Wednesday, September 13, 2017

अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?

अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?



  क्यारिज्म्याटिक जवाफ:

१) "अन्य भाषाहरूको वरदान बन्द भएकै छैन। परमेश्वरले नयाँ नियमको समयमा जस्तै गरी आज पनि अन्य भाषाको वरदान दिँदैहुनुहुन्छ।"

वा,

२) "अन्य भाषाको वरदान मण्डली इतिहासको शुरूतिर अन्त भयो, सम्भवत: पहिलो शताब्दीको अन्ततिर। तरैपनि आजका आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि प्रकट भएको छ र परमेश्वरले फेरि पनि यस वरदानलाई दिँदैहुनुहुन्छ।"

 इभान्जेलिकलहरूको सम्झौतापूर्ण (compromising) जवाफहरू:

डा बिल्ली ग्राहाम, आफ्नो पुस्तक पवित्र आत्मा (The Holy Spirit, Word, १९७८) मा भन्छन्,

"अन्य भाषाको वरदान नयाँ नियमका समयहरूका लागि मात्र सीमित थियो भन्ने कुराको बाइबलीय आधार त म आफैले कतै पाउन सक्दिनँ" (पृष्ठ १७२)।

अन्य भाषाहरूको वरदानको चर्चा गरिएको उनको "चिन्हरूपी वरदानहरू" (Sign Gifts) भन्ने अध्यायमा अन्य भाषाहरू बन्द हुनेछन् भन्ने पावलको भविष्यवाणी भएको १ कोरिन्थी १३:८ को उल्लेख समेत नहुनु उल्लेखनीय मान्नुपर्छ।

आज पनि परमेश्वरबाटको अन्य भाषाको सकली वरदान छ भनी चर्चित लेखक हाल लिन्ड्जी सिकाउँछन्। शैतान जगतमा जिँउदो र सक्रिय छन् (Satan is Alive and Well On Planet Earth) नाम गरेको उनको अधिक मात्रमा बिक्री भएको पुस्तकको पृष्ठ १४७ मा उनले लेख्छन्,

"परमेश्वरले आज अन्य भाषाको सकली वरदान दिँदैहुनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु।" अन्य भाषाहरू वास्तवमै बन्द भएका थिए भन्ने उनको मान्यता रहेको छ (जसरी इतिहासमा प्रमाणित छ) तर यी आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि देखा परेको छ भनी उनी सिकाउँछन् (पृष्ठ १४०-१४१)।

"च्यापल अफ दि एअर" का चर्चित रेडियो प्रचारक जोन डी जेसले "अन्य भाषाहरूको वरदान मण्डलीलाई प्राप्‍य नभएको" भन्ने कुरालाई "अन्य भाषाहरूको वरदानलाई इन्कार गर्ने हास्यास्पद अतिवादी अडान" भनेर बताउँछन् (डिभाइड एण्ड कन्कर, पृष्ठ ४०)।

 आधारभूतवादी बाइबल विश्वासीहरू (Fundamental Bible Believers) को जवाफ:

"नयाँ नियम पवित्र शास्त्रहरू लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने क्रममा अन्य भाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्महरू गर्ने कामहरू बिस्तारै बन्द भए" (न्यू इङ्गल्याण्ड बाइबल कन्फरेन्सको विश्वासको विवरण)।

 बाइबलीय जवाफ:

"प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ" (१ कोरिन्थी १३:८)।

अन्य भाषाहरूको वरदान बन्द हुनेछन् भनी पावलले भविष्यवाणी गरे। यसको मतलव परमेश्वरले अन्य भाषाहरूको वरदान दिने कामलाई रोक्नुहुनेछ। समस्या के छ भने पावलले यस पदमा अन्य भाषाहरू कहिले बन्द हुनेछन् भनेर बताएनन्। उनले "अन्य भाषाहरू ७० एडीमा बन्द हुनेछन्" भनेनन्। उनले "अन्य भाषाहरू १००० वर्ष पछाडि बन्द हुनेछन्" भनेनन् वा उनले "अन्य भाषाहरू प्रभुको दोस्रो आगमनमा बन्द हुनेछन्" भनेनन्।

अन्य भाषाहरू वास्तवमा कहिले बन्द भए त भनी निर्धारण गर्नलाई तीनओटा आधारहरू छन्। हामी अब प्रत्येकलाई विचार गर्नेछौं।

१) इतिहासलाई हेर्दा (Historical Approach)
अन्य भाषाहरूको वरदान मण्डली इतिहासको शुरूतिरै बन्द भए भन्ने कुराको अत्यधिक ऐतिहासिक प्रमाण पाइन्छ। क्यारिज्म्याटिक अभियानकै मित्र रिचार्ड कबीडोले यस तथ्यलाई स्वीकार गरेका छन्:

दोस्रो शताब्दीको आखिरीदेखि अठाह्रौं वा उन्नाइसौं शताब्दीसम्म नै अन्य भाषाहरू देखा परेको गवाही दुर्लभ र अस्पष्ट छ … तेस्रो शताब्दीका ओरिगेन, र चौथो शताब्दीका क्रिसोस्टोम, दुवैले अन्य भाषाका उल्लेखहरूलाई तिरस्कार गरेका छन्, र त्यसको निरन्तरताको समर्थनलाई इन्कार गरेका छन्। पाँचौं शताब्दीको शुरूतिरका अगस्टिनले अन्य भाषा केवल बाइबलीय समयहरूमा प्रकट भएको युगानुकूल चिन्ह थियो भनेर ठोकुवा दिएका छन्। [Richard Quebedeax, The New Charismatics, pp. 20-21]

महान् प्रचारक क्रिसोस्टोमको टिप्पणी उल्लेखनीय छ:

"यो पूरै खण्ड ज्यादै अस्पष्ट छ [१ कोरिन्थीमा उल्लेखित अन्य भाषाहरूको पदहरूको बारेमा टिप्पणी गर्दै] तर यो अस्पष्टताको कारण हाम्रो अज्ञानता हो। उल्लेखित तथ्यहरूका बारेमा हामी अनजान भएका हुनाले र ती कुराहरू अब बन्द भइसकेका हुनाले ती कुराहरू हामीलाई अस्पष्ट लागेका हुन् किनकि ती कुराहरू उहिलेको समयमा हुने गर्थे तर ती अब बन्द भइसकेका छन्।" [Homilies, XXIX, 1.]

अर्को शब्दमा भन्नुपर्दा, चौथो शताब्दीका लेखक क्रिसोस्टोमले पावलद्वारा वर्णित अन्य भाषाहरूको वरदानचाहिँ पावलको समयमा सक्रिय रहेको तर क्रिसोस्टोमको समयमा आएर निष्क्रिय भइसकेको भनी बयान गरेका छन्। उनले उक्त वरदान "बन्द" भइसकेको भनी टिप्पणी गर्दछन्।

क्लीओन रजर्सले यसरी लेखेका छन्:

"उल्लेखनीय कुरा के छ भने अन्य भाषाहरूको वरदानलाई प्रेरित-पश्चातका अग्रजहरू (Post Apostolic Fathers) का कुनै पनि लेखमा उल्लेख गरिएको छैन, कतै त्यसको अलिकति छनक समेत पाइँदैन।" [John MacArthur, Jr., The Charismatics, p. 169.]

अन्य भाषाहरूको वरदान, पावलका अघिल्ला पत्रहरूमध्येमा गनिने १ कोरिन्थीमा मात्र उल्लेख हुनु तर पावलका पछिल्ला पत्रहरूमा त्यसको कतै उल्लेख नहुनु एउटा उल्लेखनीय कुरा हो। यसले अन्य भाषाहरूको वरदान, बाइबलका लेखोटहरू पूर्ण हुनु अगावै बन्द भइसकेको हुन सक्छ भन्ने कुराको सङ्केत दिन्छ।

२) सन्दर्भलाई हेर्दा (Contextual Approach)
अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न यस प्रमाणिकरणमा १ कोरिन्थी १३:८ ("भाषाहरू…बन्द हुनेछन्") को सन्दर्भलाई अध्ययन गरिनेछ। उक्त अध्यायको मूल सन्देशलाई सारांशमा निम्न बुँदाहरू मार्फत प्रस्तुत गर्न सकिन्छ:

टलेर जाने कुरा तीनओटा छन् (पद ८)
रहिरहने कुरा तीनओटा छन् (१३)
कहिल्यै नटल्ने कुरा एउटा छ (८); यो सदासर्वदा रहिरनेछ (पद १३)
यहाँ तीनओटा काल-खण्डहरूलाई सङ्केत गरिएको छ:

अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान सक्रिय रहने काल-खण्ड – यी दानहरू मण्डलीको प्रारम्भिक चरणमा परमेश्वरबाट दिइएका विशिष्ट प्रकाशकीय दानहरू (revelatory gifts) हुन्।
अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान अन्त भइसकेको, बन्द भइसकेको, बितेर गइसकेको (पद ८) समय, तर विश्वास, आशा र प्रेम भनिने सद्‍गुणहरू रहिरहने काल-खण्ड — यो काल-खण्ड चाहिँ वर्तमान युगको काल-खण्ड हो।
प्रेम मात्र रहिरहने तर विश्वास र आशा रहिनरहने काल-खण्ड — यो अनन्तताको अवस्थिति (eternal state) हो, जब त्यहाँ विश्वासको सट्टामा दृष्टि हुनेछ (२ कोरिन्थी ५:७; हिब्रू ११:१) र आशाको सट्टामा अनुभूति हुनेछ (रोमी ८:२४-२५)।
तसर्थ, अनन्ताको अवस्थिति शुरु हुनु अगाडि एउटा काल-खण्ड त्यहाँ हुनैपर्छ जुन बेला अन्य भाषाहरूको र अगमवाणीको दानहरू निष्क्रिय बनेका हुन्छन् तर विश्वास र आशा सक्रिय रहिरहन्छन् भन्ने कुरा १ कोरिन्थी १३ अध्यायले स्पष्टै सिकाएको छ। अन्य भाषाहरूको वरदानलाई यस वर्तमान युगभरि दिइँदै आएको छ भन्ने शिक्षालाई यसले खण्डन गर्दछ।

३) उद्देश्यलाई हेर्दा (Purposive Approach)
अन्य भाषाहरूको वरदानको उद्देश्य के थियो? अन्य भाषाहरूको उद्देश्य जान्न सकियो भने अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न सम्भव हुन्छ। यस उद्देश्यसम्बद्ध तर्कलाई यसरी व्यक्त गर्न सकिन्छ: जुन उद्देश्यका लागि भनेर यस वरदान दिइयो उक्त उद्देश्यको निम्ति यसको कुनै काम नरहेपछि अन्य भाषाहरूको वरदान बन्द हुन गयो।

नयाँ नियममा एउटै मात्र खण्ड पाइन्छ जसमा अन्य भाषाहरूको उद्देश्य बताइएको छ। त्यहाँ पावल यसरी भन्छन्:

“यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्…” (१ कोरिन्थी १४:२२)।

“निम्ति” भनेर रूपान्तर गरिएको निपात शब्द (ग्रीकमा ऐस्, εις) ले उद्देश्यलाई जनाउँदछ। यस पद (२२) मा अन्य भाषाहरूको उद्देश्य बताउँदा पावलले वास्तवमा अघिल्लो पद (२१) को कुरालाई आधार बनाएर निर्क्योल गरेको कुरा त प्रस्टै देखिन्छ। पद २१ चाहिँ निम्न महत्त्वपूर्ण शब्दहरूबाट शुरु हुन्छ,

“व्यवस्थामा लेखिएको छ…” (१ कोरिन्थी १४:२१)

यस पदमा पावलले पुरानो नियमको एउटा खण्ड, यशैया २८:११-१२ लाई उद्दरण गर्दछन्। अन्य भाषाको बाइबलीय उद्देश्य खुलाउने चाबीचाहिँ “व्यवस्थामा” अर्थात् पुरानो नियममा छ भनी पावल जान्दथे। पुरानो नियमले अन्य भाषाको बारेमा के सिकाउँदछ त? पुरानो नियमका समयमा अन्य भाषाहरूको सार्थता (significance) र उद्देश्य के थियो? जब-जब विदेशी भाषाहरू सुनिन्थे, तब-तब तिनका मतलब के हुन्थे?

विदेशी भाषाहरूको सार्थता देखाउने पुरानो नियमको खण्ड यशैया २८ मात्र होइन। यस्ता अन्य खण्डहरू पनि छन्। ती खण्डहरूले समग्रमा एउटा एकदम गम्भीर बाइबलीय सिद्धान्तलाई प्रस्तुत गरिरहेको पाइन्छ — जुन सिद्धान्त इतिहासमा पटक-पटक प्रकट भएको छ। पुरानो नियममा विदेशी भाषाहरूको उल्लेखहरूलाई विचार गर्दा, एउटा ज्यादै गम्भीर र दुःखदपूर्ण श्रृङ्खला सहजै प्रकट हुन्छ:

उत्पत्ति ११
मानिसलाई परमेश्वरको एउटा सन्देश थियो (उत्पत्ति ९:१,७)
ती मानिसहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (उत्पत्ति ११:४)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (उत्पत्ति ११:७)
ती मानिसहरू तितरबितर पारिन्छन् (उत्पत्ति ११:८)
व्यवस्था २८
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (व्यवस्था २८:१)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (व्यवस्था २८:१५)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (व्यवस्था २८:४९)
ती मानिसहरू तितरबितर पारिन्छन् (व्यवस्था २८:६४-६५)
यर्मिया ५
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यर्मिया ४:१)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यर्मिया ५:३)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यर्मिया ५:१५)
ती मानिसहरू तितरबितर पारिन्छन् (यर्मिया ५:१९)
यशैया २८
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यशैया २८:१२क)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यशैया २८:१२ख)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यशैया २८:११)
ती मानिसहरू तितरबितर पारिन्छन् (यशैया २८:१३)
तुलना गर्नुहोस् — यशैया ३३ को ठीक विपरित परिस्थिति
सन्दर्भचाहिँ हजार वर्षको राज्य (मलेनियम) को हो। इस्राएलले परमेश्वरको आशिषको अनुभूति गर्नेछ भन्ने कुराको सङ्केतस्वरूप परमेश्वरले त्यहाँ भाषाहरू सुनिन दिनुहुन्न (पद १९)। उनीहरू अबदेखि उसो कहिल्यै तितरबितर पारिनेछैनन्!

नयाँ नियममा उक्त श्रृङ्खला फेरि दोहोरिएको
मानिसहरूलाई परमेश्वरको एउटा सन्देश थियो (मत्ती ११:२८; यर्मिया ४:१ र यशैया २८:१२ सित तुलना गर्नुहोस्)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (मत्ती २३:३७)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (प्रेरित २,१०,१९ आदि)
ती मानिसहरू तितरबितर पारिन्छन् (मत्ती २३:३८; २४:२)
**************

अन्य भाषाहरूको वरदानले अविश्वासी इस्राएलको विरूद्धमा उनीहरूमाथि आउन लागेको इन्साफको चिन्हस्वरूप काम गरेको थियो। इन्साफ पूरा भइसकेपछि इन्साफको चिन्हको कुनै आवश्यकता पर्दैन। ७० ए.डी.मा जनरल तीतसको मातहतमा आएको रोमी सेनाको तरवारले मसीहलाई अस्वीकार गर्ने इस्राएल राष्ट्रको पतन गरिदियो। ७० ए.डी.देखि यता राष्ट्रको हकमा इस्राएल परमेश्वरको इन्साफमुनि परेको छ भन्ने कुराको कुनै शंका छैन। तसर्थ, चिन्हरूपी वरदानको रूपमा ७० ए.डी.देखि यता अन्य भाषाहरूको कुनै आवश्यकता रहेन भन्ने निष्कर्षमा हामी आइपुग्दछौं। इतिहासमा अन्तिम पटक अन्य भाषाहरूको वरदानको उल्लेख १ कोरिन्थीमा पाइन्छ जुनचाहिँ लगभग ५५ ए.डी. मा लेखियो। ७० ए.डी. पछि अन्य भाषाहरूको सकली वरदान फेरि प्रकट भएको ऐतिहासिक प्रमाण कतै पाइँदैन। अन्य भाषाले आफ्नो उद्देश्य पूरा गर्‍यो, र अन्य भाषा बन्द भयो, ठीक जसरी परमेश्वरले प्रेरित पावलद्वारा पूर्वउल्लेख गर्नुभएको थियो (१ कोरिन्थी १३:८)।

उपर्युक्त बुँदाहरूको अझ विस्तृत प्रस्तुतिको खोजी गर्नुहुनेहरूले जर्ज जेलरद्वारा अङ्ग्रेजिमा रचित गड्स गिफ्ट अफ टङ्गस् नामक पुस्तकलाई यस लिङ्कमार्फत प्राप्‍त गर्न सक्नुहुनेछ:

God's Gift of Tongues

१५) के मुक्ति नपाएकाहरूले अन्य भाषाहरूमा बोल्न सक्दछन्?
अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। मुक्ति नपाएको व्यक्तिसँग यस किसिमको ईश्वर-प्रदत्त क्षमता हुने कुरै भएन। आत्मिक वरदानहरू त विश्वासीहरूलाई उनीहरूले मुक्ति पाएकै घडीमा दिइन्छन्, अविश्वासीहरूलाई होइन।

उत्तेजनात्मक उच्चारणहरू बोलिने ("ग्लोसोलेलिय", glossolalia) हिजोआजको घटना भनेको एउटा बेग्लै कुरो हो। मुक्ति नपाएकाहरूले यस्ता अन्य भाषाहरूमा बोलेका असङ्ख्य उदाहरणहरू छन्। यसमध्ये केहीलाई यहाँ प्रस्तुत गरिन्छ:

१) दोस्रो शताब्दीमा मन्टानिस्टहरू (Montanists) ले अन्य भाषाहरूमा बोले। यो एउटा झूटा-शिक्षा (heretical) समूह थियो। उक्त समूह विशेष गरी पवित्र आत्मा सम्बन्धीका त्यसका झूटा शिक्षाहरूका खातिर परिचित थियो। मन्टानस (Montanus) र उनका अनुयायीहरूको निम्न बयान युसीबियसको मण्डली इतिहास (Eusebius' History of the Church) मा उल्लेख भएको छ:

मन्टानसले, आफू शिखरमा पुग्ने अनियन्त्रित महत्त्वाकाङ्क्षामा, आफैमाथि शत्रुलाई खुल्ला मौका दिए, र आत्मिक उत्तेजनाले भरिएर एक्कासी उसलाई एक किसिमको झुम्म तान्द्रा र अप्राकृतिक हर्षोन्मादले छोप्यो। उनी बर्बराए, र बित्थामा कराउन र अर्थहीन कुरा बोल्न थाले, र शुरूदेखि पुस्ता-पुस्तामा हस्तान्तरण हुँदै आएको मण्डलीको अभ्याससित बाझ्ने तरिकाले अगमवाणी गर्न थाले। उसका स्वाङपूर्ण उच्चारणहरूलाई त्यस बखत सुन्नेहरूमध्येमा कतिजना चिढिए, र तिनीहरूले उनी दुष्टात्मा लागेको, भ्रमको आत्माको पकडमा परेको, र शान्ति भङ्ग गर्ने व्यक्ति रहेछन् भनी बुझे। प्रभुले कायम गर्नुभएको स्पष्ट भिन्नतालाई र झूटा अगमवक्ताहरूको बारेमा उहाँको चेताउनीहरूलाई सम्झना गर्दै तिनीहरूले उनलाई हप्काए र उसको बकबकलाई रोक्ने प्रयास गरे…। तब उनले गोप्य तवरले साँचो विश्वासप्रति अन्धा भएकाहरूको मनहरूलाई उत्तेजित गराई तातो बनाए, र यस मार्गमा दुईजना अरूलाई खडा गराए — अर्थात् स्त्रीहरूलाई जसलाई उनले त्यस स्वाङ पार्ने आत्माले भरिदिए, र फलस्वरूप उनीहरू मन्टानस जस्तै उन्मत्त भएर बित्थामा, अनुचित र अशिष्ट प्रकारले कराए।

युसीबियसका अनुसार अन्य भाषा बोल्ने यस अभ्यास मण्डलीको अभ्यास भन्दा बिलकुलै विपरित थियो। हुन पनि हो — मन्टानस र उनका अनुयायीहरूलाई मण्डलीबाट बहिष्कृत (excommunicated) गरियो।

२) दोस्रो शताब्दीका झूटा शिक्षक मार्कसका बारेमा इरेनेअस (Irenaeus) ले यसरी टिप्पणी गरेका छन्:

मार्कसले एउटी स्त्रीलाई [भन्छन्], "मबाट र मद्वारा कारिस (Charis) को दान प्राप्‍त गर…"

स्त्री: "मैले कहिल्यै अगमवाणी कहेको छैन, न ता म अगमवाणी कहन नै जान्दछु।"

मार्कस: "आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।"

यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दुःसाहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ। [Irenaeus Against Heresies]

शुरूका मण्डलीका बाइबलीय (orthodox, शास्त्रसम्मत) अगुवाहरूले अन्य भाषामा बोलिएका यस्ता भावनामय विस्फोटहरू परमेश्वरबाटका होइनन् भनी जानेका थिए। यसलाई प्रोत्साहन दिनेहरू त झूटा शिक्षकहरू थिए।

३) फ्रान्समा सत्रौं शताब्दीका सेभेनोल पादरीहरू (Cevenol priests) ले पनि अन्य भाषाहरूमा बोल्थे। तिनीहरू झूटा शिक्षकहरू (heretics) हुन् भनी चिनिएका थिए किनभने तिनीहरूका भविष्यवाणी पूरा भएनन्। [John MacArthur Jr., The Charismatics, p. 169.]

४) "शेकरहरू" (Shakers) भनिने समूह ई सं १७४७ मा एउटा स्त्रीद्वारा शुरू भएको हो। शिक्षामा उनी गञ्जागोल थिइन्, र उनले विशेष गरी ख्रीष्टको बारेमा झूटा धारणाहरू अपनाएकी थिइन्।

"भनिन्छ, शरीरलाई वशमा ल्याउनलाई, उनले अन्य भाषाहरूमा बोल्दै गरेका पुरूष र स्त्रीहरू नाङ्गै नचाउने अभ्यासको शुरूआत गरिन्।" [Charles Smith, Tongues in Biblical Perspective, pages 17-18.]

५) मर्मन (Mormon) चर्च नामक एउटा झूटा मण्डली (cult) भित्र अन्य भाषाहरूमा बोलिएका उदाहरणहरू भेटिन्छन्:

"जोसेफ स्मिथ (Joseph Smith) देखि लिएर, अर्थात् उनीहरूको शुरूआतदेखि नै मर्मनहरूले अन्य भाषा वर्तमान समयमा पनि दिइने वरदान हो भन्ने मान्दै आएका छन्। साल्ट लेक सीटी (Salt Lake City) मा उनीहरूको भवन (टेम्पल) समर्पण गरिँदा, सयौं एल्डरहरूले अन्य भाषाहरूमा बोले।" [Charles Smith, Tongues in Biblical Perspective, page 18.]

६) उन्नाइसौं शताब्दीमा एडवर्ड इर्भिङग (Edward Irving) का अनुयायीहरूले अन्य भाषामा बोले। यिनीहरूले पवित्र शास्त्रलाई खण्डन गर्ने प्रकाशहरूलाई, विफल भएका भविष्यवाणीहरूलाई र विविध गलत शिक्षाहरूलाई अँगालेका थिए। [See John MacArthur Jr., The Charismatics, p. 170 and see also Arnold Dallimore's excellent biography, Forerunner of the Charismatic Movement--The Life of Edward Irving (Moody Press, 1983).]

७) आज, आफू ख्रीष्टियन हुँ भनी स्वीकार समेत नगर्नेहरूले अन्य भाषाहरूमा बोल्छन् भन्ने कुरा सर्वविदितै छ:

आज हैटी, ग्रीनल्याण्ड, माइक्रोनेसिया, एशिया, र उत्तर तथा दक्षिण अमेरिकाका झाँक्रीहरू अन्य भाषामा बोल्छन्। कतिपय समूहहरूले आफूहरूमा उन्मत्त अवस्था र उच्चारणहरू उत्पन्न गराउन लागू पद्धार्थको मदत लिन्छन्। भूडू अभ्यास गर्नेहरूले अन्य भाषामा बोल्छन्। बौद्धमार्गी र शिन्तो पूजाहारीहरूले अन्य भाषामा बोलेका सुनिएको छ। मुसलमानहरूले अन्य भाषामा बोलेका छन्, र एउटा प्राचीन हस्तान्तरित भनाइअनुसार महम्मद समेतले अन्य भाषामा बोले। [Charles Smith, Tongues in Biblical Perspective, pages 20-21. For further documentation of unsaved people speaking in tongues, look up the article on "glossolalia" in The Encyclopedia Britannica.]

८) खेदको कुरा, आज क्यारिज्म्याटिक लहरको लैलैमा लागेका थुप्रै व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेका छन् यद्यपि उनीहरूसित मुक्ति वा अनुग्रहको सुसमाचार वा नया जन्मको बारेमा कुनै सुस्पष्ट ज्ञान छैन। उनीहरूले कुनै एउटा अनुभव त पाए तर अनन्त जीवन भने पाएका छैनन् (१ यूहन्ना ५:११-१२)। [क्यारिज्म्याटिक अभियानमा हुनेहरूमा आफ्नो मुक्तिका लागि केवल ख्रीष्टलाई मात्र उहाँमाथि भरोसा राखेका हुनाले साँच्ची नै ख्रीष्टलाई मुक्तिदाता भनेर चिनेका व्यक्तिहरू हुन्छन् भन्ने कुरा हामी स्वीकार गर्दछौं। साँच्चै मुक्ति पाएको भएर पनि शिक्षामा अलमल हुनु सम्भव छ।]

१६) आजको अन्य भाषाको अभ्यासमा गलती के छ (एक सारांश)?
१) क्यारिज्म्याटिक समूहहरूमा अन्य भाषा भनेको सबैले चाह गर्नुपर्ने कुरा हो भन्ने मान्यता रहेको पाइन्छ, तर नयाँ नियममा भने अन्य भाषा प्रत्येक विश्वासीलाई दिइने आत्मिक वरदान थिएन (१ कोरिन्थी १२:८-११,३०)। १ कोरिन्थी १२:२८ मा वरदानहरूको सूचीको पुछारमा उल्लेख गरिएको अन्य भाषा तुलनात्मक हिसाबले कम महत्त्वको वरदान थियो, यद्यपि यसको सही प्रयोग र सही अनुवादले उन्नती गराउँथ्यो।

२) अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। आजको अन्य भाषाको कथित वरदानको अभ्यासलाई भने अनुवाद गर्न सकिन्न, त्यसमा कुनै वास्तविक भाषा-तत्त्व नै छैन, त्यो एउटा अर्थहीन बकबक बोलिने उन्मत्त, भावनात्मक अनुभव मात्र हो।

३) सम्पूर्ण बाइबलभरि हेर्दा विश्वासीलाई अन्य भाषामा बोल्न आज्ञा दिइएको कतै पाइन्न, र नयाँ नियमको २७ ओटामा २४ ओटा पुस्तकहरूमा अन्य भाषाको वरदान सम्बन्धी एउटै पनि उल्लेख छैन।

४) इतिहासका सत्य-तथ्यले अन्य भाषाको सकली वरदान मण्डली इतिहासको प्रारम्भतिर नै बन्द भएको देखाउँछ। साथै यो वरदान आखिरी दिनहरूमा फेरी प्रकट हुनेछ भन्ने सङ्केत दिने कुनै त्यस्तो पद बाइबलमा छैन।

५) अन्य भाषाको वरदान एउटा अस्थायी, चिन्हरूपी वरदान (sign gift) थियो जसले आफ्नो उद्देश्य पूरा गर्‍यो र त्यसपश्चात् त्यसको आवश्यकता नै रहेन, र त्यसैले त्यो दिइन बन्द भयो। अविश्वासी इस्राएललाई त्यो इन्साफको चिन्ह थियो, परमेश्वरले इस्राएल राष्ट्रलाई पन्छाएर उहाँको मण्डली भनिने नयाँ योजनाको शुरुआत गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत थियो त्यो। ए डी ७० पछि, अर्थात् रोमीहरूले यरूशलेमलाई ध्वस्त गरेदेखि यता, सकली अन्य भाषाको कतै उल्लेख पाइन्न, न ता बाइबलमा न ता बाह्य इतिहासको पन्नाहरूमा।

६) आज बोलिने कथित अन्य भाषा भने संसारलाई थाह भएकै विषय हो — यो एउटा यस्तो मानसिक अनुभव (psychological phenomenon) हो जसलाई शताब्दियौंदेखि झूटा-शिक्षाका समूहहरूले, मूर्तिपूजकहरूले, कल्टहरूले र अख्रीष्टियन समूहहरूले अभ्यास गर्दै आएका छन्।

७) अन्य भाषाहरू बोलिने आजको अधिकांश अभ्यास १ कोरिन्थी १४ अध्यायमा प्रतिपादित नियमहरूको विपरित भइरहेको पाइन्छ। तसर्थ आजको अन्य भाषा परमेश्वरबाटको हुन सक्दैन भन्ने यो अर्को लक्ष्यण हो। प्रेरित पावलले दिएका केही नियमहरू यस प्रकार छन्:

कुनै एउटा सभामा तीन भन्दा बढी व्यक्तिहरूले अन्य भाषाहरूमा  बोल्न नहुने (१ कोरिन्थी १४:२७)।

अन्य भाषामा बोल्नेहरूले एक्कैचोटि नभएर पालो-पालो गरी बोल्नुपर्ने (१ कोरिन्थी १४:२७)।

जब-जब अन्य भाषा बोलिन्थ्यो, तब-तब त्यसको अनुवाद पनि गरिनुपर्ने (१ कोरिन्थी १४:२८)।

स्त्रीहरूले सभामा अन्य भाषामा बोल्न नहुने (१ कोरिन्थी १४:३४-३५)।

तपाईं प्रायः जुनसुकै क्यारिज्म्याटिक सभामा जानुहोस्, त्यहाँ तपाईंले यी नियमहरूलाई उल्लङ्घन भइरहेको पाउनुहुनेछ।

« ७) अन्य भाषाहरूको वरदान के हो? वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू?

No comments:

Post a Comment