?
मरियम स्वर्गकी रानी हुन् भनेर बाइबलले कहाँ बताएको छ र?
मरियम पापरहित छिन् भन्ने शिक्षा बाइबलमा कहाँ पाइन्छ र?
ख्रीष्टमा विश्वासै गर्न नसक्ने नाबालकको बप्‍तिस्मा गरिएको बाइबलमा कहाँ पाइन्छ र?
चर्चले मृतकहरूलाई "सन्त" (saint) को उपाधिहरू दिएर उनीहरूलाई प्रार्थनामा पुकारा गर्न सकिन्छ भनेर बाइबलले कहाँ सिकाएको छ र?
मृतकले जीवितका निम्ति अन्तरविन्ती गर्न सक्छ भनेर बाइबलले कहाँ सिकाएको छ र?
बाइबलले पर्गेटोरीको बारेमा कहाँ सिकाएको छ र?
मण्डलीहरूले मृतकहरूका हड्डीहरूलाई धार्मिक रीतिले प्रयोग गर्नुपर्छ भनेर बाइबलले कहाँ सिकाएको छ र?
मण्डलीहरूले पापमोचन पत्र (indulgences) प्रयोग गर्‍यो भनेर बाइबलले कहाँ सिकाएको छ र?
क्याथोलिक मास (mass) सम्पन्न भएको वा त्यसको बयान गरिएको उदाहरण बाइबलमा भए त्यो कहाँ छ त?
ख्रीष्टले मासको स्थापना गर्नुभएको हो भने र रोमको दाबीअनुसार त्यो इसाई विश्वासकै केन्द्र हो भने, किन प्रेरितको पुस्तकमा र नयाँ नियमका पत्रहरूमा त्यसको एउटै उदाहरण भेटिँदैन?
ख्रीष्टियनहरूले दाखरसबिना केवल रोटी मात्र लिएर प्रभु भोज लिएको बाइबलमा कहाँ पाइन्छ र?
पावल वा शुरुका मण्डली अगुवाहरूले त्यहाँ सात स्याक्रामेन्ट (sacrament) अर्थात् धार्मिक संस्कारहरू हुन्छन् भनेर कहाँ सिकाएका छन् र?
मण्डलीहरूले कन्फरमेशन (confirmation) भन्ने स्याक्रामेन्टको अभ्यास गरेको बाइबलमा कहाँ भेटिन्छ र?
एक्स्ट्रिम अङ्कशन (extreme unction) अर्थात् अन्त्येष्टि क्रियालाई धार्मिक संस्कारको रूपमा मण्डलीहरूले अभ्यास गरेको बाइबलमा कहाँ भेटिन्छ र?
रोजरीको प्रार्थना (prayer of the rosary) बाइबलमा कहाँ पाइन्छ र?
रोमको ढाँचामा भड्किला रीतिविधीहरू गर्नलाई नयाँ नियमका मण्डलीहरूलाई आज्ञा दिइएको बाइबलमा कहाँ पाइन्छ र?
चर्चको प्रमुख कार्यालय रोममा हुनुपर्छ भन्ने कुरा बाइबलमा कहाँ पाइन्छ र?
अन्तिम बुँदा अलिक फरक छ किनकि यो, रोमन क्याथोलिक प्रणाली बाइबलमा पाइँदैन भन्ने बारेमा नभएर हाम्रा मित्र ब्रायन स्नाइडरले हामीसित बाँड्नुभएको एउटा प्रश्‍न हो:

बिगतका १,७०० वर्षहरूमा रोमन क्याथोलिक चर्चले लाखौंलाई धर्मद्रोही ठानी उनीहरूको ज्यान लिएका छन् -- 'एक मात्र साँचो मण्डली' को अधीनमा आउन इन्कार गर्ने यहूदीहरू, भिन्न मत राख्‍ने क्याथोलिकहरू (dissident Catholics), प्रोटेस्टेन्टहरू (Protestants), आनाब्याप्टिस्टहरू (Anabaptists), हसाइटहरू (Hussites), लोलार्डहरू (Lollards), वाल्डेनजिसहरू (Waldenses), अल्बिगेन्जिसहरू (Albigenses) र टाढा-टाढासम्मका अन्य थुप्रै मानिसहरूको ज्यान। आज, रोमन क्याथोलिक चर्चले ठीक यिनै विचारधारा अपनाएकाहरूलाई 'अलग रहेका दाजुभाईहरू' (separated brethren) भन्ने संज्ञा दिँदै छन् र धार्मिक विश्वासको आधारमा सतावट दिनु गलत हो भनेर सिकाउँदै छन्। कुनचाहिँ चर्च ठीक हो? आफ्ना शिक्षाहरूको प्रतिवाद गर्नेहरूको ज्यान लिने चर्च ठीक कि अन्य ख्रीष्टियनहरू -- साथै अन्य धर्महरू समेत -- स्वर्ग जाने वैकल्पिक मार्गहरू हुन् भनेर सिकाउने चर्च ठीक?
निष्कर्ष
प्रिय मित्र, हजुर एक रोमन क्याथोलिक हुनुहुन्छ भने, कृपया यो बुझिदिनुहोस् कि हामी हजुरलाई घृणा गर्दैनौं। बरु यसको ठीक विपरित, हामी हजुरलाई यति धेरै प्रेम गर्दछौं कि हामी हजुरसमक्ष रोमन क्याथोलिक चर्चको बारेमा सत्य-तथ्य खुलस्त गरी बताइदिन चाहन्छौं ता कि यसको पथभ्रष्टता देख्‍नुभई हजुर पनि ख्रीष्टकहाँ बाइबलीय विश्वासद्वारा फर्कनुभएको होस्। हजुरले मुक्ति पाउनुभएको होस् भन्ने हाम्रो चाहना र परमेश्वरमा प्रार्थना हो। पापहरूको क्षमा र अनन्त जीवन त कलवरी क्रूसमा येशू ख्रीष्टले किन्नुभएको उपहार हो जुन उपहार उहाँले हजुरलाई पनि प्रदान गर्दै हुनुहुन्छ। यो आफैले कमाउन खोज्नुपर्ने कुरै होइन। पापीको हैसियतले परमेश्वरको निगाह प्राप्‍त गर्नलाई हजुरले जति जे गरे पनि पर्याप्‍त हुन सक्दैन। यो कुनै पनि चर्चले हजुरको लागि कमाइदिन सक्ने कुरा होइन। यो, बप्‍तिस्मा वा कन्फर्मेशन जस्ता चर्चको कुनै पनि रीति पूरा गरेर प्राप्‍त गर्न सकिने कुरा होइन। मुक्ति येशू ख्रीष्टद्वारा परमेश्वरबाटको सित्तैंमा पाइने अनन्त कृपा हो, अनि पश्चात्ताप र विश्वास गरी उहाँकहाँ आउने प्रत्येक पापीलाई ग्रहण गर्न उहाँ तयार र सक्षम हुनुहुन्छ। आफूले अनन्त जीवन पाएको छु भनी अहिले नै, आजै हजुरले थाह गर्न सक्नुहुन्छ भनेर बाइबलले भन्दछ।

"अनि गवाही यही हो -- परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ; र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, ऊसित जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, ऊसित जीवन छैन। मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु -- तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस्, र परमेश्वरका पुत्रको नाममा तिमीहरूले विश्वास गर" (१ यूहन्ना ५:११-१३)।

"किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ" (एफेसी २:८-९)।

"तर अनुग्रहद्वारा हो भने यो कामहरूद्वारा हुँदै होइन, नत्र ता अनुग्रह अनुग्रह नै हुँदैन" (रोमी ११:६)।

"हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु; अनि तिमीहरूले आ-आफ्नो मनमा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो, र मेरो भारी हलुका छ" (मत्ती ११:२८-३०)।

यी महत्त्वपूर्ण सत्यताहरू अझ बुझ्नलाई वा बाइबल विश्वास गर्ने एउटा असल मण्डली खोज्नलाई हाम्रो मदत चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न कुनै सङ्कोच नमान्नुहोला।

No comments:

Post a Comment