Wednesday, November 8, 2017

पैसा! पैसा!



थोमस कफमन

यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन; पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्कनुपर्छ। किनभने त्यसै कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।

कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने अरूले पैसा सजिलो प्रकारले पाउने बाटो हेर्दछन्। कतिले लटरीमा गोला हालेर वा अन्य तरिकाहरूले एकैचोटि धेरै पैसा प्राप्‍त गर्ने आशा गर्छन्। कतिले 'सोझो औंलाले घिउ आउँदैन' भन्छन् र अरूलाई ठग्छन् वा छल गरेर अरूको सम्पत्तिमा हात हाल्छन्। यसरी नै धनी हुन खोज्नेहरू अति धेरै भइसके। यसले गर्दा पैसा कमाउने बाटो यही हो भन्ने विचार प्रायः सबैको हुन्छ। कुन शहर, कुन बजार, वा कुन गाउँ र बस्तीमा चोर लाग्दैन? डकैती र हत्याको बारेमा हामी घरीघरी सुन्दछौं। संसारमा जिउन हामीलाई डर लागेको छ। यस्तो किन भएको छ? के पैसाको खातिर होइन र? मानिसको निम्ति पैसा सबभन्दा मुख्य चीज भएको छ। पैसाको लागि मानिस जे पनि गर्न तयार छ। पैसा कमाउनका लागि मानिसहरू आफ्नो घर छोडेर हिँड्छन्; पैसा पछि लागेर मानिसहरू आफ्नो शरीर र आत्मा बेच्छन्। पैसा कस्तो चीज हुँदो रहेछ! हामी छक्कै पर्दछौं।

अब यो नभई नहुने पैसाको सम्बन्धमा हामीलाई एक-दुई कुरा बुझ्न खाँचो छ, नत्रभने पैसा र धनसम्पत्तिको पछि लागेर हामीले आफ्नो आत्मालाई गुमाउनुपर्छ। यसैले हामी तपाईंलाई पवित्र बाइबलबाट पैसाको सम्बन्धमा हाम्रो सृष्टिकर्ता परमेश्वरको विचार के हो, सो बताउन चाहन्छौं।

"रुपियाँ-पैसाको प्रेमचाहिँ सबै खराबीको जरा हो। यसको लोभ गर्दा कतिजना विश्वासबाट भड्किएका छन् र आफैलाई अनेकौं पीडाले छेंड-छेंड पारेका छन्" (१ तिमोथी ६:१०)।

पैसा अवश्य चाहिन्छ, तर पैसालाई माया गर्नुहुँदैन। किनभने यसैमा खराबीको जरा छ। पैसाको लोभ गर्नुचाहिँ सबै खराबीको शुरु हो। यसो गर्नेले जीवनको सत्य बाटो बिराउँछ र धैरै दुःख पाउनैपर्छ।

"तर धनी हुन खोज्नेहरू (पापमय) परीक्षा र पासोमा पर्छन्, साथै धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फँस्दछन्; तिनैले मानिसहरूलाई बरबादी र विनाशभित्र डुबाउँछन्" (१ तिमोथी ६:९)।

पैसा चाहिन्छ नै, तर धनी हुन खोज्नु खतरा हो, किनकि धनको खोजमा लाग्नेहरूको मनमा पापका अनगिन्ती अभिलाषाहरू जाग्दछन्। उनीहरू कहिल्यै सन्तुष्ट रहन सक्दैनन्। उनीहरूलाई यो चाहिन्छ, त्यो पनि चाहिन्छ; सबै थोक चाहिन्छ। यस्तो गर्दा गर्दै उनीहरू कता पुग्छन् भन्ने कुरा तपाईं याद गर्नुहोला -- यस्तो हानि कसले भोग्न चाहन्छ र? यसैकारण होशियार हुनुहोस्, प्रिय मित्र, होशियार!

हावार्ड भन्ने व्यक्तिको जन्म अमेरिकामा भएको थियो र पछि उनी एक ज्यादै धनी र प्रसिद्ध व्यक्ति बने। उनले आफूले चाहेको जे पनि किन्न सक्थे र आफूले चाहेको ठाउँमा जान सक्थे। काठमाडौंमा भएका सबै मानिसको सम्पत्ति एकै ठाउँमा राखे पनि उनको त्यो भन्दा धेरै सम्पत्ति थियो। तर उनी सन्तुष्ट चाहिँ थिएनन्। उनी त्यो भन्दा पनि बढी चाहन्थे। उनलाई अझ धेरै पैसा चाहिएको थियो। जसबाट उनले आफ्नै पैसा लगानी गरेर खरबौं डलर बनाउन चाहन्थे। उनलाई अझ धेरै ख्याति चाहिएको थियो। त्यसैले उनी एक फिल्म निर्माता बने र चलचित्रको हिरो पनि बने। उनी अझ धेरै मोजमज्जा गर्न चाहन्थे। त्यसैले उनले थुप्रै पैसा अनैतिक कार्यहरूमा लगाए। उनलाई अझ धेरै मनोरञ्जन चाहिएको थियो। त्यसैले उनले संसारको सबैभन्दा छिटो उड्ने हवाइजहाज बनाए र उडाए पनि। जहिले पनि उनी धेरै भन्दा धेरै खोजिरहन्थे। आफूसँग धेरै भएमा मात्र उनलाई सन्तुष्टि मिल्छ भन्ने उनको अवधारणा थियो। जब हामी उनको इतिहासलाई हेर्दछौं, हामी के देख्छौं भने हावर्डले आफ्नो जीवनमा खोजेको जस्तो सन्तुष्टि उनले कहिल्यै पाएनन्। यो व्यक्तिले आफ्ना शरीरलाई ज्यादै दुब्लो, सुकेको छाती, नकाटिएको लामो फोहोर नङ, कालो किरा लागेको दाँत, अनगिन्ती लागु पदार्थबाटका सुईका खतहरू बनाई आफ्नो जीवनको अन्त गर्‍यो। हावर्ड आफूसँग धेरै भएमा मात्र आफू खुसी रहन सक्ने विश्वासमै मरे। उनी लागु पदार्थ दुर्व्यसन गर्ने एक खरबौंपति थिए र अन्त्यमा उनी पागल भई मरे। उनको सम्पूर्ण पैसा, सम्पत्ति, ख्यातिले उनलाई शान्ति दिन सकेन।

"तर सन्तुष्टतासिको भक्ति नै ठूलो लाभ हो। किनभने हामीले यस संसारमा केही पनि ल्याएका छैनौं; अनि यो निश्चित छ, हामी केही लैजान सक्दैनौं। खानु र लाउनु छ भने हामी यसैमा सन्तुष्ट रहौं" (१ तिमोथी ६:६-८)।

हाम्रो भरोसा हामीले एकमात्र साँचो जिउँदो परमेश्वरमाथि राख्‍नुपर्थ्यो। उहाँको भक्ति हामीले गर्नुपर्थ्यो। तर हाम्रो ध्यान त पैसामा पो गएको छ। हामीले केही ल्याएनौं र केही लैजान पाउँदैनौं भन्ने कुरा भुलेका छौं कि? खाना र लाउनुमा को सन्तुष्ट रहन चाहन्छ? परमेश?वरको भक्ति गर्नुमा कसले ठूलो लाभ देखेको छ?

राम एक काठमाडौंका जवान मानिस हुन्। उनको परिवार धनी छ र उनको बुवा सरकारी जागिरको उच्च पदमा हुनुहुन्छ। यद्यपि उनको बुवा जहिले पनि धेरै पैसा खोजिरहन्थे। त्यसैले उनले आफ्नो छोरालाई कामको लागि विदेशमा पठाए। यही रामले इमेलबाट पठाएका केही उनका भावहरू यहाँ उद्दृत गरेका छौं:

"मैले आँसु नखसाली सुतेको कुनै रात नै छैन। जब म आफ्नो भविष्य, प्रेम, जीवन, मृत्यु, आफन्त र विगतलाई विचार गर्छु, आँसुहरू आफै बर्रर झर्न थाल्छन्। म आफ्नो टाउकोलाई सिरकले छोप्छु र सुत्‍न कोशिश गर्छु। तर म सक्दै सक्दिनँ। तपाईंलाई थाहा छ, म ईश्वरलाई एउटा कुराको लागि धन्यवाद दिन्छु, त्यो हो, "हरेक नै मर्नैपर्छ।" यदि ईश्वरले मृत्यु नबनाएको भए यी स्वार्थी र क्रूर मानवजातिले के गर्ने थिए होलान्? तिनीहरूलाई थाहा छ, कुनै दिन तिनीहरू मर्नेछन् र पनि तिनीहरू अझै धरै धेरै पैसा कमाउनको लागि दौडिरहेका छन्।

म काठमाडौंमा हुँदा मैले केही असल मित्रहरूलाई भेटेको थिएँ। तिनीहरू अमेरिकन सेन्टरमा टोफल तयारीको लागि गएका थिए। मैले तिनीहरूलाई किन तपाईंहरू त्यहाँ जानुहुन्छ भनी सोधें। तिनीहरूको जवाफ सरल थियो, "अमेरिका"। मैले सोधें, त्यहाँ गएर के गर्नुहुन्छ? तिनीहरूले जवाफ दिए, "पैसा"। त्यसपछि मैले प्रेम र ईश्वरको बारेमा सोधें, "के तपाईं अमेरिकामा शान्ति र सन्तुष्टिको जीवन पाउनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ?" तिनीहरूले भने, "सायद, पाउँछु होला"। मैले तिनीहरूलाई सोधें, "नेपालमा उदाउने सूर्य र तारा, अमेरिकाको पनि त्यही होइन र? यहाँ देखिने आकाश त्यहाँ पनि उस्तै होइन र?" मैले तिनीहरूलाई विश्वस्तसाथ आफ्नो भित्र हृदयमा शान्ति पाउन कोशिश गर्न अनुरोध गरें। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया जस्ता देशहरूमा आँखै नहेरी कुद्‍नाले तपाईंलाई झन् धेरै अन्धा बनाउँछ।

एउटा कुरा मैले के भेट्टाएँ भने तिनीहरू जो विदेश जान कोशिश गर्छन्, तिनीहरू गरिब परिवारबाटका होइनन् तर धनी र सम्पन्न परिवारहरूबाटका हुन्। मैले भन्न खोजेको चाहिँ यी व्यक्तिहरू बाहिर जानुमा कुनै कारण नै छैन। तिनीहरूसँग पैसा, खानदानी घर र सम्पन्न परिवार छ। सबै नै आफ्नो अन्धो र दोधारे जीवन बिताइरहेका छन्। कसैलाई थाहा छैन अमेरिका वा अरू देशमा तिनीहरूले के चाहन्छन्? वास्तविकरूफमा कसैलाई थाहा छैन कुन कुराले तिनीहरूलाई खुसी बनाइरहनसक्छ? तिनीहरू खाली जान, जान, जान मात्र चाहन्छन्।"

पैसाको दौडको कहिल्यै पनि अन्त्य हुँदैन, बरू हाम्रो अन्त्य हुन्छ। हामीहरू त्यसलाई जित्‍नका लागि यता उता दौडिरहेका छौं जुन मलाई थाहा छ, त्यो कहिल्यै पनि पाउँदैनौं।

"पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, तब यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्" (मत्ती ६:३३)।

हामी पशु होइनौं, तर मानिस भएका हुनाले खालि गाँस, बास र कपास खोज्नु ठीक छैन। हामीलाई आफ्नो सृष्टिकर्ता परमेश्वरलाई चिन्नुपर्छ, उहाँको अधीनतामा रहीकन उहाँको इच्छाअनुसार चल्नुपर्छ; तब उहाँप्रति हामीले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छौं। तब उहाँ हाम्रो आवश्यकता पूरा गर्नुहुन्छ। के तपाईं उहाँको खोजीमा हुनुहुन्छ?

यति कुरा गरेपछि हामी तपाईंलाई सबैभन्दा मुख्य कुरा बताउन चाहन्छौं। किनभने पैसाले धेरै काम गर्न सक्छ, तर हाम्रो आत्मालाई बचाउन सक्दैन।

"परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्दछ" (सपन्याह १:१८)।

प्रिय मित्र, एक दिन हामीलाई मर्नुछ। त्यसपछि हामी न्यायमा परमेश्वरको सामु उभिनुपर्छ। त्यतिखेर हाम्रो सम्पत्ति कुनै कामको हुँदैन। पापले गर्दा परमेश्वरले हाम्रो न्याय गर्नुहुन्छ। पैसाले मानिसको पाप-क्षमा हुन सक्दैन। पैसाले भौतिक खाँचो मात्र पूरा गर्छ तर आत्मिक खाँचो भने केवल परमेश्वरले मात्र पूरा गर्न सक्नुहुन्छ। तपाईंको पाप परमेश्वरमा ज्यादै घृणित कुरा हो। आज सबै मानिसमा पाप छ। मानिसमा पाप छ भन्ने कुरा दिनहुँ मानिसको जीवनबाट प्रदर्शन भइरहेको हुन्छ। मानिस चोरी गर्दछन्, मानिस झूट बोल्दछन्, मानिस लोभ गर्छन्, मानिस आफ्नो हृदयमा खराब-खराब कुरा जन्माउँछन्। यी सबै कुराहरू पापको उपज हो। यही पापकै कारण मानिसमा मृत्युको सजायँ पनि आयो। अनि यही पापको कारण नै परमेश्वरले हाम्रो शरीर र आत्मालाई सदाको लागि नरकको ननिभ्ने आगोमा फाल्नुहुन्छ।

"आफ्नो धनसम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धनको प्रशस्ततामा अहङ्कार गर्नेहरूमध्ये कसैले पनि कुनै रीतिले आफ्नो भाइलाई मोल तिरेर छुटाउन सक्दैन, न त्यसको छुटकाराको दाम परमेश्वरलाई दिन सक्छ; किनभने तिनीहरूको प्राणको दाम ज्यादै छ र त्यो कहिल्यै पुग्दैन" (भजनसङ्ग्रह ४९:६-८)।

के नरकको आगोबाट छुटाउने दाम तपाईंसँग छ? तपाईंले आफ्नो आत्माको बदलामा परमेश्वरलाई के दिनुहुन्छ? यसको दाम ज्यादै छ। तपाईंले जे दिनुभए पनि तपाईंले तिर्नुपर्ने दाम कहिल्यै पुग्दैन।

"किनभने सारा संसार प्राप्‍त गरे तापनि मानिसले आफ्नो प्राणलाई चाहिँ गुमायो भने उसलाई के फाइदा भयो? अथवा आफ्नो प्राणको सट्टामा मानिसले के देला?" (मत्ती १६:२६)

मानिसको लागि भौतिक कुरा जति महत्त्वपूर्ण छ त्यो भन्दा आत्माको कुरा सय गुणा महत्त्वपूर्ण छ। मानिसको शारीरिक जीवन छोटो छ। कोही पनि सधैंभरि बाँचिरहन सक्दैन। एक दिन सबैले मर्नैपर्छ। मृत्युपछि मानिसको धनको थुप्रोलाई परमेश्वरले हेरेर ओहो तिमीसँग त कति धन रहेछ, ल अब तिमी मेरो न्यायबाट बाँच्यौ भनेर भन्नुहुन्न। तर जसको पाप क्षमा भएको छ, त्यो व्यक्तिलाई उहाँ ग्रहण गर्नुहुन्छ।

मित्र के तपाईंको पाप क्षमा भएको छ? छैन भने तपाईंको लागि खुशीको कुरा यो छ: येशू प्रभु तपाईंको पाप‍‍‍‍-क्षमा गरी तपाईंलाई सधैंभरि रहिरहने शान्ति दिन चाहनुहुन्छ। पैसाले पुर्‍याउन नसक्ने आनन्दको ठाउँमा तपाईंको पाप‍-क्षमा गरी प्रभु येशू पुर्‍याउन चाहनुहुन्छ।

यसकारण न्यायमा पर्नु अघि नै हामी तपाईंलाई यो सन्देश सुनाउन चाहन्छौं: संसारको धनको पछि लागेर आफ्नो अनमोल आत्मालाई नगुमाउनुहोस्, तर समयमै आफ्ना पापदेखि परमेश्वरतिर फर्कनुहोस् र प्रभु येशूमाथि विश्वास गरी मुक्ति पाउनुहोस्; किनभने जब प्रभु येशू काठको क्रूसमा कष्ट सही मर्नुभयो, तब उहाँले हाम्रा सबै पापको निम्ति छुटकाराको दाम तिर्नुभयो। उहाँले हामीलाई अपार प्रेमले प्रेम गर्नुभयो र हामीले आफ्नो आत्माको लागि तिर्न नसक्ने दाम तिर्नुभयो। प्रभु येशूमा मुक्ति छ, उहाँमा अनन्त जीवन छ। पश्चात्ताप गर्नुहोस् र जिउँदो प्रभु येशूलाई पुकार्नुहोस् र बिनापैसा, सित्तैमा मुक्तिको दान ग्रहण गर्नुहोस्।

* * * * *

यो लेख पर्चामा छापिँदै आएको केही वर्ष भइसक्यो। यसका लेखक दाजु थोमस कफमनको अनुमतिले यसलाई यस वेबसाइटमा उपलब्ध गरिएको छ।

No comments:

Post a Comment