Wednesday, September 13, 2017

१) के तपाईंले पवित्र आत्मा पाउनुभयो?




क्यारिज्म्याटिक व्यक्तिहरूले प्रायः यो प्रश्‍न सोध्ने गर्छन्। उनीहरूको यस प्रश्‍नको तात्पर्य वास्तवमा यो हो — "के तपाईंले आत्माको बप्‍तिस्मा पाउनुभयो, अन्य भाषा बोल्ने जस्ता क्यारिज्म्याटिक अनुभव पाउनुभयो?"

हामी त्यस आधारभूत प्रश्‍नमा नै फर्कौं, "के तपाईंले पवित्र आत्मा पाउनुभयो?" बाइबलले दिने जवाफ के हो त? १ कोरिन्थी ६:१९-२० अनुसार कोरिन्थका सबै विश्वासीहरूभित्र, अँ, शरीरअनुसार हिँड्ने विश्वासीहरू (१ कोरिन्थी ४:१-३) भित्र समेत, पवित्र आत्मा हुनुहुन्थ्यो — "के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जो तिमीहरूभित्र हुनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पायौ, र तिमीहरू आफैका होइनौ।" उनीहरूले पवित्र आत्मालाई नपाएका भए कसरी उहाँ उनीहरूभित्र हुन सक्नुहुन्थ्यो र? यो प्रस्ट छ, तिनीहरूले जुन घडी मुक्ति पाए त्यही घडी नै उनीहरूले पवित्र पाएका थिए।

यूहन्ना ७:३८-३९ महत्त्वपूर्ण छ। पवित्र आत्मा पाउने विषयमा त्यहाँ जे भनिएको छ त्यसमा राम्ररी ध्यान दिनुहोस्। विश्वास गर्नेहरू नै पाउनेहरू हुन्। यदि तपाईंले ख्रीष्टमा विश्वास गर्नुभएको छ भने तपाईंले पवित्र आत्मा पाइसक्नुभएको छ। तसर्थ, चाबी प्रश्‍न "के तपाईंले पवित्र आत्मा पाउनुभयो?" भन्ने नभएर "के तपाईंले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो?" भन्ने हो (हेर्नुहोस् यूहन्ना १:१२)।

२) पवित्र आत्मा तपाईंभित्र बास गर्नुहुन्छ भनेर तपाईं कसरी जान्नुहुन्छ?
 क्यारिज्म्याटिक जवाफ यस प्रकार छ:

"पवित्र आत्मा मभित्र बास गर्नुहुन्छ भनेर म कसरी जान्दछु?" क्यारिज्म्याटिक नवीकरण (Charismatic Renewal) को जवाफ छ — "पवित्र आत्माको बप्‍तिस्माले अर्थात् एउटा यस्तो शक्तिशाली अनुभवले जसले यसको प्रापकलाई परमेश्वर वास्तविक हुनुहुन्छ भनेर विश्वस्त तुल्याउँदछ" (रिचार्ड कबीडो, दि न्यू क्यारिज्म्याटिक्स् प्रथम संस्करण, पृष्ठ २)।

अर्को शब्दमा, "यो साँचो हुनुपर्छ किनकि मैले त्यो अनुभव गरेको छु। ममा त्यो भावना आएकै हो। यो त म आफैले अनुभव गरेको कुरा हो।"

 बाइबलीय जवाफ रोमी ८:९ मा पाइन्छ:

"तर साँच्चै परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ। तर कुनै मानिससँग ख्रीष्टका आत्मा हुनुहुन्न भने त्यो उहाँको होइन।"

यदि कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो व्यक्ति उहाँको होइन। ऊ ख्रीष्टको होइन। ऊ एक ख्रीष्टियन होइन। यदि म मुक्ति पाएको व्यक्ति हुँ भने मसँग पवित्र आत्मा हुनुहुन्छ। म यो कसरी जान्दछु? म यो जान्दछु, किनभने परमेश्वले सो भन्नुभएको छ। ख्रीष्टमा विश्वास गर्ने प्रत्येकले पवित्र आत्मा पाइसकेका हुन्छन् (यूहन्ना ७:३९)। पावल भन्छन्, "हामीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ" (२ तिमोथी १:१४) अनि यो कुरा परमेश्वरको रगतले किनिएको हरेक जनको सम्बन्धमा साँचो हुन्छ। परमेश्वरको परिभाषा (१ कोरिन्थी ६:१९, रोमी ८:९, यूहन्ना ७:३९ आदि) अनुसार ख्रीष्टियन भनेको त्यो व्यक्ति हो जसभित्र पवित्र आत्माले बास गर्नुहुन्छ अर्थात् जसले पवित्र आत्मा पाइसकेको हुन्छ। विश्वासद्वारा धर्मी ठहरिएको हुनु तर पवित्र आत्मा नपाएको हुनु असम्भव कुरा हो। पवित्र आत्माको प्राप्‍ति र उहाँको हामीभित्रको उपस्थिति कुनै आत्मगत (subjective) र शंकास्पद अनुभवमा आधारित छैन। यो त परमेश्वरको वचनको स्पष्ट अभिव्यक्तिहरूमा आधारित छ।

३) मुक्ति पाउनुहुँदा के तपाईंले पवित्र आत्मा पनि पाउनुभयो?
के तपाईंले मुक्ति पूर्ण रूपमा पाउनुभएको छ कि तपाईंले केही कुरा पाउन अझ बाँकी नै छ? परमेश्वरको वचनअनुसार हाम्रो मुक्ति एक पूर्ण मुक्ति हो। जुनबेला तपाईंले विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्नुभयो त्यसबेला तपाईंले ख्रीष्टसँगै पाइने सबै कुराहरू प्राप्‍त गरिसक्नुभयो, जस्तै —

तपाईंले पापहरूका पूर्ण क्षमा पाउनुभयो (एफेसी १:७)
तपाईं ख्रीष्टको शरीरको एउटा अङ्ग बन्नुभयो (१ कोरिन्थी १२:१३)
तपाईं परमेश्वरको परिवारको एउटा सदस्य बन्नुभयो (यूहन्ना १:१२)
तपाईंले अनन्त जीवनको वरदान पाउनुभयो (१ यूहन्ना ५:११-१२)
अनि अरू थुप्रै कुराहरू पाउनुभयो!!
[निम्न सामग्रीलाई अध्ययन गर्नुहोस्: मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराहरूका भागीदार बनेको छु -- २१५ ओटा सत्यताहरू]

हामीले पवित्र आत्मालाई मुक्ति पाएकै घडीमा पाउँछौं कि मुक्ति पाएको केही समय पछि पाउँछौं? रोमी ५:५ मा यसको जवाफ पाइन्छ — "अनि आशाले चाहिँ शर्ममा पर्न दिँदैन किनभने हामीलाई दिइनुभएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयहरूमा खन्याइएको छ।" पवित्र आत्मा हाम्रो मुक्ति प्राप्‍तिकै घडीमा दिइनुभएको थियो।

हाम्रा क्यारिज्म्याटिक मित्रहरू "फुल गस्पेल" (पूर्ण सुसमाचार) को प्रायः कुरा गर्छन्। उहाँहरूको विचारमा अरूहरूको सुसमाचार अपूर्ण छ — "केवल ख्रीष्ट र क्रूसको प्रचार पर्याप्‍त छैन। ख्रीष्टमा सरल रूपमा मुक्ति पाउनु पर्याप्‍त होइन। तपाईंहरूलाई अझ अरू कुराको आवश्यकता छ। तपाईंहरूले अन्य भाषा बोल्ने आदि जस्ता पेन्टेकोस्टको अनुभव पाउन खाँचो छ।" तर यस्तो भनाइलाई १ कोरिन्थी २:२ सित तुलना गर्नुहोस्।

जवाफमा हामी भन्छौं, उल्टो क्यारिज्म्याटिकहरूसँग नै पूर्ण मुक्ति नभएको जस्तै देखिन्छ। त्यसमा घटी छ, अभाव छ। त्यसमा केही अति महत्त्वपूर्ण कुराहरू छुटेका देखिन्छन्। तिनीहरू भन्छन्, पवित्र आत्मा नपाइकनै एक व्यक्तिले मुक्ति पाउन सक्छ। मुक्ति पाएर पनि एक व्यक्तिले केही आवश्यक दानहरू नपाएको हुन्छ, अरे।

येशू ख्रीष्टमा पाइने मुक्ति एक पूर्ण र सिद्ध मुक्ति हो। ख्रीष्टलाई ग्रहण गर्दा एउटा व्यक्तिले ख्रीष्टको साथ-साथ पाइने सबै कुराहरू प्राप्‍त गर्दछ। "उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्‍नुभएन, तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो त कसरी उहाँले उहाँको साथमा सबै कुराहरू पनि हामीलाई सित्तैमा दिनुहुनेछैन र (रोमी ८:३२)?" ख्रीष्टियन जीवन जिउने चाबी थप वरदान र आशिषहरू पाउन खोज्नु होइन। ख्रीष्टियन जीवनको चाबी त ख्रीष्टमा बढ्दै जानु र उहाँमा हामीलाई सित्तैंमा दिइएका कुराहरू पत्ता लगाउँदै जानु हो। ख्रीष्टियन जीवनको चाबी त हामी ख्रीष्टमा कति धनाढ्य छौं भनेर सिक्नु हो। आत्मिक करोडपतिहरू भएर पनि प्रायः जसो ख्रीष्टियनहरूले सो कुरा जानेका छैनन्।

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई म एउटा चुनौति दिन चाहन्छु — "म एक विश्वासीलाई आवश्यक परेको कुनचाहिँ कुरा छ होला जुन कुरा मैले येशू ख्रीष्टमा पाइसकेको छैन र पाउन बाँकी नै छ? मलाई साँच्चै कुन कुरा आवश्यक छ जुन कुरा मैले ख्रीष्टमा पाइसकेको छैन?"

४) के विश्वासीहरूले "दोस्रो आशिष" को खोजी गर्नुपर्छ?
"हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ" (एफेसी १:३)।

सबै आत्मिक आशिषहरू हाम्रा भइसकेका छन् र ती सब ख्रीष्टमा पाइन्छन्। [यीमध्ये केही आशिषहरूको झलक पाउनलाई पाठकले निम्न सामग्रीलाई अध्ययन गर्न सक्नुहुन्छ: मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराहरूका भागीदार बनेको छु -- २१५ ओटा सत्यताहरू] एउटा विश्वासीले यसरी जवाफ दिए, "हजुरचाहिँ केवल दोस्रो आशिषमा पुग्नुभयो? कठै!"

विश्वासीहरू कत्तिको आशिषवान् पारिएका छन्? ख्रीष्ट गरिब बन्नुभयो, उहाँमा हामी धनवान् बन्न सकौं भनेर (२ कोरिन्थी ८:९)। पवलले आत्मिक समस्याहरूले जेलिएका कोरिन्थीहरूलाई यसरी लेख्‍न सके,

"हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान् बनाइएका छौ यसैकारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ" (१ कोरिन्थी १:५,७)।

विश्वासीहरूलाई भनिएको छ,

"उहाँमा नै तिमीहरू पूर्ण छौ" (कलस्सी २:१०)। [पाठकले अङ्ग्रेजीमा उपलब्ध Ye are Complete in Him भन्ने अध्ययन पढ्न सक्नुहुन्छ]

यदि हामी ख्रीष्टमा पूर्ण छौं भने हामीमा दोस्रो आशिषको अभाव हुन सक्छ र? बाइबलले रोमी ८:३२ मा परमेश्वरले हामीलाई ख्रीष्टको साथमा सबै कुराहरू सित्तैंमा दिइसक्नुभयो भनेर सिकाउँछ। हाम्रो अभाव दोस्रो आशिषको अनुभवको अभाव होइन तर हामीलाई दिइसकेका परमेश्वरको अनुग्रहको धनलाई अपनाउन सक्ने विश्वासको अभाव हो। हामी आफ्ना सम्पत्तिहरूलाई व्यवहारमा आफ्नो बनाउन चुकिरहेका हुन्छौं।

५) पवित्र आत्मा पाइएको प्रमाण के हो?
आफूले पवित्र आत्मा पाउनुभएको प्रमाण तपाईं कसरी दिनुहुन्छ? हाम्रा क्यारिज्म्याटिक मित्रहरूले आफूहरूले अन्य भाषामा बोलेका ("आत्माको बप्‍तिस्मा") कुरालाई पवित्र आत्मा पाएको प्रमाणस्वरूप औंल्याउँछन्।

तर पवित्र शास्त्रले के भन्दछ?

"तर आत्माको फल हो: प्रेम, आनन्द, शान्ति, सहनशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, संयम" (गलाती ५:२२)।

यदि तपाईंले पवित्र आत्मा साँच्चै पाउनुभएको छ भने के हामीले तपाईंको जीवनमा आत्माको फल देख्‍ने अपेक्षा राख्‍न सक्दैनौं? यदि तपाईं आफूलाई स्याउको बोट भएको दाबी गर्नुहुन्छ भने, स्याउ देखाउनुहोस् न त। यदि तपाईंसँग परमेश्वरको पवित्र आत्मा हुनुभएको दाबी गर्नुहुन्छ भने आत्माको फल देखाउनुहोस् न त।

"किनकि परमेश्वरको इच्छा यही हो — तिमीहरूको पवित्रता। तिमीहरू व्यभिचारबाट अलग बस...किनकि परमेश्वरले हामीलाई अशुद्धताका निम्ति होइन, तर पवित्रताका निम्ति बोलाउनुभएको छ। यसकारण जसले यस कुरालाई तुच्छ ठान्छ, त्यसले मानिसलाई होइन, तर परेमेश्वरलाई तुच्छ ठान्छ, जसले हामीलाई आफ्ना पवित्र आत्मा पनि दिनुभएको छ" (१ थेस्सलोनिकी ४:३,७,८)।

एक व्यक्तिले पवित्र आत्मा पाएको प्रमाण उसको पवित्र जीवनले नै दिन्छ। यदि मैले पवित्र आत्मा साँच्चै पाएको छु भने के मैले पवित्र जीवन बिताउनुपर्ने होइन र? (तुलना गर्नुहोस् २ तिमोथी २:१९ — "ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्।"

"अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार, जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ" (एफेसी ४:३०)। यदि तपाईंले पवित्र आत्मालाई पाउनुभएको छ र परमेश्वरको सन्तान बन्नुभएको छ भने, आफू प्रभुको अनाज्ञाकारी बन्न पुग्दा र उहाँलाई मन नपर्ने काम गर्न पुग्दा तपाईंलाई कस्तो अनुभव हुन्छ? के तपाईंलाई अप्ठेरो महसुस हुँदैन, दोष महसुस हुँदैन, अशान्ति हुँदैन? २ पत्रुस २:७-८ मा बयान गरिएको धर्मी लूतको अवस्थासित तुलना गर्नुहोस्। विश्वासीभित्र बास गर्नुहुने पवित्र आत्माले विश्वासीलाई आफ्नो शोकित उपस्थितिको महसुस दिलाउने काम गर्नुहुन्छ। पापमय जीवन बिताउने व्यक्ति, जसले आफू पापमय जीवन बिताइरहेछु भनेर जान्दछ र त्यसरी नै जिउन रमाउँदछ र त्यहीअनुसारको पापमय जीवन बिताइरहने अभिप्राय राख्दछ, उसभित्र पवित्र आत्मा हुनुहुन्न। पापमा जिउन उसलाई कुनै अप्ठेरो नलाग्नु नै पवित्र आत्मा उसभित्र उपस्थित हुनुहुन्न भन्ने कुराको प्रमाण हो। [R.Gene Reynolds, Assurance of Salvation, page 73]

६) पवित्र आत्माको भरपूरीको प्रमाण के हो?
आफू पवित्र आत्माले भरपूर हुनुभएको कुरालाई तपाईं कसरी प्रमाणित गर्नुहुन्छ?

 क्यारिज्म्याटिक जवाफ:

"मैले अन्य भाषामा बोलेको छु। मैले यस्तो-उस्तो अनुभव गरेको छु।"

 बाइबलीय जवाफ:

गलाती ५:२२ लाई फेरि हेर्नुहोस्। आत्माको भरपूरीको प्रमाण आत्माको फलले देखाउँछ। फल छैन भने भरपूरी पनि छैन।

एफेसी ५:१८ मा हामीलाई आत्माले भरपूर हुन आज्ञा दिइएको छ। सन्दर्भलाई हेर्दा उक्त खण्डले आत्माले भरपूर भएको जीवन कस्तो हुन्छ भन्ने बताइरहेको पाइन्छ। ती पदहरूले यसरी भनिरहेका छैनन्: अनि दाखमद्यले नमात, जसमा चरित्रहीनता हुन्छ; तर आत्माले भरपूर होओ; आपसमा अनौठा उत्तेजित उच्चारणहरूद्वारा बात गर।" होइन, यस खण्डको सन्दर्भमा कतै पनि हामीलाई अन्य भाषाको वरदान नै आत्माको भरपूरीको प्रमाण हो भनी बताइएको छैन। हामीलाई बताइएको कुरा यो छ:

पद १९ – एक संगीतमय हृदय! आत्माले भरपूर विश्वासी आनन्दले भरपूर विश्वासी हो। पवित्र आत्मा निपुण वाद्य वादक हुनुहुन्छ जसद्वारा उहाँको भरोसामा जिउने विश्वासीको हृदयमा मीठो संगीतको उद्‍भव हुँदछ। हेर्नुहोस् १ थेस्सलोनिकी ५:१६।

पद २० – एक धन्यवादी हृदय! आत्माले भरपूर विश्वासी एक धन्यवादी विश्वासी हो। तपाईं धन्यवादी हुनुहुन्न भने तपाईं भरपूर हुनुहुन्न। हेर्नुहोस् १ थेस्सलोनिकी ५:१८।

पद २१ – एक अधीनमा बस्ने हृदय! अधीनता भेट्टाउन हामी कता हेरौं? दैनिक जीवनका सम्बन्धहरूमा — पति/पत्‍नी, बाबुआमा/छोराछोरी, मालिक/मजदूर इत्यादी। हेर्नुहोस् एफेसी ५:२२-६:९। अधीनमा बस्ने, आत्माले भरपूर विश्वासीलाई भेट्टाउन हामी कता हेरौं? मण्डली सभाको दिनमा होइन जब सबै नै आ-आफ्ना सर्वोत्तम बोलि-व्यवहारलाई पहिरेका हुन्छन्। घरमा क्यारिज्म्याटिक स्तुति-प्रशंसा गरिरहँदा होइन जब सबै नै आत्मिक उत्तेजनामा भएझैं देखिन्छन्। हेर्नुपर्ने सबभन्दा राम्रो ठाउँ हो विश्वासी जन जिउने उसको दिनचर्याकै बीचमा। मालिकको "मुड" खराब हुँदा ख्रीष्टियन मजदूरको प्रतिक्रिया कस्तो हुँदछ? दिनभरको कठिनाइपूर्ण कामले थकित भई घर आइपुगेका पतिले आफ्ना पत्‍नी र छोराछोरीसित व्यवहार गर्दा के उनलाई हामी परमेश्वरको पवित्र आत्माको नियन्त्रणमा हिँडिरहेको देख्‍न पाउँछौं? साँचो कसी त्यो हो।

 मण्डली इतिहासबाटको तर्क:

बिगतका विश्वासी भक्तजनहरूलाई विचार गर्नुहोस् जसले निसन्देह: पवित्र आत्माको सामर्थ्य र भरपूरीको अनुभव गरे, तरैपनि उनीहरूले कहिल्यै अन्य भाषाहरूमा बोलेनन्: जोन क्रिसोस्टोम, जोन हस्, मार्टिन लुथर, जोन क्याल्भिन, जर्ज ह्विटफिल्ड, जोन बन्यान, जोनाथन एडवर्डस, जर्ज म्यूलर, रबर्ट मुरे मक्शेन, ड्वाइट एल मूडी, हडसन टेलर, चार्ल्स ह्याडन स्पर्जन, सी एच म्याकिन्टोश आदि जस्ता कैयौं ख्रीष्टियनहरू।

No comments:

Post a Comment