Wednesday, September 13, 2017

पेन्टेकोष्टलवादका समस्या र 35 वटा सैद्धान्तिक सवालहरु

परिचय

"सबै कुरालाई जाँच, जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख।" (१ थेस्सलोनिकी ५:२१)

प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्तिले सबै कुराहरूको जाँच गर्नुपर्दछ। उसले आधुनिक क्यारिज्म्याटिक अभियान (Modern Charismatic Movement) को पनि जाँच गर्नुपर्दछ। हाम्रो एक मात्र अचूक र निर्णायक मापदण्ड परमेश्वरको वचन हो। परमेश्वरको त्रुटिरहित वचनको तराजुमा जोख्दा क्यारिज्म्याटिक अभियानको वास्तविक तौल पत्ता लाग्छ। हाम्रो जाँच गर्ने विधि शिक्षाको आधारमा हुनेछ। यहाँ ३५ ओटा शिक्षागत प्रसङ्गहरूमा चर्चा गरिनेछ। हाम्रो चाबी प्रश्‍न यो हुनेछ, "पवित्र शास्त्रले के भन्दछ?" (रोमी ४:३)। क्यारिज्म्याटिक अभियानको शिक्षा परमेश्वरको वचनभन्दा भिन्न छ कि छैन भनेर थाह पाउन तुलनात्मक अध्ययन गरिनेछ। कुनै पनि शिक्षा परमेश्वरको वचनसित मेल खाँदैन भने अथवा त्यसले परमेश्वरको स्पष्ट शिक्षालाई खण्डन गर्दछ भने त्यस शिक्षालाई गलत र झूटा भनेर नामाकरण गरिनुपर्दछ।

हाम्रा निष्कर्षहरू वस्तुगत सत्यता (objective truth) मा आधारित हुनुपर्दछ अर्थात् परमेश्वरको वचनका स्पष्ट तथ्यहरूमा। हाम्रा निष्कर्षहरू आत्मगत भावनाहरू (subjective feelings) मा आधारित हुनेछैनन् र हुनुहुँदैन पनि – "मलाई एउटा यस्तो अनुभव भयो त्यसैले यो साँचो हुनुपर्दछ" भन्ने तर्क आत्मगत हो, वस्तुगत होइन। "अन्य भाषाहरूको दान वर्तमान समयमा पनि दिइँदछ किनकि मैले अन्य भाषामा बोलेको छु", "अन्य भाषामा बोल्नु ठीक रहेछ किनभने मैले चिन्ने फलानोले समेत अन्य भाषामा बोल्नुहुन्छ" — यी आत्मगत तर्कहरू हुन्। "आज पनि प्रेरितहरूको समयमा जस्तै चङ्गाइ गर्ने विशेष वरदान दिइँदो रहेछ किनकि मेरा एक घनिष्ट मित्रले एउटा त्यस्तो व्यक्तिद्वारा चङ्गाइ पाए", आदि आत्मगत तर्क हुन्। यस अध्ययनमा हाम्रा निष्कर्षहरू आत्मगत अनुभवहरूमा आधारित नभई परमेश्वरको वस्तुगत सत्यतामा आधारित हुनेछन् — "म यो जान्दछु किनकि परमेश्वरले सो भन्नुभएको छ। मेरा व्यक्तिगत अनुभवहरू जस्तासुकै होऊन्, म सब कुरालाई परमेश्वरको वचनले जाँच गर्नेछु। अनि यदि मेरो अनुभव वा मेरा भावनाहरूलाई परमेश्वरको वचनले खण्डन गर्दछ भने म आफ्ना लगायत अरूहरूका अनुभव वा भावनाहरूसित नभएर परमेश्वरको वचनसितै सहमत हुनेछु।"

हामी मार्टिन लुथरको निम्न भनाइसित पूरै सहमत छौं —



"भावनाहरू आउँछन्, भावनाहरू जान्छन्, अनि भावनाहरू भ्रमात्मक हुन्छन्। मेरो अधिकार पत्र परमेश्वरको वचन हो, अन्य कुनै कुरा विश्वास गरिन लायक छैन। कुनै न्यानो अनुभूतिको अभावमा मेरो हृदय दोषी भावनाले कायल होला अरे तरैपनि त्यहाँ एकजना हुनुहुन्छ जो मेरो हृदयभन्दा महान् हुनुहुन्छ जसको वचन भङ्ग हुन सक्दैन। प्राण र शरीर अलग नहोउञ्जेल म परमेश्वरकै अपरिवर्तनीय वचनमाथि भरोसा राख्‍नेछु। किनभने ती टलेर गए तापनि उहाँको वचन सदासर्वदा खडा रहनेछ।"

यसका सकारात्मक पक्षहरू
निष्पक्षतामा हामीले आधुनिक क्यारिज्म्याटिक अभियानका कतिपय सकारात्मक पक्षहरूलाई स्वीकार्नुपर्छ। यद्यपि हाम्रो अध्ययनमा यस अभियानका थुप्रै गलत शिक्षाहरूलाई प्रस्टै देखाउन चाहन्छौं तरैपनि हामी यसका सकारात्मक पक्षहरूप्रति अन्धा बन्न चाहन्नौं। यद्यपि समग्रमा हामी क्यारिज्म्याटिक अभियानलाई स्वीकार गर्दैनौं र क्यारिज्म्याटिक व्यक्तिहरूसँग उनीहरूको गलत शिक्षा र अनुभव-केन्द्रित सिद्धान्तमा लाग्न सक्दैनौं, तरैपनि हामी उनीहरूबाट सिक्न सक्छौं र कतिपय प्रशंसनीय कुराहरूलाई स्वीकार गर्न सक्छौं।

उनीहरूमध्ये कतिजनासँग परमेश्वरका कुराहरूका निम्ति एक प्रकारको उत्साह भएको पाइन्छ। उनीहरू खुल्लमखुल्ला वा व्यक्तिगतरूपमा प्रभुको प्रशंसा गर्न प्रायः धक मान्दैनन्। उनीहरू ख्रीष्टियन या अख्रीष्टियनहरूको बीचमा प्रभुको बारेमा बोल्न लाज मान्दैनन्।

आत्मिक कुराहरूको विषयमा उनीहरू प्रायः उत्तेजित हुन्छन्। आफूले जे पाएका छन् ती विषयमा अरूलाई बताउन उनीहरू प्रायः उत्साहित हुन्छन् — "मित्र, मैले जे पाएको छु सो कुरा तपाईंले पनि पाउनुभएको म चाहन्छु।"

उनीहरूसित एक प्रकारको आत्मिक गतिशीलता छ जुनचाहिँ, खेदको कुरा, कतिपय बाइबल विश्वासीहरूमा घटी भएको पाइन्छ। उनीहरू फुर्तिला, उत्साहित, उत्तेजित, भावुक र स्पन्दनशील हुन्छन्। उनीहरूमा प्रायः प्रभुको सेवा गर्नलाई जोश हुन्छ यद्यपि त्यो जोश ज्ञान अनुसार नभएको पाइन्छ। के बाइबलीय विश्वासीहरू परमेश्वरका कुराहरूका निम्ति उत्तेजित र उत्साहित हुनुपर्ने होइन र? प्रायःजसो हामी शुरूमा यस्तै थियौं जब हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तदाता भनी चिन्यौं, तर समय बित्दै जाँदा जोश घट्दै जाने हाम्रो एउटा स्वभाव छ। हाम्रो पहिलो प्रेम छोड्न सजिलो छ। ज्ञानमा बढ्दै जाने क्रममा ख्रीष्टको निम्ति हाम्रो जोश नहराउन अनि उहाँलाई चिनाउनलाई उत्साह नहराउन हामी सतर्क होऔं।

प्रायश: क्यारिज्म्याटिक व्यक्तिहरूले एक किसिमको आनन्द र उमङ्ग प्रदर्शन गर्दछन्। उनीहरू आफ्ना क्रियाकलापहरू रमाहटका साथ गरिरहेका देखिन्छन्। उनीहरूको धर्म एउटा मरेको रीति नभई त्यो उनीहरूका लागि अति व्यक्तिगत र वास्तविक भएको देखिन्छ। उनीहरू जे गर्छन् ती उनीहरूका लागि अर्थपूर्ण भएका हुनाले र उनीहरू तिनमा आनन्दित भएका हुनाले गर्ने गर्छन्।

उनीहरूमध्ये कतिपयले एक अर्काका निम्ति एक प्रकारको न्यानोपना र वास्ता देखाउँछन्। उनीहरू मिलनसार र फरासिलो हुन्छन् अनि साधारणतया: अरूसित प्रभुको विषयमा र उहाँले उनीहरूका निम्ति के गरिदिनुभयो भन्ने बारेमा बताउन डराउँदैनन्।

उनीहरूका निम्ति बाइबल र प्रार्थना महत्त्वपूर्ण हुन्छन्। उनीहरू आफ्ना स-साना प्रार्थना झुण्डहरूमा र बाइबल अध्ययन समयहरूमा सँगै भेला हुन रूचाउँछन्। सङ्गती, प्रार्थना, स्तुति-प्रशंसा र भजनहरूमा सहभागी हुन मन पराउँछन्। मूल समस्या यही हो कि उनीहरूले बाइबलको अर्थ लगाउने काममा आफ्नो आत्मगत र व्यक्तिगत अनुभवलाई नै आधार बनाउने गर्दछन्। तर पवित्र शास्त्र प्रतिको उनीहरूको अभिरूचि र मुक्तिदातासँग व्यक्तिगत र वास्तविक सम्बन्ध राख्‍न चाहने उनीहरूको इच्छाको भने हामी तारिफ गर्छौं।

हामीले क्यारिज्म्याटिक व्यक्तिहरूबाट सिक्न सक्छौं। यस अभियानलाई परमेश्वरको वचनले जाँच्ने क्रममा यस अभियानमा भएका तारिफ गर्न लायक र उदाहरणीय कुराहरूलाई स्वीकार्नुपर्छ। यस अभियानका सकारात्मक पक्षहरूबाट हामीले सिक्न सक्छौं। शिक्षागत पक्षमा सठीक हुन परमेश्वरले हामीलाई मदत गर्नुभएको होस्। तर शिक्षागत पक्षमा ठीक (orthodox) भएर पनि शिक्षालाई जीवनमा रूपान्तर गराउने मुक्तिदातासँगको वास्तविक र सठीक सम्बन्धमा कमी (dead orthodoxy) भने नहोस्। हामी आफूमा जीवनरहित शिक्षा भएको चाहँदैनौं साथै शिक्षारहित जीवन भएको पनि चाहन्नौं। साँचो शिक्षा सधैं "भक्तिअनुसारको" हुन्छ, अर्थात् त्यसमा परमेश्वरको भय अनुरूपको चालचलन हुँदछ (१ तिमोथी ६:३)।

No comments:

Post a Comment