Wednesday, September 13, 2017

बाइबलमा उल्लेखित मद्य के हो? गलतधारणा # २





गलतधारणा # २-- बाइबलमा प्रयोग भएको "मद्य" (wine) शब्दले जहिले पनि किण्वीकरण गरिएको नशालु पेयपदार्थलाई जनाउँदछ ।
बाइबलमा पढ्ने गरिएको “मद्य” (wine) शब्दको अर्थ “किण्वीकरण गरिएको मद्य नै हुनुपर्छ भन्ने छैन” भनी हामीले बुझ्नु आवश्यक छ। यो सोही अर्थमा पनि हुन सक्छ वा नहुन पनि सक्छ। अङ्ग्रेजी बोलिने हाम्रो वर्तमान संसारमा “मद्य” (wine) भनेको जहिले पनि किण्वीकरण गरिएको, नशालु मद्य नै हुन्छ, तर किङ्ग जेम्स बाइबल (King James Bible, 1611) को समयमा यसको अर्थ त्यही थिएन र बाइबलमा प्रयोग गरिएका हिब्रू र ग्रीक शब्दहरूको सम्बन्धमा पनि त्यही अर्थ थिएन।

“मद्य” (wine) को लागि बढी प्रयोग भएको हिब्रू शब्द यायीन (yayin)
यो हिब्रू शब्द पुरानो नियममा लगभग १४० पटक प्रयोग भएको छ। यो एक क्रियापदबाट आएको शब्द हो जसको अर्थ “अङ्गुर कुल्चिनु” भन्ने हुन्छ। यो थाह भएकै कुरा हो, अङ्गुरको जुस निचोरेर निकाल्न मानिसहरू त्यसमाथि उभिन्थे र त्यसलाई कुल्चिमिल्ची पार्दथे। यस क्रियापदबाट आएको संज्ञाको अर्थ “कुल्चिएर निकालिएको कुरा / कुल्चिमिल्ची पारिएको कुरा” भन्ने हुन्छ। त्यसैले यसको अर्थ “अङ्गुर निचोरिएर निकालिएको रस” भन्ने हुन्छ। यसलाई “अङ्गुरको रगत” पनि भनिएको छ। कसैलाई घाउचोट लाग्दा गाढा रातो रगत निस्केजस्तै अङ्गुरलाई कुल्चिइँदा पनि त्यस्तै रस निस्कँदछ। यो याद राख्नुहोस्, कि अङ्गुरबाट निथोरिएको जुस किण्वीकरण भएको अवस्थामा हुँदैन। यो अङ्गुरको ताजा जुस हो जुन सामान्यतया: धेरै गुलियो स्वादमा हुन्छ। यो पनि बुझौं कि उक्त रस किण्वीकरण गरिएको वा नगरिएको जुनसुकै अवस्थामा भए तापनि अङ्ग्रेजी बाइबलमा यो शब्दलाई प्राय: “मद्य” (wine) भनी अनुवाद गरिएको छ किनकि अङ्गुरहरूबाट निकालिएको रसलाई जनाउन प्रयोग गरिने “मद्य” (wine) एक प्रजातीय शब्द (generic term) थियो। कुनै पनि अङ्गुरबाट निकालिएको जुस जुनसुकै रूपमा भए तापनि सामान्यतया यही शब्द प्रयोगमा आउँथ्यो। यो कस्तो किसिमको “मद्य” (wine) हो भन्ने कुरा त्यसको सन्दर्भले मात्रै निर्धारण गर्दछ।

केही खण्डहरूमा “मद्य” (wine, वाइन्) को लागि यो हिब्रू शब्दले अखमिरी दाखरसलाई जनाउँदछ भन्ने कुरा निम्न पदहरूले स्पष्ट पार्दै देखाउँदछ:

१. “हे सबै तिर्खाएकाहरू हो, पानीनेर आओ! अनि हे पैसा नहुनेहरूहो, आओ, किन, र खाओ, अँ, आओ, बिनापैसा, अँ, बिनादाम दाखमद्य र दूध किन!” (यशैया ५५:१)।

यहाँ हामीलाई परमेश्वरको अपार र अनुग्रहपूर्ण निमन्त्रणा दिइएको छ। परमेश्वरको महान् मुक्तिलाई मद्य र दूधसँग तुलना गरिएको छ। परमेश्वरले मद्य र दूधलाई इन्कार गरिनु पर्ने कुराको रूपमा नभएर खुशीसाथ चाह गरिनुपर्ने कुराहरूको रूपमा प्रस्तुत गर्नुभएको छ। यस पदमा मद्य र दूध सँगसँगै उल्लेख भएको छ। दूध गाईबाट ताजा अवस्थामा आउँछ; मद्य पनि अङ्गुरबाट ताजा अवस्थामै आउँछ। दुवै एकदम पौष्टिक (आनन्दप्रदायक) हुन्छन्।

२. “मचाहिँ – हेर, कल्दीहरूको सेवा गर्न म मिस्पामा बस्नेछु, जो हामीकहाँ आउनेछन्; तर तिमीहरूले चाहिँ दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेल बटुल, अनि आफ्ना भाँडाहरूमा राख, र आफूले ओगटेका शहरहरूमा बस!” (यर्मिया ४०:१०)।

“तब जहाँ-जहाँ ती यहूदीहरू धपाइएका थिए, ती सबै ठाउँबाट सबै यहूदीहरू फर्के, र यहूदा देशमा, मिस्पामा गदल्याहकहाँ आए, अनि तिनीहरूले प्रशस्त गरी दाखमद्य र ग्रीष्म ऋतुका फलहरू बटुले” (यर्मिया १०:४२ र नहेम्याह १३:१५ सित पनि तुलना गर्नुहोस्)।

यहाँ मद्य बटुल्नलाई आज्ञा दिइएको छ। तपाईं कसरी मद्य बटुल्नुहुन्छ? अङ्गुरहरू बटुलेर मद्य बटुलिन्छ। यो पदले फसलको बारेमा कुरा गरिरहेको छ र ग्रीष्म ऋतुका फलहरूको उल्लेख गरिएको छ। “मद्य” (wine) शब्द प्रजातीय शब्द (generic term) को अर्थमा अङ्गुरहरू हुन सक्छ। मानिसहरूले अङ्गुरहरू जम्मा गर्दा, ती अङ्गुरभित्र भएको रस किण्वीकरण भएको अवस्थामा हुँदैन भन्ने त स्पष्ट नै हुन्छ। मद्य जम्मा गर्नु भनेको अङ्गुरहरू जम्मा गर्नु भन्ने अर्थ हुन आउँछ र अङ्गुरहरूभित्र किण्वीकरण नभएको रस हुन्छ।

३. “अनि फलवान् खेतबारीबाट र मोआबको देशबाट आनन्द र हर्ष उठाएर लगिएको छ; अनि मैले दाखका कोलहरूबाट दाखमद्य बन्द गरिदिएको छ; आनन्दको चित्कारसहित कसैले दाख कुल्चनेछैन; तिनीहरूको चीत्कार चीत्कार हुनेछैन।” (यर्मिया ४८:३३)

दाखको कोलबाट निस्कने मद्य (wine), भर्खरै निचोरिएको अथवा कुल्चिमिल्ची पारिएर निकालिएको ताजा जुस वा ताजा अङ्गुरको रस हुन्छ र यो किण्वीकरण नभएको अवस्थामा हुन्छ। यो मद्य अङ्गुरको ताजा, मीठो रस हो जुन तपाईंले अङ्गुरलाई मुखभित्र चपाउँदा पाउनुहुन्छ। यर्मिया ४८:३३ मा परमेश्वरले उहाँको इन्साफको एक भागको रूपमा त्यो रसको बहावलाई रोकिदिनु हुनेछ भनी भन्दै हुनुहुन्थ्यो। यो खमिरे रस होइन, तर यसलाई “मद्य” (wine) भनी अनुवाद गरिएको छ।

४. “फलवान् खेतबारीबाट आनन्द र हर्ष लगियो; अनि दाखबारीहरूमा गीत गाइनेछैन, न ता आनन्दको चीत्कार नै हुनेछ; कुल्चनेहरूले आफ्ना दाखका कोलहरूमा कुनै दाखमद्य कुल्चेर निकाल्नेछैनन्; मैले तिनीहरूको दाखको फसलको चीत्कार बन्द गरिदिएको छ” (यशैया १६:१०)।

ती कुल्चनेहरूले कुल्चिएर के निकाले त? जब तिनीहरूले अङ्गुरहरू कुल्चिन्छन्, ताजा मीठो दाखरस बाहिर निस्कन्छ, तर ती किण्वीकरण भएको अवस्थामा हुँदैनन्। बाइबलले यस गुलियो, ताजा, किण्वीकरण नभएको रसलाई मद्य (wine) भन्दछ।

५. “तिम्रा सम्पत्तिले र तिम्रा सबै उब्जनीको पहिलो-फलले परमप्रभुलाई आदर गर; यसो गर्नाले तिम्रा ढुकुटीहरू भरिपूर्ण हुनेछन्, र तिम्रा कोलहरू नयाँ मद्यले भरिएर पोखिनेछन्” (हितोपदेश ३:९-१०)।

कोलहरूबाट भरिएर पोखिने यो के हो? योचाहिँ नयाँ, ताजा, मीठो किण्वीकरण नभएको दाखरस हो। कोलहरूबाट जुस (रस) बाहिर निस्कन्छन्।

६. “मेरी जातिकी छोरीको विनाशको कारणले मेरा आँखाहरू आँशुले धमिला भएका छन्, मेरो अन्तस्करण व्याकुल छ, मेरो कलेजो भूइँमा पोखिएको छ; किनभने बालबच्चाहरू र दूध चुस्ने बच्चाहरू शहरका सडकहरूमा मूर्च्छा पर्छन्। जब तिनीहरू शहरका सडकहरूमा घाइतेहरूझैं मूर्च्छा पर्दैथे, आफ्ना आमाको छातीमा आफ्नो प्राण पोख्दैथे, तब तिनीहरू आफ्ना आमाहरूलाई भन्छन्: “खोइ अन्न, खोइ दाखमद्य?’” (विलाप २:११-१२)।

एउटा दुई/तीन वर्षको बच्चाले, “आमा, त्यो बोतल कहाँ छ? मलाई दूधमात्रै होइन, रक्सी पनि चाहिन्छ” भनेको के तपाईं कल्पना पनि गर्न सक्नुहुन्छ? भर्खरै हिँड्न सुरु गरेको बालकले के यसो भन्ला, “मम्मी, मलाई त्यो फ्रीजमा भएको बियर दिनुहोस् न!” यो वाहियात हो। यो पदले किण्वीकरण भएको मद्यको कुरा गरिरहेको छैन कारण सानो उमेरका बालकको लागि यस्तो किसिमको (अप्राकृतिक) पेयपदार्थ ठीक होइन। तर साना उमेरका बालकहरू किण्वीकरण नभएको जुसको मीठासपनामा खुशी हुन्छन्।

७. “उसले गाँडूलाई दाखको बोटमा, र आफ्नो गधैनीको बच्चालाई उत्तम जातको दाखको बोटमा बाँध्नेछ; उसले आफ्ना कपडाहरू दाखमद्यमा र आफ्ना लुगाहरू अङ्गुरहरूको रगतमा धुनेछ।” (उत्पत्ति ४९:११)।

यहूदी साहित्य अनुसार, “मद्य” (wine) शब्द “अङ्गुरको रगत” सँग समानान्तर छ। अङ्गुरको रगत, ताजा दाखरसको सङ्केत हो। अङ्गुरहरूलाई पेलिँदा वा “चोट लगाइँदा” रगत निस्कन्छ। जुन गुलियो, रगतजस्तै रङ्ग भएको अङ्गुरको रस हो। त्यसैले यस खण्डमा “मद्य” (wine) अङ्गुरको रगत भनेको अङ्गुरको रस हो।

“नयाँ-मद्य” ACIYC (असिस)

यो नामशब्द एक क्रियापदबाट आएको हो जसको अर्थ थिच्नु, कुल्चनु हुन्छ (जस्तै, मलाकी ४:३)। यस नामशब्दले MUST (ताजा रस) लाई अङ्गुर वा अरू फलहरूको जुसलाई, ताजा मद्य अथवा अङ्गुरको रसलाई पनि सङ्केत गर्दछ जुन भर्खरै निथोरिएर निकालिएको हुन्छ। यो असाधारण मीठासपना र नशालु पदार्थरहित कुराको लागि परिचित छ। यो आफ्नो प्रजाको परमेश्वरद्वारा प्रतिज्ञा गरिएको एउटा आशिषको कुरा हो।

योएल १:५ मा यो संज्ञा प्रयोग गरिएको छ- “हे मतवालाहरू हो, बिउँझ, र रोओ! हे सबै दाखमद्य पिउनेहरू हो, नयाँ-दाखमद्यका निम्ति रोइकराइ गर! किनकि अब यो तिमीहरूको मुखबाट काटियो!” यहाँ, हामी बुझ्दछौं कि ती मतवालाहरूको ‘रक्सीयुक्त मद्य’ को स्रोत ‘नयाँ-मद्य’ हो। याद गर्नुहोस्, पहिला किण्वीकरण नभएको मद्य नभइकन किण्वीकरण भएको मद्य हुन सक्दैन। किण्वीकरण भएको मद्यको लागि तपाईंलाई अङ्गुरको रसको आवश्यकता पर्दछ। यदि परमेश्वरले दाखरसको आपूर्ति बन्द गरिदिनुहुन्छ भने, यसले किण्वीकरण भएको रक्सीयुक्त मद्यको आपूर्ति पनि रोकिदिन्छ।

"अनि त्यस दिनमा यस्तो हुनेछ - पहाडहरूले नयाँ दाखमद्य चुहाउनेछन्, अनि डाँडाहरूमा दूध बहनेछ, र यहूदाका सबै नदीनालाहरूमा पानी बहनेछ, अनि परमप्रभुको भवनबाट एउटा धारा निस्कनेछ, जसले शित्तीमको बेँसी सिँच्नेछ" (योएल ३:१८) । नयाँ-मद्य (अङ्गुरबाट निकालिएको नयाँ रस) परमेश्वरबाटको एउटा ठूलो आशिष थियो । "फलवान् खेतबारीबाट आनन्द र हर्ष लगियो; अनि दाखबारीहरूमा गीत गाइनेछैन, न ता आनन्दको चीत्कार नै हुनेछ; कुल्चनेहरूले आफ्ना दाखका कोलहरूमा कुनै दाखमद्य कुल्चेर निकाल्नेछैनन्; मैले तिनीहरूको दाखको फसलको चीत्कार बन्द गरिदिएको छु" (यशैया १६:१०) । यहाँ “मद्य” (wine) लाई त्यो रस (जुस) को परिभाषा दिइएको छ जुन पेलिएर निकालिएको हुन्छ, अर्थात्, किण्वीकरण नभएको ताजा दाखरस ।

“मद्य” "wine" को लागि धेरै प्रयोग भएको ग्रीक शब्द ओइनोस(Oinos)
यो शब्दको अर्थ, अङ्गुरबाट कुल्चिएर निकालिएको, अङ्गुरको रगत, अङ्गुरको रस अथवा अङ्गुरको ताजा रस भन्ने हुन्छ । कुनैपनि अवस्थामा भएको अङगुरको रसलाई बुझाउन प्रयोग भएको यो एक प्रजातीय शब्द (generic term) थियो। यो शब्दले मीठो किण्वीकरण नभएको दाखरसलाई जनाउन सक्दछ । एफिसी ५:१८ मा यसले स्पष्ट रूपमा किण्वीकरण भएको दाखरसलाई जनाएको छ जसले एक व्यक्तिलाई नशा लगाउन सक्दछ ।

बाइबलमा दुई प्रकारका "मद्य" (wine)
आज जुन अर्थमा “मद्य” (wine) शब्दलाई प्रयोग गरिन्छ, ठीक त्यही अर्थमा बाइबलमा उल्लेखित हरेक “मद्य” (wine) शब्दले किण्वीकरण गरिएको रक्सीयुक्त पेयपदार्थलाई जनाउँदछ भन्ने धेरैको गलत सोचाइ रहेको छ। बाइबलमा दुई प्रकारका मद्यहरूको उल्लेख भएको छ भनि बुझ्नु महत्वपूर्ण छ । दुबै प्रकारका मद्यलाई “मद्य” (wine) शब्दले समेटेको छ ।

१. त्यहाँ एक प्रकारको “मद्य” (wine) छ जुन परमेश्वरबाट स्वीकृत भएको छ र मानिसलाई आनन्द मनाउन दिइएको यो एक आशिष पनि हो ।

“मद्य” (wine) मानिसहरूले आनन्द मनाउन् भनी परमेश्वरबाटको एक आशिष थियो भनी निम्न खण्डहरूले देखाउँछः उत्पत्ति २७:२८; व्यवस्था ११:१३-१४ (७:९-१३ सँग तुलना गर्नुस्); ३३:२८; भजनसंग्रह ४:७; श्रेष्ठगीत ५:१; यशैया ५५:१; ६५:८ ("यसमा आशिष छ"); यर्मिया ३१:१०-१२; होशे २:९-१० (परमेश्वरले आफ्नो 'मद्यको आशिष' हटाउनु हुनेछ); योएल १:१० (परमेश्वरको श्रापमा मद्य हटाउने कुरा पर्दछ); योएल २:१८-१९; आमोस ९:१३-१४ (मसीहको युगका आशिषहरू) । एउटा खण्ड जसले “मद्य” (wine) लाई स्पष्ट रुपमा परमेश्वरबाटको आशिषको रूपमा सकारात्मक प्रकाश दिएको छ त्यो हो भजनसंग्रह १०४:१४-१५, "उहाँले गाईवस्तुका लागि घाँस उमार्नुहुन्छ, र मानिसको कामका लागि सागपात उमार्नुहुन्छ; फलस्वरुप मानिसले पृथ्वीबाट खानेकुरा उब्जाओस्; अनि दाखमद्य, जसले मानिसको हृदय आनन्दित पार्छ; तेल, जसले चेहरा चम्काइदिन्छ; अनि रोटी जसले मानिसको हृदय बलियो पार्छ"। मद्य, मानिसलाई उसको हृदय आनन्दित बनाउन परमेश्वरबाट दिइएको एक पेयपदार्थ हो । बाइबलमा मद्यलाई अक्सर खुशीको प्रतिकको रूपमा प्रयोग गरिएको छ ।

२. माथिको बुँदाको ठीक विपरितः ठीक त्यही शब्द बाइबलका अरू खण्डहरूमा नकारात्मक तरीकामा प्रयोग भएको छ । त्यस्ता खण्डहरूमा "मद्य" (wine) लाई परमेश्वरद्वारा दोषी ठहराइएको छ जसले एकदम कडा रूपमा यसको प्रयोगको विरोध गर्नु भएको छ (अथवा बेमञ्जुरी जनाउनु भएको छ) ।

हितोपदेश २३:२९-३५ “मद्य” (wine) को प्रयोगलाई मनाही गर्ने एकदम स्पष्ट र कडा खण्ड हो । निम्न खण्डहरू पनि हेर्नुहोस् जसले “मद्य” (wine) र कडा पेयपदार्थको प्रयोगलाई खुला रूपमा विरोध गर्दछः हितोपदेश २०:१; ३१:४-५; २३:२०; ४:१७; हबकुक २:५; एफिसी ५:१८ आदि।

३. बाइबल आफैमा नकाटिने र नबाझिने भएकोले, बाइबलका पन्नाहरूमा दुई किसिमका “मद्य” (wine) को उल्लेख भएको छ भनी हामीले निष्कर्ष निकाल्नै पर्ने हुन्छ ।

त्यहाँ यस्तो “मद्य” (wine) छ जुन परमेश्वरबाट स्वीकृत भएको छ र जुन परमेश्वरबाट आशिषको रूपमा दिइएको छ । यो पेयपदार्थ पौष्टिक, गुलियो र ताजा गराउने हुन्छ । यो दाखको एक फल हो । यो गुलियो, किण्वीकरण नभएको, नशालु पदार्थरहित अङगुरको जुस हो । त्यहाँ अर्को पनि “मद्य” (wine) छ जुन परमेश्वरले मन पराउनु हुन्न, जुन मानिसको लागि ठूलो श्राप भएको छ । यो मद्य किण्वीकरण गरिएको, नशालु पेयपदार्थ हो, जसको नतिजा मतवालापन हुन्छ ।

No comments:

Post a Comment