Thursday, September 14, 2017

God in Science - परमेश्वर र विज्ञान


Pradesh Shrestha
Published on 21 Aug 2017



“Parmeshwor Ra Vigyan” (“God and Science”) may be the only apologetics video available in Nepali that irrefutably challenges naturalism and Darwinian evolution and presents the Biblical answers to otherwise unanswered questions in various scientific disciplines, as physics, chemistry, biology, zoology, astronomy, modern medicine, etc.

"Parmeshwor Ra Vigyan" is a dubbed version of the “God and Science" video produced by Dr. Shem Dharampaul of Alberta, Canada, MD (University of Alberta), FRCPC (Fellow of the College of Physicians of Canada), and trained in Nuclear Medicine. He is published in the Journal of Parasitology, Journal of Rehabilitation, Clinical & Experimental Immunology, Virchow’s Archives, and the Journal of Medical Entomology.

Produced by LightCast Productions
P.O. Box 8973
NPC 649
Kathmandu, Nepal
Cell: 9851055734, 9818399206
http://www.nepalgoodnews.com
email: nepalgoodnews@yahoo.com

अरू थप जानकारीका लागि:

http://wordoftruth.com.np

Wednesday, September 13, 2017

पेन्टेकोस्टल पथको संक्षिप्‍त इतिहास


जर्ज जेलर

तीनओटा छालहरू



दोस्रो शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्म भक्तिपूर्वक जिउने शास्त्रसम्मत विश्वासीहरूले अन्यभाषाहरूमा बोलेका भनिने कुनै ऐतिहासिक प्रमाण छैन। ती शताब्दीहरूमा अन्यभाषाहरूमा बोलेका भनिने घटनाहरू त छन्, तर प्रत्येक स्थितिमा अन्यभाषाहरूमा बोल्ने व्यक्तिहरू चाहिँ झूटा-शिक्षा समूहहरूमा आबद्ध रहेको पाइन्छ। यस लेखको बुँदा #१५ मा पढ्नुहोस्। दोस्रो शताब्दीका मन्टानसदेखि लिएर उन्नाइसौं शताब्दीका एडवर्ड इर्भिङ्गसम्म मण्डलीभित्रका "अन्यभाषाहरू" का घटनाहरूलाई कहिल्यै सकली इसाईमतको अंशको रूपमा स्वीकार गरिएको पाइँदैन। साथै हामीले यो पनि ध्यानमा राख्‍नुपर्छ, यी "झूटा-शिक्षा समूह" का हरूले एक किसिमको विकृत उत्तेजनाबाट उत्प्रेरित अर्थहीन बकबक बोलिरहेका थिए, प्रेरित अध्याय २ को जस्तो वास्तविक भाषाहरूमा होइन।

छाल #१ - पुरानो पेन्टेकोस्टल पथ
१९०१ मा संयुक्त राज्य अमेरिकाको टोपीका, क्यान्जास्‌स्थित बेथेल बाइबल कलेजमा आग्नेस अजमान (Agnes Ozman) ले, उनको शब्दमा, "आत्माको बप्‍तिस्मा" पाए र "अन्य भाषाहरू" मा बोले। त्यसपश्चात् उक्त अभ्यास संयुक्त राज्य अमेरिकामा होलीनेस् अभियान (Holiness movement) को अंशको रूपमा अघि बढ्यो। १९०६ मा लस एन्जलस क्यालिफोर्नियास्थित अजुसा स्ट्रीटमा अन्य भाषाहरू बोलिए। १९०१ र १९०६ का यी दुई घटनाहरूबाट नै पेन्टेकोस्टल सम्प्रदायहरूको उदय भयो जोहरू आज संसारमै छन् (असेम्बलिज् अफ गड अर्थात् एजी चर्चहरू आदि)।

छाल #२ - नव-पेन्टेकोस्टल पथ वा क्यारिज्म्याटिक जागृति
यसलाई कहिलेकाहीँ नव-क्यारिज्म्याटिक अभियान पनि भन्ने गरिन्छ। यसले केही वरदानहरूलाई, विशेषतः अन्यभाषाहरूलाई, विशेष जोड दिएकोले यो अभियान एकातिर पुरानो क्यारिज्म्याटिक, पेन्टेकोस्टल अभियान जस्तै नै थियो भने अर्कोतिर यसले साम्प्रदायिक सीमानाहरू र बाधकहरूलाई पार गर्न सक्नु यस अभियानको नयाँ पक्ष थियो।

१९६० मा क्यालिफोर्नियास्थित भ्यान नाइज (Van Nuys) मा एउटा डेनिस् बेनेट (Dennis Bennett) रेक्टर रहेका सेन्ट मार्क्स् नामक एउटा एपिस्कोपल चर्चमा आधुनिक क्यारिज्म्याटिक अभियानको उदय भयो। उक्त मण्डलीमा अन्यभाषाहरूको बोलीको ठूलो प्रस्फुटन भएको थियो। उक्त घटना यति महत्त्वको ठानियो कि दुवै टाइम र न्यूजविक पत्रिकाले यसबारे लेखे। त्यसपछि यो अभियान एपिस्कोपल चर्च र त्यसपछि लुथरनहरू र प्रेस्बिटेरियनहरू समेतका बीच आगो झैं सल्कियो।

चाँडै नै यो अभियानले विश्वविद्यालयहरूमा प्रवेश गर्‍यो। यसको शुरुआत संयुक्त राज्य अमेरिकाकै न्यू इङ्ल्याण्डमा भयो। १९६२ सालको अक्टोबर महिनामा येल यूनिभर्सीटी (Yale University) का इभान्जेलिक इन्टरभार्सीटी क्रिश्चियन फेलोशीपका सदस्यहरूका बीचमा ग्लोसोलालिया (अन्य भाषाहरू) को प्रस्फुटन `भयो। यस नव-पेन्टेकोस्टल जागृतिमा एपिस्कोपेलियनहरू, लुथरनहरू, प्रेस्बिटेरियनहरू, मेथोडिस्टहरू र एकजना रोमन क्याथोलिक समेत थिए। पाँचजना चाहिँ फाइ-बेटा-काप्पा (Phi Beta Kappa) का सदस्यहरू थिए र कोही चाहिँ क्याम्पसमा धार्मिक अगुवा थिए (चाँडै नै उनीहरूलाई "ग्लोसो येलिज्" भनेर जनाउन थालियो)। त्यसपछि यो अभियान डार्टम्यूथ कलेज (Dartmouth College) , स्टानफोर्ड यूनिभर्सीटी (Stanford University) र प्रिन्स्टन थिओलजिकल सेमिनरी (Princeton Theological Seminary) मा फैलियो।

यीभन्दा पनि बढी महत्त्वको घटना चाहिँ १९६७ मा घट्यो। सबै मार्गहरूले रोम नै पुर्‍याउँछन् (All roads lead to Rome) भन्ने भनाइ नै छ। ईस्टर विदाको अवसरमा, १९६७ सालको बसन्त ऋतुको याममा नोट्रे डेम (Notre Dame) इलाकामा करिब ३० जना जोशिला क्याथोलिकहरूले "पवित्र आत्माको बप्‍तिस्मा" पाएका थिए। १९६८ मा १००-१५० जना व्यक्तिहरू क्याथोलिक पेन्टेकोस्टल सम्मेलनमा भेला भए। १९६९ को सम्मेलनमा २५-३० जना पूजाहारीहरू सहित लगभग ४५० जना क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७० मा देखिएको वृद्धि झनै उल्लेख्य थियो। झण्डै १,३०० जना उक्त सम्मेलनमा भेला भए जसमा क्यानडाका क्याथोलिकहरू पनि थिए। १९७३ मा नोट्रे डेममा १० ओटा देशका क्याथोलिक सहभागीहरू सहित २२,००० क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७४ मा उक्त नोट्रे डेम सम्मेलनमा ३०,००० जनाको सहभागिता रहेको थियो। अन्तमा १९७५ मा रोममा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा ५० ओटा देशका यात्रुहरू आए जहाँ पोप पावल छैठौं (Pope Paul VI) ले यस अभियानप्रति आफ्नो हार्दिक समर्थन रहेको जनाएँ। उक्त अभियान कवेल रोमन क्याथोलिक चर्चमा मात्र नभएर सबै प्रोटेस्टेन्ट सम्प्रदायहरूमा बेसरी वृद्धि भइरहेको थियो।

१९७७ को ग्रीष्म याममा क्यान्जास् सीटी क्यारिज्म्याटिक सम्मेलन सम्पन्न भएको थियो। यसमा पेन्टेकोस्टल अभियानका तीनैओटा उपशाखाहरूको उपस्थिति थियो: १) पुरानो पेन्टेकोस्टलहरू, २) प्रोटेस्टेन्ट क्यारिज्म्याटिकहरू, र ३) क्याथोलिक क्यारिज्म्याटिकहरू। आधुनिक इतिहासमा धेरैभन्दा धेरै "आत्मामा बप्‍तिस्मा" भएकाहरूको सबैभन्दा ठूलो सम्मेलन यही नै थियो। उक्त ५-दिने सम्मेलनमा झण्डै ५०,००० सहभागीहरू थिए। एक वक्ताले गर्वका साथ उक्त सम्मेलनलाई अमेरिकी इसाईमतको इतिहासको सबैभन्दा ठूलो र धेरैभन्दा धेरैलाई समेट्न सकेको सम्मेलन (most inclusive ecumenical conference) भएको भनेर घोषणा गरे। सहभागीहरूमा झण्डै आधा जति त रोमन क्याथोलिकहरू नै थिए।

१९७७ मा प्रकाशित एउटा पत्रिका (एपी) को लेखअनुसार त्यसबेला अमेरिकामा ५० लाख पुरानो पेन्टेकोस्टलहरू र ५० लाख नयाँ पेन्टेकोस्टलहरू गरेर जम्मा १ करोड क्यारिज्म्याटिकहरू थिए। तसर्थ यो नयाँ क्यारिज्म्याटिक अभियानको १७ वर्ष (१९६० देखि १९७७) भित्र नै ५० लाखको सङ्ख्यात्मक वृद्धि भयो! आज पनि यो अभियान एकदम जिउँदो र बढ्दो छ यद्यपि १९६० को दशक र १९७० को दशकको शुरुको जत्तिकै वृद्धिदर नहोला। जनवरी ७, १९८३ को क्रिश्चियानिटी टुडे अनुसार असेम्बली अफ गड (पेन्टेकोस्टल) सम्प्रदाय अमेरिकाको सबैभन्दा छिटो वृद्धि भइरहेको सम्प्रदाय हो। त्यसबेला असेम्बली अफ गडमा आबद्धहरूको सङ्ख्या १६ लाख थियो र छिटोछिटो वृद्धि हुँदै थियो।

नयाँ क्यारिज्म्याटिकहरू चरित्रमा अलगपनतावादीहरू नभएर सुधारवादीहरू हुन्। उनीहरू पुराना संरचनाहरूबाट अलग हुने इच्छा गर्दैनन्। बरु पुरानै मण्डलीहरूमा रहिरहेर आफ्नो निरन्तर उपस्थितिद्वारा ती मण्डलीहरूलाई भित्रबाट परिवर्तन गर्नका लागि उनीहरूलाई निर्देशन दिइन्छ। क्यारिज्म्याटिक जागरण (Charismatic Renewal) यसैलाई भनिन्छ।

छाल #३ चिन्ह चमत्कार अभियान
"तेस्रो छाल" (third wave) भन्ने वाक्यांशको प्रथम प्रयोग सी. पीटर वाग्नर (C. Peter Wagner) द्वारा १९८३ मा भएको हो:

ऐतिहासिक रूपमा हामी अब तेस्रो छालमा छौं भन्ने मलाई लाग्छ। पवित्र आत्माको कार्यगतिको पहिलो छाल पेन्टेकोस्टल अभियानको रूपमा यस शताब्दीको शुरुतिर प्रारम्भ भयो। दोस्रो छालचाहिँ १९५० को दशकमा ठूला सम्प्रदायहरूमा शुरु हुन गएको क्यारिज्म्याटिक अभियान थियो। १९८० को दशकमा म तेस्रो छाल देख्छु जसमा पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूले अनुभव गरेको पवित्र आत्माको अलौकिक कार्यप्रति इभान्जेलिकलहरू तथा अन्य ख्रीष्टियनहरू पनि खुल्ला हुन थाले। झण्डै यो पूरै शताब्दीभरि देखिँदै आएको कुनै एउटा कुराको नयाँ छालमा हामी छौं भन्ने मलाई लाग्छ। [Peter Wagner, "The Third Wave?" Pastoral Renewal, July-August 1983, pages 1-5.]

यस अभियानलाई चिन्ह-चमत्कार अभियान (Signs and Wonders Movement) र भिन्यार्ड अभियान (Vineyard Movement) भनिन्छ। यो द्रुतगतिले वृद्धि हुँदै गरेको अभियान हो जसले दुवै क्यारिज्म्याटिक तथा गैर‍-क्यारिज्म्याटिक मण्डलीकाहरूलाई खिँच्दै छ। यस अभियानले "शक्ति प्रचार" ("power evangelism") लाई जोड दिन्छ जसमा सुसमाचारलाई अलौकिक चिन्ह र चमत्कारद्वारा व्याख्या र प्रकट गरिन्छ।

यस अभियानका अग्रजहरू मुख्य तीनजना छन्: १) जन विम्बर (John Wimber), सम्भवत: यस अभियानका सबभन्दा केन्द्रीय व्यक्तित्व हुन्। उनी भिन्यार्ड अर्थात् दाखबारी मण्डली अभियान (Vineyard church movement) का संस्थापक हुन् र उनले सी. पिटर वाग्नरसँगै फुलर सेमिनरी (Fuller Seminary) मा अध्यापन गराए। अध्यापनको शीर्षक थियो "चिन्ह, चमत्कार र मण्डली वृद्धि"। २) सी. पिटर वाग्नर फुलर सेमिनरी स्कूल अफ वर्लड मिसन्स्‌का एक प्राध्यापक थिए जहाँ जन विम्बरसँगै उनले अध्यापन गराए। ३) पावल कयिन (Paul Cain) एक प्रभावकारी आधुनिक अगमवक्ता हुन् जो विलियम ब्रानहाम (William Branham) का चेला हुन् जसलाई कयिनले "हाम्रो युगकै सबैभन्दा ठूला चङ्गाइकर्ता" र "सारा युगहरूमा सबभन्दा ठूला अगमवक्ता" भन्ने नाम दिए। ब्रानहाम भने परमेश्वरत्व र त्रिएकता सम्बन्धी गलत दृष्टिकोण राख्‍ने एक झूटा अगमवक्ता थिए।

चिन्ह-चमत्कार अभियानभित्र अन्य भाषा बोलिएको भेटिन्छ तर अन्य भाषाकै वरदानलाई पेन्टेकोस्टल र क्यारिज्म्याटिक अभियानमा जत्तिकै जोड दिइएको पाइँदैन। चिन्ह चमत्कार अभियान (Vineyard movement) ले वर्तमान समयका अगमवक्ताहरूको महत्त्वमाथि जोड दिँदै अगमवाणीको वरदान चङ्गाइको वरदानलाई जोड दिने गर्छ।

"पवित्र हाँसो" अभियान (Holy Laughter Movement)

[टिप्पणी: निम्न खण्ड Media Spotlight, P.O. Box 290, Redmond, WA 98073 द्वारा प्रकाशित आल्बर्ट जेम्स डेगर (Albert James Dager) द्वारा लिखित "पवित्र हाँसो" बाट उद्दरण गरिएको हो।]

थुप्रै मण्डलीहरूले आ-आफ्ना सभाहरूमा कुनै गम्भीर विधि पालन गरिँने क्रममा वा पुलपिटबाट प्रचार भइरहँदा समेत स्वतःस्फूर्त र अनियन्त्रित हाँसोहरूको प्रस्फुटन हुन गइरहेको कुराको खबर पठाउँदै छन्। कतिपयले ती सभाहरूमा अनियन्त्रित रूपले रुने, हर्षोन्मादले बेहोश भई भुइँमा लड्ने, र कुकुरका भुकाइ वा सिंहका गर्जन जस्ता पशुका आवाजहरू निकाल्ने गरेको खबर पठाउँदै छन्। कोहीचाहिँ मात लागेको जँड्याहाजस्तै सीधा हिँड्नै नसक्ने पाराले यता र उता हुत्तिन्छन्। छोटकरीमा, यी सबलाई "पवित्र हाँसो" भन्न थालिएको छ, किनकि हाँसो नै यसको सर्वप्रमुख चरित्रको रूपमा देखिएको छ।

प्रभु येशू वा प्रेरितहरूमध्ये कसैले पनि कुकुरजस्तै भुक्दै वा सिंहजस्तै गर्जँदै वा जँड्याहाजस्तै हुत्तिँदै वा अनियन्त्रित रूपमा हाँस्दै गरेको अनुमान समेत गर्न सकिन्न।

"पवित्र हाँसो" को एउटा खूब चर्चित विस्फोटन १९९४ मा टोरोन्टोमा भएको थियो। "उपासकहरू हाँस्छन्, रून्छन्, आर्तनादको आवाज निकाल्छन्, काँप्छन्, भुइँमा लड्छन्, र, कतिलाई वितृष्णा उत्पन्न गराउँदै, एक प्रकारको कोलाहल मच्चाउने कार्य समेत गर्दै छन् जसको आवाजचाहिँ जङ्गलको र पशुपालन केन्द्रको आवाजको मिसावट जस्तै सुनिन्छ। [Daina Doucet, "What is God doing in Toronto?" Charisma, February, 1995, page 20]

यस "पवित्र हाँसो" अभियानका एक अग्रज हुन् रड्नी मोर्गन हावर्ड-ब्राउन (Rodney Morgan Howard-Browne) …दक्षिण अफ्रिकाका एक हट्टाकट्टा, ६ फुट अग्ला क्यारिज्म्याटिक प्रचारक। १९७९ मा, १८ वर्षको उमेरमा, अझ गहिरो आत्मिक अनुभवको खोजीमा घण्टौंसम्म प्रार्थना गर्ने क्रममा, उनले परमेश्वरलाई चुनौती दिए: "कि त तपाईं यहाँ तल ओर्लेर मलाई छुनुहोस्, नत्र म त्यहाँ माथि उक्लेर तपाईंलाई छुनेछु।" एक्कासी, उनको सम्पूर्ण शरीरै आगो बलिरहे जस्तो उनलाई अनुभूति भयो। अनियन्त्रित भई उनी हाँस्न थाले। त्यसपछि उनी रोए अनि अन्य भाषाहरूमा बोल्न थाले। "म स्वर्गकै विद्युत स्रोतमा जोडिन पुगें", उनले पछिबाट लेखे। "अनि त्यस दिन देखि अरूहरूलाई पनि त्यसैमा जोडिदिने मेलाई इच्छा लागेको छ।" [Julia Duin, "Praise the Lord and pass the New Wine," Charisma, August, 1994, p.22]

"पवित्र हाँसो" को पछाडि रहेको धारणा यो हो: मण्डलीमा बस्दा किन निराश र दुःखी हुने, किन टाउको दुखाउने? बरु अलिकति रमाइलो किन नगर्ने? मरेका, जीवनरहित, उराठ लाग्दो मण्डलीहरूप्रतिको प्रतिक्रिया हो यो अभियान। मण्डली सभाको पछाडितिर बसिरहेको एकजनाको हृदयघात हुँदाको एउटा हास्यव्यङ्ग सुन्नमा आएको छ। इमर्जेन्सी चिकित्सकहरू दृश्यमा आइपुग्दाखेरि उक्त व्यक्ति बसेका बेन्चमा सबै नै सुतिरहेको अवस्थामा भेटिएकाले चिकित्सकहरूले हृदयघात हुने र अरू निदाइरहेकाहरूको बीचमा भिन्नता नै छुट्ट्याउन सकेनन् अरे। यदि सुतिरहनुको सट्टामा हाँसिरहेका भए बरु ती चिकित्सकहरूलाई मदत मिल्थ्यो अरे।

"पवित्र हाँसो" हुने सभाको एउटा उदाहरण: शुरुमा श्रोतागणका बीचबाट यहाँ-त्यहाँ लाटोकोसेरो कराएजस्तै एकदुइटा आवाज र हाँसोहरू निस्कन्छन्, तर त्यसबेला सम्म वातावरण तुलनात्मक रूपमा शान्त नै हुन्छ। केही समयको शिक्षणपछि, हावर्ड-ब्राउन एक पास्टरलाई अगाडि बोलाउँछन् जो गत रात मात्र आफू मानसिक हस्पिटलमा भर्ना हुन तयार भएको भन्ने कुरा गरेका थिए। यस रात उनलाई पवित्र आत्माको दोब्बर डोस (मात्रा) को प्रतिज्ञा गर्दै हावर्ड-ब्राउन आफ्ना हातहरू उक्त व्यक्तिमाथि राख्छन् अनि तुरुन्तै त्यस व्यक्ति भुइँमा लड्छन्।

त्यसपछि हावर्ड-ब्राउन आफ्नो एउटा खुट्टालाई त्यस व्यक्तिको पेटमाथि राख्छन् र उनी अब सदाका लागि बदली भएर जानेछन् भनी घोषणा गर्छन्। त्यहाँ कसैले सोध्छन्, "किन तपाईंले उसमाथि आफ्नो खुट्टा राख्‍नुभएको?" "उसमाथि हात राख्‍न मलाई निउरन मन नलागेकोले।" श्रोतागणबाट हाँसोको विस्फोटन हुन्छ र यस घडीपश्चात् सब कुराले गति लिन थाल्छ। त्यस व्यक्तिमाथि निउरेर उनी भन्छन्, "अघि बढ; तिम्रो भुँडीको फोका निस्कन देऊ।" ती व्यक्ति अलिक बेसी हाँस्छन्। "अझ!" उनी झन् बेसरी हाँस्छन्। "अझ!" उनी अझ बेसरी हाँस्न प्रयास गर्छन्। "अझ!" उनी जबरदस्ती हास्न थाल्छन् जसको आवाज क्वाँक क्वाँक जस्तो हाँसो सुनिन्छ। "अझ!" ती व्यक्तिले आफ्ना खुट्टाहरूलाई झ्वाट्ट माथि लग्छन् र साइकल चलाएजस्तै चलाउँदै हाँस्छन्, "हू! हू! हु!" हावर्ड-ब्राउन बताउँछन्, "यसलाई भनिन्छ पवित्र आत्माको कसरत।"

यस्तै खाले कुरा अरू व्यक्तिहरूलाई पनि त्यहाँ भइरहेको हुन्छ। उदाहरणका लागि, हावर्ड-ब्राउन एकजनालाई उसको खुट्टामा लात हान्दै भन्छन्, "तिम्रो भुँडीभित्रको आनन्द बाहिर फुटेर आउन दिनुपर्छ! प्रार्थना गर्न छोड, आनन्दलाई फुटेर निस्कन देऊ", आदि।

हावर्ड-ब्राउन प्रेरित २ मा पत्रुसलाई उद्दरण गर्छन्: "तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…" अगाडिको बेन्चका एक महिलामाथि उनले आफ्नो हात राख्‍छन् फलस्वरुप उनी छारे रोगीले जस्तै हातहरू हल्लाउँदै पटक पटक चिल्लाउँछिन्। यिनीचाहिँ एउटा पास्टरका पत्‍नी हुन् भन्ने उनले बताउँछन्।

उनले फेरि दोहोर्‍याउँछन्, "तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…", र त्यसपछि शुरु हुन्छ जँड्याहाको प्रदर्शनी: बेन्चमा बसिरहेकै बेला एकजना व्यक्तिले आफ्नो टाउको झ्वाट्ट पछिल्तिर लग्छन् र एउटा खुट्टाले हावामा लात हान्दै बेसरी हाँस्छन्। एक्कासि उनी आफ्नो आसनबाट फुत्त निस्कन्छन् र रेलगाडी जस्तै गरी साँघुरो घेरामा घुम्न थाल्छन्। त्यसपछि उनी हावर्ड-ब्राउनतिर फर्कन्छन्, एउटा खुट्टाले अघिल्तिर लात हान्छन् र प्ल्यात्त भुइँमा लड्छन्। अर्कोचाहिँ आफ्नो आसनबाट फुत्त निस्कन्छन्, उही रेलगाडीकै तमाशा देखाउँछन्, जथाभावी हात चलाउँछन् र भुइँमा पछारिन्छन्। एकछिनपछि पहिलो व्यक्ति उठ्छन् र आफ्नो अनुहारमा जँड्याहाको मुस्कान देखाउँदै मात लागेको जस्तै गरी यताउता हिँड्न थाल्छन्, हावर्ड-ब्राउनलाई सलाम ठोक्छन् र ढ्याप्प गर्दै आफ्नो आसनमा बस्न पुग्छन्। यो सब बनावटी भएको प्रस्टै देखिन्थ्यो तर हावर्ड-ब्राउन र दर्शकहरूले यसमा बेसरी मज्जा लिन्छन्।

बाँकी साँझभरि क्रियाकलापहरू यस्तै प्रकारले अघि बढ्छन्। हावर्ड-ब्राउन आफूलाई क्यारिज्म्याटिक जोशको "नयाँ मद्य" बाँड्ने "होली गोस्ट बार्टेन्डर" (पवित्र आत्मा पिलाउने भट्टी-मालिक) भनी जनाउन रूचाउँछन्। भौतिक किसिमले मात लाग्न सकिन्छ भने आत्मिक किसिमले पनि मात लाग्न सकिन्छ भन्ने उनी सिकाउँछन्। मानिसहरूलाई आत्मिक मात लगाउनु नै आफ्नो जीवनको उद्देश्य भएको उनले बताउँछन्।

एकपटक हावर्ड-ब्राउनले भने: "एक रात म नरकको प्रचार गर्दैथिएँ, र हाँसै-हाँसोले पूरै ठाउँ भरियो। नरक कस्तो ठाउँ हो भनेर मैले जति बताएँ त्यति बेसी उनीहरू हाँसे।" [Reported in the Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] मुक्ति पाएको प्रत्येक व्यक्तिले नरक कुनै हिसाबले पनि हाँस्ने विषय होइन भन्ने त जानेको हुनुपर्छ।

यी सभाहरूमा परमेश्वरको वचनबाट साँचो शिक्षा कमै सिकाइन्छ। अनि सिकाउने काम भयो भने पनि त्यसलाई हाँसोहरूले बीचमै काटिदिन्छ। एकजना क्यारिज्म्याटिक लेखकले भने, "श्रोतागणको ठूलो जमात नै कम्प छुट्ने गरी हाँस्ने कामले पुलपिलबाट भनिएको जुनसुकै कुरालाई पनि असान्दर्भिक तुल्याइदिन्छ भन्ने कुरा कसैले शङ्का गर्दैन।" [Reported in Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] आफ्नै स्थानिय मण्डलीको विचार गर्नुहोस्। परमेश्वरको वचन प्रचार हुने क्रममा पाँच-पाँच मीनेटमा मानिसहरू नियन्त्रणबिना र चर्को गरी हाँस्छन् भने त्यहाँ सिक्ने काम कत्तिको हुन सक्ला? यस्तो सर्कस जस्तो वातावरणमा पनि कुनै सिक्ने काम हुन सक्छ र?

सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन् भनेर परमेश्वरको वचनले बताएको छ। महिला र पुरषहरू भुइँमा पछारिँदै, मात लागेको जस्तै गर्दै, लाटोकोसेरो र पशुका आवाज निकाल्नु निश्चय पनि परमेश्वरको सभालाई सुहाउने शिष्टपूर्ण व्यवहार होइन (दाँज्नुहोस् १ तिमोथी ३:१५)। "पवित्र हाँसो" अपवित्र मात्र नभएर यसले परमेश्वरको नियमवद्ध क्रमलाई अलमल्याउँछ र त्यसको विरोध गर्दछ।

३२) के हामीलाई थप प्रकाश (सपनाहरू, दर्शनहरू आदि) को जरुरत छ?


 क्यारिज्म्याटिक जवाफ:



"नव-पेन्टेकोस्टलहरू (Neo-Pentecostals) को मान्यतामा बाइबल (लिखित वचन) को अधिकार जहिले पनि आत्माको वर्तमान सक्रियताबाट प्रकट गरिएको परमेश्वरको जीवित, "गतिशील" वचनको अधिकारभन्दा निम्नस्थानमा हुन्छ भन्ने छ। क्यारिज्म्याटिक जागृति अन्तर्गत, माण्डलिक अभ्यासमा अगमवाणीको वरदानको आज पनि स्थान छ भन्ने मान्यतालाई पनि पवित्र शास्त्र अर्थात् लिखित वचनलाई पवित्र आत्माको अधिकारभन्दा निम्नस्थानमा राखिएको उदाहरणस्वरूप लिन सकिन्छ। नव-पेन्टकोस्टलवाद (साथै पुरानो पेन्टेकोस्टलवाद) को दृष्टिकोणमा, परमेश्वर बाइबलका लेखकहरूसित जुन प्रकारले आधिकारिक रूपमा बात गर्नुभयो ठीक त्यसरी नै आज पनि बात गर्नुहुन्छ। बाइबल लेखिने काम पूरा भए तापनि परमेश्वरबाटको प्रकाश भने अन्त भएको छैन (revelation did not cease with the closing of the canon) भन्ने हिसाबमा परमेश्वरको वचनलाई हेरिएको छ (existential understanding of the Word of God)। क्याथरिन मार्शल (Catherine Marshall) ले यसलाई अर्को शब्दमा यसरी व्यक्त गरेकी छिन्: "येशूले 'थप सत्यता' (further truth) को प्रतिज्ञा गर्नुभएकोबाट ख्रीष्टले हामीलाई दिन चाहनुभएको सबै सत्यता तथा निर्देशन पुरानो र नयाँ नियमभित्र सीमित छैन भन्ने कुरा विश्वास गर्न हामीलाई स्पष्ट आधार मिल्दछ।" त्यसैले नव-पेन्टेकोस्टलवादअनुसार आत्मिक अधिकार आखिरमा बाइबलमा निहित नभएर पवित्र आत्माको वर्तमान क्रियाकलाप र शिक्षणमा रहेको मानिन्छ… परमेश्वरले आफ्नो प्रकाशलाई केवल बाइबलमा सीमित गर्नुहुन्न (अर्थात् प्रकाश पूरा भएको छैन)। [रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ११०-११२]

उपर्युक्त भनाइअनुसार क्यारिज्म्याटिकहरू बाइबलीय प्रकाश पर्याप्‍त छैन भन्ने विश्वास राख्‍छन्; त्यसैले उनीहरूको दृष्टिकोणमा परमेश्वरको वचन नै अन्तिम अधिकार होइन। परमेश्वरले आज मण्डलीलाई अझै पनि थप प्रकाश दिने गर्नुहुन्छ जुन प्रकाश बाइबल जत्तिकै वा अझ बाइबलभन्दा पनि बढी आधिकारिक हुन्छ भनेर उनीहरू विश्वास गर्दछन्।

यसकारण परमेश्वरको वचनको पर्याप्‍तता (SUFFICIENCY of the Word of God) नै हाम्रो मुख्य मुद्दा हो भन्ने देखिन्छ। के बाइबल साँच्चै पर्याप्‍त छ त? हामीलाई जे जति आवश्यक छ के सबै बाइबलमै पाइन्छ कि हामीलाई अन्य थप कुरा पनि चाहिन्छ? मानिसलाई परमेश्वरले भन्नुभएको सम्पूर्ण कुरा केवल बाइबलमै पाइन्छ, कि हामी अन्यत्र पनि हेर्नुपर्छ? बाइबल पूर्ण छ, कि बाइबल विश्वासीहरूका निमित्त अत्यावश्यक सूचनामा घटी छ?

 बाइबलीय जवाफ:

१) सत्यको आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ भनी ख्रीष्टले आफ्ना प्रेरितहहरूलाई प्रतिज्ञा गर्नुभयो (यूहन्ना १६:१३)। आत्माले उनीहरूलाई सबै सत्यताभित्र डोर्याउनुभएकै हो, र यो सत्यताको सँगालो नयाँ नियम पवित्र शास्त्रहरूमा समाहित छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

२) परमेश्वरद्वारा निश्वासित यी लेखोटहरू शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति र धार्मिकता सम्बन्धी तालिमका निम्ति लाभदायक छ जसद्वारा एउटा परमेश्वरको जन हरेक असल कामका लागि पूर्ण रूपमा सुसज्जित होऊन् भनेर पावलले हामीलाई बताएका छन् (२ तिमोथी ३:१६-१७)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

३) एउटा प्रेरितकै प्रत्यक्ष साक्षीभन्दा पनि अझ पक्का वचन, अर्थात् आत्माद्वारा प्रेरणा गरी दिइएको अचूक परमेश्वरको वचन, हामीसँग छ भनेर पत्रुसले बताएका छन् (२ पत्रुस १:१५-२१)। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

४) हामीलाई एकैचोटी सदाका निम्ति सुम्पिएको "विश्वास" (सत्यताको सँगालो) का लागि हामीले यत्‍नपूर्वक सङ्घर्ष गर्नुपर्छ भन्दै यहूदाले हामीलाई अर्ती दिएका छन् (यहूदा ३)। उक्त सत्यताको सँगालो एकैचोटी सदाका निम्ति पहिलो शताब्दीका पवित्र जनहरूलाई सुम्पिएको थियो जुनचाहिँ लिखित रूपमा आज हाम्रो बाइबलमा पाइन्छ। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र?

५) पूर्णतामा आइपुगेको परमेश्वरको प्रकाशको पुछारमा अन्तिम "पूर्णविराम चिन्ह" ठड्याउँदै यूहन्नाले यस पुस्तकमा केही नथप्न, केही नघटाउन हामीलाई चेताउनी दिएका छन् (प्रकाश २२:१८-१९)। जुन घडी यूहन्नाले प्रकाशको पुस्तकको अन्तिम वाक्यलाई लेखी भ्याए, त्यही घडी बाइबल (६६ आधिकारिक पुस्तकहरू)  पूरा भयो। हामीलाई योभन्दा बढ्ता अरू के चाहियो र? पवित्र शास्त्रको आधिकारिक सँगालो (canon of Scripture)  बन्द भएको छ, र जुन कुरालाई परमेश्वरले बन्द गर्नुभयो, कुनै मानिसले नखोलोस्। "बाइबल नै पर्याप्‍त छ!" भनेर परमेश्वरले भन्नुभइसकेपछि, मानिसले "हामीलाई अझ अरू चाहियो!" भनी नभनोस्।

१ यूहन्ना ४:१-३, १ तिमोथी ४:१, २ तिमोथी ३:१३, ४:२-४, मत्ती ७:१५-२४ र २४:४-५ को चेताउनीहरूलाई विचार गर्दा, प्रभुबाट दर्शनहरू र प्रकाशहरू पाएको दाबी गर्ने त्यहाँ थुप्रैजना पाइनु अचम्मको कुरा होइन। प्रभु येशू आफ्नो मण्डलीलाई लिन (१ थेस्सलोनिकी ४:१३-१८) आउनुहुनुभन्दा ठीक अगाडिका यी अन्तिम दिनहरूमा आत्मगत, अनुभव-केन्द्रित धर्म प्रणालीको बिगबिगी हुने हामी प्रतीक्षा गर्न सक्छौं: "मैले यस्तो-यस्तो अनुभव गरें त्यसैले यो कुरा साँचो हुनुपर्छ!" तर हामीलाई वस्तुगत र असन्दिग्ध सत्यतामा आधारित प्रकाशपूर्ण धर्मको खाँचो छ: "यो साँचो हुनुपर्छ किनकि परमेश्वरले आफ्नो वचनमा सो कुरा भन्नुभएको छ।"

आज हामीलाई परमेश्वरको वचन सुनेर काँप्ने नम्र व्यक्तिहरूको खाँचो छ (यशैया ६६:१-२)। आजको हाम्रो खाँचो नयाँ प्रकाशको होइन। आजको हाम्रो खाँचो त हामीसित भएकै प्रकाशको आज्ञापालन गर्नु र त्यसलाई सुहाउँदो जीवन जिउनु हो। आज हामीलाई थप प्रकाश चाहिएको छैन। हामी एक दिन ख्रीष्टको सामु उभिएर हामीसित भएकै प्रकाशप्रति कस्तो कसिमको प्रतिक्रिया देखायौं भन्ने कुराको लेखा दिनेछौं।

एक अर्थमा मण्डलीलाई आज दर्शनको अनिवार्य जरुरत छ। हामीलाई परमेश्वरको ताजा दर्शनको खाँचो छ। हामीले प्रभुलाई सर्वोपरि उचाइमा देख्‍न खाँचो छ (यशैया ६:१-९)। परमेश्वर आफ्नो पूर्णतामा को हुनुहुन्छ भन्ने कुराको अर्थात् उहाँको सर्वश्रेष्ठताको झलकको हामीलाई खाँचो छ (यशैया ४३:१०-११)। ख्रीष्टलाई उहाँको वास्तविकतामा हामीले जति देख्‍न सक्छौं त्यति नै हामी उहाँजस्तै बनिनेछौं (१ यूहन्ना ३:२)। लिखित वचनमा दर्शाइनुभएको ख्रीष्टमाथि हाम्रा आँखाहरूलाई लगाइरहने क्रममा, र येशूलाई निश्चल हेराइले नियालिरहने क्रममा (हिब्रू १२:१-२), हाम्रो जीवन उहाँको रूपमा एउटा महिमादेखि अर्को महिमामा बदली हुँदै जानेछ र यसरी हाम्रो जीवनमा हामीले प्रभुको महिमालाई प्रतिबिम्बित गर्नेछौं (२ कोरिन्थी ३:१८)।

क्यारिज्म्याटिक दर्शनका केही उदाहरण
उदाहरण #१--ओरल रबर्टस् (Oral Roberts)

एक समय ओरल रबर्टस्‌ले आफूले ९००-फुट येशूसित बातचित गरेको दाबी गरे जुन "दर्शन" को कथाले गर्दा उनका अनुयायीहरूबाट लाखौं डलरको अनुदान सङ्कलन भयो जसबाट उनले आफ्नो ६०-तले रोग-अनुसन्धान क्लिनिक र ३०-तले अस्पताल निर्माण गरे। पछि गएर रबर्ट्‌सले आफूले परमेश्वरबाट अर्को सूचना प्राप्‍त गरेको दाबी गरे। यस पटक चाहिँ मानिसहरूले ओरल रबर्ट्‌सलाई उनको ८० लाख डलर अनुदान उठाउने दौडानलाई पूरा गर्न ४५ लाख डलर "शीघ्र रकम" उपलब्ध गरियोस् भन्ने परमेश्वरले चाहनुभएको छ भन्ने कुरा आयो। यति रकम उनले नउठाएको खण्डमा परमेश्वरले उनलाई स्वर्गे घरमा झिकाउनुहुने अरे। फ्लोरिडाको घोडे-दौड रङ्घशाला (एक किसिमको जुवाको खेल) का मालिक जेरी कलिन्स्‌ले बल्लतल्ल अन्तिम १३ लाख डलर बुझाएपछि, उनको छुटकाराको दामको मूल्य पूरा भयो, र भविष्यमा यस्तै नयाँ-नयाँ आकर्षक चालबाजीहरू आविष्कार गर्नलाई ओरलको जीवनमा म्याद थपियो।

सेन्ट पिटर्सबर्ग टाइम्स् अनुसार ओरल रबर्टस्‌सित व्यक्तिगत सम्पत्ति नभएको होइन। पाम स्प्रिङ्ग्स्‌मा २८५,००० डलरको घर, बेभर्ली हिल्स्‌मा २४ लाख डलरको घर, टुल्सामा आफ्नो विशिष्ट घर, र प्राय: धनाढ्यहरूसित मात्र हुने ३५,००० डलरको "कन्ट्री क्ल्ब सदस्यता" रबर्टस्‌सित भएको कुरा उक्त पत्रिकाले बताएका छन्।

उदाहरण #२--डा. पर्सी कोलेट (Dr. Percy Collet)

डाक्टर कोलेट, एक चिकित्सक, झण्डै ५० वर्षसम्म दक्षिण अमेरिकाको आमाजोन खाडी (Amazon River Basin) का बासिन्दाहरूका बीच काम गर्नुभयो। १९८२ मा आफू साँढे पाँच दिनसम्म स्वर्गमा लगिएको भन्ने उनको दाबी छ। उनले परमेश्वर पिता, पुत्र पवित्र आत्मा, एलिया, एलिशा, अब्राहाम, मोशा, पावल र अरूसित कुराकानी गरे अरे। उनले पवित्र जनहरूका दरवारहरू र हाल निर्माणाधीन भवनहरूको अवलोकन गरे अरे। उनी शहरको जगभन्दा ७०० माइल माथि रहेको "आफ्नो" दरवारमा लगिए अरे। उनले स्वर्गको प्रत्येक तहको सफर गरे र तिनका विभिन्न विभागहरू र क्रियाकलापहरूको अवलोकन गरे अरे। येशूले उनीसित पृथ्वीमा चाँडै हुन लागेको घटनाहरूको बारेमा कुरा गर्नुभयो अरे—अर्थात् इजकिएल ३८ को युद्ध, र्याप्‍चर र हार्मागेडोन (Armageddon) को बारेमा। आफ्नो सेवारत क्षेत्रबाट विदा लिई आफूले देखेका र सुनेका कुराहरूको घोषणा गर्नू भन्ने निर्देशनसहित आफू पृथ्वीमा फिर्ता पठाइए अरे।

एक सय डलरको अनुदान दिएबापत उक्त स्वर्ग-यात्राको भिडियो प्रस्तुति प्राप्‍त गर्न सकिन्छ। यस भिडियोको विज्ञापनमा यसरी लेखिएको पाइयो, "डाक्टर कोलेट पावलजस्तै तेश्रो स्वर्गमा उठाइनुभएको थियो। फरक यतिमा छ, पावललाई आफूले देखेका र सुनेका कुराहरू बताउन अनुमति दिइएन तर त्यसको झण्डै २००० वर्ष पछाडि डाक्टर कोलेटलाई भने सो गर्न आदेश दिइयो।" यसलाई २ कोरिन्थी १२:१-१० सित तुलना गर्नुहोस्। स्वर्गको यात्रा गरेको वा स्वर्गको दर्शनहरू देखेको दाबी अरू थुप्रैले गर्दै छन्। सिओल, कोरियाका "संसारको सबभन्दा ठूलो मण्डलीका पास्टर" डाक्टर पावल योङ्गि चो (Dr. Paul Yonggi Cho) ले समेत आफू तेस्रो स्वर्गमा ३ घण्टा बिताएको दाबी गरेका छन्।

३३) "क्यारिज्म्याटिक जागृति" (Charismatic Renewal) को सिद्धान्त (philosophy) के हो?
क्यारिज्म्याटिक नवीकरणको चरित्र पूर्णतयाः सुधारवादीको हो।

शुरुको पेन्टेकोस्टल पथ (Classical Pentecostalism) ले आफू परम्परागत माण्डलिक संरचनाहरूबाट अलग्गिएर नयाँ संरचनाको निर्माण गर्ने भनेर लिएको मार्ग-दर्शनप्रति क्यारिज्म्याटिक जागृतिले न्यूनतम वा शून्य अभिरुचि राखेको पाइन्छ। बरु, आत्मामा बप्‍तिस्मा भएकाहरू कुनै मण्डली वा अन्य समूहभित्र रहिरहेर त्यसका सदस्यहरूलाई प्रभावित पारेर नै वर्तमान संरचनाहरूलाई पवित्र आत्माको क्यारिज्म्याटिक क्रियाकलापद्वारा "जागृत" गराइनुपर्छ भन्ने यसको सिद्धान्त रेहको छ (रिचार्ड कबीडो, द न्यू क्यारिज्म्याटिक्स, पृष्ठ ९)।

आफूहरू आबद्ध रहेको मण्डलीहरूबाट क्यारिज्म्याटिकहरू छुट्टिन चाहन्नन्। बरु, उनीहरू तिनैमा रहेर आफ्नो उपस्थितिद्वारा ती मण्डलीहरूलाई जागृत गराउन चाहन्छन्। उनीहरू, विगतमा औपचारिक र मृत-अवस्थामा रहेका मण्डलीहरूमा जीवन र जोश-जाँगर ल्याउन खोज्दछन्। दुःखको कुरा, बाइबलीय अलगपनता (Biblical Separation) का सिद्धान्तहरू अनुसार सत्यत्यागीहरू (apostates) देखि अलग रहनुपर्ने कुरालाई उनीहरूले बेवास्ता गर्दछन्।

३४) विश्वासीहरूलाई कुनचाहिँ आज्ञा दिइएको छ? — सत्यत्यागी (apostate) मण्डलीहरूलाई "जागृत" गराउन कि तिनीहरूदेखि अलग रहन?
२ कोरिन्थी ६:१४-७:१ -- तिनीहरूका बीचबाट निस्केर आओ

२ तिमोथी ३:५ -- यस्ताहरूबाट पर बस

रोमी १६:१७ -- तिनीहरूबाट टाढा बस

तीतस ३:१० -- रद्द गर

२ यूहन्ना १० -- स्वागत नगर

थप अध्ययनका लागि अङ्ग्रेजीमा लिखित Biblical Doctrine of Separation मा क्लिक गर्नुहोस्।

३५) परमेश्वरका जनहरूलाई एकतामा ल्याउने कुरा के हो?
 क्यारिज्म्याटिक जवाफ: "एउटै अनुभवले"

आधुनिक क्यारिज्म्याटिक अभियानले शिक्षागत सवालहरूलाई एकातिर पन्छाएर अनुभवहरूको एउटा सँगालोको वरिपरि ऐक्यवद्ध बन्न सकेको छ। शिक्षाले विभाजन ल्याउँछ। अनुभवले ऐक्यवद्ध बनाउँछ। (Stephen Board, "Are Catholic Charismatics 'Evangelicals'?" Eternity, July 1978, page 13.)

 बाइबलीय जवाफ: "परमेश्वरका जनहरूलाई सत्यता र शिक्षाले ऐक्यवद्ध बनाउनुपर्छ"

"अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे" (प्रेरित २:४२)।

"जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौं, एउटा पूरा बढेको मानिस बन्दैनौं, ख्रीष्टको परिपूर्णतारूपी कदको नापसम्म आइपुग्दैनौं" (एफेसी ४:१३)। हाम्रो एकता परमेश्वरको पुत्रको साझा (एउटै) पहिचान र बुझाइमा आधारित हुनुपर्छ।

शिक्षाले विभाजन ल्याउँछ भन्ने कुरा साँचो हो, तर शिक्षाले ऐक्यवद्ध पनि गराउँछ। म येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्दछु र तपाईंचाहिँ विश्वास गर्नुहुन्न भने हामी विभाजित छौं। म येशू ख्रीष्टको ईश्वरत्वमा विश्वास गर्छु र तपाईं पनि विश्वास गर्नुहुन्छ भने हामीले विश्वास गरेको र बुझेको यस महान् सत्यताको आधारशिलामा हामी एकतामा खडा हुन्छौं। साँचो बाइबलीय एकता परमेश्वरको सत्यताको साझा (एउटै) बुझाइ र अभ्यासमा आधारित हुन्छ। परमेश्वरको वचनका सत्यताहरूलाई जति बढी विश्वास गर्छौं र अभ्यास गर्छौं, त्यति नै बढी हामी ऐक्यवद्ध हुन्छौं।

परमेश्वरको सत्यतालाई बलि चढाएर "प्रेम" मा जोड दिने र खाँटी शिक्षालाई बलि चढाएर "एकता" मा जोड दिने आजको व्यापक सिद्धान्तदेखि होसियार हुनुहोस्। (प्रमिस किपर्स् अभियान जस्ता थुप्रै समूहहरू र "एकता" अभियानहरू (ecumenical movements) को सिद्धान्त यही नै छ। क्याम्पस क्रूसेडको आलोचनामा लेखिएको अङ्ग्रेजी लेख यहाँ पढ्न सक्नुहुन्छ: The Importance of Doctrine and the Biblical Concept of Love -- A Campus Crusade Critique.

२३) के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?


नयाँ नियममा बिरामी परेका चारओटा उदाहरणहरूलाई हेरौं:



१) २ कोरिन्थी १२:७-१०

पावल एउटा पीडादायी ("काँडा") शारीरिक ("शरीरमा") रोगले ग्रस्त थिए। शरीरमा रहेको उक्त काँडा आफूबाट हटोस् भनी पावलले प्रभुलाई तीन पटक विन्ती गरे तर परमेश्वरले सोअनुसार गर्नुभएन। परमेश्वरले यसभन्दा उत्तम कार्य गर्नुभयो। उहाँले पावललाई आफ्नो अनुग्रह प्रशस्त छ भन्ने कुरा सिकाउनुभयो, परमेश्वरको अनुग्रहले उनलाई त्यस्तो शारीरिक कष्ट समेत सहन सक्ने क्षमता दिन्छ भन्ने कुराको बोध गराउनुभयो। आफ्नो सर्व-पर्याप्‍त अनुग्रहको बोध गराउन कहिलेकाहीँ परमेश्वरले दुःख-बिमार वा पीडा आउन दिनुहुन्छ।

२) फिलिप्पी २:२५-३०

एपाफ्रोडीटस बेसरी बिरामी परे, यहाँसम्म कि उनी मृत्युको मुखैमा पुगे। उल्लेखनीय कुरा के भने पावलले आफ्नो यस विश्वासयोग्य भाइलाई चङ्गाइ गरेनन्। बरु परमेश्वरले उनीमाथि कृपा गर्नुभयो र उठाउनुभयो।

३) १ तिमोथी ५:२३

"अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरूका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।" तिमोथीको पेटको कमजोरी थियो जसको कारण उनी बारम्बार बिरामी पर्ने गर्थे। पावलले उनलाई कुनै चङ्गाइकर्ताकहाँ जान सल्लाह दिएनन्, न ता उनलाई उनका शारीरिक कमजोरीहरू पाप वा विश्वासको कमीका कारण हुन् भने। पावलले केवल एउटा सामान्य औषधी उपचारको सल्लाह दिए। [पावलले तिमोथीलाई मात लाग्ने रक्सी नभएर अङ्गुरको रस पिउनलाई सल्लाह दिएको हुन सक्छ भन्ने यहाँ देखिन्छ। व्याकरणका विद्वान आथनेयस (Athenaeus, 280 AD) ले यसरी लेखेका छन्: "उसले गुलियो दाखरस लेओस्, पानीसँग मिसाएर वा गरम गराएर, विशेष गरी प्रोटोपोस भनिने खाले, त्यो गुलियो लेस्बियन गलुकस, पेटको लागि लाभदायक हुने भएकोले; किनकि गुलियो दाखरस [oinos] ले टाउकोलाई भारी बनाउँदैन" (Athenaeus, Banquet 2,24). प्राचीन लेखोटहरूमा पेटको समस्याहरूका लागि कण्वीकरण नभएको (unfermented) दाखरस प्रयोग गर्न सिफारिश गरिन्थ्यो भन्ने कुराको यो एउटा उदाहरण हो।]

४) २ तिमोथी ४:२०

"एरास्टस कोरिन्थमा रहे; तर ट्रोफिमसलाई मैले मिलेटसमा बिरामी अवस्थामा छोडेको छु।" ट्रोफिमसको आत्मिक समस्या (पाप, विश्वासको कमी) थियो भन्ने त्यहाँ कुनै सङ्केत छैन, तर उनको एउटा शारीरिक समस्या भने थियो, तर पावलले उनलाई चङ्गाइ गरेनन्। यस जीवनमा कहिलेकाहीँ आफ्ना सन्तानहरू बिरामी हुनु नै परमेश्वरको इच्छा हुन्छ, तर आउनेवाला जीवनमा भने कहिल्यै त्यसो हुन्न (प्रकाश २२:४)

विगतका कतिपय भक्तजनहरूलाई विचार गर्नुहोस् त, जोहरू रोगी थिए अथवा कुनै गम्भीर शारीरिक दुर्बलताले पीडित थिए। उदाहरणको लागि: जोन क्याल्भिन (John Calvin) वातरोगबाट ग्रस्त थिए, साथै उनलाई बेसरी टाउको दुख्‍ने समस्या थियो र उनको शरीर कमजोर थियो। फेनी क्रस्बी (Fanny Crosby) अन्धी थिइन्। रबर्ट मुरे मक्शेन (Robert Murray McCheyne) ज्यादै रोगी भएकाले ३० वर्षको उमेरमा मरे। जर्ज म्यूलर (George Müller) को विश्वास पक्कै पनि कमजोर थिएन, तर जीवनभर उनले शारीरिक दुर्बलताहरू र रोग-बिमारहरूको सामना गर्नुपर्‍यो। उनको टाउकोको समस्या थियो र एउटा सिपालु शल्य-चिकित्सकको हातबाट उनको शल्यक्रिया गरिनुपर्‍यो। भक्तिपूर्वक जिउने विगतका कुनै पनि विश्वासीको जीवनी पढ्नुहोस्, झण्डै प्रत्येककै सवालमा परमेश्वरले उनीहरूलाई कुनै निश्चित शारीरिक कष्टहरू भोग्न दिनुभएको पाउनुहुनेछ।

कतिपय क्यारिज्म्याटिक व्यक्तिहरूको धारणाअनुसार, यदि तपाईं बिरामी हुनुहुन्छ भने तपाईं परमेश्वरको इच्छाभन्दा बाहिर हुनुहुन्छ। उदाहरणका लागि, केनेथ हेगन जुनियर (Kenneth Hagan Jr.) लेख्‍छन्: "परमेश्वरको इच्छा नै आफ्ना सन्तानहरू पूर्ण स्वस्थतामा जिऊन् भन्ने हो भन्ने मेरो विश्वास हो…आफ्ना सन्तानहरूलाई चङ्गाइ गर्नु सधैं नै परमेश्वरको इच्छा हो।" [मलाई जुलाई १६, १९८७ मा केनेथ हेगनद्वारा लेखिएको पत्रबाट] यस्ता व्यक्तिहरूलाई केही प्रश्‍न गर्न हामीलाई कर लाग्छ: के तपाईंहरूमध्ये कसैकसैले चश्मा लगाउनुहुन्छ (केनेथ हेगनले त लगाउँछन्)? के तपाईंहरूमध्ये कसैकसैलाई रूघाखोखी लाग्ने गर्छ? के तपाईंहरूमध्ये कोहीले सिटामोल वा अन्य दुखाइ हटाउने ने ओषधी खाने गर्नुहुन्छ? सबभन्दा महत्त्वपूर्ण प्रश्‍न त, के तपाईंहरू मर्नुहुन्छ?

उदाहरणका लागि चङ्गाइकर्ता ओरल रबर्टस् (Oral Roberts) लाई विचार गरौं। उनले एक पटक आफ्नै खरबौं-डलरको सिटि अफ फेथ (City of Faith) अस्पताललाई छाडेर आफ्नो आँखाको शल्यक्रिया गराउन उनी क्यालिफर्निया गए। होइन, उनी किन एउटा चङ्गाइकर्ताकहाँ गएनन्, वा उनले किन आफैलाई चङ्गाइ गरेनन्? साथै, यदि विश्वासद्वाराको चङ्गाइ (faith healing) साँच्ची नै हुने हो भने खरबौं डलरको अस्पताल किन चाहियो? प्रभु येशू लगायत प्रेरितहरूले त सयौंलाई यस्ता कुनै अस्पताल बिना नै चङ्गाइ गरे।

२४) के नयाँ नियमले "सुख-समृद्धिको सुसमाचार" (PROSPERITY GOSPEL) को शिक्षा सिकाउँछ?
यो शिक्षा आज प्रायः सुनिने अति प्रचलित र आकर्षक सन्देश हो, अर्थात् यदि तपाईंले ख्रीष्टलाई विश्वास गर्नुभयो भने तपाईंलाई स्वस्थलाभ र सम्पत्तिलाभ हुनेछ। यसको मतलब तपाईंलाई शारीरिक स्वस्थलाभ र भौतिक उन्नति हुनेछ। तपाईंको शरीर रोगबिमारबाट स्वतन्त्र हुनेछ र तपाईंको बैंक खाता भरिभराउ हुनेछ। तर वास्तवमा यस प्रकारको शिक्षाबाट साँच्चै आर्थिकलाभ उठाउनेहरू चाहिँ ती झूटा शिक्षकहरू मात्र हुन्छन्, अर्थात् "सुख-समृद्धिको सुसमाचार" का प्रचारकहरू।

स्वस्थलाभ र सम्पत्तिलाभको सुसमाचार

"जति सुनेपनि फरक पर्दैन — हामी स्वस्थ हुनु र हामीले यस जीवनमा असल-असल कुराहरू पाउनु परमेश्वरको इच्छा हो भन्ने कुरा हामीलाई बारम्बार सम्झना गराइन आवश्यक छ" (केनेथ हेगन)।

येशूको सेवाकार्य गरीब थियो भन्ने विश्वासको बारेमा केनेथ कोपल्याण्ड (Kenneth Copeland) यसो भन्छन्: "त्यो त हास्यास्पद कुरा हो। येशू गरीब हुनु असम्भव कुरा हो! पुरानो नियमको समयदेखि नै परमेश्वरले, उहाँको साथमा सिद्ध र सीधा चालमा चल्नेहरूलाई भौतिक आशिषहरूको प्रतिज्ञा गर्नुभयो। यदि परमेश्वरले येशूलाई आर्थिक आशिष दिन विफल हुनुभएको भए परमेश्वरले स्वयम् आफ्नै वचनलाई तोड्नुहुनेथ्यो" (करिज्मा, सेप्टेम्बर १९९०)।

ख्रीष्टमा भरोसा गर्नेहरूको आत्मिक उन्नति हुन्छ भन्ने कुरा साँचो हो। उनीहरू आत्मिकमा सफल हुन सक्छन् र आफ्नो प्राणमा स्वस्थलाभ पाउन सक्छन्। उनीहरूले ख्रीष्टमा पाइने हरेक आत्मिक आशिषको उपभोग गर्न सक्छन् (एफेसी १:३)। उनीहरू उहाँमा धनवान हुन सक्छन् (२ कोरिन्थी ८:९)। तर परमेश्वरले आफ्नो सन्तानहरूलाई यस जीवनमा हट्टाकट्टा शारीरिक स्वास्थ्य र भौतिक, आर्थिक उन्नतिको कहिल्यै प्रतिज्ञा गर्नुभएन।

वास्तवमा पूरै नयाँ नियमको शिक्षाअनुसार परमेश्वरका जनहरू त दुःख र कष्ट भोग्नेहरू हुनेछन्, काटिन लगिइरहेका भेडाहरूझैं हुनेछन् (रोमी ८:१८,३५-३६) भन्ने छ। उनीहरूले संसारबाट घृणा र सतावट पाउनेछन् (यूहन्ना १५:१८-२०)। संसारमा उनीहरूलाई संकष्ट र थिचोमिचो हुनेछ (यूहन्ना १६:३३)। ख्रीष्टमा भक्तिपूर्वक जिउने सबै नै सतावटमा पर्नेछन् (२ तिमोथी ३:१२) र प्रत्येक ख्रीष्टियनले ख्रीष्टको असल सिपाहीलेझैं दुःख उठाउनुपर्छ (२ तिमोथी २:३)। सुख-समृद्धिको सुसमाचारको विरुद्धमा सबभन्दा राम्ररी छोटकरीमा व्यक्त गरिएको पावलको जवाफ सायद १ थेस्सलोनिकी ३:३-४ नै हो —

"यी कष्टहरूद्वारा कोही पनि ढलपल नहोस् भनेर; किनकि तिमीहरू आफै जान्दछौ, हामी यसैका निम्ति ठहराइएका छौं। किनकि साँच्चै तिमीहरूसँग रहँदा, 'हामीले कष्ट भोग्नुपर्छ' भनी हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं; र यस्तै भयो पनि, अनि तिमीहरूले पनि जान्दछौ।"

प्रेरित पत्रुस समृद्धिको सुसमाचारको बारेमा अनजान थिए जब उनले भने, "चाँदी र सुन त मसँग छैन" (प्रेरित ३:६)! पावल प्रेरित पनि यस शिक्षाको बारेमा अनजान थिए। उनले विश्वासीहरूलाई गरिबजस्ता र केहि नहुनेजस्ता भनी बयान गरेका छन् (२ कोरिन्थी ६:१०)!

२५) के डाक्टरकहाँ जानु अनात्मिक बन्नु हो?
संयुक्त राज्य अमेरिकाको इन्डियाना राज्यको एउटा विषम क्यारिज्म्याटिक समूह ("द ग्लोरी बार्न") ले विश्वासीहरू कहिल्यै डाक्टरकहाँ जान हुन्न बरु चङ्गाइ पाउन परमेश्वरमा भरोसा राख्‍नुपर्छ भनेर सिकाए। बच्चा जन्माउने समयमा डाक्टर वा नर्सको मदत नपाएको हुनाले कोही गर्भवति महिलाहरूलाई साह्रो पर्‍यो र उनीहरूका बच्चाहरू मरे। समस्या अझ जटिल बन्यो जब यस समूहका सदस्यहरूले परमेश्वरसित यी मरेका बच्चाहरूका निम्ति प्रार्थना गर्न थाले। स्थानीय समाचार माध्यमले यी घटनाहरूलाई सार्वजनिक बनाइदिए। फलस्वरूप ख्रीष्टको नामलाई ठूलो शर्ममा पार्ने काम भयो। गलत शिक्षाको कारण गलत अभ्यास भएको थियो।

"तर येशूले त्यो सुनेर तिनीहरूलाई भन्नुभयो: "निरोगीहरूलाई होइन, तर रोगीहरूलाई डाक्टरको खाँचो पर्दछ" (मत्ती ९:१२)।

निरोगी र स्वस्थ व्यक्तिहरूलाई डाक्टर वा वैद्यको खाँचो पर्दैन। यसको तात्पर्य रोगीलाई डाक्टर चाहिन्छ नै भन्ने हो। भन्ने हो भने, सुसमाचारको एउटा पुस्तक समेत लेख्‍ने पावलका एक सहकर्मी एक डाक्टर थिए:

"प्रिय वैद्य लूका र डेमासले तिमीहरूलाई सलाम पठाउँदै छन्" (कलस्सी ४:१४)।

२६) के ख्रीष्ट र प्रेरितहरूले चङ्गाइ गर्न सक्थे?
प्रभु येशू ख्रीष्टले मानिसहरूका हरेक किसिमको बिमार र हरेक किसिमको रोगलाई निको पार्नुभयो:

"अनि येशू तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका सबै प्रकारको रोग र सबै किसिमको शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। अनि उहाँको कीर्ति सिरियाभरि फैलियो; र किसिम-किसिमका रोग र पीडाहरूले सताइएका सबै बिरामी मानिसहरूलाई, दुष्ट आत्मा लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षघात भएकाहरूलाई तिनीहरूले उहाँकहाँ ल्याए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो" (मत्ती ३:२३-२४)।

प्रभुले आफ्ना चेलाहरू (प्रेरितहरू) लाई "हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो" (मत्ती १०:१)।

प्रेरित पावलले गजब प्रकारले निको पार्ने काम गर्न सके:

"अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो; यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूकहाँ लगिन्थे, र रोगहरूले तिनीहरूलाई छोड्थे, र दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे" (प्रेरित १९:११-१२)।

२७) के आधुनिक "चङ्गाइकर्ताहरू" (Faith Healers) ले चङ्गाइ गर्न सक्छन्?
विलियम ए नोलेन (William A. Nolen) नाम गरेको एकजना नामुद डाक्टरले क्याथरिन कूलम्यान (Kathryn Kuhlman) नाम गरेकी एक चर्चित चङ्गाइकर्ताको अवलोकन गरे। शुरूमा उनलाई शंकै थियो तरैपनि प्रमाण भेटिएको खण्डमा विश्वास गर्न तयार पनि थिए। उनका केही टिप्पणीहरूलाई यहाँ उतारिएको छ:

सुश्री कूलम्यान कहिलेकाहीँ श्रोतागणतर्फ फर्केर हेर्थिन् र भन्थिन्, "यहाँ एकजना ब्रेस (brace, अड्याउने चीज) लगाउने व्यक्ति छ—खुट्टाको ब्रेस—तपाईंलाई अबदेखि उसो त्यो ब्रेस चाहिँदैन। त्यसलाई फुकालिदिनुस्। आउनुस् र आफ्नो चङ्गाइलाई दाबी गर्नुस्।" ब्रेसको नाम लिएर बोलाएको पहिलो पटकमा कोही अगाडि आएन। अन्तमा एउटी भर्खरकै राम्री युवती मञ्चमाथि आइन्। उनले आफ्नो खुट्टाको ब्रेसलाई हातले हल्लाउँदै देखाउँदैथिइन् र उभिरहेकीथिइन्। उनी यौटाचाहिँ सद्दे र अर्कोचाहिँ सुकेको खुट्टामा उभिरहँदा उनको पुट्ठाको हाड (pelvis) एकातिर नराम्ररी ढल्केको देखिन्थ्यो।

क्याथरिन कूलम्यानले उनलाई सोधिन्, "कति भयो यो ब्रेस लगाएकी?" "तेह्र वर्ष। सात वर्षमा पोलियो लागेदेखि।" "अब तिमी निको भयौ। अबदेखि उसो त्यो तिमीलाई चाहिँदैन। तिमीले त्यसलाई फुकालिसकेकी छौ।" "हो", तिनले भनिन्। "मैले प्रभुमा विश्वास राखेकी छु। मैले प्रार्थना गरेकी छु, र उहाँले मलाई निको पार्दैहुनुहुन्छ।" सबैले ताली बजाए। युवती रोइन्।

उक्त दृश्य मेरो आँखामा पूर्णतया बीभत्स थियो। युवतीको खुट्टा दस मीनेट अगाडि जत्तिकै सुकेकै थियो। अहिले उनी दस हजार जनसमुदायसामु उभिएर प्रभुलाई—र अप्रत्यक्ष रूपमा क्याथरिन कूलम्यानलाई—प्रशंसा दिँदैथिइन्, एउटा चङगाइको निम्ति जुन चङ्गाइ भएकै थिएन न ता हुनेवाला नै थियो। उक्त घडीको भावोन्माद (hysteria, विकृत उत्तेजना) हराइसकेपछि, तेह्र वर्षदेखिको ब्रेसलाई फेरि—बाँकी जीवनभरिकै लागि भनेर—लगाउनै परेपछि त्यस युवतीको मनमा कस्तो लाग्ला, मैले अनुमान गर्न सक्थें।

अन्तमा एउटा भजन र अन्तिम आशीर्वादपछि प्रदर्शनी सकियो। पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ।

मञ्चबाट ओर्लँदै गरेका "चङ्गाइको दाबी" गर्नेहरूमध्येबाट अनुपरीक्षण (follow-up study) मा सहभागी हुन चाहने प्रत्येकको नाम, ठेगाना, फोन नम्बर र रोगको विवरण टिपोट गर्न मैले दुईजना कानूनी सहायकहरूलाई खटाएको थिएँ। ८२ जनाको नाम मिल्यो। कार्यक्रमको केही हप्‍तापछि, आइतवार जुलाई १४ का दिन मिनियापोलिस शहरमा आउन र आफ्नो अनुभव बताउन सूचीमा नाम भएको हरेकलाई पत्र पठाएर निमन्त्रणा दिइयो। २३ जना उपस्थित भए। मैले उनीहरू प्रत्येकसित त्यसपछिका महिनाहरूमा व्यक्तिगत अन्तर्वार्ता लिनका निमित्त बन्दोबस्त गरें।

निजहरूसित कुराकानी गर्दा, म यथासम्भव इमानदार, समझदार र निष्पक्ष रहने प्रयास गरें, तर मैले आफ्नो चिकित्सकीय ज्ञान र व्यावहारिक बुद्धि (common sense) लाई पन्छाउन सकिनँ। निजहरूले बताएका सबै कुरालाई मैले ध्यानपूर्वक सुनें, र त्यहाँ कुनै आश्चर्यकर्म भएको थियो कि भन्ने कुराको समर्थन गर्न सक्ने प्रत्येक सम्भावनालाई अनुसन्धान गरें। अध्ययनले मलाई एउटै निष्कर्षमा पुग्न बाध्य गरायो: चङ्गाइ कार्यक्रममा आफूहरूले चङ्गाइको दाबी गरी पछि मिनियापोलिसमा आई सो कुराको पुनः समर्थन जनाउने बिरामीहरूमध्ये एउटैले पनि वास्तवमै अलौकिक ढङ्गबाट (miraculously) कुनै कुराबाट चङ्गाइ पाएका थिएनन्। [William A. Nolen, M.D., "In Search of a Miracle," McCall's Magazine, September 1974. डाक्टर नोलेनले आफ्नो खोजीका परिणामहरूलाई इन सर्च अफ अ मिराकल ("आश्चर्यकर्मको खोजीमा") भन्ने पुस्तकमा पनि प्रकाशित गर्नुभएको छ।]

वर्षौंदेखि संसारकै सर्वोत्तम चङ्गाइकर्ता (faith healer)  मानिएका क्याथरिन कूलम्यानसम्बन्धी क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले यसरी लेख्‍छन्:

उनी रोगको नाम लिन्छिन्—निको हुन नसक्ने क्यान्सरदेखि लिएर एलर्जीहरू सम्म समेट्ने जुनसुकै रोग हुन सक्छ (यद्यपि अङ्गच्छेदित (amputated) हातखुट्टा कहिल्यै पुनः देखा पर्दैनन्; दाँतहरू अलौकिक ढङ्गमा सुनले भरिन्नन्)—अनि आफू चङ्गाइ भएको लाग्नेलाई मञ्चमा उभिएर गवाही दिन अगाडि बोलाउँछिन्। (तालिमप्राप्‍त कार्यकर्ताहरूले चङ्गाइको प्रमाणीकरण गर्न अघिबाटै यथासम्भव छानबिन गर्दछन्।) पुष्टिकरणका निमित्त अनुरोध गर्न सकियोस् भनेर मञ्चमा अक्सर डाक्टरहरू हुने गर्छन्; र चङ्गाइको पुष्टिकरणका निमित्त सबैलाई आ-आफ्नै डाक्टरकहाँ जान जोडसँग आग्रह गरिन्छ। कतिपय व्यक्तिहरूले गवाही ता दिन्छन् तर निको भएका भने हुँदैनन्; अरूहरूलाई चाहिँ केही सुधार भएको बुझिन्छ तर फेरि पछि त्यो बल्झिन्छ; सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्। [Richard Quebedeax, The New Charismatics, page 86.]

२८) आधुनिक "चङ्गाइकर्ताहरू" ले आफ्ना असफल प्रायसहरूको स्पष्टिकरण कसरी दिन्छन्?
"चङ्गाइ गर्न हामीसित शक्ति नभएको होइन; बिरामी व्यक्तिको विश्वासको कमीले हो!" कुनै सिप नलागेपछि, बिरामीकै दोष!

२९) के ख्रीष्ट र प्रेरितहरूले पर्याप्‍त विश्वास गर्नेहरूलाई मात्र चङ्गाइ गरे?
मत्ती १२:१५ मा ठूला-ठूला भीड प्रभु येशूका पछि लागे र, उनीहरूसँग विश्वास होस् या नहोस्, "उहाँले ती सबैलाई निको पार्नुभयो"। प्रेरित ५:१६ मा रोगीहरूको एउटा ठूलो जमातलाई प्रेरितहरूकहाँ ल्याइएको थियो, "अनि तिनीहरू सबै निको पारिए"। विश्वासको शर्तबिना नै यी चङ्गाइहरू सबैलाई प्राप्‍य थियो। एउटै बिरामी निराश भई फर्कनुपरेन।

प्रेरित ३:१-८ मा जन्मैदेखिको लङ्गडोको चङ्गाइको उल्लेख गरिएको पाउँछौं। त्यस माग्नेले पत्रुसको हातबाट केही पैसा पाउने आशा गरेको थियो। चङ्गाइ हुन्छु भन्ने कुरा त उसको कल्पनाभन्दा बाहिरको कुरा थियो। आफू निको पारिन्छु भन्ने विश्वास त उसँग पक्कै पनि थिएन। पत्रुसले केही पैसा देलान् भन्ने सम्म उनले विश्वास गरे होलान् (पद ५) तर पत्रुसले उनलाई निको पार्लान् भनेर उनले विश्वास गरेका थिएनन्। परमेश्वरबाटको उक्त अलौकिक चङ्गाइ कार्यको, त्यस व्यक्तिको विश्वास वा अविश्वाससित कुनै सरोकार थिएन। [यस आश्चर्यकर्मको सन्दर्भमा प्रेरित ३:१६ मा उल्लेख गरिएको विश्वासले पत्रुसको ख्रीष्टमाथिको विश्वासलाई जनाएको हुनुपर्छ, लङ्गडोको विश्वासलाई होइन।]

प्रेरित २०:९-१२ मा पावलले एउटा व्यक्तिलाई सबैभन्दा गम्भीर रोगबाट चङ्गाइ गरेको पाउँछौं, अर्थात् मृत्युबाटै। यहाँ एक युवा वास्तवमै मरिसकेका थिए। निश्चय नै मरिसकेको व्यक्तिले विश्वास गर्न सक्दैन! "उसको विश्वासको कमीले गर्दा मैले उसलाई मृत्युबाट बिउँताउन सकिनँ" भनी कुनै आधुनिक चङ्गाइकर्ताले भन्नु त हास्यास्पद हुन्छ। यसले एउटा रोचक प्रश्‍न उब्जाउँछ: यदि आधुनिक चङ्गाइकर्ताहरूसित ख्रीष्ट र प्रेरितहरूसितको जस्तै चङगाइ-शक्ति छ भने, किन उनीहरू मरेकालाई बिउँताउँदैनन्?

३०) ख्रीष्ट र प्रेरितहरूका चङ्गाइका आश्चर्यकर्महरू कस्ता खाले थिए?
१) तुरुन्तै चङ्गाइ

प्रभु येशूले एउटा कोरीलाई छुनुभयो, अनि तुरुन्तै उनी आफ्नो कोर रोगदेखि शुद्ध भए (मत्ती ८:३)। येशूले दुई अन्धाका आँखाहरू छुनुभयो, अनि तुरुन्तै ती आँखाहरू देख्‍ने भए (मत्ती २०:३४)। पत्रुसले एउटा लङ्गडोलाई उनको दाहिने हातलाई समातेर जुसुक्क उठाए, अनि तुरुन्तै उनका खुट्टा र गोलीगाँठाहरूले शक्ति पाए र उनी उफ्रँदै कुद्‍ने भए। पुनःस्वास्थ्य लाभ प्राप्‍तिको लागि लामो समयको वा अन्य उपचारको त्यहाँ कुनै आवश्यकता थिएन।

२) सिद्ध र पूर्ण चङ्गाइ

"अनि जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरिपरिका सबै इलाकाहरूमा पठाए, र सबै बिरामीहरूलाई उहाँकहाँ ल्याए; अनि उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई विन्ती गरे; अनि जतिले छोए, ती एकदम निको भए" (मत्ती १४:३५-३६)।

"अनि उहाँकै नामले, उहाँको नाममाथि राखिएको विश्वासद्वारा तपाईंहरूले देख्‍नुभएको र चिन्नुभएको यी मानिसलाई बलियो बनायो; अनि उहाँद्वाराकै विश्वासले यिनलाई तपाईंहरू सबैजनाका सामु यो सिद्ध स्वास्थ्य दिएको छ" (प्रेरित ३:१६)।

यसको तुलनामा क्याथरिन कूलम्यानको कार्यक्रममा चङ्गाइको दाबी गर्ने युवतीको सम्बन्धमा डाक्टर नोलेनको अवलोकनलाई विचार गर्नुहोस् त—एउटा सद्दे खुट्टामा र अर्को छोटो, सुकेको खुट्टामा उभिँदा पुठ्ठाको हाड नराम्री ढल्केको बयान छ। यसैलाई सिद्ध र पूर्ण चङ्गाइ त भनिँदैन होला!

३) सबका सब चङाइ

"तर यो कुरा थाह पाएर येशू त्यहाँबाट निस्कनुभयो; अनि ठूला-ठूला भीड उहाँका पछि लागे; अनि उहाँले ती सबैलाई निको पार्नुभयो" (मत्ती १२:१५)।

"अनि चारैतिरका शहरहरूबाट बिरामी मानिसहरूलाई र अशुद्ध आत्माहरूद्वारा सताइएकाहरूलाई लिएर एउटा भीड पनि यरूशलेममा भेला भयो; अनि तिनीहरू सबै निको पारिए" (प्रेरित ५:१६)।

४) नकार्न नसकिने चङ्गाइ

"तब एकजना दुष्ट आत्मा लागेको, अन्धा र गुँगा मानिस उहाँकहाँ ल्याइयो; अनि उहाँले त्यसलाई निको पार्नुभयो, यहाँसम्म कि त्यस अन्धा र गुँगा मानिस बोल्यो र देख्‍यो पनि। अनि सबै मानिसहरू छक्क परे, र भने: "के यहाँ नै दाऊदका पुत्र हुनुहुन्न र?" तर फरिसीहरूले यो सुनेर भने: "यस मानिसले दुष्ट आत्माहरूको शासक बेल्जेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन" (मत्ती १२:२२-२४)।

प्रभुका शत्रुहरूले उक्त आश्चर्यकर्मलाई नकार्न सकेनन्। त्यसैले उनीहरूले उक्त महान् आश्चर्यकर्म परमेश्वरको शक्तिले नभएर शैतानको शक्तिले गरिएको हो भनेर उहाँलाई आरोप लगाए।

"अनि निको पारिएको मानिसलाई उनीहरूसँगै उभिरहेको देखेर तिनीहरूले यस कुराको विरोधमा केही भन्न सकेनन्… "यी मानिसहरूलाई हामी के गरौं? किनकि उनीहरूद्वारा साँच्ची नै एउटा प्रसिद्ध चिन्ह गरिएको छ, यो यरूशलेमका सारा बासिन्दाकहाँ प्रकट भएको छ; र यो हामी इन्कार गर्न सक्दैनौं" (प्रेरित ४:१४,१६)।

यी मानिसहरू प्रेरितहरू र उनीहरूका सन्देशलाई घृणा गर्थे तर उनीहरूद्वारा गरिएको यस उल्लेखनीय आश्चर्यकर्मलाई उनीहरूले इन्कार गर्नै सकेनन्।

५) अतिदर्शनीय चङ्गाइ

लङ्गडा उफ्रँदै छन्, अन्धा देख्‍ने भएका छन्, कोरीहरू शुद्ध भएका छन्, दुष्टात्मा लागेकाहरू मुक्त भएका छन्, काटिएको कान तुरुन्तै जोडिएको छ र मरेका समेत बिउँताइएका छन्! मत्ती ११:५ अनुसार यस्ता अतिदर्शनीय चिन्हहरूले येशू साँच्ची नै मसीह हुनुहुन्छ भन्ने प्रमाण दिए:

"अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बहिराहरूले सुन्छन्, मुर्दाहरू बिउँताइन्छन्, र गरिबहरूलाई सुसमाचार सुनाइन्छ" (मत्ती ११:५, सन्दर्भलाई हेर्नुहोस् र यशैया ३५:५-६ सित तुलना गर्नुहोस्)।

३१) आधुनिक "चङ्गाइकर्ताहरू" का "आश्चर्यजनक" उपचारहरू कस्ता छन्?
१) शङ्कास्पद "चङ्गाइ"

एक प्रतिष्ठित र परचित चङ्गाइकर्ताको चङ्गाइ कार्यक्रमको छानबिन गरी प्रस्तुत गरिएको डाक्टर नोलेनको लेखलाई हामीले माथि नै उल्लेख गरिसक्यौं (#२७ मा हेर्नुहोस्)। मानौं कुनै एउटा चिकित्सकले ख्रीष्ट र प्रेरितहरूद्वारा चङ्गाइ गरिएकाहरूको जाँचपड्ताल गरे। मानौं कुनै एउटा चिकित्सकले लाजरसलाई उसको मृत्युको चार दिन पछाडि जाँच गरे! मानौं कुनै एक नेत्र विशेषज्ञले बर्तिमैलाई उसको आँखाले देख्‍ने भएपछि जाँच गरे! मानौं एउटा हाडजोर्नी विशेषज्ञले जन्मैदेखिको लङ्गडो उफ्रँदै गरेको हेर्न पाए (प्रेरित ३)! मानौं एउटा कानको विशेषज्ञले मालखसलाई उसको च्वाट्टै काटिएको कानलाई निको पारिएपछि जाँच गरे (लूका २२:५०-५१)! के यी आश्चर्यकर्महरूलाई शङ्का गर्ने कुनै ठाउँ हुन्थ्यो होला?

२) नियन्त्रित वातावरणमा गरिएका "चङ्गाइ"

"तर अनौठो कुरो के छ भने, चङ्गाइको वरदान भएको दाबी गर्नेहरू आफ्नो पाल, तम्बु वा टीभी कक्षभन्दा बाहिर कहिल्यै निस्केका देखिन्नन्। आफ्ना वरदानलाई उनीहरूले सदैव नियन्त्रित वातावरणभित्र अर्थात् उनीहरूकै इच्छाअनुसारको व्यवस्थापित मञ्चमा, उनीहरूकै समयतालिकामा, अभ्यास गरेको देखिन्छ। हैन, अस्पतालकै ठूला-ठूला भीडहरूका बीचमा उक्त चङ्गाइको वरदान प्रयोग गरिएको किन सुनिँदैन? यी चङ्गाइकर्ताहरूले आफ्ना वरदानलाई भारत र बङ्गलादेश जस्ता देशहरूमा किन प्रयोग गरिरहेका छैनन्? बाहिर बाटो-बाटोमै रोग-बिमारले ग्रस्त भएका मानिसहरू भेटिने स्थानहरूमा किन उनीहरू देखा पर्दैनन्? [John MacArthur, Jr., The Charismatics, p.134.]

३) निराशाजनक "चङ्गाइ"

चङगाइका निमित्त ख्रीष्ट वा प्रेरितहरूकहाँ आउने कोही पनि निराश भई फर्केनन्। तर हामीसँग डाक्टर नोलेनको यो टिप्पणी छ:

पाङ्ग्रे मेचमा रहेका साह्रै निर्बल रोगीहरू पांङ्ग्रे मेचमै थिए। उनीहरू त्यहाँबाट निस्कँदै गर्दा आफ्ना अपाङ्ग बाल-बालिकाहरूलाई पाङ्ग्रे मेचमा गुडाउँदै एलभेटरतिर लग्दैगरेका बाबुआमाहरूको आँखामा मैले आँसु देख्दा मेरो मनमा यो देख्‍न त क्याथरिन कूलम्यान पनि मसँगै त्यहाँ हुनुपर्ने भन्ने लाग्यो। आशा भङ्ग भएका ती रोगीहरू र बाबुआमाहरूले कति पीडा भोग्दै छन् भन्ने कुरा क्याथरिन कूलम्यानलाई वास्तवमा थाहै छैन भन्ने मलाई लाग्यो। उनलाई थाह होला भनेर मैले विश्वास गर्न सकिनँ। [William A. Nolen, M.D., "In Search of a Miracle," McCall's Magazine, September 1974.]

एउटा प्रतिष्ठित चङ्गाइकर्ताको सेवाकार्यको मूल्याङ्कन गर्ने क्रममा क्यारिज्म्याटिक लहरका मित्र रिचार्ड कबीडोले निष्कर्षमा भन्छन्,

"सम्भवतः उपस्थितमध्ये धरैजसोले चङ्गाइ पाएकै हुँदैनन्।" [Richard Quebedeax, The New Charismatics, page 86.]

अलौकिक चङ्गाइको आशा गरिरहेकाहरूलाई यो त निश्चय पनि त्यति उत्साहपूर्ण मूल्याङ्कन होइन।

१७) आत्माद्वारा हुने बप्‍तिस्मा भनेको के हो?



 क्यारिज्म्याटिक जवाफ:



"पवित्र आत्मामा हुने बप्‍तिस्मा, मुक्तिपश्चात एउटा विश्वासीलाई ठोस रूपमा दिइने एउटा निश्चित, व्यक्तिगत अनुभव हो जुनचाहिँ पवित्र आत्माले अलौकिक रूपमा बोली दिनुभएअनुसारको एउटा नयाँ भाषामा बोल्ने प्रमाणसहित हुँदछ।" [From a Charismatic tract written by Dr. Hobart Freeman and published by Faith Ministries & Publications.]

"पवित्र आत्माको बप्‍तिस्मा अन्य भाषाहरूको बोलीसहितको मुक्तिपश्चातको एउटा बेग्लै, निश्चित अनुभव हो जसले निजलाई जीवन र सेवाकार्यका निम्ति सामर्थ्य प्रदान गर्दछ।" [From the doctrinal statement of the Rock Church (the name of certain charismatic churches in Connecticut and perhaps elsewhere)]

 बाइबलीय जवाफ:

"किनकि चाहे हामी यहूदी हौं चाहे ग्रीक, चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्‍तिस्मा भयौं; र सबैलाई एउटै आत्माभित्र पिउन दिइयो" (१ कोरिन्थी १२:१३)।

आत्माद्वारा हुने बप्‍तिस्मा परमेश्वरको एक अलौकिक कार्य हो जसद्वारा विश्वासी जन ख्रीष्टको शरीर अर्थात् मण्डलीभित्र गाभिन्छ। बप्‍तिस्मा दिने यूहन्नाले मत्ती ३:११ (मर्कूस १:८; लूका ३:१६) मा र प्रभु आफैले प्रेरित १:५ मा यस बप्‍तिस्माको पूर्वउल्लेख गर्नुभयो। यो सर्वप्रथम पेन्टेकोस्टको दिनमा सम्पन्न भयो जुन दिन मण्डलीको शुरु भयो (प्रेरित ११:१५-१७)। आज जब-जब एउटा व्यक्तिले प्रभु येशूमाथि विश्वास गर्दछ तब-तब उक्त बप्‍तिस्मा सम्पन्न हुने गर्दछ।

महत्त्वपूर्ण कुरा, १ कोरिन्थी १२:१३ पालन गरिनुपर्ने आज्ञा नभएर विश्वास गरिनुपर्ने तथ्य हो। परमेश्वरले सम्पन्न गर्नुभएको एउटा कार्य हो यो, विश्वासीले गर्ने कार्य होइन। परमेश्वरले कहिल्यै कतै आत्मामा बप्‍तिस्मा हुनलाई वा यसको खोजी गर्नलाई आज्ञा गर्नुभएको छैन।

उल्लेख गर्नुपर्ने कुरा, कतिपय उत्तम विश्वासीहरूले आत्माद्वाराको भरपूरीलाई आत्माद्वाराको बप्‍तिस्मासित अलमल्याएका छन् (थुप्रै उदाहरणहरूमध्ये आर ए टोरी (R. A. Torrey) एक हुन्)। यी दुईबीचको भिन्नता बुझ्न बप्‍तिस्मा र भरपूरी नामक तालिकालाई अध्ययन गर्नुहोस्।

१८) आत्माद्वारा हुने बप्‍तिस्मा कहिले हुने घटना हो?
 क्यारिज्म्याटिक जवाफ: "मुक्ति पश्चात्"

(बुँदा १७ मुनिका उद्दरणहरूलाई हेर्नुहोस्)।

यदि यो बप्‍तिस्मा मुक्ति पश्चातको कुरो हो भने, कुनै एउटा व्यक्ति, मुक्ति पाएको तर आत्माद्वाराको बप्‍तिस्माको अनुभव नपाएको हुन सक्छ भन्ने बुझिन्छ।

 बाइबलीय जवाफ: मुक्ति पाएकै घडीमा

पावलले कोरिन्थीहरूलाई उनीहरू सबै नै शरीरभित्र बप्‍तिस्मा भइसकेको कुरा बताउँछन्। यो बप्‍तिस्मा यस्तो कुरो हो जुनचाहिँ प्रत्येक विश्वासीको सवालमा साँचो छ, तसर्थ यो बप्‍तिस्मा, मुक्ति पाएकै घडीमा हुने घटना हो भन्ने बुझिन्छ।

चाखलाग्दो कुरा, परमेश्वरले "सबै होइन" (१ कोरिन्थी १२:३० – सबैले विभिन्न भाषा बोल्दैनन्) भन्नुहुँदा क्यारिज्म्याटिक लहरले "सबै हो" भन्छ, र परमेश्वरले "सबै हो" (सबै विश्वासीहरू शरीरभित्र बप्‍तिस्मा भइसकेका छन्) भन्नुहुँदा क्यारिज्म्याटिक लहरले "सबै होइन" भन्छ।

१९) क-कसले आत्माद्वाराको बप्‍तिस्मा पाएका हुन्छन्? के तपाईंले पाउनुभयो?
 क्यारिज्म्याटिक जवाफ:

अन्य भाषाहरूमा बोल्ने "पेन्टकोस्टल" अनुभव पाइसकेका ख्रीष्टियनहरूले मात्र

 बाइबलीय जवाफ:

"सबैले" (१ कोरिन्थी १२:१३)। यस बप्‍तिस्माबिना तपाईं ख्रीष्टको मण्डलीको अङ्ग बन्न सक्नुहुन्न! उहाँको देहभित्र प्रवेश पाउनलाई यो नै एउटै मात्र बाटो हो!

२०) के पवित्र आत्माको लागि पर्खनु ("ट्यारी गर्नु") पर्छ?
क्यारिज्म्याटिक समूहहरूमा प्रायः अभ्यास गरिने ट्यारी गर्ने (tarry, पर्खने) अनुभवलाई यसरी बयान गरिएको छः

अन्य भाषा प्राप्‍त गर्नलाई "ट्यारी गर्ने" तरिका यस प्रकार हुन्छ: प्रवचन पछि प्रचारकले अन्य भाषाको अनुभव पाउन चाहनेहरूलाई अगाडि आउन र घुँडा टेक्न निमन्त्रणा दिन्छन्। त्यसपछि अनुभव-प्राप्‍त व्यक्तिहरू नयाँहरूसित प्रार्थना गर्न र मदत, सल्लाह दिन उनीहरूकहाँ जान्छन्। कतिपय नयाँहरूले थोरै बेरमै अन्य भाषामा बोल्न थाल्छन् भने अरूहरूको यात्राचाहिँ लामो र कठिन हुन सक्छ। साँझको सभा हो भने, मध्यरात पार गरिसक्दा पनि नयाँहरू प्रार्थना गरिरहेको भेटिनु असाधारण मानिँदैन यद्यपि "वेदीका सेवकहरू" भने प्राय: कमै बाँकी रहेका होलान्। अनि यदि कसैले उक्त रात सफलता हासिल नगरेको खण्डमा उसलाई प्रयास जारी राख्‍न हौसला दिइन्छ। मैले थुप्रै रात ट्यारी गरें। मैले वेदीमा घण्टौं प्रार्थना गर्नमा बिताएँ, तर मैले जति बेर प्रार्थना गरे पनि मैले सफलता प्राप्‍त गर्न सकिनँ। [Wayne A. Robinson, I Once Spoke in Tongues, pages 37-38.]

बाइबलअनुसारको "ट्यारी" गर्ने काम निकै फरक कुरो हो। यसलाई केवल दुइटा खण्डमा भेटिन्छ:

"अनि हेर, म मेरो पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु; तर माथिबाटको सामर्थ्य नपाउञ्जेल तिमीहरू यरूशलेम शहरमा पर्खिरहो" [अङ्ग्रेजीमा "ट्यारी"] (लूका २४:४९)।

"अनि तिनीहरूसँग भेला भएर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो: "यरूशलेम छोडेर नजानू, तर पिताको प्रतिज्ञालाई पर्खनू, जसको विषयमा तिमीहरूले मबाट सुनेका छौ" (प्रेरति १:४)।

"ट्यारी" भन्ने शब्दको अर्थ केवल "पर्खनु" हो। पेन्टेकोस्ट आउनु अघि चेलाहरूलाई आत्माको प्रतिज्ञाको निम्ति पर्खिरहो भन्ने आज्ञा दिइएको थियो। उहाँ पेन्टेकोस्टको दिनमा (प्रेरित २) आनुभयो र पर्खाइको अवधि पनि सक्कियो। बाइबलमा पेन्टेकोस्टपछि यता पवित्र आत्माको लागि पर्खिरहन कुनै आज्ञा दिइएको पाइँदैन।

मानौं तपाईं एअरपोर्टमा जानुभई आफ्ना आफन्त प्रियजनहरूको आगमनको प्रतिक्षामा पर्खनुभयो। केही समय तपाईं एअरपोर्टमा पर्खनुहोला, तर हवाइजहाज आइपुगिसकेपछि, तपाईंको पर्खाइको अवधि सक्किन्छ। तपाईंका प्रियजनहरू अब आइसके, र अब त तपाईंले निजहरूको उपस्थितिको आनन्द लिने समय शुरू हुन्छ। त्यसरी नै शान्तिदाता पनि आइसक्नुभयो। उहाँ आइसक्नुभएपछि पनि उहाँको निम्ति पर्खिरहनु भनेको त हास्यास्पद कुरो हुन्छ! बरु आउनुहोस्, उहाँको आशिषमय उपस्थिति र सामर्थ्यमा रमाऔं हामी (प्रेरित १:८)।

२१) पवित्र आत्मा पाउन के गर्नुपर्छ?
 क्यारिज्म्याटिक जवाफ:

पवित्र आत्मा पाउन एक व्यक्तिले ट्यारी गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ र कहिले काहीँ लामो पीडादायी अनुभव भएर जानुपर्छ, र सफल नभएको खण्डमा उसले घरीघरी प्रयास गरिनैरहनुपर्छ (बुँदा नम्बर २० मुनि उद्दरण गरिएको "ट्यारी" गर्ने तरिकालाई पढ्नुहोस्)।

 बाइबलीय जवाफ: यूहन्ना ७:३८-३९

"जसले ममाथि विश्वास गर्छ, पवित्रशास्त्रले भनेअनुसार, उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्!" तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए…

प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नेहरू नै पवित्र आत्मा पाउनेहरू हुन्!

गलाती ३:२ — "तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु – तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरू (ट्यारी, प्रार्थना, कठिनाइ, प्रयास आदि) द्वारा पायौ कि विश्वासको समाचारद्वारा?" प्रत्यक्ष जवाफ यही हो, "विश्वासको समाचारद्वारा"। यो शारीरिक प्रयासको प्रतिफल होइन। यो त मुक्तिदातामा राखिएको सरल विश्वासको प्रतिफल हो।

२२) पवित्र आत्माको मुख्य सेवाकार्य र काम के हो?
"तर जब शान्तिदाता आहनुहुन्छ, जसलाई म पिताका तर्फबाट तिमीहरूकहाँ पठाउनेछु अर्थात् सत्यका आत्मा, जो पिताबाट निस्कनुहुन्छ, तब उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ" (यूहन्ना १५:२६)।

पवित्र आत्माको सेवाकार्य ख्रीष्टको विषयमा गवाही दिनु अथवा ख्रीष्टलाई देखाउनु हो। पवित्र आत्माले आफैंतर्फ होइन तर प्रभु येशू ख्रीष्टतर्फ ध्यानाकर्षण गर्नुहुन्छ।

Turtle


माथिको चित्रमा के देख्‍नुहुन्छ? तपाईं भन्नुहोला, "कछुवा!" तर वास्तवमा जवाफ हो, "काँड र कछुवा"। काँड आफै देखिन चाहन्न। काँडले केवल कछुवाको गवाही दिइरहेछ, कछुवालाई देखाइरहेछ। काँड एउटा गवाही हो। यसले आफूदेखि अन्यत्र ध्यानाकर्षण गर्न चाहन्छ, दर्शकलाई कछुवामा ध्यानकेन्द्रित गराउन चाहन्छ।

परमेश्वरको आत्माले ख्रीष्टको विषयमा गवाही दिनुहुन्छ। हामीले ख्रीष्टलाई, केवल ख्रीष्टलाई मात्र हेरिरहेको चाहनुहुन्छ। विश्वासीहरूको कुनै सभामा पवित्र आत्माले काम गर्नुहुँदा, ख्रीष्ट उच्च पारिनुहुन्छ र महिमित बनिनुहुन्छ। यदि ध्यानाकर्षणको केन्द्र पवित्र आत्मा हुनुहुन्छ भने त्यहाँ केही घडबडी छ। पवित्र आत्माले आफैलाई प्रस्तुत गर्ने काम गर्नुहुन्न।

"उहाँले मेरो महिमा गर्नुहुनेछ; किनभने जे मेरो छ, त्यहीबाट उहाँले प्राप्‍त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ" (यूहन्ना १६:१४)।

पवित्र आत्मा परमेश्वरको मुख्य सेवाकार्य नै पुत्रको महिमा गर्नु हो। पवित्र आत्मा मेरो जीवनमा सक्रिय हुनुहुँदा यसको प्रतिफल कस्तो हुनेछ? प्रभु येशू ख्रीष्ट मेरा निम्ति झनै बहुमूल्य बन्नुहुनेछ साथै उहाँको वचन बाइबल पनि त्यसरी नै बहुमूल्य बन्नेछ। आत्माले भरपूर व्यक्ति त्यो हो जो ख्रीष्टले भरिएको छ – उहाँमै ध्यानमग्न छ, उहाँमै आनन्दित छ, उहाँमै विश्राम लिइरहेछ, उहाँमै भरोसा गरिरहेछ। परमेश्वरको आत्माको सेवाकार्य विश्वासीलाई झन् झन् ख्रीष्टजस्तै बनाउनु हो:

"तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै हेर्दै-हेर्दै हामी सबैजना, प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं" (२ कोरिन्थी ३:१८)।


अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?

अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?



  क्यारिज्म्याटिक जवाफ:

१) "अन्य भाषाहरूको वरदान बन्द भएकै छैन। परमेश्वरले नयाँ नियमको समयमा जस्तै गरी आज पनि अन्य भाषाको वरदान दिँदैहुनुहुन्छ।"

वा,

२) "अन्य भाषाको वरदान मण्डली इतिहासको शुरूतिर अन्त भयो, सम्भवत: पहिलो शताब्दीको अन्ततिर। तरैपनि आजका आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि प्रकट भएको छ र परमेश्वरले फेरि पनि यस वरदानलाई दिँदैहुनुहुन्छ।"

 इभान्जेलिकलहरूको सम्झौतापूर्ण (compromising) जवाफहरू:

डा बिल्ली ग्राहाम, आफ्नो पुस्तक पवित्र आत्मा (The Holy Spirit, Word, १९७८) मा भन्छन्,

"अन्य भाषाको वरदान नयाँ नियमका समयहरूका लागि मात्र सीमित थियो भन्ने कुराको बाइबलीय आधार त म आफैले कतै पाउन सक्दिनँ" (पृष्ठ १७२)।

अन्य भाषाहरूको वरदानको चर्चा गरिएको उनको "चिन्हरूपी वरदानहरू" (Sign Gifts) भन्ने अध्यायमा अन्य भाषाहरू बन्द हुनेछन् भन्ने पावलको भविष्यवाणी भएको १ कोरिन्थी १३:८ को उल्लेख समेत नहुनु उल्लेखनीय मान्नुपर्छ।

आज पनि परमेश्वरबाटको अन्य भाषाको सकली वरदान छ भनी चर्चित लेखक हाल लिन्ड्जी सिकाउँछन्। शैतान जगतमा जिँउदो र सक्रिय छन् (Satan is Alive and Well On Planet Earth) नाम गरेको उनको अधिक मात्रमा बिक्री भएको पुस्तकको पृष्ठ १४७ मा उनले लेख्छन्,

"परमेश्वरले आज अन्य भाषाको सकली वरदान दिँदैहुनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु।" अन्य भाषाहरू वास्तवमै बन्द भएका थिए भन्ने उनको मान्यता रहेको छ (जसरी इतिहासमा प्रमाणित छ) तर यी आखिरी दिनहरूमा अन्य भाषाहरूको वरदान फेरि देखा परेको छ भनी उनी सिकाउँछन् (पृष्ठ १४०-१४१)।

"च्यापल अफ दि एअर" का चर्चित रेडियो प्रचारक जोन डी जेसले "अन्य भाषाहरूको वरदान मण्डलीलाई प्राप्‍य नभएको" भन्ने कुरालाई "अन्य भाषाहरूको वरदानलाई इन्कार गर्ने हास्यास्पद अतिवादी अडान" भनेर बताउँछन् (डिभाइड एण्ड कन्कर, पृष्ठ ४०)।

 आधारभूतवादी बाइबल विश्वासीहरू (Fundamental Bible Believers) को जवाफ:

"नयाँ नियम पवित्र शास्त्रहरू लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने क्रममा अन्य भाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्महरू गर्ने कामहरू बिस्तारै बन्द भए" (न्यू इङ्गल्याण्ड बाइबल कन्फरेन्सको विश्वासको विवरण)।

 बाइबलीय जवाफ:

"प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ" (१ कोरिन्थी १३:८)।

अन्य भाषाहरूको वरदान बन्द हुनेछन् भनी पावलले भविष्यवाणी गरे। यसको मतलव परमेश्वरले अन्य भाषाहरूको वरदान दिने कामलाई रोक्नुहुनेछ। समस्या के छ भने पावलले यस पदमा अन्य भाषाहरू कहिले बन्द हुनेछन् भनेर बताएनन्। उनले "अन्य भाषाहरू ७० एडीमा बन्द हुनेछन्" भनेनन्। उनले "अन्य भाषाहरू १००० वर्ष पछाडि बन्द हुनेछन्" भनेनन् वा उनले "अन्य भाषाहरू प्रभुको दोस्रो आगमनमा बन्द हुनेछन्" भनेनन्।

अन्य भाषाहरू वास्तवमा कहिले बन्द भए त भनी निर्धारण गर्नलाई तीनओटा आधारहरू छन्। हामी अब प्रत्येकलाई विचार गर्नेछौं।

१) इतिहासलाई हेर्दा (Historical Approach)
अन्य भाषाहरूको वरदान मण्डली इतिहासको शुरूतिरै बन्द भए भन्ने कुराको अत्यधिक ऐतिहासिक प्रमाण पाइन्छ। क्यारिज्म्याटिक अभियानकै मित्र रिचार्ड कबीडोले यस तथ्यलाई स्वीकार गरेका छन्:

दोस्रो शताब्दीको आखिरीदेखि अठाह्रौं वा उन्नाइसौं शताब्दीसम्म नै अन्य भाषाहरू देखा परेको गवाही दुर्लभ र अस्पष्ट छ … तेस्रो शताब्दीका ओरिगेन, र चौथो शताब्दीका क्रिसोस्टोम, दुवैले अन्य भाषाका उल्लेखहरूलाई तिरस्कार गरेका छन्, र त्यसको निरन्तरताको समर्थनलाई इन्कार गरेका छन्। पाँचौं शताब्दीको शुरूतिरका अगस्टिनले अन्य भाषा केवल बाइबलीय समयहरूमा प्रकट भएको युगानुकूल चिन्ह थियो भनेर ठोकुवा दिएका छन्। [Richard Quebedeax, The New Charismatics, pp. 20-21]

महान् प्रचारक क्रिसोस्टोमको टिप्पणी उल्लेखनीय छ:

"यो पूरै खण्ड ज्यादै अस्पष्ट छ [१ कोरिन्थीमा उल्लेखित अन्य भाषाहरूको पदहरूको बारेमा टिप्पणी गर्दै] तर यो अस्पष्टताको कारण हाम्रो अज्ञानता हो। उल्लेखित तथ्यहरूका बारेमा हामी अनजान भएका हुनाले र ती कुराहरू अब बन्द भइसकेका हुनाले ती कुराहरू हामीलाई अस्पष्ट लागेका हुन् किनकि ती कुराहरू उहिलेको समयमा हुने गर्थे तर ती अब बन्द भइसकेका छन्।" [Homilies, XXIX, 1.]

अर्को शब्दमा भन्नुपर्दा, चौथो शताब्दीका लेखक क्रिसोस्टोमले पावलद्वारा वर्णित अन्य भाषाहरूको वरदानचाहिँ पावलको समयमा सक्रिय रहेको तर क्रिसोस्टोमको समयमा आएर निष्क्रिय भइसकेको भनी बयान गरेका छन्। उनले उक्त वरदान "बन्द" भइसकेको भनी टिप्पणी गर्दछन्।

क्लीओन रजर्सले यसरी लेखेका छन्:

"उल्लेखनीय कुरा के छ भने अन्य भाषाहरूको वरदानलाई प्रेरित-पश्चातका अग्रजहरू (Post Apostolic Fathers) का कुनै पनि लेखमा उल्लेख गरिएको छैन, कतै त्यसको अलिकति छनक समेत पाइँदैन।" [John MacArthur, Jr., The Charismatics, p. 169.]

अन्य भाषाहरूको वरदान, पावलका अघिल्ला पत्रहरूमध्येमा गनिने १ कोरिन्थीमा मात्र उल्लेख हुनु तर पावलका पछिल्ला पत्रहरूमा त्यसको कतै उल्लेख नहुनु एउटा उल्लेखनीय कुरा हो। यसले अन्य भाषाहरूको वरदान, बाइबलका लेखोटहरू पूर्ण हुनु अगावै बन्द भइसकेको हुन सक्छ भन्ने कुराको सङ्केत दिन्छ।

२) सन्दर्भलाई हेर्दा (Contextual Approach)
अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न यस प्रमाणिकरणमा १ कोरिन्थी १३:८ ("भाषाहरू…बन्द हुनेछन्") को सन्दर्भलाई अध्ययन गरिनेछ। उक्त अध्यायको मूल सन्देशलाई सारांशमा निम्न बुँदाहरू मार्फत प्रस्तुत गर्न सकिन्छ:

टलेर जाने कुरा तीनओटा छन् (पद ८)
रहिरहने कुरा तीनओटा छन् (१३)
कहिल्यै नटल्ने कुरा एउटा छ (८); यो सदासर्वदा रहिरनेछ (पद १३)
यहाँ तीनओटा काल-खण्डहरूलाई सङ्केत गरिएको छ:

अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान सक्रिय रहने काल-खण्ड – यी दानहरू मण्डलीको प्रारम्भिक चरणमा परमेश्वरबाट दिइएका विशिष्ट प्रकाशकीय दानहरू (revelatory gifts) हुन्।
अगमवाणीको, अन्य भाषाहरूको र ज्ञानको वरदान अन्त भइसकेको, बन्द भइसकेको, बितेर गइसकेको (पद ८) समय, तर विश्वास, आशा र प्रेम भनिने सद्‍गुणहरू रहिरहने काल-खण्ड — यो काल-खण्ड चाहिँ वर्तमान युगको काल-खण्ड हो।
प्रेम मात्र रहिरहने तर विश्वास र आशा रहिनरहने काल-खण्ड — यो अनन्तताको अवस्थिति (eternal state) हो, जब त्यहाँ विश्वासको सट्टामा दृष्टि हुनेछ (२ कोरिन्थी ५:७; हिब्रू ११:१) र आशाको सट्टामा अनुभूति हुनेछ (रोमी ८:२४-२५)।
तसर्थ, अनन्ताको अवस्थिति शुरु हुनु अगाडि एउटा काल-खण्ड त्यहाँ हुनैपर्छ जुन बेला अन्य भाषाहरूको र अगमवाणीको दानहरू निष्क्रिय बनेका हुन्छन् तर विश्वास र आशा सक्रिय रहिरहन्छन् भन्ने कुरा १ कोरिन्थी १३ अध्यायले स्पष्टै सिकाएको छ। अन्य भाषाहरूको वरदानलाई यस वर्तमान युगभरि दिइँदै आएको छ भन्ने शिक्षालाई यसले खण्डन गर्दछ।

३) उद्देश्यलाई हेर्दा (Purposive Approach)
अन्य भाषाहरूको वरदानको उद्देश्य के थियो? अन्य भाषाहरूको उद्देश्य जान्न सकियो भने अन्य भाषाहरू कहिले बन्द भए भनेर निर्धारण गर्न सम्भव हुन्छ। यस उद्देश्यसम्बद्ध तर्कलाई यसरी व्यक्त गर्न सकिन्छ: जुन उद्देश्यका लागि भनेर यस वरदान दिइयो उक्त उद्देश्यको निम्ति यसको कुनै काम नरहेपछि अन्य भाषाहरूको वरदान बन्द हुन गयो।

नयाँ नियममा एउटै मात्र खण्ड पाइन्छ जसमा अन्य भाषाहरूको उद्देश्य बताइएको छ। त्यहाँ पावल यसरी भन्छन्:

“यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्…” (१ कोरिन्थी १४:२२)।

“निम्ति” भनेर रूपान्तर गरिएको निपात शब्द (ग्रीकमा ऐस्, εις) ले उद्देश्यलाई जनाउँदछ। यस पद (२२) मा अन्य भाषाहरूको उद्देश्य बताउँदा पावलले वास्तवमा अघिल्लो पद (२१) को कुरालाई आधार बनाएर निर्क्योल गरेको कुरा त प्रस्टै देखिन्छ। पद २१ चाहिँ निम्न महत्त्वपूर्ण शब्दहरूबाट शुरु हुन्छ,

“व्यवस्थामा लेखिएको छ…” (१ कोरिन्थी १४:२१)

यस पदमा पावलले पुरानो नियमको एउटा खण्ड, यशैया २८:११-१२ लाई उद्दरण गर्दछन्। अन्य भाषाको बाइबलीय उद्देश्य खुलाउने चाबीचाहिँ “व्यवस्थामा” अर्थात् पुरानो नियममा छ भनी पावल जान्दथे। पुरानो नियमले अन्य भाषाको बारेमा के सिकाउँदछ त? पुरानो नियमका समयमा अन्य भाषाहरूको सार्थता (significance) र उद्देश्य के थियो? जब-जब विदेशी भाषाहरू सुनिन्थे, तब-तब तिनका मतलब के हुन्थे?

विदेशी भाषाहरूको सार्थता देखाउने पुरानो नियमको खण्ड यशैया २८ मात्र होइन। यस्ता अन्य खण्डहरू पनि छन्। ती खण्डहरूले समग्रमा एउटा एकदम गम्भीर बाइबलीय सिद्धान्तलाई प्रस्तुत गरिरहेको पाइन्छ — जुन सिद्धान्त इतिहासमा पटक-पटक प्रकट भएको छ। पुरानो नियममा विदेशी भाषाहरूको उल्लेखहरूलाई विचार गर्दा, एउटा ज्यादै गम्भीर र दुःखदपूर्ण श्रृङ्खला सहजै प्रकट हुन्छ:

उत्पत्ति ११
मानिसलाई परमेश्वरको एउटा सन्देश थियो (उत्पत्ति ९:१,७)
ती मानिसहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (उत्पत्ति ११:४)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (उत्पत्ति ११:७)
ती मानिसहरू तितरबितर पारिन्छन् (उत्पत्ति ११:८)
व्यवस्था २८
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (व्यवस्था २८:१)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (व्यवस्था २८:१५)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (व्यवस्था २८:४९)
ती मानिसहरू तितरबितर पारिन्छन् (व्यवस्था २८:६४-६५)
यर्मिया ५
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यर्मिया ४:१)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यर्मिया ५:३)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यर्मिया ५:१५)
ती मानिसहरू तितरबितर पारिन्छन् (यर्मिया ५:१९)
यशैया २८
आफ्नो जातिलाई परमेश्वरको एउटा सन्देश थियो (यशैया २८:१२क)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (यशैया २८:१२ख)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (यशैया २८:११)
ती मानिसहरू तितरबितर पारिन्छन् (यशैया २८:१३)
तुलना गर्नुहोस् — यशैया ३३ को ठीक विपरित परिस्थिति
सन्दर्भचाहिँ हजार वर्षको राज्य (मलेनियम) को हो। इस्राएलले परमेश्वरको आशिषको अनुभूति गर्नेछ भन्ने कुराको सङ्केतस्वरूप परमेश्वरले त्यहाँ भाषाहरू सुनिन दिनुहुन्न (पद १९)। उनीहरू अबदेखि उसो कहिल्यै तितरबितर पारिनेछैनन्!

नयाँ नियममा उक्त श्रृङ्खला फेरि दोहोरिएको
मानिसहरूलाई परमेश्वरको एउटा सन्देश थियो (मत्ती ११:२८; यर्मिया ४:१ र यशैया २८:१२ सित तुलना गर्नुहोस्)
उनीहरू परमेश्वरको सन्देश सुन्न इन्कार गर्दछन् (मत्ती २३:३७)
परमेश्वरले इन्साफको चिन्हस्वरूप भाषाहरू सुनिन दिनुहुन्छ (प्रेरित २,१०,१९ आदि)
ती मानिसहरू तितरबितर पारिन्छन् (मत्ती २३:३८; २४:२)
**************

अन्य भाषाहरूको वरदानले अविश्वासी इस्राएलको विरूद्धमा उनीहरूमाथि आउन लागेको इन्साफको चिन्हस्वरूप काम गरेको थियो। इन्साफ पूरा भइसकेपछि इन्साफको चिन्हको कुनै आवश्यकता पर्दैन। ७० ए.डी.मा जनरल तीतसको मातहतमा आएको रोमी सेनाको तरवारले मसीहलाई अस्वीकार गर्ने इस्राएल राष्ट्रको पतन गरिदियो। ७० ए.डी.देखि यता राष्ट्रको हकमा इस्राएल परमेश्वरको इन्साफमुनि परेको छ भन्ने कुराको कुनै शंका छैन। तसर्थ, चिन्हरूपी वरदानको रूपमा ७० ए.डी.देखि यता अन्य भाषाहरूको कुनै आवश्यकता रहेन भन्ने निष्कर्षमा हामी आइपुग्दछौं। इतिहासमा अन्तिम पटक अन्य भाषाहरूको वरदानको उल्लेख १ कोरिन्थीमा पाइन्छ जुनचाहिँ लगभग ५५ ए.डी. मा लेखियो। ७० ए.डी. पछि अन्य भाषाहरूको सकली वरदान फेरि प्रकट भएको ऐतिहासिक प्रमाण कतै पाइँदैन। अन्य भाषाले आफ्नो उद्देश्य पूरा गर्‍यो, र अन्य भाषा बन्द भयो, ठीक जसरी परमेश्वरले प्रेरित पावलद्वारा पूर्वउल्लेख गर्नुभएको थियो (१ कोरिन्थी १३:८)।

उपर्युक्त बुँदाहरूको अझ विस्तृत प्रस्तुतिको खोजी गर्नुहुनेहरूले जर्ज जेलरद्वारा अङ्ग्रेजिमा रचित गड्स गिफ्ट अफ टङ्गस् नामक पुस्तकलाई यस लिङ्कमार्फत प्राप्‍त गर्न सक्नुहुनेछ:

God's Gift of Tongues

१५) के मुक्ति नपाएकाहरूले अन्य भाषाहरूमा बोल्न सक्दछन्?
अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। मुक्ति नपाएको व्यक्तिसँग यस किसिमको ईश्वर-प्रदत्त क्षमता हुने कुरै भएन। आत्मिक वरदानहरू त विश्वासीहरूलाई उनीहरूले मुक्ति पाएकै घडीमा दिइन्छन्, अविश्वासीहरूलाई होइन।

उत्तेजनात्मक उच्चारणहरू बोलिने ("ग्लोसोलेलिय", glossolalia) हिजोआजको घटना भनेको एउटा बेग्लै कुरो हो। मुक्ति नपाएकाहरूले यस्ता अन्य भाषाहरूमा बोलेका असङ्ख्य उदाहरणहरू छन्। यसमध्ये केहीलाई यहाँ प्रस्तुत गरिन्छ:

१) दोस्रो शताब्दीमा मन्टानिस्टहरू (Montanists) ले अन्य भाषाहरूमा बोले। यो एउटा झूटा-शिक्षा (heretical) समूह थियो। उक्त समूह विशेष गरी पवित्र आत्मा सम्बन्धीका त्यसका झूटा शिक्षाहरूका खातिर परिचित थियो। मन्टानस (Montanus) र उनका अनुयायीहरूको निम्न बयान युसीबियसको मण्डली इतिहास (Eusebius' History of the Church) मा उल्लेख भएको छ:

मन्टानसले, आफू शिखरमा पुग्ने अनियन्त्रित महत्त्वाकाङ्क्षामा, आफैमाथि शत्रुलाई खुल्ला मौका दिए, र आत्मिक उत्तेजनाले भरिएर एक्कासी उसलाई एक किसिमको झुम्म तान्द्रा र अप्राकृतिक हर्षोन्मादले छोप्यो। उनी बर्बराए, र बित्थामा कराउन र अर्थहीन कुरा बोल्न थाले, र शुरूदेखि पुस्ता-पुस्तामा हस्तान्तरण हुँदै आएको मण्डलीको अभ्याससित बाझ्ने तरिकाले अगमवाणी गर्न थाले। उसका स्वाङपूर्ण उच्चारणहरूलाई त्यस बखत सुन्नेहरूमध्येमा कतिजना चिढिए, र तिनीहरूले उनी दुष्टात्मा लागेको, भ्रमको आत्माको पकडमा परेको, र शान्ति भङ्ग गर्ने व्यक्ति रहेछन् भनी बुझे। प्रभुले कायम गर्नुभएको स्पष्ट भिन्नतालाई र झूटा अगमवक्ताहरूको बारेमा उहाँको चेताउनीहरूलाई सम्झना गर्दै तिनीहरूले उनलाई हप्काए र उसको बकबकलाई रोक्ने प्रयास गरे…। तब उनले गोप्य तवरले साँचो विश्वासप्रति अन्धा भएकाहरूको मनहरूलाई उत्तेजित गराई तातो बनाए, र यस मार्गमा दुईजना अरूलाई खडा गराए — अर्थात् स्त्रीहरूलाई जसलाई उनले त्यस स्वाङ पार्ने आत्माले भरिदिए, र फलस्वरूप उनीहरू मन्टानस जस्तै उन्मत्त भएर बित्थामा, अनुचित र अशिष्ट प्रकारले कराए।

युसीबियसका अनुसार अन्य भाषा बोल्ने यस अभ्यास मण्डलीको अभ्यास भन्दा बिलकुलै विपरित थियो। हुन पनि हो — मन्टानस र उनका अनुयायीहरूलाई मण्डलीबाट बहिष्कृत (excommunicated) गरियो।

२) दोस्रो शताब्दीका झूटा शिक्षक मार्कसका बारेमा इरेनेअस (Irenaeus) ले यसरी टिप्पणी गरेका छन्:

मार्कसले एउटी स्त्रीलाई [भन्छन्], "मबाट र मद्वारा कारिस (Charis) को दान प्राप्‍त गर…"

स्त्री: "मैले कहिल्यै अगमवाणी कहेको छैन, न ता म अगमवाणी कहन नै जान्दछु।"

मार्कस: "आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।"

यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दुःसाहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ। [Irenaeus Against Heresies]

शुरूका मण्डलीका बाइबलीय (orthodox, शास्त्रसम्मत) अगुवाहरूले अन्य भाषामा बोलिएका यस्ता भावनामय विस्फोटहरू परमेश्वरबाटका होइनन् भनी जानेका थिए। यसलाई प्रोत्साहन दिनेहरू त झूटा शिक्षकहरू थिए।

३) फ्रान्समा सत्रौं शताब्दीका सेभेनोल पादरीहरू (Cevenol priests) ले पनि अन्य भाषाहरूमा बोल्थे। तिनीहरू झूटा शिक्षकहरू (heretics) हुन् भनी चिनिएका थिए किनभने तिनीहरूका भविष्यवाणी पूरा भएनन्। [John MacArthur Jr., The Charismatics, p. 169.]

४) "शेकरहरू" (Shakers) भनिने समूह ई सं १७४७ मा एउटा स्त्रीद्वारा शुरू भएको हो। शिक्षामा उनी गञ्जागोल थिइन्, र उनले विशेष गरी ख्रीष्टको बारेमा झूटा धारणाहरू अपनाएकी थिइन्।

"भनिन्छ, शरीरलाई वशमा ल्याउनलाई, उनले अन्य भाषाहरूमा बोल्दै गरेका पुरूष र स्त्रीहरू नाङ्गै नचाउने अभ्यासको शुरूआत गरिन्।" [Charles Smith, Tongues in Biblical Perspective, pages 17-18.]

५) मर्मन (Mormon) चर्च नामक एउटा झूटा मण्डली (cult) भित्र अन्य भाषाहरूमा बोलिएका उदाहरणहरू भेटिन्छन्:

"जोसेफ स्मिथ (Joseph Smith) देखि लिएर, अर्थात् उनीहरूको शुरूआतदेखि नै मर्मनहरूले अन्य भाषा वर्तमान समयमा पनि दिइने वरदान हो भन्ने मान्दै आएका छन्। साल्ट लेक सीटी (Salt Lake City) मा उनीहरूको भवन (टेम्पल) समर्पण गरिँदा, सयौं एल्डरहरूले अन्य भाषाहरूमा बोले।" [Charles Smith, Tongues in Biblical Perspective, page 18.]

६) उन्नाइसौं शताब्दीमा एडवर्ड इर्भिङग (Edward Irving) का अनुयायीहरूले अन्य भाषामा बोले। यिनीहरूले पवित्र शास्त्रलाई खण्डन गर्ने प्रकाशहरूलाई, विफल भएका भविष्यवाणीहरूलाई र विविध गलत शिक्षाहरूलाई अँगालेका थिए। [See John MacArthur Jr., The Charismatics, p. 170 and see also Arnold Dallimore's excellent biography, Forerunner of the Charismatic Movement--The Life of Edward Irving (Moody Press, 1983).]

७) आज, आफू ख्रीष्टियन हुँ भनी स्वीकार समेत नगर्नेहरूले अन्य भाषाहरूमा बोल्छन् भन्ने कुरा सर्वविदितै छ:

आज हैटी, ग्रीनल्याण्ड, माइक्रोनेसिया, एशिया, र उत्तर तथा दक्षिण अमेरिकाका झाँक्रीहरू अन्य भाषामा बोल्छन्। कतिपय समूहहरूले आफूहरूमा उन्मत्त अवस्था र उच्चारणहरू उत्पन्न गराउन लागू पद्धार्थको मदत लिन्छन्। भूडू अभ्यास गर्नेहरूले अन्य भाषामा बोल्छन्। बौद्धमार्गी र शिन्तो पूजाहारीहरूले अन्य भाषामा बोलेका सुनिएको छ। मुसलमानहरूले अन्य भाषामा बोलेका छन्, र एउटा प्राचीन हस्तान्तरित भनाइअनुसार महम्मद समेतले अन्य भाषामा बोले। [Charles Smith, Tongues in Biblical Perspective, pages 20-21. For further documentation of unsaved people speaking in tongues, look up the article on "glossolalia" in The Encyclopedia Britannica.]

८) खेदको कुरा, आज क्यारिज्म्याटिक लहरको लैलैमा लागेका थुप्रै व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेका छन् यद्यपि उनीहरूसित मुक्ति वा अनुग्रहको सुसमाचार वा नया जन्मको बारेमा कुनै सुस्पष्ट ज्ञान छैन। उनीहरूले कुनै एउटा अनुभव त पाए तर अनन्त जीवन भने पाएका छैनन् (१ यूहन्ना ५:११-१२)। [क्यारिज्म्याटिक अभियानमा हुनेहरूमा आफ्नो मुक्तिका लागि केवल ख्रीष्टलाई मात्र उहाँमाथि भरोसा राखेका हुनाले साँच्ची नै ख्रीष्टलाई मुक्तिदाता भनेर चिनेका व्यक्तिहरू हुन्छन् भन्ने कुरा हामी स्वीकार गर्दछौं। साँच्चै मुक्ति पाएको भएर पनि शिक्षामा अलमल हुनु सम्भव छ।]

१६) आजको अन्य भाषाको अभ्यासमा गलती के छ (एक सारांश)?
१) क्यारिज्म्याटिक समूहहरूमा अन्य भाषा भनेको सबैले चाह गर्नुपर्ने कुरा हो भन्ने मान्यता रहेको पाइन्छ, तर नयाँ नियममा भने अन्य भाषा प्रत्येक विश्वासीलाई दिइने आत्मिक वरदान थिएन (१ कोरिन्थी १२:८-११,३०)। १ कोरिन्थी १२:२८ मा वरदानहरूको सूचीको पुछारमा उल्लेख गरिएको अन्य भाषा तुलनात्मक हिसाबले कम महत्त्वको वरदान थियो, यद्यपि यसको सही प्रयोग र सही अनुवादले उन्नती गराउँथ्यो।

२) अन्य भाषाहरूको बाइबलीय वरदान भनेको एउटा यस्तो अलौकिक क्षमता थियो जसमा एउटा व्यक्तिले आफूले कहिल्यै नसिकेको विदेशी भाषामा बोल्न सक्थ्यो। आजको अन्य भाषाको कथित वरदानको अभ्यासलाई भने अनुवाद गर्न सकिन्न, त्यसमा कुनै वास्तविक भाषा-तत्त्व नै छैन, त्यो एउटा अर्थहीन बकबक बोलिने उन्मत्त, भावनात्मक अनुभव मात्र हो।

३) सम्पूर्ण बाइबलभरि हेर्दा विश्वासीलाई अन्य भाषामा बोल्न आज्ञा दिइएको कतै पाइन्न, र नयाँ नियमको २७ ओटामा २४ ओटा पुस्तकहरूमा अन्य भाषाको वरदान सम्बन्धी एउटै पनि उल्लेख छैन।

४) इतिहासका सत्य-तथ्यले अन्य भाषाको सकली वरदान मण्डली इतिहासको प्रारम्भतिर नै बन्द भएको देखाउँछ। साथै यो वरदान आखिरी दिनहरूमा फेरी प्रकट हुनेछ भन्ने सङ्केत दिने कुनै त्यस्तो पद बाइबलमा छैन।

५) अन्य भाषाको वरदान एउटा अस्थायी, चिन्हरूपी वरदान (sign gift) थियो जसले आफ्नो उद्देश्य पूरा गर्‍यो र त्यसपश्चात् त्यसको आवश्यकता नै रहेन, र त्यसैले त्यो दिइन बन्द भयो। अविश्वासी इस्राएललाई त्यो इन्साफको चिन्ह थियो, परमेश्वरले इस्राएल राष्ट्रलाई पन्छाएर उहाँको मण्डली भनिने नयाँ योजनाको शुरुआत गर्दै हुनुहुन्छ भन्ने कुराको सङ्केत थियो त्यो। ए डी ७० पछि, अर्थात् रोमीहरूले यरूशलेमलाई ध्वस्त गरेदेखि यता, सकली अन्य भाषाको कतै उल्लेख पाइन्न, न ता बाइबलमा न ता बाह्य इतिहासको पन्नाहरूमा।

६) आज बोलिने कथित अन्य भाषा भने संसारलाई थाह भएकै विषय हो — यो एउटा यस्तो मानसिक अनुभव (psychological phenomenon) हो जसलाई शताब्दियौंदेखि झूटा-शिक्षाका समूहहरूले, मूर्तिपूजकहरूले, कल्टहरूले र अख्रीष्टियन समूहहरूले अभ्यास गर्दै आएका छन्।

७) अन्य भाषाहरू बोलिने आजको अधिकांश अभ्यास १ कोरिन्थी १४ अध्यायमा प्रतिपादित नियमहरूको विपरित भइरहेको पाइन्छ। तसर्थ आजको अन्य भाषा परमेश्वरबाटको हुन सक्दैन भन्ने यो अर्को लक्ष्यण हो। प्रेरित पावलले दिएका केही नियमहरू यस प्रकार छन्:

कुनै एउटा सभामा तीन भन्दा बढी व्यक्तिहरूले अन्य भाषाहरूमा  बोल्न नहुने (१ कोरिन्थी १४:२७)।

अन्य भाषामा बोल्नेहरूले एक्कैचोटि नभएर पालो-पालो गरी बोल्नुपर्ने (१ कोरिन्थी १४:२७)।

जब-जब अन्य भाषा बोलिन्थ्यो, तब-तब त्यसको अनुवाद पनि गरिनुपर्ने (१ कोरिन्थी १४:२८)।

स्त्रीहरूले सभामा अन्य भाषामा बोल्न नहुने (१ कोरिन्थी १४:३४-३५)।

तपाईं प्रायः जुनसुकै क्यारिज्म्याटिक सभामा जानुहोस्, त्यहाँ तपाईंले यी नियमहरूलाई उल्लङ्घन भइरहेको पाउनुहुनेछ।

« ७) अन्य भाषाहरूको वरदान के हो? वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू?

७) अन्य भाषाहरूको वरदान के हो? वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू?


हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक?



"क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको,  सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ" ("क्यारिज्म्याटिक रिनुवल", मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७ मा जे आइ प्याकरको लेखबाट)।

"विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्‍नुहुन्छ:

'पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टेकोस्टलहरू र नयाँ खाले पेन्टेकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्यूयोर्कस्थित] ब्रङ्क्सका प्वेर्टो-रिकनहरू, आपलेचियनहरूका सर्प खेलाउनेहरू र लस-एन्जलसका रूसी मलाकन्सहरू जस्ता फरक-फरक संस्कृतिहरूका बीचमा पुगेको छु...मैले अन्य भाषा बोल्नेहरूसित अन्तर्वार्ता लिएको छु र अन्य भाषाको असंख्य नमुनाहरू रेकर्ड गरेको छु र तिनका विश्लेषण गरेको छु। हरेकमै ग्लोसोलेलिया [अन्य भाषा] भाषा विज्ञानको दृष्टिकोणमा अर्थहीन भेटियो। सतहमा मिल्दोजुल्दो रूप भए तापनि ग्लोसोलेलिया वास्तवमा भाषा होइन।'" (द क्यारिज्म्याटिक्स्, पृष्ठ १६२ मा जन म्याकआर्थरद्वारा उद्धृत)।

अर्को शब्दमा भन्ने हो भने, तपाईं क्यारिज्म्याटिक सभामा जानुहोस् जहाँ मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका छन्, टेप रिकर्डरमा अन्य भाषाका बोलिहरूलाई रिकर्ड गर्नुहोस् र टेप रिकर्डरलाई सर्वोत्कृष्ट भाषाविदहरूकहाँ लगेर उनीहरूलाई अन्य भाषाका ती उच्चारणहरू अध्ययन गर्न दिनुहोस्। तब उनीहरूको निष्कर्ष के हुनेछ? उनीहरूको निष्कर्ष यो हुनेछ, यी उच्चारणहरू अर्थहीन छन्, यी कुनै भाषा होइनन्।

यी कथित "अन्य भाषाहरू" त बाइबलका पन्नाहरूमा वर्णित अन्य भाषाहरू भन्दा ज्यादै फरक छन्। यस बारेमा चाबी खण्डचाहिँ प्रेरित अध्याय २ मा पाइन्छ जहाँ अन्य भाषाहरूको वरदानको पहिलो ऐतिहासिक प्रयोगको बयान छ। पेन्टेकोस्टको त्यस दिनमा के बोलिएका थिए त? यो निर्विवाद छ, त्यस दिन वास्तविक भाषाहरू नै बोलिएका थिए:

"तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो...अनि कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं ता?" (प्रेरित २:६,८)।

यस खण्डबाट हामी बाइबलीय अन्य भाषाको वरदानको परिभाषा नियमपूर्वक स्थापित गर्न सक्दछौं। अन्य भाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषालाई बोल्न सक्ने अलौकिक क्षमता हो। यो अलौकिक थियो किनभने "आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार" (पद ४) थियो यो र उहाँबेगर यो हुन नै सक्दैनथ्यो। यो वास्तविक भाषा थियो "किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो" (पद ६)। ती वक्ताहरू आफूले कहिल्यै नसिकेका भाषाहरूमा बोल्दैथिए:

"अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने: "हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र?" (पद ७)।

अर्को चाबी खण्ड हो १ कोरिन्थी १४। अन्य भाषाहरू वास्तविक भाषाहरू थिए भन्ने तथ्यलाई समर्थन गर्ने दुइटा मजबुत तर्कहरू यस अध्यायमा भेटिन्छन्:

तर्क #१ – अन्य भाषाहरूलाई अनुवाद गर्न सकिन्थ्यो भन्ने तथ्य

१ कोरिन्थी १४:५,१३,२७,२८ मा हेर्नुहोस्। कुनै पनि विदेशी बोलीको अर्थ यदि बुझिने हो भने त्यसलाई अनुवाद गरिनुपर्दछ। त्यसैले त संयुक्त राष्ट्र संघका अधिवेशनहरूमा दोभाषेहरू (interpreters) प्रयोग गरिन्छन्। यी निपुण अनुवादकहरूले भाषाको रूपान्तर गरिदिएर विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निजहरूले नबुझ्ने भाषामा बोलिएका कुरा बुझ्नलाई सेवा पुर्‍याउँछन्। मत्ती १:२३ मा "अर्थ"  (interpretation) को माने "अनुवाद" हो भनेर देख्‍न सकिन्छ (हिब्रूमा "इम्मानुएल" लाई नेपालीमा "परमेश्वर हामीसित" भनेर अनुवाद गरिन्छ)।

हाम्रो तर्क यत्ति हो: वास्तविक भाषाको मात्र अर्थ हुन्छ अर्थात् त्यसलाई अनुवाद गर्न सकिन्छ। उत्तेजित उच्चारणहरू वा अर्थहीन ध्वनीहरू वा अर्थ नभएका बकबकलाई अनुवाद गर्न सकिन्न। उदाहरणको लागि "अमेजिङ्ग ग्रेस"  शीर्षक भएको आत्मिक गीत नेपालीमा अनुवाद गरिन सकियो किनकि उक्त गीत एउटा वास्तविक भाषा (अङ्ग्रेजि) मा रचना गरिएको थियो। तर "फा ला ला ला ला ला ला ला ला" भनेर गाइने एउटा ख्रीष्टमस गीत भने अनुवाद गर्न सकिन्न किनकि यी स्वरहरू अर्थहीन छन्, सायद यीचाहिँ एक रमाइलो मानिरहेको व्यक्तिको भावुक अभिव्यक्ति भने होलान्।

निष्कर्ष: वास्तविक भाषाहरूको मात्र अर्थ बताउन सकिन्छ वा अनुवाद गर्न सकिन्छ। १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू अनुवाद गर्न सकिन्थे। तसर्थ १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू वास्तविक भाषाहरू थिए।

तर्क #२ – अन्य भाषाहरूमा शब्दहरू थिए भन्ने तथ्य

१ कोरिन्थी १४:१९ मा पढ्नुहोस् — "तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्नु नै म चाहन्छु।" यस पदले ज्यादै स्पष्ट देखाउँछ कि अन्य भाषाहरूको वरदानमा "शब्द" हुन्थे। शब्द के हुन् त? अर्थ बोकेका स्वर हुन् ती। ती अर्थ बोक्ने माध्यम हुन् जसद्वारा हामी एक-अर्कासँग संवाद गर्दछौं। बाइबलमा अन्य भाषाहरू कुनै उत्तेजित उच्चारणहरू थिएनन्, ती त शब्दहरू थिए। अर्थहीन आवाज थिएनन् ती, ती त शब्दहरू थिए। अर्थ नभएक बकबक थिएनन् ती, ती त शब्दहरू थिए। उत्तेजित उच्चारणहरू थिएनन् ती, ती त अर्थपूर्ण उच्चारणहरू थिए।

अन्य भाषाहरूको वरदान विश्वमा बोलिने वास्तविक भाषाहरू थिए भन्ने कुरालाई समर्थन गर्ने थप तर्कहरूका लागि अङ्ग्रेजी पाठकले बाइबलीय अन्य भाषाहरू वास्तविक भाषाहरू थिए – १२ ओटा कारणहरू (Twelve Reasons Why Biblical Tongues Were Real Languages) भन्ने लेखलाई अध्ययन गर्न सक्नुहुन्छ।

८) के नयाँ नियमका समयमा हरेक विश्वासीले अन्य भाषाहरूमा बोल्नैपर्छ भन्ने धारणा थियो?
के अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? के अन्य भाषाहरू हरेक विश्वासीले बोल्नुपर्छ भनेर अपेक्षा गरिन्थ्यो?

१ कोरिन्थी १२:४-११ बाट हामी यो सिक्छौं हरेक विश्वासी जनसित एक न एक आत्मिक वरदान हुन्छ तर हरेक विश्वासीको वरदान एउटै हुँदैन। केही विश्वासीहरूसित अन्य भाषाहरूको दान थियो (पद १०) तर सबैसित होइन। १ कोरिन्थी १२:३० मा प्रश्‍न गरिएको छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन्?" यो यस्तो खाले प्रश्‍न हो जसले नकारात्मक जवाफको माग गर्दछ। यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन् र?" यसको जवाफ हुन्छ, "बोल्दैनन्!" सबैले नै अन्य भाषाहरूमा बोल्दैनन्। यो दान कतिसित थियो तर सबैसित थिएन। यसर्थ नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कतिपयलाई दिइन्थ्यो तर सबैलाई होइन।

त्यसो भए क्यारिज्म्याटिक समूहहरूमा किन सबैलाई नै अन्य भाषाहरूमा बोल्न अर्ती दिइन्छ र कर लगाइन्छ? यो सबैलाई दिइने वरदान होइन भने किन सबैलाई यसै गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ?

९) अन्य भाषाहरूमा बोल्नुपर्छ भनेर विश्वासीलाई आज्ञा दिइएको भए सो कहाँ उल्लेख छ त?
त्यस्तो आज्ञा कतै छ त? "पवित्र आत्माले भरपूर होओ" (एफेसी ५:१८) भन्ने आज्ञा त छ। "आत्मामा हिँड" (गलाती ५:१६) भन्ने आज्ञा त छ। तर अन्य भाषाहरूमा बोल्नका लागि भने कतै आज्ञा दिइएको पाइँदैन। त्यस्तो आज्ञा कतै भेटिएला भन्ने आशा गर्न पनि मिल्दैन। किनभने जुन काम गर्न सकोस् भनेर परमेश्वरले कसै-कसैलाई मात्र क्षमता दिनुभयो, त्यही काम गरोस् भनेर उहाँले सबै विश्वासीहरूलाई कसरी आज्ञा गर्नुहुन्थ्यो र?

हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई एउटा चुनौती दिन चाहन्छौं: "यदि तपाईंहरूले मैले अन्य भाषामा बोल्नुपर्छ भन्ने एउटै मात्र आज्ञा परमेश्वरको वचनबाट प्रस्तुत गर्न सक्नुहुन्छ भने म खुसीसित अन्य भाषामा बोल्नलाई इच्छुक बन्नेछु।"

अन्य भाषाहरूमा बोल्न सिक्न मदत गर्ने प्रयासमा क्यारिज्म्याटिक अगुवाहरूले मानिसहरूलाई के-कस्ता निर्देशन दिने गर्छन्? एउटा उदाहरण यस प्रकार छ:

"[आफ्नो मातृभाषा] को एक शब्द पनि नबोल्ने अठोट गर्नुहोस् (किनभने एकैचोटि दुइटा भाषामा बोल्न सकिन्न)। आफ्नो स्वरको आवाज उठाउनुहोस् अनि पवित्र आत्माले तपाईंलाई नयाँ भाषाको उच्चारण अलौकिक तवरले दिनुहुनेछ। 'के भन्ने होला' भनेर फिक्री नगर्नुहोस् किनकि यो भाषा अलौकिक तवरले बोलिन्छ र यो भाषा मन वा मस्तिष्कबाट आउने कुरो होइन तर पवित्र आत्माद्वारा चलाइएर तपाईंको आत्माबाट आउने कुरो हो। विश्वासमा बोली-संयन्त्र (स्वर यन्त्र, जिभ्रो, ओठहरू) लाई क्रियाशील बनाउनुहोस् जसरी कुनै भाषामा बोल्दा ती क्रियाशील गरिन्छन् अनि पवित्र आत्माले, तपाईंभित्र अब रहनुभई, तपाईंलाई बोली दिनुहुनेछ।" [From a tract published by Dr. Hobart Freeman, Faith Ministries and Publications (Warsaw, Indiana)]

प्राचीन मण्डली इतिहासको पन्नामा पाइने अर्को उदाहरण यस प्रकार छ:

मार्कस: "'आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।' यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दु:साहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ।" [Irenaeus Against Heresies]

आफूले बोल्नुपर्ने के हो, त्यसको विचारै नगर्नू अरे? आफ्नो मन-मस्तिष्क प्रयोग नगर्नु अरे? के यस्तो सल्लाह पनि बुद्धिमानी हुन सक्छ?

१०) नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कत्तिको महत्त्वपूर्ण थियो?
"म मेरा परमेश्‍वरलाई धन्यवाद चढाउँछु — तिमीहरू सबैभन्दा बढी म भाषाहरू बोल्दछु; तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्न नै म चाहन्छु" (१ कोरिन्थी १४:१८-१९)।

गजबको तुलना गरिएको छ यहाँ! बुझ्न सकिने पाँचओटा शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा उत्तम हुन्छन्! प्रवचनलाई पाँच शब्दमा सीमित गर्न भनी कुनै प्रचारकलाई अनुरोध गर्नु कस्तो होला! (१) एकदम (२) थोरै (३) मात्र (४) भन्न (५) सकिन्छ! तर ती पाँच शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा बढी लाभदायक हुन्छन्।

दस हजार शब्द बोल्न करिब डेढ घण्टा समय लाग्छ। पाँच शब्द बोल्न दुई सेकेन्ड मात्र लाग्छ। दुई घण्टा लगाएर नबुझिने शब्दमा बोल्नु भन्दा दुई सेकेन्डमा "ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो" (१ कोरिन्थी १५:३) भनेर बताउन नै पावल रोज्दछन्। जब त्यो बुझ्न सकिँदैनथ्यो त्यस बेला अन्य भाषाको कुनै महत्त्व रहँदैनथ्यो। यसैकारण अन्य भाषाको अनुवाद अनिवार्य गरिनुपर्थ्यो।

१ कोरिन्थी १४ मा पावलले अन्य भाषाको वरदान भन्दा भविष्यवाणीको वरदान बढी मूल्यवान रहेको बताउँछन् (१-५ पदहरू पढ्नुहोस्)। पावलले १ कोरिन्थी १२:२८ मा केही वरदानहरूलाई तिनका तुलनात्मक महत्त्वको आधारमा सूचीत गरेको देखिन्छ: "अनि परमरेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेश्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू।" अन्य भाषा सबभन्दा पुछारमा उल्लेख गरिएको छ।

११) के कुनै वरदानहरू अस्थायी थिए?
के त्यस्ता कुनै वरदानहरू थिए जसलाई परमेश्वरले आज दिने गर्नुहुन्न?  निम्न उल्लेखित दुइटा वरदानहरू अस्थायी वरदानका उदाहरण हुन्:

१) प्रेरितको वरदान

आज मण्डलीमा कोही पनि प्रेरित छैनन्। यस तथ्यलाई प्रायः सबैले स्वीकार्छन्, धेरै पेन्टेकोस्टल अध्येताहरूले समेत। मर्मनहरू (Mormons) ले र साथै अन्य केही समूहहरूले आज पनि प्रेरितहरू छन् भनेर विश्वास गरे तापनि अधिकांशले भने प्रेरितहरू पहिलो शताब्दीका चुनिएका र दानयुक्त व्यक्तिहरूको एक विशिष्ट र ज्यादै भिन्न समूह थियो भनी स्वीकार्छन्। १ कोरिन्थी ९:१ मा एउटा साँचो प्रेरित भनेको बौरिउठ्नुभएको ख्रीष्टलाई आफ्नै आँखाले देख्‍ने व्यक्ति हुनुपर्छ भन्ने सङ्केत दिइएको पाइन्छ। आजका विश्वासीहरूको सवालमा यो साँचो हुने कुरै भएन (यूहन्ना १६:१०; १ पत्रुस १:८)।

२) भविष्यवाणीको वरदान

आज मण्डलीमा परमेश्वरद्वारा दानयुक्त भविष्यवक्ता (अगमवक्ता) हरू छैनन् यद्यपि त्यहाँ थुप्रै झूटा भविष्यवक्ताहरू भने छन्। प्रायः सबै क्यारिज्म्याटिक व्यक्तिहरू भविष्यवाणीको वरदान आजको लागि पनि हो भनेर विश्वास गर्दछन्। यस विषयमा #१३ मा चर्चा गरिनेछ। [धेरै वरदानहरूका अस्थायी चरित्रको बारेमा जर्ज जेलरद्वारा लिखित God's Gift of Tongues, pages 113-116 हेर्नुहोस्]

१२) भविष्यवक्ताको परिभाषा के हो?
 भविष्यवक्ताको वरदानका गलत परिभाषाहरू:

"परमेश्वरको वचनलाई बुझ्ने र व्याख्या गर्ने क्षमता" [बिल्ली ग्राहाम, पवित्र आत्मा, पृष्ठ १३९]

"भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो…त्यसैले यो वरदानचाहिँ मानिसहरूका सामु बोल्ने, परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो जसमा कहिलेकाहीँ भविष्यको कुरा बताउन सक्ने तत्त्व समेत समावेश हुन्थ्यो।" [जन म्याकार्थर जुनियर, द क्यारिज्म्याटिक्स, पृष्ठ १६४। जन म्याकार्थरको शिक्षाअनुसार परमेश्वरले आज अगमवाणीको वरदान दिनुहुन्छ तर अगमवक्ताहरू भने आज छैनन्। उनको शिक्षाअनुसार अगमवक्ताको वरदान (एफेसी ४:११) आज मण्डलीमा पाइँदैन तरैपनि अगमवाणीको वरदान भने पाइन्छ। १ कोरिन्थीको उनको टिप्पणी, पृष्ठ ३२२-३२४ मा हेर्नुहोस् र एफेसीको टिप्पणी पृष्ठ १४१-१४२ मा। यसअनुसार एउटा व्यक्तिसित अगवाणीको वरदान हुन सक्छ र उसले अगमवाणी कहन सक्छ तर ऊ अगमवक्ता होइन। यसको तात्पर्य चाहिँ एउटा व्यक्तिसित शिक्षाको वरदान भएर पनि ऊ शिक्षक नहुन सक्छ वा पास्टरको काम गर्ने वरदान भएर पनि पास्टर नहुन सक्छ।]

यी परिभाषाहरू त्रुटिपूर्ण छन्। यी परिभाषाहरू अनुसार कुनै पनि दानयुक्त बाइबल शिक्षक र कुनै पनि दानयुक्त पास्टरसित भविष्यवाणीको वरदान हुने देखिन्छ। हरेक पास्टरसित परमेश्वरको वचनलाई घोषणा गर्ने र त्यसको व्याख्या गर्ने क्षमता हुनुपर्छ तर त्यसो हुँदैमा पास्टर भविष्यवक्ता बन्दैन।

यी परिभाषाहरूले भविष्यवाणीको वरदान र शिक्षकको वरदानका बीच सठीक भिन्नता राख्दैन। १ कोरिन्थी १२:२८-२९ मा हेर्नुहोस् जहाँ शिक्षकको वरदान भएकाहरू र भविष्यवक्ताको वरदान भएकाहरूका बीच प्रस्ट भिन्नता राखिएको पाइन्छ।

 भविष्यवाणीको वरदानको बाइबलीय परिभाषा:

"त्यसैसँग कुरा गर् र त्यसले भन्नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्योचाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ, र तेरो मुखझैं हुनेछ, र तँचाहिँ त्यसको निम्ति ईश्वरतुल्य हुनेछस्" (प्रस्थान ४:१५-१६)।

यसलाई अङ्ग्रेजि किङ्ग जेम्सबाट यसरी अनुवाद गर्न सकिन्छ:

"तिमीले त्यससँग बात गर्नेछौ र त्यसको मुखमा वचनहरू राखिदिनेछौ, र म तिम्रो मुखसित र त्यसको मुखसित हुनेछु, र तिमीले के गर्नपर्ने हो म तिमीलाई सिकाउनेछु। त्योचाहिँ सबै मानिसहरू तर्फ तिम्रो प्रवक्ता हुनेछ, र त्यो, अँ त्योचाहिँ तिमीलाई तिम्रो मुखको सट्टामा हुनेछ, र तिमीचाहिँ त्यसको निम्ति परमेश्वरको सट्टामा हुनेछौ।"

"तब परमप्रभुले मोशालाई भन्नुभयो, "हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरतुल्य बनाएको छु, र तेरो दाज्यू हारून तेरो प्रवक्ता [हिब्रूमा नावी अर्थात् अगमवक्ता] हुनेछ। म जे तँलाई हुकुम गर्नेछु तैंले त्यही बता, र तेरो दाज्यू हारूनले इस्राएलीहरूलाई त्यसको देशबाट जान दिओस् भनी फारोलाई भन्नेछ" (प्रस्थान ७:१-२)।

हारून मोशाका निम्ति प्रवक्ता तुल्याइए। अगमवक्ता र परमेश्वरको जस्तो सम्बन्ध हुन्छ त्यस्तै हारून र मोशाको सम्बन्ध तुल्याइयो। यसको मतलब? हारूनले मोशाका वचनहरू बोल्थे जसरी अगमवक्ताले परमेश्वरका वचनहरू बोल्थे। हारून मोशाको मुख तुल्याइए जसरी अगमवक्ता परमेश्वरको मुख तुल्याइएका हुन्थे्। हारून मोशका प्रवक्ता थिए जसरी अगमवक्ता परमेश्वरका प्रवक्ता हुन्थे, परमेश्वरको मुखको रूपमा काम गर्थे, परमेश्वरकै सन्देश घोषणा गर्ने काम गर्थे ("परमप्रभु यसो भन्नुहुन्छ!")। अगमवक्ताको ईश्वरीय परिभाषा यही हो। तसर्थ अगमवाणीचाहिँ परमेश्वरबाटको दान हो जसद्वारा एक व्यक्तिले परमेश्वरको सन्देश घोषणा गर्न सक्दछ र परमेश्वरकै वचन बोल्न सक्दछ। प्रत्येक अगमवाणीले यो छाप बोकेको हुन्छ — "किनकि परमप्रभुको मुखले बताएको छ!"

नयाँ नियमका निम्न खण्डहरूबाट अगमवाणीको दान बुझ्न हामीलाई मदत मिल्छ: "किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले" (२ पत्रुस १:२१)। पवित्र आत्माद्वारा चलाइएर नै अगमवक्ता (भविष्यवक्ता) हरूले ठीक त्यही कुरा बोले (र लेखे) फलस्वरूप उनीहरूले जुन परमेश्वरले चाहनुभएको थियो। त्यो परमेश्वरकै सन्देश थियो, परमेश्वरकै वचन थियो। "अब भविष्यवक्ताद्वारा प्रभुले भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो" (मत्ती १:२२)। बोल्नेचाहिँ परमेश्वर हुनुहुन्थ्यो, तर उहाँले कसरी बोल्नुभयो? उहाँले अगमवक्ताको मुख प्रयोग गर्नुभयो (यस उदाहरणमा यशैयाको मुखलाई)। त्यो परमेश्वरकै सन्देश र वचन थियो तर एउटा मान्छेको मुखद्वारा घोषणा गरियो।

अगमवक्ता सयमा सय प्रतिशत अचूक हुनुपर्थ्यो (हेर्नुहोस् व्यवस्था १८:२१-२२)। किन? किनकि परमेश्वर सयमा सय प्रतिशत अचूक हुनुभएकोले र साँचो अगमवक्ता परमेश्वरकै मुख भएकोले। यदि परमेश्वरको सन्देश अगमवक्ताको मुखद्वारा घोषणा गरिन्छ भने त्यो सयमा सय प्रतिशत अचूक हुन्छ। अगमवक्ताले अगमवक्ताको हैसियतमा बोल्दाखेरि उसले परमेश्वरको वचन बोल्दछ ("परमप्रभु यसो भन्नुहुन्छ!") , र त्यो सन्देश त्रुटिरहित हुन्छ र सयमा सय प्रतिशत अचूक हुन्छ। एउटा शिक्षक (वा पास्टर-शिक्षक) ले परमेश्वरबाट दिइसकिएको परमेश्वरको वचनको व्याख्या गर्दछ। सबैभन्दा अस बाइबल शिक्षक पनि त्रुटिरहित हुँदैन, ऊ चुक्न सक्दछ।

अगमवाणी (भविष्यवाणी) के हो? अगमवाणी भनेको प्रेरणायुक्त बोली हो। यो बोली वा लिखतमा परमेश्वरकै वचन हो। मीकायाको परिभाषाअनुसार अगमवाणी के हो, २ इतिहास १८:१३ मा हेर्नुहोस्।

अगमवक्ता (भविष्यवक्ता)  के हो? अगमवक्ता भनेको परमेश्वरको मुख हो जसद्वारा परमेश्वर बोल्नुभयो र उहाँले आफ्नो सिद्ध र अचूक प्रकाश दिनुभयो।

१३) के वर्तमान समयमा पनि साँचो अगमवक्ताहरू छन्?
अगमवाणीको दान आज पनि दिइँदै छ भन्ने धेरैजनाको दाबी छ। यदि यो साँचो हो भने यसको तात्पर्य के हुनेथ्यो विचार गरौं त। यसको मतलब परमेश्वरले आज पनि आफ्नो वचन दिँदैहुनुहुन्छ र त्यसैले पवित्रशास्त्र अपूरो छ भन्ने हुन्थ्यो। यदि आज पनि वर्तमान अगमवक्ताहरूद्वारा परमेश्वरले थप प्रकाश दिँदै हुनुहुन्थ्यो भने बाइबलका ६६ पुस्तकहरू पर्याप्‍त छैनन् भन्ने बुझिन्थ्यो। यी आधुनिक अगमवक्ताहरूले आपूर्ति गरिदिने अत्यावशक सत्यताहरू र तथ्यहरूबिना बाइबल अपूरो छ भन्ने बुझिन्थ्यो। बाइबल पर्याप्‍त छैन भन्ने बुझिन्थ्यो! हामीलाई बाइबलबाहेक यी नयाँ अगमवाणीहरू चाहिन्थ्यो!

यस प्रकारको शिक्षा, हाम्रो विश्वास र अभ्यासको लागि बाइबल नै यथेष्ट छ भन्ने सत्यतामाथि एउटा गम्भीर प्रहार हो। हामी परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनले बाँच्नुपर्छ (मत्ती ४:४), र यी वचनहरू बाइबलका ६६ पुस्तकहरूमा पाइन्छन्।

"होइन, मण्डलीलाई आज स्वर्गबाट नयाँ प्रकाश चाहिएको होइन! हामीसँग पूरो बाइबल छँदै छ, र यसको अर्थ खुलाउन र यसलाई व्यावहारिक बनाउन हामीसँग पवित्र आत्मा हुनुहुन्छ। मण्डलीलाई चाहिएको को हो? मण्डलीलाई चहिएको यो हो — आफ्नो परमेश्वरलाई साँच्ची नै चिन्ने र उहाँको एकमात्र लिखित प्रकाशलाई आदर गर्ने व्यक्तिहरूद्वारा अधिकार र प्रेमले पवित्र आत्माको सामर्थ्यमा घोषणा गरिएको परमेश्वरको सारा मनसायको एउटा नयाँ चुनौती। तब मात्र हाम्रा सबैभन्दा गहिरा खाँचोहरू पूरा हुने र यस पुस्तामा उहाँको मण्डलीको लागि परमेश्वरको उद्देश्य पूरा हुने आशा गर्न सक्छौं।" [डाक्टर जन सी. ह्विटकम्ब, डज गड वान्ट क्रिश्चियनस् टु परफोर्म मिराकल्स टुडे? (BMH Books, 1973), pages 12-13]

अगमवाणीको वरदान शुरूको मण्डलीलाई आवश्यक रहेको तर बाइबल पूरा भएपछि आवश्यक नरहेको एउटा अस्थायी वरदान थियो भन्ने स्पष्ट सङ्केतहरू नयाँ नियममा पाइन्छन्। [पाठकले अङ्ग्रेजीमा उपलब्ध First Corinthians 14 and Temporary Gifts भन्ने लेखलाई अध्ययनलाई गर्न सक्नुहुन्छ।]

भविष्यवाणीहरू बितेर जानेछन् तर विश्वास, आशा र प्रेम रहिरहनेछन् भनेर १ कोरिन्थी १३:८ र १३ ले बताएको छ। यो भविष्यवाणी पहिलो शताब्दीको अन्ततिर पूरा भयो।

प्रेरितहरू र नयाँ नियमका अगमवक्ताहरू जगका मानिसहरू थिए भन्ने कुरा एफेसी २:२० ले सिकाएको छ: "अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।" जग भनेको निर्माणको पहिलो चरणमा एकैपटक मात्र बसालिने कुरा हो। जगलाई फेरि-फेरि बसालिने काम गरिँदैन। यी मानिसहरू जगमा मानिस थिए किनकि उनीहरूद्वारा नै हामीले नयाँ नियमका लेखोटहरू प्राप्‍त गरेका हौं। जगलाई फेरि बसाल्न आवश्यक छैन तर जगमाथि चाहिँ बसाल्न खाँचो छ। सम्भवत: आज परमेश्वरको निर्माण कार्य मानौं "धुरी-चरण" मा पुगिसकेको हुन सक्छ, र चाँडै नै आखिरी "जिउँदो पत्थर" (१ पत्रुस २:५) लाई त्यसको ठाउँमा राखिन सक्छ अनि तब ख्रीष्ट आफ्नो मण्डलीलाई आफूकहाँ लिनलाई आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८)।

अगमवाणीको वास्तविक वरदान बितेर जानेछ भन्ने सङ्केत २ पत्रुस २:१ ले दिएको देखिन्छ। "तर जसरी मानिसहरूका बीचमा झूटा भविष्यवक्ताहरू हुन्थे, उसरी नै तिमीहरूका बीचमा पनि झूटा शिक्षकहरू हुनेछन्, जसले तिनीहरूलाई किन्नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्‍त तवरले नाश पार्ने झूटा शिक्षाहरू भित्र हुल्नेछन्, र आफूमाथि चाँडै आउने विनाश ल्याउँछन्।"

यहाँ ध्यानपूर्वक पढ्नुहोस्:

"झूटा भविष्यवक्ताहरू हुन्थे"

"झूटा शिक्षकहरू हुनेछन्"

शैतानले साँचो कुराको नक्कल गर्ने गर्छ। पत्रुसले यी वचन लेख्दाहुँदी त्यहाँ साँचो अगमवक्ताहरू थिए र शैतानले झूटा अगमवक्ताहरू खडा गरी तिनीहरूको सामना गरे। अगमवक्ताको वरदान बितेर गएपछि नक्कलद्वारा सामना गर्नलाई त्यहाँ साँचो अगमवक्ताहरू थिएनन्। तर त्यहाँ साँचो शिक्षकहरू थिए त्यसैले शैतानले अब झूटा शिक्षकहरू खडा गरी तिनीहरूको सामना गरे।