Wednesday, September 13, 2017

३२) के हामीलाई थप प्रकाश (सपनाहरू, दर्शनहरू आदि) को जरुरत छ?


 क्यारिज्म्याटिक जवाफ:



"नव-पेन्टेकोस्टलहरू (Neo-Pentecostals) को मान्यतामा बाइबल (लिखित वचन) को अधिकार जहिले पनि आत्माको वर्तमान सक्रियताबाट प्रकट गरिएको परमेश्वरको जीवित, "गतिशील" वचनको अधिकारभन्दा निम्नस्थानमा हुन्छ भन्ने छ। क्यारिज्म्याटिक जागृति अन्तर्गत, माण्डलिक अभ्यासमा अगमवाणीको वरदानको आज पनि स्थान छ भन्ने मान्यतालाई पनि पवित्र शास्त्र अर्थात् लिखित वचनलाई पवित्र आत्माको अधिकारभन्दा निम्नस्थानमा राखिएको उदाहरणस्वरूप लिन सकिन्छ। नव-पेन्टकोस्टलवाद (साथै पुरानो पेन्टेकोस्टलवाद) को दृष्टिकोणमा, परमेश्वर बाइबलका लेखकहरूसित जुन प्रकारले आधिकारिक रूपमा बात गर्नुभयो ठीक त्यसरी नै आज पनि बात गर्नुहुन्छ। बाइबल लेखिने काम पूरा भए तापनि परमेश्वरबाटको प्रकाश भने अन्त भएको छैन (revelation did not cease with the closing of the canon) भन्ने हिसाबमा परमेश्वरको वचनलाई हेरिएको छ (existential understanding of the Word of God)। क्याथरिन मार्शल (Catherine Marshall) ले यसलाई अर्को शब्दमा यसरी व्यक्त गरेकी छिन्: "येशूले 'थप सत्यता' (further truth) को प्रतिज्ञा गर्नुभएकोबाट ख्रीष्टले हामीलाई दिन चाहनुभएको सबै सत्यता तथा निर्देशन पुरानो र नयाँ नियमभित्र सीमित छैन भन्ने कुरा विश्वास गर्न हामीलाई स्पष्ट आधार मिल्दछ।" त्यसैले नव-पेन्टेकोस्टलवादअनुसार आत्मिक अधिकार आखिरमा बाइबलमा निहित नभएर पवित्र आत्माको वर्तमान क्रियाकलाप र शिक्षणमा रहेको मानिन्छ… परमेश्वरले आफ्नो प्रकाशलाई केवल बाइबलमा सीमित गर्नुहुन्न (अर्थात् प्रकाश पूरा भएको छैन)। [रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ११०-११२]

उपर्युक्त भनाइअनुसार क्यारिज्म्याटिकहरू बाइबलीय प्रकाश पर्याप्‍त छैन भन्ने विश्वास राख्‍छन्; त्यसैले उनीहरूको दृष्टिकोणमा परमेश्वरको वचन नै अन्तिम अधिकार होइन। परमेश्वरले आज मण्डलीलाई अझै पनि थप प्रकाश दिने गर्नुहुन्छ जुन प्रकाश बाइबल जत्तिकै वा अझ बाइबलभन्दा पनि बढी आधिकारिक हुन्छ भनेर उनीहरू विश्वास गर्दछन्।

यसकारण परमेश्वरको वचनको पर्याप्‍तता (SUFFICIENCY of the Word of God) नै हाम्रो मुख्य मुद्दा हो भन्ने देखिन्छ। के बाइबल साँच्चै पर्याप्‍त छ त? हामीलाई जे जति आवश्यक छ के सबै बाइबलमै पाइन्छ कि हामीलाई अन्य थप कुरा पनि चाहिन्छ? मानिसलाई परमेश्वरले भन्नुभएको सम्पूर्ण कुरा केवल बाइबलमै पाइन्छ, कि हामी अन्यत्र पनि हेर्नुपर्छ? बाइबल पूर्ण छ, कि बाइबल विश्वासीहरूका निमित्त अत्यावश्यक सूचनामा घटी छ?

 बाइबलीय जवाफ:

१) सत्यको आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ भनी ख्रीष्टले आफ्ना प्रेरितहहरूलाई प्रतिज्ञा गर्नुभयो (यूहन्ना १६:१३)। आत्माले उनीहरूलाई सबै सत्यताभित्र डोर्याउनुभएकै हो, र यो सत्यताको सँगालो नयाँ नियम पवित्र शास्त्रहरूमा समाहित छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

२) परमेश्वरद्वारा निश्वासित यी लेखोटहरू शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति र धार्मिकता सम्बन्धी तालिमका निम्ति लाभदायक छ जसद्वारा एउटा परमेश्वरको जन हरेक असल कामका लागि पूर्ण रूपमा सुसज्जित होऊन् भनेर पावलले हामीलाई बताएका छन् (२ तिमोथी ३:१६-१७)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

३) एउटा प्रेरितकै प्रत्यक्ष साक्षीभन्दा पनि अझ पक्का वचन, अर्थात् आत्माद्वारा प्रेरणा गरी दिइएको अचूक परमेश्वरको वचन, हामीसँग छ भनेर पत्रुसले बताएका छन् (२ पत्रुस १:१५-२१)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

४) हामीलाई एकैचोटी सदाका निम्ति सुम्पिएको "विश्वास" (सत्यताको सँगालो) का लागि हामीले यत्‍नपूर्वक सङ्घर्ष गर्नुपर्छ भन्दै यहूदाले हामीलाई अर्ती दिएका छन् (यहूदा ३)। उक्त सत्यताको सँगालो एकैचोटी सदाका निम्ति पहिलो शताब्दीका पवित्र जनहरूलाई सुम्पिएको थियो जुनचाहिँ लिखित रूपमा आज हाम्रो बाइबलमा पाइन्छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

५) पूर्णतामा आइपुगेको परमेश्वरको प्रकाशको पुछारमा अन्तिम "पूर्णविराम चिन्ह" ठड्याउँदै यूहन्नाले यस पुस्तकमा केही नथप्न, केही नघटाउन हामीलाई चेताउनी दिएका छन् (प्रकाश २२:१८-१९)। जुन घडी यूहन्नाले प्रकाशको पुस्तकको अन्तिम वाक्यलाई लेखी भ्याए, त्यही घडी बाइबल (६६ आधिकारिक पुस्तकहरू)  पूरा भयो। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र? पवित्र शास्त्रको आधिकारिक सँगालो (canon of Scripture)  बन्द भएको छ, र जुन कुरालाई परमेश्वरले बन्द गर्नुभयो, कुनै मानिसले नखोलोस्। "बाइबल नै पर्याप्‍त छ!" भनेर परमेश्वरले भन्नुभइसकेपछि, मानिसले "हामीलाई अझ अरू चाहियो!" भनी नभनोस्।

१ यूहन्ना ४:१-३, १ तिमोथी ४:१, २ तिमोथी ३:१३, ४:२-४, मत्ती ७:१५-२४ र २४:४-५ को चेताउनीहरूलाई विचार गर्दा, प्रभुबाट दर्शनहरू र प्रकाशहरू पाएको दाबी गर्ने त्यहाँ थुप्रैजना पाइनु अचम्मको कुरा होइन। प्रभु येशू आफ्नो मण्डलीलाई लिन (१ थेस्सलोनिकी ४:१३-१८) आउनुहुनुभन्दा ठीक अगाडिका यी अन्तिम दिनहरूमा आत्मगत, अनुभव-केन्द्रित धर्म प्रणालीको बिगबिगी हुने हामी प्रतीक्षा गर्न सक्छौं: "मैले यस्तो-यस्तो अनुभव गरें त्यसैले यो कुरा साँचो हुनुपर्छ!" तर हामीलाई वस्तुगत र असन्दिग्ध सत्यतामा आधारित प्रकाशपूर्ण धर्मको खाँचो छ: "यो साँचो हुनुपर्छ किनकि परमेश्वरले आफ्नो वचनमा सो कुरा भन्नुभएको छ।"

आज हामीलाई परमेश्वरको वचन सुनेर काँप्ने नम्र व्यक्तिहरूको खाँचो छ (यशैया ६६:१-२)। आजको हाम्रो खाँचो नयाँ प्रकाशको होइन। आजको हाम्रो खाँचो त हामीसित भएकै प्रकाशको आज्ञापालन गर्नु र त्यसलाई सुहाउँदो जीवन जिउनु हो। आज हामीलाई थप प्रकाश चाहिएको छैन। हामी एक दिन ख्रीष्टको सामु उभिएर हामीसित भएकै प्रकाशप्रति कस्तो कसिमको प्रतिक्रिया देखायौं भन्ने कुराको लेखा दिनेछौं।

एक अर्थमा मण्डलीलाई आज दर्शनको अनिवार्य जरुरत छ। हामीलाई परमेश्वरको ताजा दर्शनको खाँचो छ। हामीले प्रभुलाई सर्वोपरि उचाइमा देख्‍न खाँचो छ (यशैया ६:१-९)। परमेश्वर आफ्नो पूर्णतामा को हुनुहुन्छ भन्ने कुराको अर्थात् उहाँको सर्वश्रेष्ठताको झलकको हामीलाई खाँचो छ (यशैया ४३:१०-११)। ख्रीष्टलाई उहाँको वास्तविकतामा हामीले जति देख्‍न सक्छौं त्यति नै हामी उहाँजस्तै बनिनेछौं (१ यूहन्ना ३:२)। लिखित वचनमा दर्शाइनुभएको ख्रीष्टमाथि हाम्रा आँखाहरूलाई लगाइरहने क्रममा, र येशूलाई निश्चल हेराइले नियालिरहने क्रममा (हिब्रू १२:१-२), हाम्रो जीवन उहाँको रूपमा एउटा महिमादेखि अर्को महिमामा बदली हुँदै जानेछ र यसरी हाम्रो जीवनमा हामीले प्रभुको महिमालाई प्रतिबिम्बित गर्नेछौं (२ कोरिन्थी ३:१८)।

क्यारिज्म्याटिक दर्शनका केही उदाहरण
उदाहरण #१--ओरल रबर्टस् (Oral Roberts)

एक समय ओरल रबर्टस्‌ले आफूले ९००-फुट येशूसित बातचित गरेको दाबी गरे जुन "दर्शन" को कथाले गर्दा उनका अनुयायीहरूबाट लाखौं डलरको अनुदान सङ्कलन भयो जसबाट उनले आफ्नो ६०-तले रोग-अनुसन्धान क्लिनिक र ३०-तले अस्पताल निर्माण गरे। पछि गएर रबर्ट्‌सले आफूले परमेश्वरबाट अर्को सूचना प्राप्‍त गरेको दाबी गरे। यस पटक चाहिँ मानिसहरूले ओरल रबर्ट्‌सलाई उनको ८० लाख डलर अनुदान उठाउने दौडानलाई पूरा गर्न ४५ लाख डलर "शीघ्र रकम" उपलब्ध गरियोस् भन्ने परमेश्वरले चाहनुभएको छ भन्ने कुरा आयो। यति रकम उनले नउठाएको खण्डमा परमेश्वरले उनलाई स्वर्गे घरमा झिकाउनुहुने अरे। फ्लोरिडाको घोडे-दौड रङ्घशाला (एक किसिमको जुवाको खेल) का मालिक जेरी कलिन्स्‌ले बल्लतल्ल अन्तिम १३ लाख डलर बुझाएपछि, उनको छुटकाराको दामको मूल्य पूरा भयो, र भविष्यमा यस्तै नयाँ-नयाँ आकर्षक चालबाजीहरू आविष्कार गर्नलाई ओरलको जीवनमा म्याद थपियो।

सेन्ट पिटर्सबर्ग टाइम्स् अनुसार ओरल रबर्टस्‌सित व्यक्तिगत सम्पत्ति नभएको होइन। पाम स्प्रिङ्ग्स्‌मा २८५,००० डलरको घर, बेभर्ली हिल्स्‌मा २४ लाख डलरको घर, टुल्सामा आफ्नो विशिष्ट घर, र प्राय: धनाढ्यहरूसित मात्र हुने ३५,००० डलरको "कन्ट्री क्ल्ब सदस्यता" रबर्टस्‌सित भएको कुरा उक्त पत्रिकाले बताएका छन्।

उदाहरण #२--डा. पर्सी कोलेट (Dr. Percy Collet)

डाक्टर कोलेट, एक चिकित्सक, झण्डै ५० वर्षसम्म दक्षिण अमेरिकाको आमाजोन खाडी (Amazon River Basin) का बासिन्दाहरूका बीच काम गर्नुभयो। १९८२ मा आफू साँढे पाँच दिनसम्म स्वर्गमा लगिएको भन्ने उनको दाबी छ। उनले परमेश्वर पिता, पुत्र पवित्र आत्मा, एलिया, एलिशा, अब्राहाम, मोशा, पावल र अरूसित कुराकानी गरे अरे। उनले पवित्र जनहरूका दरवारहरू र हाल निर्माणाधीन भवनहरूको अवलोकन गरे अरे। उनी शहरको जगभन्दा ७०० माइल माथि रहेको "आफ्नो" दरवारमा लगिए अरे। उनले स्वर्गको प्रत्येक तहको सफर गरे र तिनका विभिन्न विभागहरू र क्रियाकलापहरूको अवलोकन गरे अरे। येशूले उनीसित पृथ्वीमा चाँडै हुन लागेको घटनाहरूको बारेमा कुरा गर्नुभयो अरे—अर्थात् इजकिएल ३८ को युद्ध, र्याप्‍चर र हार्मागेडोन (Armageddon) को बारेमा। आफ्नो सेवारत क्षेत्रबाट विदा लिई आफूले देखेका र सुनेका कुराहरूको घोषणा गर्नू भन्ने निर्देशनसहित आफू पृथ्वीमा फिर्ता पठाइए अरे।

एक सय डलरको अनुदान दिएबापत उक्त स्वर्ग-यात्राको भिडियो प्रस्तुति प्राप्‍त गर्न सकिन्छ। यस भिडियोको विज्ञापनमा यसरी लेखिएको पाइयो, "डाक्टर कोलेट पावलजस्तै तेश्रो स्वर्गमा उठाइनुभएको थियो। फरक यतिमा छ, पावललाई आफूले देखेका र सुनेका कुराहरू बताउन अनुमति दिइएन तर त्यसको झण्डै २००० वर्ष पछाडि डाक्टर कोलेटलाई भने सो गर्न आदेश दिइयो।" यसलाई २ कोरिन्थी १२:१-१० सित तुलना गर्नुहोस्। स्वर्गको यात्रा गरेको वा स्वर्गको दर्शनहरू देखेको दाबी अरू थुप्रैले गर्दै छन्। सिओल, कोरियाका "संसारको सबभन्दा ठूलो मण्डलीका पास्टर" डाक्टर पावल योङ्गि चो (Dr. Paul Yonggi Cho) ले समेत आफू तेस्रो स्वर्गमा ३ घण्टा बिताएको दाबी गरेका छन्।

३३) "क्यारिज्म्याटिक जागृति" (Charismatic Renewal) को सिद्धान्त (philosophy) के हो?
क्यारिज्म्याटिक नवीकरणको चरित्र पूर्णतयाः सुधारवादीको हो।

शुरुको पेन्टेकोस्टल पथ (Classical Pentecostalism) ले आफू परम्परागत माण्डलिक संरचनाहरूबाट अलग्गिएर नयाँ संरचनाको निर्माण गर्ने भनेर लिएको मार्ग-दर्शनप्रति क्यारिज्म्याटिक जागृतिले न्यूनतम वा शून्य अभिरुचि राखेको पाइन्छ। बरु, आत्मामा बप्‍तिस्मा भएकाहरू कुनै मण्डली वा अन्य समूहभित्र रहिरहेर त्यसका सदस्यहरूलाई प्रभावित पारेर नै वर्तमान संरचनाहरूलाई पवित्र आत्माको क्यारिज्म्याटिक क्रियाकलापद्वारा "जागृत" गराइनुपर्छ भन्ने यसको सिद्धान्त रेहको छ (रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ९)।

आफूहरू आबद्ध रहेको मण्डलीहरूबाट क्यारिज्म्याटिकहरू छुट्टिन चाहन्नन्। बरु, उनीहरू तिनैमा रहेर आफ्नो उपस्थितिद्वारा ती मण्डलीहरूलाई जागृत गराउन चाहन्छन्। उनीहरू, विगतमा औपचारिक र मृत-अवस्थामा रहेका मण्डलीहरूमा जीवन र जोश-जाँगर ल्याउन खोज्दछन्। दुःखको कुरा, बाइबलीय अलगपनता (Biblical Separation) का सिद्धान्तहरू अनुसार सत्यत्यागीहरू (apostates) देखि अलग रहनुपर्ने कुरालाई उनीहरूले बेवास्ता गर्दछन्।

३४) विश्वासीहरूलाई कुनचाहिँ आज्ञा दिइएको छ? — सत्यत्यागी (apostate) मण्डलीहरूलाई "जागृत" गराउन कि तिनीहरूदेखि अलग रहन?
२ कोरिन्थी ६:१४-७:१ -- तिनीहरूका बीचबाट निस्केर आओ

२ तिमोथी ३:५ -- यस्ताहरूबाट पर बस

रोमी १६:१७ -- तिनीहरूबाट टाढा बस

तीतस ३:१० -- रद्द गर

२ यूहन्ना १० -- स्वागत नगर

थप अध्ययनका लागि अङ्ग्रेजीमा लिखित Biblical Doctrine of Separation मा क्लिक गर्नुहोस्।

३५) परमेश्वरका जनहरूलाई एकतामा ल्याउने कुरा के हो?
 क्यारिज्म्याटिक जवाफ: "एउटै अनुभवले"

आधुनिक क्यारिज्म्याटिक अभियानले शिक्षागत सवालहरूलाई एकातिर पन्छाएर अनुभवहरूको एउटा सँगालोको वरिपरि ऐक्यवद्ध बन्न सकेको छ। शिक्षाले विभाजन ल्याउँछ। अनुभवले ऐक्यवद्ध बनाउँछ। (Stephen Board, "Are Catholic Charismatics 'Evangelicals'?" Eternity, July 1978, page 13.)

 बाइबलीय जवाफ: "परमेश्वरका जनहरूलाई सत्यता र शिक्षाले ऐक्यवद्ध बनाउनुपर्छ"

"अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे" (प्रेरित २:४२)।

"जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौं, एउटा पूरा बढेको मानिस बन्दैनौं, ख्रीष्टको परिपूर्णतारूपी कदको नापसम्म आइपुग्दैनौं" (एफेसी ४:१३)। हाम्रो एकता परमेश्वरको पुत्रको साझा (एउटै) पहिचान र बुझाइमा आधारित हुनुपर्छ।

शिक्षाले विभाजन ल्याउँछ भन्ने कुरा साँचो हो, तर शिक्षाले ऐक्यवद्ध पनि गराउँछ। म येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्दछु र तपाईंचाहिँ विश्वास गर्नुहुन्न भने हामी विभाजित छौं। म येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्छु र तपाईं पनि विश्वास गर्नुहुन्छ भने हामीले विश्वास गरेको र बुझेको यस महान् सत्यताको आधारशिलामा हामी एकतामा खडा हुन्छौं। साँचो बाइबलीय एकता परमेश्वरको सत्यताको साझा (एउटै) बुझाइ र अभ्यासमा आधारित हुन्छ। परमेश्वरको वचनका सत्यताहरूलाई जति बढी विश्वास गर्छौं र अभ्यास गर्छौं, त्यति नै बढी हामी ऐक्यवद्ध हुन्छौं।

परमेश्वरको सत्यतालाई बलि चढाएर "प्रेम" मा जोड दिने र खाँटी शिक्षालाई बलि चढाएर "एकता" मा जोड दिने आजको व्यापक सिद्धान्तदेखि होसियार हुनुहोस्। (प्रमिस किपर्स् अभियान जस्ता थुप्रै समूहहरू र "एकता" अभियानहरू (ecumenical movements) को सिद्धान्त यही नै छ। क्याम्पस क्रूसेडको आलोचनामा लेखिएको अङ्ग्रेजी लेख यहाँ पढ्न सक्नुहुन्छ: The Importance of Doctrine and the Biblical Concept of Love -- A Campus Crusade Critique.

No comments:

Post a Comment