Wednesday, September 13, 2017

१७) आत्माद्वारा हुने बप्‍तिस्मा भनेको के हो?



 क्यारिज्म्याटिक जवाफ:



"पवित्र आत्मामा हुने बप्‍तिस्मा, मुक्तिपश्चात एउटा विश्वासीलाई ठोस रूपमा दिइने एउटा निश्चित, व्यक्तिगत अनुभव हो जुनचाहिँ पवित्र आत्माले अलौकिक रूपमा बोली दिनुभएअनुसारको एउटा नयाँ भाषामा बोल्ने प्रमाणसहित हुँदछ।" [From a Charismatic tract written by Dr. Hobart Freeman and published by Faith Ministries & Publications.]

"पवित्र आत्माको बप्‍तिस्मा अन्य भाषाहरूको बोलीसहितको मुक्तिपश्चातको एउटा बेग्लै, निश्चित अनुभव हो जसले निजलाई जीवन र सेवाकार्यका निम्ति सामर्थ्य प्रदान गर्दछ।" [From the doctrinal statement of the Rock Church (the name of certain charismatic churches in Connecticut and perhaps elsewhere)]

 बाइबलीय जवाफ:

"किनकि चाहे हामी यहूदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्‍तिस्मा भयौं; र सबैलाई एउटै आत्माभित्र पिउन दिइयो" (१ कोरिन्थी १२:१३)।

आत्माद्वारा हुने बप्‍तिस्मा परमेश्वरको एक अलौकिक कार्य हो जसद्वारा विश्वासी जन ख्रीष्टको शरीर अर्थात् मण्डलीभित्र गाभिन्छ। बप्‍तिस्मा दिने यूहन्नाले मत्ती ३:११ (मर्कूस १:८; लूका ३:१६) मा र प्रभु आफैले प्रेरित १:५ मा यस बप्‍तिस्माको पूर्वउल्लेख गर्नुभयो। यो सर्वप्रथम पेन्टेकोस्टको दिनमा सम्पन्न भयो जुन दिन मण्डलीको शुरु भयो (प्रेरित ११:१५-१७)। आज जब-जब एउटा व्यक्तिले प्रभु येशूमाथि विश्वास गर्दछ तब-तब उक्त बप्‍तिस्मा सम्पन्न हुने गर्दछ।

महत्त्वपूर्ण कुरा, १ कोरिन्थी १२:१३ पालन गरिनुपर्ने आज्ञा नभएर विश्वास गरिनुपर्ने तथ्य हो। परमेश्वरले सम्पन्न गर्नुभएको एउटा कार्य हो यो, विश्वासीले गर्ने कार्य होइन। परमेश्वरले कहिल्यै कतै आत्मामा बप्‍तिस्मा हुनलाई वा यसको खोजी गर्नलाई आज्ञा गर्नुभएको छैन।

उल्लेख गर्नुपर्ने कुरा, कतिपय उत्तम विश्वासीहरूले आत्माद्वाराको भरपूरीलाई आत्माद्वाराको बप्‍तिस्मासित अलमल्याएका छन् (थुप्रै उदाहरणहरूमध्ये आर ए टोरी (R. A. Torrey) एक हुन्)। यी दुईबीचको भिन्नता बुझ्न बप्‍तिस्मा र भरपूरी नामक तालिकालाई अध्ययन गर्नुहोस्।

१८) आत्माद्वारा हुने बप्‍तिस्मा कहिले हुने घटना हो?
 क्यारिज्म्याटिक जवाफ: "मुक्ति पश्चात्"

(बुँदा १७ मुनिका उद्दरणहरूलाई हेर्नुहोस्)।

यदि यो बप्‍तिस्मा मुक्ति पश्चातको कुरो हो भने, कुनै एउटा व्यक्ति, मुक्ति पाएको तर आत्माद्वाराको बप्‍तिस्माको अनुभव नपाएको हुन सक्छ भन्ने बुझिन्छ।

 बाइबलीय जवाफ: मुक्ति पाएकै घडीमा

पावलले कोरिन्थीहरूलाई उनीहरू सबै नै शरीरभित्र बप्‍तिस्मा भइसकेको कुरा बताउँछन्। यो बप्‍तिस्मा यस्तो कुरो हो जुनचाहिँ प्रत्येक विश्वासीको सवालमा साँचो छ, तसर्थ यो बप्‍तिस्मा, मुक्ति पाएकै घडीमा हुने घटना हो भन्ने बुझिन्छ।

चाखलाग्दो कुरा, परमेश्वरले "सबै होइन" (१ कोरिन्थी १२:३० – सबैले विभिन्न भाषा बोल्दैनन्) भन्नुहुँदा क्यारिज्म्याटिक लहरले "सबै हो" भन्छ, र परमेश्वरले "सबै हो" (सबै विश्वासीहरू शरीरभित्र बप्‍तिस्मा भइसकेका छन्) भन्नुहुँदा क्यारिज्म्याटिक लहरले "सबै होइन" भन्छ।

१९) क-कसले आत्माद्वाराको बप्‍तिस्मा पाएका हुन्छन्? के तपाईंले पाउनुभयो?
 क्यारिज्म्याटिक जवाफ:

अन्य भाषाहरूमा बोल्ने "पेन्टकोस्टल" अनुभव पाइसकेका ख्रीष्टियनहरूले मात्र

 बाइबलीय जवाफ:

"सबैले" (१ कोरिन्थी १२:१३)। यस बप्‍तिस्माबिना तपाईं ख्रीष्टको मण्डलीको अङ्ग बन्न सक्नुहुन्न! उहाँको देहभित्र प्रवेश पाउनलाई यो नै एउटै मात्र बाटो हो!

२०) के पवित्र आत्माको लागि पर्खनु ("ट्यारी गर्नु") पर्छ?
क्यारिज्म्याटिक समूहहरूमा प्रायः अभ्यास गरिने ट्यारी गर्ने (tarry, पर्खने) अनुभवलाई यसरी बयान गरिएको छः

अन्य भाषा प्राप्‍त गर्नलाई "ट्यारी गर्ने" तरिका यस प्रकार हुन्छ: प्रवचन पछि प्रचारकले अन्य भाषाको अनुभव पाउन चाहनेहरूलाई अगाडि आउन र घुँडा टेक्न निमन्त्रणा दिन्छन्। त्यसपछि अनुभव-प्राप्‍त व्यक्तिहरू नयाँहरूसित प्रार्थना गर्न र मदत, सल्लाह दिन उनीहरूकहाँ जान्छन्। कतिपय नयाँहरूले थोरै बेरमै अन्य भाषामा बोल्न थाल्छन् भने अरूहरूको यात्राचाहिँ लामो र कठिन हुन सक्छ। साँझको सभा हो भने, मध्यरात पार गरिसक्दा पनि नयाँहरू प्रार्थना गरिरहेको भेटिनु असाधारण मानिँदैन यद्यपि "वेदीका सेवकहरू" भने प्राय: कमै बाँकी रहेका होलान्। अनि यदि कसैले उक्त रात सफलता हासिल नगरेको खण्डमा उसलाई प्रयास जारी राख्‍न हौसला दिइन्छ। मैले थुप्रै रात ट्यारी गरें। मैले वेदीमा घण्टौं प्रार्थना गर्नमा बिताएँ, तर मैले जति बेर प्रार्थना गरे पनि मैले सफलता प्राप्‍त गर्न सकिनँ। [Wayne A. Robinson, I Once Spoke in Tongues, pages 37-38.]

बाइबलअनुसारको "ट्यारी" गर्ने काम निकै फरक कुरो हो। यसलाई केवल दुइटा खण्डमा भेटिन्छ:

"अनि हेर, म मेरो पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु; तर माथिबाटको सामर्थ्य नपाउञ्जेल तिमीहरू यरूशलेम शहरमा पर्खिरहो" [अङ्ग्रेजीमा "ट्यारी"] (लूका २४:४९)।

"अनि तिनीहरूसँग भेला भएर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो: "यरूशलेम छोडेर नजानू, तर पिताको प्रतिज्ञालाई पर्खनू, जसको विषयमा तिमीहरूले मबाट सुनेका छौ" (प्रेरति १:४)।

"ट्यारी" भन्ने शब्दको अर्थ केवल "पर्खनु" हो। पेन्टेकोस्ट आउनु अघि चेलाहरूलाई आत्माको प्रतिज्ञाको निम्ति पर्खिरहो भन्ने आज्ञा दिइएको थियो। उहाँ पेन्टेकोस्टको दिनमा (प्रेरित २) आनुभयो र पर्खाइको अवधि पनि सक्कियो। बाइबलमा पेन्टेकोस्टपछि यता पवित्र आत्माको लागि पर्खिरहन कुनै आज्ञा दिइएको पाइँदैन।

मानौं तपाईं एअरपोर्टमा जानुभई आफ्ना आफन्त प्रियजनहरूको आगमनको प्रतिक्षामा पर्खनुभयो। केही समय तपाईं एअरपोर्टमा पर्खनुहोला, तर हवाइजहाज आइपुगिसकेपछि, तपाईंको पर्खाइको अवधि सक्किन्छ। तपाईंका प्रियजनहरू अब आइसके, र अब त तपाईंले निजहरूको उपस्थितिको आनन्द लिने समय शुरू हुन्छ। त्यसरी नै शान्तिदाता पनि आइसक्नुभयो। उहाँ आइसक्नुभएपछि पनि उहाँको निम्ति पर्खिरहनु भनेको त हास्यास्पद कुरो हुन्छ! बरु आउनुहोस्, उहाँको आशिषमय उपस्थिति र सामर्थ्यमा रमाऔं हामी (प्रेरित १:८)।

२१) पवित्र आत्मा पाउन के गर्नुपर्छ?
 क्यारिज्म्याटिक जवाफ:

पवित्र आत्मा पाउन एक व्यक्तिले ट्यारी गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ र कहिले काहीँ लामो पीडादायी अनुभव भएर जानुपर्छ, र सफल नभएको खण्डमा उसले घरीघरी प्रयास गरिनैरहनुपर्छ (बुँदा नम्बर २० मुनि उद्दरण गरिएको "ट्यारी" गर्ने तरिकालाई पढ्नुहोस्)।

 बाइबलीय जवाफ: यूहन्ना ७:३८-३९

"जसले ममाथि विश्वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्!" तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए…

प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नेहरू नै पवित्र आत्मा पाउनेहरू हुन्!

गलाती ३:२ — "तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु – तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरू (ट्यारी, प्रार्थना, कठिनाइ, प्रयास आदि) द्वारा पायौ कि विश्वासको समाचारद्वारा?" प्रत्यक्ष जवाफ यही हो, "विश्वासको समाचारद्वारा"। यो शारीरिक प्रयासको प्रतिफल होइन। यो त मुक्तिदातामा राखिएको सरल विश्वासको प्रतिफल हो।

२२) पवित्र आत्माको मुख्य सेवाकार्य र काम के हो?
"तर जब शान्तिदाता आहनुहुन्छ, जसलाई म पिताका तर्फबाट तिमीहरूकहाँ पठाउनेछु अर्थात् सत्यका आत्मा, जो पिताबाट निस्कनुहुन्छ, तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ" (यूहन्ना १५:२६)।

पवित्र आत्माको सेवाकार्य ख्रीष्टको विषयमा गवाही दिनु अथवा ख्रीष्टलाई देखाउनु हो। पवित्र आत्माले आफैंतर्फ होइन तर प्रभु येशू ख्रीष्टतर्फ ध्यानाकर्षण गर्नुहुन्छ।

Turtle


माथिको चित्रमा के देख्‍नुहुन्छ? तपाईं भन्नुहोला, "कछुवा!" तर वास्तवमा जवाफ हो, "काँड र कछुवा"। काँड आफै देखिन चाहन्न। काँडले केवल कछुवाको गवाही दिइरहेछ, कछुवालाई देखाइरहेछ। काँड एउटा गवाही हो। यसले आफूदेखि अन्यत्र ध्यानाकर्षण गर्न चाहन्छ, दर्शकलाई कछुवामा ध्यानकेन्द्रित गराउन चाहन्छ।

परमेश्वरको आत्माले ख्रीष्टको विषयमा गवाही दिनुहुन्छ। हामीले ख्रीष्टलाई, केवल ख्रीष्टलाई मात्र हेरिरहेको चाहनुहुन्छ। विश्वासीहरूको कुनै सभामा पवित्र आत्माले काम गर्नुहुँदा, ख्रीष्ट उच्च पारिनुहुन्छ र महिमित बनिनुहुन्छ। यदि ध्यानाकर्षणको केन्द्र पवित्र आत्मा हुनुहुन्छ भने त्यहाँ केही घडबडी छ। पवित्र आत्माले आफैलाई प्रस्तुत गर्ने काम गर्नुहुन्न।

"उहाँले मेरो महिमा गर्नुहुनेछ; किनभने जे मेरो छ, त्यहीबाट उहाँले प्राप्‍त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ" (यूहन्ना १६:१४)।

पवित्र आत्मा परमेश्वरको मुख्य सेवाकार्य नै पुत्रको महिमा गर्नु हो। पवित्र आत्मा मेरो जीवनमा सक्रिय हुनुहुँदा यसको प्रतिफल कस्तो हुनेछ? प्रभु येशू ख्रीष्ट मेरा निम्ति झनै बहुमूल्य बन्नुहुनेछ साथै उहाँको वचन बाइबल पनि त्यसरी नै बहुमूल्य बन्नेछ। आत्माले भरपूर व्यक्ति त्यो हो जो ख्रीष्टले भरिएको छ – उहाँमै ध्यानमग्न छ, उहाँमै आनन्दित छ, उहाँमै विश्राम लिइरहेछ, उहाँमै भरोसा गरिरहेछ। परमेश्वरको आत्माको सेवाकार्य विश्वासीलाई झन् झन् ख्रीष्टजस्तै बनाउनु हो:

"तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं" (२ कोरिन्थी ३:१८)।


No comments:

Post a Comment